दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझैं
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोट्याएर;
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक—असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको ‘लेथे’ नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पुर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।