काठमाडौं, ८ भदौ ।
गजल मुशायरा परिवारले हरेक वर्ष मोति जयन्तीको अवसर पारेर आयोजना गर्दै आएको विशेष गजल मुशायरा कार्यक्रम यस वर्ष विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषी ५१ जना गजलकारहरुका चोटिला, ओझिला र रमाइला गजलहरुको बाचन सहित भब्यरूपमा सम्पन्न भएको छ।
१५५ औं मोति जयन्तीको अवसरमा आयोजना गरिएको यो बिशेष गजल बाचन कार्यक्रम विद्यमान परिस्थितिको कारणले भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। विश्वभरि छरिएर रहनुभएका गजलप्रेमी दर्शक, श्रोता र सहभागी गजलकारहरुको सुबिधालाई मध्यनजर गरेर कार्यक्रम ३ वटा अलग अलग सत्रमा सम्पन्न भएको थियो।
कार्यक्रमको पहिलो सत्रमा गजल मुशायरा परिवारका सदस्य गजलकारहरू सहित ओसेनिया क्षेत्रमा बसोवास गर्ने २१ जना गजलकारहरूलाई समेटिएको थियो। करिव २ घण्टा १० मिनेटसम्म चलेको कार्यक्रमको पहिलो सत्रको संचालन गजलकार लक्ष्मण संज्यालले गर्नुभएको थियो । त्यस्तै करिब १ घण्टा ४० मिनेटसम्म चलेको गजलबा वाचनको दोश्रो सत्रमा नेपाल र भारतमा हाल बसोवास गरिरहेका १५ जना गजलकारहरूका गजलहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमको यो सत्रको संचालन गजलकार इश्वर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको अन्तिम चरणमा यूरोप, अमेरिका र एशियाका अन्य देशहरुबाट बाट १५ जना प्रतिनिधि गजलकारहरुलाई प्रस्तुत गरिएको थियो । करिब १ घण्टा १५ मिनेटसम्म चलेको सो सत्रको संयोजन र संचालन गजल मुशायरा परिवारका अनलाईन शृंखलाका नियमित प्रस्तोता कवि, तथा गजलकार केशव शर्माले गर्नुभएको थियो।
कार्यक्रम जुममार्फत फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा नेपाल, भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्यान्ड, जापान, फ्रान्स, पोर्तुगल, पपुवा न्युगिनी, कतार, मलेशिया लगायतका देशका नेपाली भाषी गजलकारहरुको उपस्थिति रहेको थियो।
यति धेरै संख्यामा एउटै कार्यक्रममा गजलकार समाबेश भएको सम्भवत यो पहिलो कार्यक्रम थियो र कार्यक्रममा प्रस्तुत भएका गजलहरु सबै दर्शक श्रोताहरुले मन पराउनुभएको कुरा ठूलो संख्यामा प्राप्त भएका सकारात्मक प्रतिक्रियाहरुबाट झल्किएको थियो। कार्यक्रममा प्रस्तुत सबै गजलहरु गजल मुशायराको फेसबुक पेजमा राखिएको र यो भिडियोहरु चाडै नै युट्यूबमा समेत राखिने कुरा गजल मुशायरा परिवारका संयोजक जितेन्द्र मल्लले जानकारी गराउनुभएको छ।
उसो त गजल परिवारले कोरोना माहामारी फैलिएसँगै शुरु भएको लकडाउनको समयमा गजल तथा कविता बिशेष बाचन कार्यक्रमहरु नियमित रुपमा संचालन गर्दै आएको छ। लकडाउन अवधीभर गजल विशेष कार्यक्रमका २७ श्रृङखला (१०८ जना गजलकारहरु), कविता विशेष कार्यक्रमका १० श्रृङ्खला (३८ कविहरु), मुक्तक बिशेष कार्यक्रमको १ श्रृङ्खला (४ मुक्तककार), गायन विशेष कार्यक्रमको १ श्रृङ्खला (८ जना गायक तथा संगीतकार), र रूवाई बिशेष कार्यक्रमको १ श्रृङ्खला (४ जना स्रष्टा) गरी जम्मा ४० श्रृङ्खलामा १६२ स्रष्टालाई प्रस्तुत गरि सकीएको कुरा गजल मुशायरा परिवार सदस्य केशव शर्माले जानकारी दिनुभयो ।
गजल मुशायराले मोति जयन्तीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीबाट सन २०१४ मा सुरु गरिएको यो शृंखला, पछिल्लो कार्यक्रमसहित हालसम्म अष्ट्रेलियाको बिभिन्न सहर र अष्ट्रेलिया बाहिर मलेशिया र नेपाल गरी १२ ओटा संस्करणमा सम्पन्न गरिसकिएको छ । अनलाइन सिर्जना बाचनको यो शृंखलालाई भबिष्यमा पनि निरन्तरता दिइने भएको जानकारी प्राप्त हुन आएको छ ।