गोरखपुरको ठाकुर दयाराम सिंहको छोरी म गोरखा दरबारमा आइपुगेपछि नरेन्द्रलक्ष्मी बनेँ । गोरखपुरको समथर र गर्मी ठाउँमा जन्मिएर हुर्केकी मलाई सुरुमा यहाँको चिसोमा रहन कठिन परेको थियो । मलाई भानु जोशी नाम गरेका पण्डितले पृथ्वीनारायणका लागि डोला झिकाएका थिए । बाबु आमाले जहाँ पठाए त्यहाँ जानु पर्ने छोरीहरूको नियति थियो । तर मलाई कुनै गुनासो थिएन । बुबाको छनोट गलत हुन सक्दैन भन्ने मलाई विश्वास थियो ।
भानु जोशी दरबारका गुरु रहेछन् । केही दिन पोखरीथोकमा रहेको उनको घरमा बसेँ । त्यहाँ गुरु आमाले मलाई गोरखा दरबारको तौर तरिका सिकाउनुभयो । पृथ्वीनारायण शाहको पहिलो विवाह सफल हुन नसकेको कुरा मैले त्यहीँ आएर थाहा पाएँ । यसले मलाई के फरक पथ्र्यो र ? त्यसै पनि राजा महाराजाहरूले बहुविवाह गर्ने सामान्य चलन थियो । पृथ्वीनारायण शाहको चार आमाहरू रहेको कुरा मैले गोखपुरमा नै सुनेको थिएँ । भानु जोशीले बुबालाई बताएका थिए । अर्थात मेरा हुनेवाला चार सासूहरू थिए । पृथ्वीनारायण शाहको छ भाइहरू रहेको पहिले नै सुनाइएको थियो । जेठी सासू चन्द्रप्रभाको कुनै सन्तान नभएको तर पृथ्वीनारायण शाहको लालनपालन उनैले गरेकाले दरबारमा उनको विशेष स्थान रहेको कुरा मलाई गुरुआमाले बताउनुभयो ।
उपयुक्त साइत हेरेर मलाई गोरखा दरबारमा भित्र्याइयो । म बाबुआमालाई भुलेर गोरखा दरबारमा रमाउन थालेँ । सँगै रहेपछि थाहा भयो पृथ्वीनारायण ख्याल ठट्टा मन पराउँदा रहेनछन् । भर्खरका नौजवानमा हुनुपर्ने चञ्चलता उनमा पटक्कै थिएन । भोगविलासप्रति पटक्कै चासो थिएन । उनी जतिखेर पनि गम्भिर र चिन्तनशील भएको देखिन्थ्यो ।
म गोरखा दरबारमा भित्रिएको चार वर्ष नपुग्दै ससुरा नरभूपाल शाहको मृत्यु भयो । अब मेरा पति राजा भए, म महारानी बनेँ । राजा बनेपछि उनी झन गम्भिर र चिन्तित बनेको देखेँ तर सोध्ने आँट आएन । कतै रिसाउनु होला कि भन्ने डर थियो । त्यसो त हामी नारीलाई पतिको कुनै पनि कुरामा राय सुझाव दिने वा हस्तेक्षप गर्ने कुनै अधिकार थिएन ।
सुरु सुरुमा त पिताश्रीको मृत्युको कारण त्यस्तो भएको होला भन्ने लागेको थियो । दिन प्रतिदिन उहाँको चिन्ता बढ्दै गएको देखेर हाम्रो पहिलो छोरा प्रतापको जन्मदिनको अवसरमा साहस गरेर चिन्ताको कारण सोधेँ, “हैन, हजुरलाई कुन कुराको चिन्ता बढ्दै गएको हो ? मबाट कुनै त्रुटी भएको छ र ?”
पृथ्वीनारायणले गम्भिर हुँदै भने, “भारतमा अङ्ग्रेजको राज फैलँदो छ । मेरा गुप्तचरहरूले मलाई खबर दिएका छन् कि उनीहरूको आँखा विस्तारै नेपालतर्फ बढ्दो छ । ती फिरिङ्गीहरूको कुनै भर छैन । यदि उनीहरूले आक्रमण गरेमा हाम्रो यो हिमालय भूमि एक एक गर्दै कब्जा गरेर शासन गर्ने छन् । अब त्यो समय धेरै टाढा छैन । हामीले केही गरिहाल्नु पर्छ । तर कसरी के गर्ने केही सोच्न सकिरहेको छैन ।”
धेरै थाहा नभए पनि अङग्रेजले कसरी साना साना राज्यलाई निलिरहेछ भन्ने कुरा मैले पनि माइतमा रहँदा थाहा पाएको थिएँ । “एउटा सुझाब दिऊँ महाराज ?” मैले भनेँ ।
“भन न ।”
“एक्लै चिन्ता बोक्नुको सट्टा किन भारदारहरूको बैठक राखेर सल्लाह लिनुहुन्न ?”
