दलालको हातबाट बेचिदैछ देश हाम्रो
प्रकुण्ठित पारिँदैछ धर्म, भाषा, भेष हाम्रो
कब्जा गर्न खोजिँदैछ रक्षा,न्याय,नीति सबै
कसरी पो रहला खै स्वाभिमान शेष हाम्रो ।
१
सधैंभरि जूनजस्तो घामजस्तो हुन्न जीवन
यथार्थमा सुन्दर यो नामजस्तो हुन्न जीवन
शीत-ताप, हुरी-झरी काँढा पनि जीवनै हो
सधैंभरि फूलैफूलको यामजस्तो हुन्न जीवन ।
२
सधैं सुधा बर्साउँछिन् धरामाथि जूनले हजुर
सभ्य,शिष्ट,स्थिर बन्छन् मान्छे ज्ञानगुनले हजुर
त्यागी बन्न सक्नुनै हो जिउनुको सार्थकता
हुन्नन् कोही महान् यहाँ हीरा,मोती,सुनले हजुर ।
३