मान्छे, समाज र संस्कृति एक आपसमा यति घनिष्ट र संस्लिष्ट छन् कि एउटाको अभावमा अर्कोको अस्तित्व कायम रहन सक्दैन । हामी जहाँको समाज र संस्कृतिमा जन्मिन्छौँ अथवा हुर्किन्छौँ त्यहीँको जस्तो हुनुपर्छ र त्यहीँको जस्तो भएर बाँच्नु पर्छ । बाँचेन भने ऊ किन त सुकरात बन्नुपर्छ कि त कौटिल्य बन्नुपर्छ । कि मृत्यु कि सङ्घर्ष । कि गंगालाल कि रायमाझी । सायद यी अलि पुराना बिम्ब हुन । वर्तमानमा पनि प्रसस्त बिम्ब छन् । के बलिसरा जिउँदो इतिहास होइन र ? के कृष्णसेन इच्छुक ताजा गवाह होइनन् र ? यी यथार्थ हुन जनयुद्धका ।
समाज विकासको गति र इतिहासलाई हेर्ने हो भने बाँच्नका लागि गरिने सचेतनापूर्ण सङ्घर्षद्वारा नै समाज र संस्कृतिले अग्रगामी गति लिएको देखिन्छ । यस्तो गति अथवा निर्माण वा विकास जे भन्नोस् पुरानोको ध्वंसविना सम्भव हुँदैन । हामीले बुझेको यही हो । प्रत्येक कुरामा ध्वंस चाहे राजनीति, चाहे भौतिक निर्माण, चाहे आर्थिक र सामाजिक व्यवस्था अथवा संस्कृतिका हरेक क्षेत्रमा । पुरानो घर नभत्काइ नयाँ घर निर्माण गर्न संभव हुन्न भने पुरानो संस्कार र संस्कृति नभत्काएसम्म नयाँ सिर्जना हुन्न ।
यही ध्वंसको मूल मन्त्रलाई अंगीकार गरेका थिए माओवादीले । माओवादीले आन्दोलनले प्रत्येक क्षेत्रमा विद्रोहको आगो सल्कायो । सबैभन्दा पहिले त माओवादीले आफ्नै टाउकोमा आगो सल्कायो । माओवादीले नेपाली समाज विकासमा सबैभन्दा ठूलो बाधक नेपालको हिन्दु अहंकारवादी, पुरातनवादी संस्कृति हो भन्यो । माओवादीहरू के निचोडमा पुगे भने जबसम्म यस संस्कृतिको पालक र संरक्षक नेपालको राजतन्त्रलाई ढाल्न सकिदैन तबसम्म हामीले चाहेको समाज निर्माण हुन सक्दैन ।
माओवादीहरूले राजतन्त्र र उसको आधार सामन्तवादका जरा गाउँ गाउँबाट काट्न सुरु गरे । गाउँका फटाहा, सामन्त, र सामन्ती संस्कृतिलाई गाउ गाउँबाट लखेटे । मन्दिरमा दलितलाई लगाइएको बार भत्काइयो, होटेल र घरभित्र पस्न लगाइएको बन्देज तोडियो र अन्तर जातीय विवाहलाई प्रोत्साहन दिइयो । जुवा, तास, बालविवाह, ठेकदारी तथा व्याज स्याज, बेठी, ठेकीलाई ध्वस्त गरियो । त्यस्तै धामी–झाँक्री, यज्ञ–यज्ञादि, छुवाछुत र कर्मकाण्डजस्ता सोच र संस्कृतिलाई एक हदसम्म रोकियो वा कम गरियो । यस्तै धेरै काम गरिए गाउमा जसले गर्दा सामन्ती सत्ता र यसको रक्षक राजतन्त्र गाउँ गाउँमा कमजोर भयो र अन्त्यमा ढल्यो ।
