‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’को साधारण सभा हालै सम्पन्न भएको छ । उक्त साधारण सभा रुकुम (पश्चिम)को त्रिवेणी गाउँ पालिकामा भव्य समारोहका बीच सम्पन्न भएको हो ।
नेपाली भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान र उन्नयन गर्ने उद्देश्यले स्थापना भएको ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’ले रुकुम पश्चिम र खास गरी त्रिववेणी गाउँपालिकामा उल्लेख्य काम गर्दै आएको छ ।
यस मञ्चले गत वर्ष सडक नाटक निर्माण तथा प्रदर्शन, मयूर प्वाँख (गरुवा सामग्री) खरिद, कलाकार पोशाक खरिद, त्रिवेणी दर्पण साहित्यिक पत्रिका प्रकाशन, वडा स्तरीय सांस्कृतिक समिति गठन लगायत काम गरेको थियो । उक्त कामका लागि त्रिवेणी गाउँपालिकाबाट रु ६,४७,१६४।– रकम प्राप्त भएको थियो । उक्त रकमबाट राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम र पुरस्कार तथा सम्मान वितरण पनि गरिएको थियो ।
साधारण सभामा मञ्चका कोसाध्यक्ष जोकमाया खड्काले आर्थिक र सचिव कुबेर ओलीले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए ।
बहु संस्कृतिले युक्त हाम्रो देश नेपालको महत्वपूर्ण सम्पदाको रुपमा रहेको स्थानीय लोक संस्कृतिको विकास तथा संरक्षणमा यस मञ्चले काम गर्दै आएको छ । उक्त काममा गाउँपालिकाले महत्वपूर्ण योगदान रहेको कुरा मञ्चका अध्यक्ष नन्द बहादुर घर्ति मगरले बताए ।
कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती प्रमुख अतिथितिको रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै उनले ‘कला, साहित्य, संस्कृति संरक्षण मञ्च’ले गरेको कार्यक्रमको सह्राहना गर्दै यस मञ्चलाई निरन्तर सहयोग रहने कुरा बताए ।
कार्यक्रममा गणेश बहादुर खड्का, निर्मला विष्ट, मनलाल ओली, भीम बहादुर विक लगायत उपस्थित थिए ।