काठमाडौं, २० असोज ।
यसवर्षको साहित्यतर्फको नोवेल पुरस्कार फ्रेन्च उपन्यासकार प्याट्रिक मोदियानोलाई दिने घोषणा गरिएको छ । मोदियानोले आफ्ना कृतिमा इतिहास खोतल्ने गर्छन् । समाजमा युद्धले पारेको असरलाई यी लेखकले आफ्ना कृतिमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने गर्छन् । जासुसी विषयमा लेख्नु उनको रुचि हो भने युद्धले सिर्जना गरेको अभिघात शैलीद्वारा युद्धको विरोध गर्नु उनको विशेषता हो । प्रचारमा आउन कमै रुचि गर्ने यी लेखकले सिनेमाका लागि स्कृप्ट लेख्नुका साथै बालसाहित्यमा पनि कलम चलाएका छन् । विश्व साहित्यमा खासै नसुनिएका र नपढिएका यी लेखकका प्रकाशित कृतिमध्ये ‘मिसिङ पर्सन’ फ्रान्समा सर्वाधिक चर्चित उपन्यास हो ।