यसबेला केही निस्तेज शीरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु
यसबेला केही दुर्बल मुठ्ठीहरू फुक्केर
विनीत भावले जम्लेहात जोडिरहेछन्
म तिम्रो वज्र मुठ्ठीलाई झन् सबल देख्न चाहिरहेछु
यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई झन् अग्रसर देख्न चाहिरहेछु
यसबेला केही कर्णकटू स्वरहरू काँपेर
प्रशस्ती वाचन गरिरहेछन्
म तिम्रा प्रखर वाणीमा युगको हुङ्कार सुन्न चाहिरहेछु ।
व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए, मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखुँ नलेखुँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटका उर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पोछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्रपुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अल्मलिनु हुन्न ।
(२०४६, साभार ः ‘इतिहासको यस घडीमा’ बाट)