१. ‘उही धर्ती उही आकाश’ गजल सङ्ग्रह हो । यस पुस्तकका लेखक सुमित्रा वाङ्देल ‘चेली’ हुन् । २०७४ सालमा प्रकाशित यस पुस्तकमा ७६ ओटा गजल सङ्कलित रहेका छन् । नेपाली वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको यस पुस्तकमा जम्मा ९६ पृष्ठ रहेको छ । मूल्य रु. १५० कायम गरिएको यस पुस्तकको आवरण अभिशेक दासले बनाएका छन् । पुस्तकमा धनकुटे कान्छाको प्रकाशकीय, प्रकाश आङ्देम्बे, अशोक राई, विमला थुलुङ, उद्धवप्रसाद राई, मधु पोखरेलको शुभकामना रहेको छ । यसका अतिरिक्त राजेन्द्र थापाको भूमिका समग्र कृतिमाथि केन्द्रित रहेको छ । लेखकीयमा ‘चेली’ले सहयोग पु¥याउनेहरूलाई धन्यवाद मात्र दिएकी छैनन् आफ्नो जीवनको विचारसँग जोडिएको बहसमा शालीन संवाद राख्ने जमर्को भएको छ । आवरणको पछिल्लो पातोमा प्रस्तुत गोविन्दराज भट्टराई र घनश्याम परिश्रमीले छोटोमा गहन निष्कर्षसहितको कृति टिप्पणी गरेका छन् ।
२. सुमित्रा वाङ्देल ‘चेली’ २०५० को दशकदेखि नै थोक कृतिमार्फत् नेपाली साहित्यको पाठक सामु उपस्थित कृतिकार हुन् । ‘चेलीभित्रको पहाड’ (खण्डकाव्य, २०५८), ‘इलामे चेलीका रचनाहरू’ (संयुक्त कविता सँगालो, २०५९), ‘गंगाजल’ (गजल सङ्ग्रह, २०६०) यसअघि उनको प्रकाशित कृतिहरूको सूची हो । चेलीका फुटकर रचना यत्रतत्र प्रकाशित रहेका छन् । काव्य विधाका साथै आख्यान, निबन्ध र समालोचना विधामा पनि धेरै रचना सिर्जना पस्किसकेकी चेली नेपालको पूर्वी भाग झापामा बसेर साहित्य लेखन र समाज सेवामा सक्रिय रहेकी छिन् । दर्जनौं साहित्यिक कार्यक्रममा सहभागी बनी सक्रिय साहित्यिक अभियान र सम्मान प्राप्त गर्न सफल ‘चेली’ परिचित नेपाली नारी साहित्यिक हस्ताक्षर हुन् । उनको रचनामा सामाजिक विषयले उच्च स्थान पाउने गरेको छ ।
३. ‘चेली’ मूलतः काव्य विधामार्फत् आफूलाई पोख्छिन् । वर्तमानमा बाँचेको जीवन र यसका अपुग पक्षमा उनको सरोकार रहेको छ । नारी भएर उभिनुको छुट्टै गरिमालाई उनी आफ्ना रचनामा मिलाएर प्रस्तुत गर्छिन् । समस्याको चाङभित्र नै समाधानको सङ्केत हुन्छ । जीवन भन्नु सङ्घर्षको अर्को नाम हो । परिचय र परिभाषा आफैंमा मिल्दाजुल्दा विषय हुन् । सङ्घर्षले बनेको परिचयभित्र जीवनका अनेकौं परिभाषा खोज्न तल्लीन चेली सामाजिकउ त्तरदायित्व बहन गर्ने लेखक हुन् । उनी साहित्यले उल्झन थप्ने होइन, पीडाको उत्खनन् गर्दै समाधानको यात्रामा सङ्घर्ष गर्न सिकाउँछ भन्छिन्;
आगोको पोल्ने बानी तर पानीले जल्नु हुँदैन पानीआखिर पानीहो आगोझैं बल्नु हुँदैन । (पृ. ५८)
प्रकृतिमा सबैले आ–आफ्नो स्वभाव बोकेका हुन्छन् । गुण–अवगुण सबैका हुन्छन् । सही भूमिका खेल्नेले भूमिका पु¥याउन नसके समस्या थप जटिल हुनेतर्फ लेखक सचेत भएको देखिन्छ । कतिपय शास्त्रीय छन्दलाई अवलम्बन गर्दा पनि समाजभित्रको मौलिक पक्षलाई उज्यालो पार्न पटक्कै नचुक्ने ‘चेली’को गजलमा शुक्तिमयता रहेको छ । थोरैमा धेरै भन्ने योग्यता राख्ने उनका गजलका हरफहरूले अलमलिएकालाई बाटो देखाउने काम समेत गरेको छ ।
गन्तव्यमा लम्क्या पाऊ बिन्ती छ है तान्नु हुन्नआ फ्नै गोडा बञ्चरोले मूर्खतावश हान्नु हुन्न । (पृ. ५०)
