धनगढी ३ मङ्सिर ।
कवि हेमन्त विवशकाे एकल वाचन शनिवार धनगढीमा सम्पन्न भयाे । कार्यक्रममा कवि हेमन्त विवशले सीमान्तकृत र आवाजविहीनहरूका आवाजलाई मुखरित गर्दै लेखिएका कविता वाचन गरेका हुन् ।
बाधमार ढोलक, भुकम्प, हली, कतारको रैवार, प्यारो छ नेपाल, फर्कीन्छ चाँडै घर शीर्षकका कविताहरुले होटलको सभाहल काव्यिक बनेको थियो । कहिले शास्त्रीय छन्दोबद्ध त कहिले छन्दमुक्त कवितासँगै दर्शक दीर्घाको तालीले कवि विवश थप उत्साहीत भए ।
सुदूर पश्चिमेली लवज, संस्कृति र जीवनशैली विवशका कवितामा आउँदा सहभागीहरु दंग थिए ।
कार्यक्रममा गायक तथा संगितकार शिशीर साधकले कविका रचनालाई सङ्गीत भरेर गाएका थिए ।
डोटीमा जन्मेर काठमाडौँ बस्दै आएका कवि विवश दुई दशकदेखि साहित्य लेखनमा सक्रिय छन् । उनका ‘विवशका सम्राइ, असौजको जून, र यादै जनमभरि गरी ३ गीति एल्बम तथा ‘आफ्नै मनसँग’, सैपालको आँगन, गरी २ कविता सङ्ग्रहका साथै ‘कथा एउटै तिम्रो मेरो’ गीत सङ्ग्रह बजारमा आइसकेका छन् ।
गत बर्ष कार्तिकदेखी धनगढीमा सुरु भएको एकल रचना बाचन कार्यक्रमको यो तेश्रो श्रृङखला हो ।