‘बा हुनुहुन्छ ?’ आगन्तुकले आकस्मिक प्रश्न गरेपछि त्यहाँ उपस्थित एकछिन अलमलमा परे । अलि अल्लारे देखिनेले भन्यो— ‘बा त बालकोटको बार्दलीमा ।’
स्मित हास्यका साथ आगन्तुकले फेरि सोध्यो— ‘हैन, झाँक्री बा हुनुहुन्छ ? पो भनेको त !’ कुँडुलो लागेका मध्येबाटै आवाज आयो— ‘यहाँ कोही झाँक्री भएजस्तो लागेन । झाँक्री दिदीलाई देखेकोसम्म हो नेपालको हात तान्दै गरेको तर उहाँ यहाँ आएको त थाहा छैन ।’
आगन्तुक आंशिक रूपमा अत्तालियो र भन्यो— ‘मैले यही घरको बालाई खोजेको, उहाँ हुनुहुन्न ?’ त्यहाँ रहेका अझ बढी असमञ्जसमा परे । ‘म मेधावीको बा, उहाँ उत्तराको बा, साथी सन्ध्याको बा । हामी तीन बा मध्ये कसलाई खोज्नुभएको तपाईंले ?’ बेलुनबाट विभिन्न आकृतिका जनावर र पक्षी बनाइरहेको अधवैँशेले उत्तर र प्रश्न एकसाथ राख्यो ।
उभिइरहेको अपरिचित आगन्तुक डरायो । उसलाई शौच गर्न जाऊँ वा सुइँकुच्चा ठोकौँ जस्तो भयो । प्रसङ्ग मोड्न उसैले सिँढीमा सजाइएको गमलातिर हेरेर भन्यो— ‘कस्तो रातो फूल !’ अघिसम्म चुपचाप संवादको साक्षी मात्र रहेर चित्रमा रङ भरिरहेको आर्टिस्टले सोध्यो— ‘कस्तो रातो ? रगतजस्तो कि, सिम्रिकजस्तो कि, नव विवाहित यौवनाको ओठजस्तो कि, पाकेको सिन्दुरे आँपजस्तो कि, आरनको आगोजस्तो कि, बिहान वा बेलुकीको घामजस्तो कि … कस्तो ?’
आगन्तुकका ओठमुख सुके । ऊ निरुपाय बन्दै गएको बेला मास्क, पञ्जा, टोपी, मोजा, ज्याकेट र ट्राउजर लगाएका खिरिलो ज्यानका व्यक्ति खोक्दै देखा परे ।
केही राहत मिलेझैँ उही पूर्व आगन्तुकले तिनैलाई सोध्यो— ‘चामल कसरी ल्याउनुभयो ?’
‘वृद्घ ज्यानले बोक्न सकेन । मैले त सिटी सफारीमा ल्याएँ ।’ उत्तर आयो ।
‘हैन, बोराको कति पर्यो ?’ उसले प्रश्न सच्यायो ।
‘बोराको मूल्य परेन, निःशुल्क हो बोरा ।’ उत्तर उस्तै आयो ।
युद्घ हारेर लज्जित लडाकुकै शैलीमा ऊ त्यहाँबाट फुत्कियो । बाटोमा निस्किएर उसले उक्त निवासलाई एक टकले हेर्यो– न छानो देखियो, न बार्दली । न उसले तलाको अनुमान गर्न सक्यो, न बिल्डिङको रङ नै भन्न सक्यो । बिस्फारित आँखा अक्षरमा ठोक्किए र अनुहारको भाव बदलियो । लेखिएको थियो— ‘डेरिडाको डेरा ।’
…………..
(सुनसरी )