आफ्नै जीवनानुभूतिबाट प्राप्त निष्कर्षलाई मूल सन्देशको रूपमा गजलकारले आफ्नै मौलिक विशेषतामा ढालेकी छिन् । उच्चारणमा कथ्यपाराको प्रयोगभित्र समाजलाई समाहित गर्दै नैतिक सन्देश दिन तल्लीन छन् उनका अक्षर । ‘चेली’ समाजलाई पाठशालाको रूपमा बुझ्न र समाजका सदस्यहरूलाई पुनः केही अनुभव बताउन आतुर छिन् । प्रगतिशील चेत र सचेत अभियन्ता भएको कारण पनि ‘चेली’ आफूलाई श्रमको सौन्दर्यगाथामा समाहित गर्दछिन् । श्रमको महत्व बुझ्न र श्रमबाट नै नयाँ संसारको निर्माण हुने विषयमा उनको जिकिर शालीन र प्रतिबद्ध खालको रहेको छ ।
श्रमजीवी कमिला र माहुरी हेर साथी अविश्रान्त खटिरहन्छन् जति खेर साथी । (पृ. २८)
अविश्रान्त श्रममा खटिरहने र आफूलाई शिल्पीका रूपमा परिचित तुल्याउने मानव जातिले प्रकृतिका धेरै प्राणी, पन्छीलाई गुरु मान्नु पर्ने व्यावहारिक पक्षयहाँ प्रस्तुत गरिएको छ । श्रम नगर्ने तर श्रमको शोषणमा तल्लीन हुनेहरूप्रति उनी कटाक्ष गर्दछिन् ।
श्रम गर्ने श्रम गर्छन् मोज गर्ने मोज अन्याय र शोषण दमन भयो धेर साथी । (पृ. २८)
अन्याय र अत्याचारका विरुद्ध लड्नुको विकल्प छैन । योजनाबद्ध यात्राको अर्को नाम नै सङ्घर्ष हो । सङ्घर्षको क्रममा वर्गीय सङ्घर्ष अत्यन्त महत्वपूर्ण पाटो हो । समानताका लागि श्रमको शोषण अन्त्य हुनु पर्दछ । जब अन्यायका विरुद्ध आवाज बुलन्द पार्न सकिन्छ तबसम्म परिवर्तन पक्का बन्दैन । जाल–झेल र शोषणको विपक्षमा आवाज मुखरित गरिरहेपछि नै सत्य र न्यायको मार्ग फराकिलो बनाउन सकिन्छ । जीवनको परिभाषा व्यक्तिलाई केन्द्रमा राखेर गर्नु हुन्न । समग्र मानव जातिको सम्पन्न यात्राका लागि निरन्तर खट्न सक्नुपर्छ । एउटै धर्तीमा टेक्ने र उही आकाश ओढ्नेहरूमा देखिएको थुप्रै असमानतालाई हटाउन एकताबद्ध हुनुको अर्को मार्ग छैन । नेपालभित्र नै नेपालीले एउटा भूगोलबाट निरन्तर शासित हुनु परेको विषय उद्घाटिन गर्दै नेपाललाई बलियो बनाउन नेपाली पलायन हुनबाट जोगाउनु पर्ने सन्देश प्रस्तुत भएको छ ।
केन्द्रीकृत सत्ता हुँदा काठमाडौं नै नेपाल साझा विचार हुन्न पर नयाँ नेपालमा । (पृ. ३५)
नगर मुग्लान छिर्ने कुरा नसुनाऊ छाती चिर्ने कुरा । (पृ. ३४)
लाखौं नेपाली युवा विदेशमा पलायन छन् । प्रविधि सिक्न गएकालाई पनि देश पायक पर्न छोडेको छ । श्रमको निम्ति खाडी चहार्न बाध्य हाम्रा लाखौं युवाले नेपालमा नै रोजगराी पाए ! त्यो दिन ल्याउनका लागि हामीले सोच्ने कि नसोच्ने ? यावत प्रश्न र प्रश्नभित्र गहन उत्तरको खोजी समेत गजलमा ‘चेली’ अभिव्यक्त गर्न पुग्छिन् । नयाँ युग निर्माण गर्न नयाँ विचार ग्रहण गर्न जरुरी छ । हामी त्यस बाटोमा उन्मुख पनि छौं । सार्वभौम भई बाँच्ने रहर कसलाई पो छैन र ! यही रहर पुरा गर्न सामूहिक नेतृत्व, उत्तरदायी राज्यव्यवस्था र जनताको समस्या समाधान गर्न सक्ने राष्ट्रिय नीतिको आवश्यकता नै आजको मूल माग हो भन्न सकिन्छ ।
नयाँ युग नयाँ विचार नयाँ नेतृत्व होस् सार्वभौम भै बाँच्ने रहर नयाँ नेपालमा । (पृ. ३५)