हामीले राजतन्त्र त ढाल्यौं तर छोटो समयमै हामीलाई थाहा भयो कि राजतन्त्र ढाल्दैमा सामन्तवाद ढल्ने रहेनछ । हामीले नारायणहिटीको राजालाई त ढाल्यौँ तर हामीभित्र रहेको राजालाई ढाल्न सकेनछौँ । राजतन्त्र संस्थामात्र होइन सोच पनि हो भन्ने कुरो सायद हामीले भुल्यौँ । हिजो वंशानुगत राजा थिए आज निर्वाचित राजा छन् । राजा ढलेको छैन । हाम्रा मन मनमा छन् राजा, हाम्रा घर घरमा र गाउँ गाउँमा छन् राजा । यो हाम्रो संस्कुतिमा यति बलियोसँग बसेको छ कि यसलाई ढाल्छु भन्दैमा यो ढल्दैन बरु ढाल्न खोज्नेलाई नै ढालिदिन्छ यसले । हो, हामी यहीँनेर कमजोर सावित भयौँ । हामीले संस्कृतिमा रहेको सामन्तवादलाई ढाल्छुु भन्दाभन्दै आफै यति नराम्रोसँग ढल्दै छौँ कि अब एमालेलाई पनि पछि पार्दै छौँ । यसका ज्वलन्त उदाहरण हुन् हालसालैका केही सांस्कृतिक झाँकीहरू ।
हामीले हिजो स्थापित गरेका मूल्य मान्यतालई आज भत्काउँदै र हिजो भत्काएका मूल्य मान्यतालाई आज ससम्मान स्थापित गर्दै छौँ । माओवादीले युद्धकालमा व्यक्तिगत सम्पत्तिको विरोध गरे र व्यक्तिबाट समूहतर्फ पाइला चाले । माओवादी नेतृत्वसँग भएको व्यक्तिगत सम्पत्ति पार्टीकरण गरियो र सादा र उच्च विचारको वकालत गरियो । तर अहिले माओवादी भनिएका हामीहरू धन आर्जन गर्नको लागि टाउकोले टेकेर अगाडि बढेका छौँ । मान–सम्मान, चाकडी–चाप्लुसी तथा नेतृत्व र व्यक्तिमुखि संस्कार सामन्ती सोच हो भनियो । तर अहिले हामीहरू मान सम्मान, व्यक्तित्व र व्यक्तिपूजाको श्रद्धा गर्न थालेका छौँ ।
हामीले पार्टी पद्धति र अनुशासनलाई भन्दा पनि व्यक्ति र नेताको चाकडी र भजन गाउने संस्कृतिलाई प्रोत्साहन गर्दैछौँ । हिजो संशोधन र सुधारवाद खराब हो भनियो तर अहिले दिन दुगुना रात चौगुनाका दरले आफूलाई एमालेकरण गरिदै छ । हामीले जनवादी संस्कृतिको असाध्यौ धेरै गफ गर्छौं । पार्टी र आन्दोलनले यस क्षेत्रमा काम पनि प्रशस्तै गरेको छ । तर हामीले खासमा जनवादी संस्कृतिको दिशामा आन्दोलनलाई हाँकेको छौँ कि उही पुरानै गोलचक्करमा फस्दै गएका छौँ ?
