बेँसीशहर, १० कार्तिक
कला साहित्य डट कमको कलासाहित्य यात्रा २०७४ लमजुङमा सम्पन्न भएको छ । यस संस्थाले प्रत्येक वर्ष विविध विषयमा साहित्ययात्रा सञ्चालन गर्ने गर्छ । यस पटकको साहित्य यात्रामा उत्तरार्द्ध साहित्य विशेष विमर्ष गोष्ठी अयोजना गरिएको थियो । ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थाका बारेमा लेखिने साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा बहस गरिएको थियो । ‘मेरो राष्ट्र मेरो ध्येय’ नारा बोकेर लमजुङ आएका साहित्यकारहरुलाई सर्वोदय सेवा आश्रमका आयोजकले स्वागत गरेका थिए ।
‘कार्यक्रममा उत्तरार्द्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिनु भयो । उत्तरार्द्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेकोले यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उहाँको भनाइ थियो । त्यस्तै नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तरार्द्ध साहित्य मार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस शुरु गरिएको बताउनु भएको थियो ।
सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ जना साहित्यकार सम्मिलित टोली लमजुङ पुगेको थियो । यात्रा अन्तर्गत बेँशीशहर र ज्येष्ठनागरिक आश्रम तार्कुघाटमा सिर्जना उत्सव समेत गरिएको थियो ।