तिम्रो निधारको पहराबाट
नाकको भञ्ज्याङ हुँदै
तलतल खसिरहेको
पारदर्शी ऐनाजस्तै पसिनामा
किन सफेदपोस मालिकहरूको
कुटिल मुस्कान चम्किरहेको देखिन्छ ?
ए! मजदुर दाइ
पहरा फोरेर
छहरा भई
सागर लम्किरहेको
नदीलाई सोधी हेर त ।
तिम्रो फोक्सोको खलाँती
पैँचो मागेर
खेतका गराहरूमा
महकिलो लय हालिरहेको
भदौरे बतासको
मिठो बयेलीमा
किन सहरिया बिचौलियाहरूको
जुल्फी हल्लिरहेको देखिन्छ ?
ए ! किसान काका
हरेक चैतमा
तिम्रै आँगनबाट आइरहने
आँधीलाई सोधी हेर त ।
यो धरतीको माटोजस्तै
पवित्र
स्निग्ध
र, उर्वर
सृष्टिको सौन्दर्य बोकेकी
तिम्रो तनको कुनाकुनामा
सर्पजस्तै सिरिङ सिरिङ
किन दौडिरहन्छन्
ठालुहरूका आँखा
ए ! सुनकली बहिनी
बेलाबेला
धरतीको रहस्य बताइरहने
ज्वालामुखीलाई सोधी हेर त ।
तिमीले
मतपत्रमा लगाएको
निलो मसीको छाप
हेर्दाहेर्दै कसरी हुन्छ
रातो रगतमा अनुवाद
र, त्यही रगतमा
लत्पतिँदै निस्केका
किर्ना र जुकाहरू
किन देखिन्छन्
राताराता र मोटामोटा
ए ! देशबासीहरू हो
हर वसन्तको पूर्वसन्ध्यामा बज्रिरहने
चट्याङलाई सोधी हेर त ।