काठमाडौं १९ कार्तिक ।
महेश पौड्यालको पछिल्लो कथासंग्रह ‘त्यसपछि फुलेन गोदावरी’ माथि कार्तिक १८ गते चितवनमा विमर्श भएको छ । विमर्श कविडाँडा साहित्य समाजको आयोजना तथा चितवन साहित्य परिषद्को आतिथ्यतामा सम्पन्न भएको हो । चितवन साहित्य परिषद्को भवनमा आयोजित उक्त कार्यक्रममा अग्रज आख्यानकार रामबाबु घिमिरे प्रमुख अतिथि तथा चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष साहित्यकार एवं समाजसेवी अच्युत वाग्ले विशेष अतिथि हुनुहुन्थ्यो ।
पुस्तकमाथि बोल्दै आख्यानकार अनुपम रोशीले महेशका कथाले मान्छेको भावना र मनोविज्ञानको पक्षलाई सुन्दर ढङ्गले उजागर गरेको बताइन् । बालबालिका, महिला तथा एक्ला पात्रहरूमार्फत पौड्यालले नेपाली धरातलबाट कारुणिक कथाहरू टिपेको टिप्पणी उनले गरिन् । अर्का आख्यानकार प्रा. डा. हरिहर पौडेलले पौड्यालको आख्यान शिल्पको प्रशंसा गर्दै उनले आगामि दिनमा पारम्परिक विषयभन्दा बद्लिएको समयका नवीन कथानक उठाउँदा राम्रो हुने सल्लाह दिए ।
प्रमुख अतिथि रामबाबु घिमिरेले पौड्यालका कथा पश्चिमको विसङ्गतिवाद तथा पूर्वको शून्यवादबाट प्रभावित भएकोले मृत्युकेन्द्रित हुन पुगेको टिप्पणी गरे । सभापतिको रूपमा बोल्दै कथाकार तथा कवि एलबी छेत्रीले पौड्याल समालोचक पनि भएका हुँदा उनको कथामा सामाजिक विसङ्गतिप्रतिको आलोचना प्रकृतिक रूपमा आएको टिप्पणी गरे । कार्यक्रममा श्रष्टाहरू सुरेन्द्र अस्तफल, ईश्वर कँडेल, रमेश प्रभात, उदय अधिकारी तथा दिनेश पौडेलले पनि कृतिमाथि आफ्ना अवधारणा राखेका थिए ।