“एउटा योजना मेरो मनमा बनेको छ । भोलि नै म बैठक राखेर साना साना राज्यहरूलाई आफ्नो राज्यको हिस्सा बनाउने आदेश दिने छु ।”
“महाराज, साना साना राज्यहरूलाई किन कब्जामा लिने ? त्यसो गरेर के हुन्छ र ?” मैले उहाँको यस्तो योजनाको कारण बुझ्न सकिन । एकैचोटी ठुला राज्यलाई मिलाए भइहाल्छ भन्ने मेरो विचार थियो ।
उहाँले जवाफमा भन्नुभयो, “यो बाह्र हजार गोरखामा ठुला राज्यमा जस्तो हातहतियार र आम्दानी दुबै छैन । साना सानालाई जोडेपछि हाम्रो साम्राज्य पनि ठुलो हुने छ । बुबा हजुरले नुवाकोटमाथि राज गर्ने सपना त्यसै देख्नुभएको होइन । नुवाकोट हाम्रो हातमा आयो भने उब्जाउशील जमिन हाम्रो हुने छ । यसले हाम्रो कृषि र आम्दानी दुबै बढ्ने छ ।”
‘हे कालिमा माई ! उहाँको यो सपना चाँडै पूरा होस् ।” मैले मनमनै भाकल गरेँ ।
भारदारहरूको बैठक बस्यो । भारदारी सभामा हामी महिलाहरूलाई बस्ने छुट थिएन । राजमाता भएको नाताले चन्द्रप्रभाको उपस्थिति मान्य हुन्थ्यो । जनताहरूको चाहना अनुसार र भारदारहरूको सुझाव अनुसार कालु पाँडेलाई काजी बनाइयो । एउटा विशाल साम्राज्य निर्माण गर्ने कुरामा त सबैले सहमत जनाएछन् तर तुरुन्त नुवाकोटमा आक्रमण गर्ने कुरामा काजी कालु पाँडेले असहमति जनाएछन् । सभामा नै राजाले उनलाई कातर भनेर गाली गरेछन् । ‘त्यो त्यति मजा भएन ।’ पछि राजमाता चन्द्रप्रभाले भन्दै हुनुहुन्थ्यो । राजसी हठका कारण पनि त्यस्तो भएकोे हुन सक्छ । आफ्नो पति भनेर के गर्नु, कहिले काही त राजाको हठले पराकाष्ठ नै काट्छ । गलत छ भन्ने थाहा हुँदा हुँदै पनि चुप लाग्नु पर्छ ।
कालु पाँडेको असहमतिमा बाबजुद पनि नुवाकोटमाथि आक्रमण भयो तर गोरखाली सेनाले नराम्रोसँग हार खानु प¥यो । यो घटनापछि पृथ्वीनारायण झन गम्भिर हुन थाले । कुराकानीको मेसोमा भने उनमा कालु पाँडेप्रति सम्मान जागेको भाव व्यक्त हुन्थ्यो । कालु पाँडे गोरखा राज्य र दरबारको हित चिन्तक थिए । कालु पाँडेको साथ लिएर महाराजले धेरै काम गर्न सक्छन् भन्ने लागेको थियो मलाई । भारदारी सभामा गाली खाएपछि कालु पाँडे पछि हट्लान् कि भन्ने डर थियो । महाराजको व्यवहारले अब त्यो डर हटेको थियो । महाराजले अब हरेक कुरामा काजीको सल्लाह लिन थालेका थिए ।
काजी कालु पाँडेकै सल्लाहमा महाराज कासी यात्रामा निस्किए । देखाउनका लागि त सामान्य तिर्थयात्रा थियो तर आन्तरिक उद्देश्य अकै रहेका थियो । हतियार जम्मा गर्नु, अन्य मुलुकको अवस्था बुझ्नु आदि थियो । मलाई विश्वास लाग्न थाल्यो– अब भने गोरखा राज्यको साम्राज्य निर्माण गर्न कसैले रोक्न सक्ने छैन । ‘यता प्रतापसिंह शाह राजपाठ बुझ्दै छन्, बाबुलाई यिनले पनि सहयोग गर्लान् । बाबुको मृत्युपछि दरबारमा हुर्काइएका अमर सिंह पनि निकै सुरवीर भएर निस्कँदै छ ।’ म विशाल साम्राज्यको महारानी भएको सपना देख्न थालेँ ।
(हिम रश्मि हाई, स्कुल कक्षा १०, काठमाडौं)