काठमाडौं, २५ कार्तिक ।
प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गरिने बातलाबा कार्यक्रम यसपटक गोविन्द वर्तमानमाथि चर्चा गरी सम्पन्न भएको छ । कला साहित्यमा नयाँ बहस भन्ने श्लोगानका साथ सुरु भएको बातलाबाको यो चौथो शृङ्खला हो ।
परिचर्चामा सहभागी थिए साहित्यकार नारायण ढकाल, आहुति र डा. विन्दु शर्मा ।
कार्यक्रम गोविन्द वर्तमानका केही कविता सुनाएर सुरु गरिएको थियो । गोविन्द वर्तमानका नजिकका मित्र कवि श्यामलले वर्तमानको ‘अस्तित्व सोच’ शीर्षकको कविता वाचन गरेका थिए । अर्का मित्र कवि विमल निभाले ‘अग्रयात्रा’ शीर्षकको कविता सुनाएका थिए । त्यस्तै कवि अभय श्रेष्ठले ‘ऊ त्यसै आउँदैन’ शीर्षकको कविता वाचन गरेका थिए । कवि आर.एम. डंगोल, स्वप्निल स्मृति, शकुन्तला जोशी लगायत दश जना कविले गोविन्द वर्तमानका कविता वाचन गरेका थिए ।
उनीमाथि चर्चा गर्ने क्रममा आहुतिले उनलाई अप्ठ्यारो मान्छे भनेकोमा असहमति व्यक्त गर्दै वास्तवमा उनी सहज र सरल मानिस थिए भने । ‘उनीभित्र न कपट थियो न उनी चापलुसी, षडयन्त्र र जालझेल मन पराउँथे,’ आहुतिले भने– ‘षडयन्त्रमा रमाउने र कपटीहरूका लागि भने उनी सहज थिएनन् ।’
अतिसय रक्सी सेवनले गोविन्द वर्तमान सकिएको हो भन्ने कुरालाई पनि आहुतिले अस्वीकार गरे । रक्सि खाएर गोविन्द वर्तमान सकियो भन्नु र चुरोट खाएर देवकोटा सकिए भन्नु उस्तै बेतुकको कुरा भएको उनको जिकिर थियो । तर ‘आफ्नो निष्ठा, आदर्श र विचारमा प्रतिवद्ध हुँदाहुँदै पनि जनयुद्धको विरोध गरी ‘बाह्र साँझ’ लेख्नु उनको कमजोरी थियो ।’ आहुतिले भने ।
त्यस्तै नारायण ढकालले गोविन्द वर्तमानको हकी स्वभाव र प्रतिवद्ध लेखनको सह्राना गरे । उनले आफू दुई बीचको अन्तरङ्ग सम्बन्ध सुनाउँदै ऊसँग आकस्मिक रूपमा विछोडिनु पर्दा आफू मर्माहत भएकोले अहिलेसम्म उसका बारेमा केही बोल्न नसकेको स्वीकारे ।
डा. विन्दु शर्माले गोविन्द वर्तमानको निवन्धकारिताका पक्षमा आफ्नो समालोचनात्मक टिप्पणी गरेकी थिइन् ।
अखिल नेपाल लेखक सङ्घले आयोजना गर्ने बातलाबा कार्यक्रम मासिक रूपमा मण्डला थिएटरमा आयोजना हुँदै आएको छ ।