हामीले प्रचण्डपथीय सौन्दर्य चिन्तन अथवा नयाँ यथार्थको कुरो त गर्छौं तर व्यवहारमा नयाँ यथार्थ फगत देखाउने दाँत भएको छ । हामीले सामन्ती र बुर्जुवा संस्कृतिलाई नै सहयोग गरिरहेका छौँ । एकदुईओटा सांस्कृतिक कार्यक्रम र केही पत्रपत्रिका निकाल्दैमा जनवादी साहित्य र संस्कृतिको विकास हुने भए एमालेले पनि यस्ता काम गरेको हो । हुनत संस्कृति भन्ने जन्तु पनि बढो अजीवको जन्तु हुँदो रहेछ । चाहे धनसम्पत्ति होस अथवा मानसम्मान, चाहे विचार र राजनीति होस अथवा रहन सहन र आचार विचार सबै सबै त संस्कृृत रहेछ । यही अजबको जन्तुलाई बुझ्न नसक्नाले नै अथवा परिवर्तन गर्न नसक्नाले नै हामीले हाम्रा दुश्मनलाई ढाले पनि नयाँ व्यवस्थालाई स्थापित गर्न र बचाउन सक्दा रहेनछौँ । न रुसमा बचाउन सकियो न चिनमा बचाउन सकियो । अब विश्वमै बचाउन नसकेको व्यवस्था के हामीले हाम्रो रोल्पाको थवाङमा बचाउन सकौँला ?
हामीले तीजलाई बहिष्कार ग¥यौँ । बहिष्कार गर्दा हामीले के भन्यौँ भने यो पर्व भनेको नारीलाई दासी बनाउने अभिप्रायद्वारा रचिएको पर्व हो । हुन पनि बाहिरी रूपमा नारी स्वतन्त्रताजस्तो देखिए पनि अन्तर्यमा यो पर्व पुरुषलाई महान् बनाउने अभिप्रायद्वारा सञ्चालित छ । श्रीमान (पुरुष) प्राप्ति र पुरुषको दीर्घायुको कामना गर्दै गरिने उपासना, पुजा, ध्यान, जप पनि कहीँ नारी स्वतन्त्रता हुन्छ ? तर यही पर्वको ‘पावन अवसरमा’ हाम्रा आस्थाका महिला नेतृहरू भोकै बसेर रातो साडीमा छमछम नाच्छन् र नाच्न लगाउँछन् भने हामीले चाहेको नारीमुक्ति र नयाँ संस्कृति कस्तो हाला ?
युद्धकालमा यज्ञ–यज्ञादि, पूजा आजा र कर्मकाण्डजस्ता हिन्दु धर्मद्वारा थोपरीएका रीतिथितिलाई असान्दर्भिक भनियो । भनियो मात्र होइन ब्राह्मणका घरभित्र वलात् पसियो र खाना खाइयो । खाना मात्र होइन ब्राह्मणको चुल्होमा बिभिन्न प्राणीका मांस पनि पकाइयो, खाइयो । पुराण र वेदलाई वाहियात भनियो । तर के गर्ने, शान्तिप्रत्रियामा आएसँगै आफैले ध्वंस गरेको त्यही चिजलाई अर्थोपार्जन र सत्ता प्राप्तिको लागि फेरि स्वीकारियो । माओवादी नेताहरू लाजै पचाएर महायज्ञमा बसे । टिका र सम्मान ग्रहण गरे । पुराणका ‘पवित्र कथा’ श्रवण गरेर आफूलाई पवित्र बनाए । सायद माओवादीले आफूलाई युद्धको भट्टीबाट सकुसल निकालेकोमा धन्य धन्य ठाने ।
सायद युद्धमा जानेहरू अवसर नपाएर गएका थिए । माओवादी नेतृत्वले युद्धलाई अबसर प्राप्तिको साधन सम्झियो । चाहे सहिदका छोराछोरी भोक भोकै मरुन आफ्ना छोराछोरी महङ्गा बोर्डिङमा पढेकै छन् । चाहे युद्धमा घाइते र अपाङ्ग योद्धाहरू भोकभोकै बाँचुन राजनीतिक नियुक्तिमा आफ्नै आसेपासे, मण्डले, कुण्डले परेकै छन् । माओवादीले हिजो जनकम्युनलाई अङ्गिकार ग¥यो । जुन अहिले उनकै लागि घाँडो बनेका छन् । माओवादी नेता, सभासद र टाठाबाठा कार्यकर्ताहरू कम्युनमा होइन सानदार फ्ल्याटमा बस्छन् । उनीहरू महङ्गा गाडीमा सयर गर्छन् र विलासी जीवन जिउँछन् ।
