काठमाडौं, ५ भदौ ।
आज देशैभरि तीज पर्व मनाइयो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसँग हिन्दु नारीहरूले मनाउने गर्छन् । शिवको आराधन गर्दै नाचगान गरी मनाइने यो पर्व यसपटक भने घरभित्रै मनाइयो । आजको दिन पशुपति लगायत देशभरिका शिव मन्दिर सुनसान थिए । काठमाडौं लगायत अधिकांश सहरहरूमा निसेधाज्ञा लगाइएकोले सडकहरू पनि सुनसान थिए ।
हरितालिका पर्वका रूपमा पनि प्रख्यात यो पर्वमा राता कपडा र रातै चुरा लगाएर नाचगान गर्ने गरिन्छ । गीतमा नारीका दुःख, पीडा र लोग्ने तथा सासुहरूले गर्ने उत्पीडन र हिंसालाई आधार बनाएर गीत गाउने गरिन्छ । तीज दिदीबहिनीको पुनर्मिलनको पर्व भएता पनि आजकल यो पर्व भट्किलो बन्दै गएको छ । तीज आउनुभन्दा एक महिना पहिलेदेखि नै महङ्गा होटेल, रेष्टुरेन्ट र पार्टी प्यालेसमा दर खाने नाममा भट्किलो कार्यक्रम गर्न थालिएको छ । यसरी भट्किलो बनाउनुभन्दा यो पर्वलाई महिला समानता, स्वतन्त्रता र जागृतिको रूपमा मनाउने गरिए राम्रो हुने थियो भन्नेहरू पनि छन् ।
खासगरी माइतिले छोरीचेलीलाई यो पर्वमा घरमा बोलाएर दरका रूपमा मिठोमसिनो ख्वाउने चलन छ ।