कार्तिक २८ गते, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘काव्य विमर्श’ नामक पुस्तक प्रकाशित भएको छ ।
प्रज्ञा–प्रतिष्ठानले एकल रूपमा र विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सम्पन्न गरेका काव्यगोष्ठीहरूमा प्रस्तुत भएका गोष्ठीपत्रहरूलाई समेटेर ‘काव्य विमर्श’ प्रकाशित गरिएको हो ।
केही वर्षअगाडिदेखि प्रकाशित हुँदै आएको ‘काव्य विमर्श’को यो चौथो शृङ्खला हो । यस ‘काव्य विमर्श’मा कोरोना महामारी सुरु हुनुभन्दाअगाडि सम्पन्न भएका गोष्ठीहरूमा प्रस्तुत भएका गोष्ठीपत्रहरूलाई समावेश गरिएको छ । हो ।
साहित्य (पद्य/काव्य) विभागका प्रमुख प्रा.डा. हेमनाथ पौडेलको सम्पादनमा प्रकाशित यस सँगालोमा डा. गीता त्रिपाठी, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ र घनेन्द्र ओझा, प्रा. जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’, टीकाराम उदासी, डा. विन्दु शर्मा र प्रा.डा. हेमनाथ पौडेलद्वारा लिखित क्रमशः ‘समकालीन नेपाली कवितामा नारी हस्ताक्षर’, ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’, ‘नेपाली कवितामा कर्णाली प्रदेशको योगदान’, ‘नेपाली गजलको परम्परा र प्रवृत्ति’, ‘नेपाली छन्द कविता परम्परा र प्रवृत्ति’, ‘समकालीन नेपाली कवितामा समावेसी स्वर’, ‘आदिकवि भानुभक्त आचार्य
र उनको कवित्व’ शीर्षक गरी ७ ओटा महत्त्वपूर्ण गोष्ठीपत्रहरू समेटिएका छन् ।
पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्री कक्ष र अधिकृत विक्रेता मकालु प्रकाशन गृहमा उपलब्ध छ ।