खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले विवादका कारण यस वर्षको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको जनाएको छ ।
‘सो पुरस्कार र सम्मान आइतबार घोषणा भएपछि केहि विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा जनाएका छन्।
प्रतिष्ठानले अइतबार पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको हंस उपन्यास र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने घोषणा गररेको थियो । घोषणा सार्वजनिक भएलगत्तै यौन शोषण गरेकोमा आरोपित भएको व्यक्तिलाई सम्मान गरिएको भन्दै व्यापक आलोचना भएको थियो ।
सञ्जीव उप्रेतीले यौन शोषणमा आरोपित व्यक्तिसँगै एउटै मञ्चबाट पुरस्कार नलिने घोषणा गरेका थिए । उनको घोषणापछि आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति र संस्था लागेको भन्दै मोदनाथले पनि आफूले यो सम्मान नलिने कुरा सार्वजनिक गरेका थिए ।