‘चेली’को मन कहिले विदेशमा बिक्री भएकी नानीहरूको पीरमा पिरोलिन्छ त कहिले देशभित्रै नारी अधिकारलाई बन्देज गरी पुरुष एकाधिकार र राज्यसत्ताले गरेको अन्यायतर्फ कटाक्ष गर्न पुग्छ । लाखौं युवाले आँसु झार्न परेको यथार्थ र देह व्यापारका निम्ति नारीलाई विदेशमा बेच्ने हाम्रो नेपाली परिचय फेर्नु पर्नेमा गजलकारको जोड छ । इतिहास बदल्नका निम्ति मूलतः सचेत योद्धाहरूले नेतृत्व लिनुपर्छ । योजनाबद्ध ढङ्गले हामीले सोच विचार गरे मात्र परनिर्भर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
गजलकार ‘चेली’ अपुगहरूको मात्र कुरा गर्दिनन् । उनी त हाम्रो असाध्यै धनी संस्कृति र वैज्ञानिक संस्कारका विषयलाई उत्साहित हुँदै सुनाउँछिन् । उनको कलम इतिहास र संस्कृतिको पाटोमा निरन्तर चलिरहेको छ । उनको विचार अपसंस्कृतिको विपक्षमा लडिरहेको छ ।
बसाइ मात्र नेपालको धाक अमेरिकाको शुद्ध निखर नेपालीको पन कहाँ होला ? (पृ. २१)
कहिले आफूलाई जन्म दिने आमा सम्झिने गजलकार कहिले नेपाली आमाको रूपलाई कुरूप हुनबाट बचाउन दत्तचित्त छ । यही धर्तीमा खोसलेर सुख प्राप्त गर्न सके मात्र हामी नेपाली भनिन लायक हुनेछौं भन्ने उनको सार वाक्य छ । भूमिका लेख्ने क्रममा राजेन्द्र थापाले भनेझैं ‘यो सङ्ग्रह सामाजिक पीडाहरूको दस्तावेज हो’ पाठक प्रिय लेखक ‘चेली’लाई यसकारण पनि सम्झन्छ कि; ‘चेली’ मात्र देश, मात्र माटो र मात्र हाम्रो स्वाभिमान लेख्छिन् ।
एउटै जोडी हरफहरू भित्र पनि अघिल्लो हरफले एउटा सशक्त विचार दिने र अर्को हरफले अर्कै वैचारिक बहस छेड्ने काम गजलकार ‘चेली’को गजल सङ्ग्रहभित्रका अधिक गजलहरूले गरेका छन् ।
बाँदरलाई लिस्नु हाल्यौ र रुन्छौ कोखिलामा गोमन पाल्यौ र रुन्छौ । (पृ. ५६)
हामीले आज नेपालको राजनीतिबाट सिक्ने पाठ पनि यही हो । विना तयारी नेता भनिन पुगेकाहरूले राज्यलाई नै लिलाममा चढाउने सुरसार कसैको हुँदा हामी सचेत नागरिक चुप लागेर बस्ने बेला छैन । हामीले भित्र्याएको पश्चिमी फोहोरी संस्कृतिले क्रमशः हाम्रो संस्कृतिलाई मार्ने, थला पार्ने मात्र गर्दैन थप यसले प्रत्येक नेपालीलाई परनिर्भर बनाउँदै कमजोर तुल्याउँछ । नेतालाई जनताको डर र पीर दुवै नभएपछि नेताहरू बिक्नु स्वभाविकै हो । नीति बनाउने नेता नै विदेशी परियोजनामा बिकेपछि हामीले किन नेता मानिरहने ? थुप्रै प्रश्नको बिटो गजल सङ्ग्रहभित्रका गजलहरूले प्रस्तुत गरेका छन् ।
४. सार
नेपाली समाजको अपेक्षा र अभावहरूको सुन्दर चित्र ‘उही धर्ती, उही आकाश’ गजल सङ्ग्रहमा उतारिएको छ । गजलकार कतै कसैलाई लोलोपोतो पार्नुपर्छ भन्ने हिसाबले सोच्दिनन् र लेख्छिन् । देखेको, भोगेको विषयलाई स्पष्ट ढङ्गले राख्ने र निरन्तर श्रमको शोषणको विपक्षमा, सामाजिक न्याय र समानताको यात्रामा खट्ने प्रण गजलकारले गरेकी छिन् । शास्त्रीय आँखाले गजलहरूको परख गर्न खोज्दा कमीकमजोरी नहोला भन्न सकिन्न । भाव र प्रस्तुतिको माध्यम बनाउने हिसाबले विषयप्रति न्याय गर्ने काम ‘चेली’को कलमबाट भएको छ । मूलतः सस्तो लोकप्रियताका लागि नलेख्ने वैचारिक धरातललाई बिर्सेर नलेख्ने अनि आमा र आमाका प्रत्येक सन्तानको मायाले ओतप्रोत भएर लेख्ने ‘चेली’ झापा जिल्लामा जन्मेर नेपालभरि चेतनाको दीप फिँजाउन सफल भएकी छिन् । विषयको विविधता र प्रस्तुतिको शिष्टपनले अभिभावकीय भूमिकामा रही साहित्य लेखन गर्ने स्रष्टाको रूपमा ‘चेली’को चिनारी बनेको छ ।