मालिक अलि टाढै बस्नुस्
नाउँ लक्ष्मी, आमा–बाकी एउटी छोरी
न जेठी न कान्छी
न ठूली न सानी
गरीबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती ।
तर कर्मको खोटी
अलच्छिन मोरी
बाह्र वर्ष नपुग्दै
पोली खाएँ बा–आमा
असारको पैह्रोले किचेर
एकै चिहान परे कठै
हट भरेर फर्केकाहरू ।
कहाँ जाने अभागिनी !
आँखाको सोझी
मावल हुर्किएकी
सौतेनी माइज्यू
छोरीको रूपमा यो त डंकिनी रहिछ
आमा–बाबु ज्यूँदै खाई भन्दै
भुत्ल्याउने गर्थी ।
हजूर मालिक, मेरो बिहे भएको होइन
ढाँटेर के हुन्छ !
सौतेनी माइज्यूले उसैको भाइको
सौता हालिदिएकी
मेरी जेठी पिण्ड रोगी
म त काम गर्न आएकी
पन्ध्र पुगेर सोह्र मात्र टेकेकी ।
ऊ त्यो लालुपातेको फूलजस्तै थिएँ हजूर
यो दमिनीको कत्रो रूप भनी
¥याल काढ्थे बूढा बिष्टहरू ।
मालिक हजुर ! कसैको जूठो खाएर हुर्केकी होइन
म त आएको तीन दिनमै
मुखेनीले न्वारान गरिदिई
जुठी, जेठीमाथि सौता हुन
जुठे दमैसँग पोइला आएकी
म जुठी कान्छी ।
पुर्पुरोमा यस्तै रहेछ मालिक
सबै जुठी कान्छी भन्छन्
हाम्लाई यस्तै माया पिरती क्यै थाहा छैन हजुर
आइमाईको जातले छोराछोरी पाउनु
कुन महाभारत भयो त !
टालाटुली बटुली
आफै सिलाकी यो चोली
जुम्रा पर्छ घरघरी
केलाउन पस्नपर्छ कुनाकानी ।
लाज शरम एउटै हो हजूर आइमाई जात सबैको
रुझ्नु, भिझ्नु, चिसिइनु, खट्नु
सुख्खा खोकी लाग्छ ज्वरो आउँछ रातभरि
मर्ने काल आउँदैन बाँच्ने मन छैन मालिक ।
साह्रै नै बाँझो भएको छ,
ऊ त्यो बनमारा फैली झ्यामिएको पाखाजस्तै
सक्नुहुन्छ भने दखल गरिदिनुस्, जोतिदिनुस् क्यार
जदौ हजूर …………।
बीउ छर्न लायक बनादिनुस् क्यार ।
(बैंसालु वर्तमानबाट साभार)