१५ पुस, काठमाडौं ।
गैर आवासीय नेपाली सङ्घ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सहकार्यका आह्वान गरिएको “अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०७७” को समयावधि जनावरी २५, २०२१ सम्मलाई थप गरिएको छ ।
अक्टुवर ५ मा घोषणा गरिएको उक्त प्रतियोगिता आयोजना गर्न गठन गरिएको संयुक्त समितिको संयोजकमा सर्वज्ञ वाग्ले (अमेरिका) र सदस्यहरू महेश्वर पन्त (अमेरिका), तीर्थ सङ्गम राई (कतार), डा. केशव शर्मा (अस्ट्रेलिया), विमला निरौला (अमेरिका), गणेश खडका (अफ्रिका), गिरिजा गैह्रे (जापान), विष्णुमाया विभू (नर्वे) र महता घिमिरे (अस्ट्रेलिया) रहेका छन् ।
विदेशमा रहेका नेपाली भाषी १९ वर्ष उमेर समूहका बाल तथा किशोर कविहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । प्रथम पुरस्कार १ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ५ सय अमेरिकी डलर र तृतीय पुरस्कार ३ सय अमेरिकी डलर तथा अंग्रेजी भाषामा लेखिएको एउटा कवितालाई २ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने उक्त प्रतियोगिताको नतिजा आगामि श्रीपञ्चमीमा घोषणा गरिने छ ।
कविता दुई सय शब्दभित्र लेखिएको अप्रकाशित / अप्रसारित हुनुपर्ने छ ।