साहित्य क्षेत्रमा लागेको निकै वर्षपछि अनुभवलाई किताब निकाल्ने धुन चढ्यो। कामको व्यस्तता र राजधानीबाहिर बस्नुपर्दा उसले प्रकाशकसित उस्तो सम्बन्ध बनाउन सकेन। एक दुई प्रकाशकसित उसले समय मिलेका बेला कुराकानी पनि गऱ्यो तर प्रकाशकले गैरआख्यानका किताबमा उस्तो रुचि नराखेको पाएपछि उसले पुस्तक निकालिहाल्न उस्तो हतार गरेन। निकै वर्ष कुरेपछि आफ्नै लगानीमा उसले पुस्तक निकाल्यो। राजधानीमा भव्य कार्यक्रम गरेर पुस्तक लोकार्पण भयो। पुस्तकले सञ्चार माध्यममा पनि निकै चर्चा पायो।
राजधानीमा पुस्तक लोकार्पण गरिसकेपछि अनुभव आफ्नो कर्मथलो फर्क्यो। उसले पुस्तकहरू ठाउँठाउँका पुस्तक पसलमा पनि बेच्न छाड्यो र केही पुस्तकहरू आफूसितै राख्यो। उपहार दिनैपर्नेलाई बाहेक बाँकी किताबहरू उसले फुटकर रूपमै बेच्यो। उसको सम्पर्कमा भएकाहरूमध्ये अधिकांशले किताब किने। किताब किन्नेमा उसका सहकर्मीदेखि सहपाठीसम्म थिए। पुस्तकबारे सबैले सकारात्मक प्रतिक्रिया दिँदा अनुभव निकै खुसी र उत्साहित थियो । किताब बेचेर अलिअलि उठेको पैसामा थपथाप गरेर अर्को किताब निकाल्ने उसको चाहना थियो।
केही दिनपछि अनुभवले काम गर्ने संस्थाको निकै अग्रज कर्मचारी पीताम्बरसित उसको भेट भयो। पीताम्बर आफू उच्च पदस्थ जागिरे, अथाह पुर्ख्यौली सम्पत्ति भएको निकै नै धनाढ्य थियो । छोराहरू विदेशमा थिए र कुनै कुराको अभाव थिएन। पीताम्बरले अनुभवलाई भेटेर बधाई दिँदै भन्यो- ‘लौ, तपाईँले पुस्तक निकाल्नुभएछ। खै,त हामीलाई पढ्न दिनुभएन?” अनुभवले धन्यवाद दियो र झोलाबाट किताब निकालेर दियो। पीताम्बरले भन्यो -“लौ,यहाँ हस्ताक्षर गरेर उपहार स्वरूप लेख्नुहोस् र मलाई दिनुहोस्।” अनुभवले पीताम्बरले भनेझैँ पुस्तकमा लेखकको नाम भएको छेउमा उपहारस्वरूप लेख्यो र आफ्नो हस्ताक्षर गऱ्यो। हस्ताक्षर गर्ने बेला उस किताब बेचेका ती विद्यार्थीहरूको अनुहार झल्झली सम्झ्यो जसले आफ्नो पढाइ खर्च वा केही दिनको खाजा खर्च कटाएर पनि किताब किनेका थिए। अनुभवले ‘उपहारस्वरूप’ लेखेर हस्ताक्षर गरी सो पुस्तक पीताम्बरलाई दियो। टाढाबाट अनुभवले फेरि किताबमा दृष्टि लगाउँदा हस्ताक्षर भएको ठाउँको मास्तिर ‘उपहार’ नदेखेर ‘उपहास’ देख्यो।
(पाटन, बैतडी)