अर्को बिडम्बना दशैँ र तिहारमा आएर माओवादी यसरी पछारिए कि यही नै हाम्रो सांस्कृतिक विचलनको ताजा संकेत हुन पुग्यो । हामीले महान् विजया दशमीको पावन अवशरमा प्रसस्तै शुभकामना आदान प्रदान ग¥यौँ । दशैँ अगाडिसम्म हामीले जाजरकोट लगायतका जिल्लाका लागि प्रशस्तै राहत संकलन ग¥यौँ तर दशैँ आउँदा नआउँदै हामीले सबै भुल्यौँ र दशैँको रमझममा झुम्यौँ । मोबाइलमा दशैँको शुभकामना आउने क्रक नरोकिदै फेरि अर्को महान् चाड तिहार हाम्रो घरदैलोमा आयो । माओवादीले विगतमा तिहार देउसी भैलोलाई बहिष्कार गरेको हो । देउसी भैलो खेल्नेलााई सामन्ती भजन गाउने भनेर गलहत्याएकै हो । तर आज हामीहरू टाउकोले टेकेर महान् तिहारको पुनीत अबसरमा देउसी भैलो खेल्न लामबद्ध भएका छौँ । कस्तो अचम्म ! जनयुद्ध हाँकेर आएको विश्वकै क्रान्तिकारी पार्टी र उसको सांस्कृतिक आन्दोलनको नेतृत्व गर्ने अखिल नेपाल जनसांस्कृतिक महासङ्घ समेतले घोषित रूपमै देउसीभैलो खेल्न जानु नेपाली क्रन्ति र सांस्कृतिक आन्दोलनमा बिडम्वना बाहेक के नै हुन सक्छ र ? के यही हो हाम्रो सांस्कृतिक रूपान्तरणको सही दिशा र कार्यक्रम ?
निश्चय पनि हामीले सयौँ वर्षदेखिका गलत चिन्तन र सांस्कृतिक मूल्य मान्यतालाई एकैपटक फाल्न सक्दैनौँ । समय लाग्छ नै । तर यसको विकल्पमा हामीले गर्ने के हो ? हामीले यी चाडपर्वहरूलाई कसरी मनाउने ? कसरी ग्रहण गर्ने ? हाम्रा मूल्य मान्यताद्वारा ओतप्रोत नयाँ दिवशहरूलाई कसरी स्थापित गर्ने ? यसतर्फ ध्यान दिनु पर्ने, बहस गर्नुपर्ने बेलामा हामी नै देउसी भैलो खेल्दै हिँड्छौँ भने सांस्कृतिक स्खलनको दिशामा हामी कति तीव्रतामा छौँ सहजै अनुमान गर्न सकिन्छ । यसको अर्थ हामीले यी चाडपर्वहरूलाई चटक्क छोड्नु पर्छ र जडवत रूपमा बहिष्कारै गर्नु पर्छ भन्ने मेरो मनसाय किमार्थ होइन । यी चाडपर्वका अवसरमा जनतामा हाम्रो विचारलाई सम्प्रेषण गर्ने खालका सिर्जनात्मक र चेतनामूलक कार्यक्रम गर्न नसकिने होइन । जिम्मेबार व्यक्ति र व्यक्तित्व नै देउसी भैलो भन्दै भ्रष्टचारी, ठग, तस्कर र कालाबजारीका घरघरमा गएर रकम संकलन गर्नु कस्तो किसिमको ध्वंस हो ? के यही र यस्तै किसिमको सांस्कृतिक आन्दोलन र दिशाले हामीले सोचेको जनवादी अझ सर्वहारा संंस्कृतिको विकास होला ? फेरि एकपटक हामीले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।
(लालरक्ष : कात्तिक–मंसिर, २०६६)