काठमाडौं, १२ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार (दिपावली) कात्तिक नौ गतेदेखि सुरु भई आज सकिएको छ । तिहारका नामले पनि देशैभरि प्रचलित यो पर्व कात्तिक कृष्ण तृतीयाका दिनदेख सुरु भई कार्तिक शुक्ल द्वितीयका दिन दाजुभाइलाई टिका लगाइदिएर समापन हुन्छ । यमपञ्चकका नामले पनि प्रसिद्ध यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुरको र तेस्रो दिन ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । गाई तिहारका नामले पनि प्रचलित यो दिन बिहान गाईको र बेलुका घरका चोटाकोठा, झ्यालढोका सफासुग्घर गरी बाहिर मूलबाटोदेखि घरभित्र पूजाघरसम्म लक्ष्मीका पाइला बनाई साँझमा लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मी पूजाको रातलाई सुखरात्री पनि भनिन्छ । घरभरि माटाका पालामा दीप पज्वलन गरी मनाइने यो दिन युवतीहरूले घरघरमा गएर भैलो गाउने प्रचलन रहेको छ । चौथो दिन कार्तिक शुक्ल प्रतिपदाका दिन गोरुपुजा गरिन्छ । यो दिन गोबर्धन पर्वत बनाई गाई र गोरुको सँगै पूजा गर्ने चलन पनि छ । पाँचौँ दिन अर्थात कार्तिक शुक्ल द्वितीयाका दिन भाइको पुजा गरिन्छ । यो दिन दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टिका लगाएर मनाइन्छ । टिका लगाएपछि दिदीबहिनीले ओखर, कटुस, मरमसला सहित मिष्ठान्न र फलफूल दिने र दाजुभाइले यथासक्य कपडा, गहना र दक्षिणा दिने प्रचलन पनि रहेको छ । शास्त्रीय परम्परा अनुसार लक्ष्मी पूजाको दिन स्थापना गरिएको दियो, कलश र गणेशसँगै अष्ट चिरञ्जीवी, बलीराज, यमराज, यमुना र धर्मराजको समेत विधिअनुरसार पूजा गरेपछि दाजुभाइलाई तेलको धाराले छेका हालेर कान र कपालमा त्यही तेल लगाइदिएर टिका लगाइदिने प्रचलन भएता पनि आजभोलि यो सबै छोडिदै आएको पाइन्छ । पुराना विधिविधान छोडे पनि सप्तरङ्गी टिका र मखमली, गोदावरी र सयपत्रीको माला भने लगाउन छोडिएको छैन ।