आज म बाउआमाको सरादको दिन खीर बाँड्ने मान्छेको कथा हाल्दैछु । मैले नजिकबाट चिनेका परिचित मान्छे हुन् उनी । जब बाउआमाको तिथि सराद आउँछ, उनी खँड्कुलाभरि खीर पकाउछ्न र टोलभरिका छिमेकीहरुलाई खीर बाँड्छन् । यसरी खीर पकाएर बाँड्नु कदापि नराम्रो कुरा होइन । तर यसअघि, उनका दिवंगत मातापिताको अलिकति नालीबेलीपनि सुनाउन चाहन्छु । ती बूढाबूढीले बाँचुन्जेल छोराबुहारीको साथमा रहने ठूलो आशा राखेका थिए । आमाबाबुको चाहना विपरित छोराबुहारी भने छुट्टिएर भिन्दै बसे । छुट्टिए पनि बाबु आमालाई रेखदेख गर्न सकिन्थ्यो । उनीहरुको अभाव र आवश्यकतालाई हल गर्न सकिन्थ्यो । तर त्यसो गरेको देखिएन ।
मातापिता जीवित छउन्जेल उनीहरुको भरणपोषणमा खासै चासो राखेनन् । छोराबुहारीको घरमा हप्तैपिच्छे माछामासु पाक्ता बूढाबूढी गुन्दु्रकसित निस्तो भात निलिरहेका हुन्थे । बूढाबूढीले बाँचुन्जेल अभावअभावमै जिन्दगी गुजारे । उनीहरुले दूध, दही, महीको त के कुरा भुटुन हालेको राम्रो तिहुनसम्म पनि कहिल्यै खान पाएनन् । जाडोगर्मीका गतिला लुगा आङमा नलगाइकन उनीहरु यस लोकबाट विदा भए । कमाउने जमाउने उमेर निख्रिएरकसैको आश्रित भएर बाँच्नु पर्ने अवस्थामा थिए । छोराबुहारी कमाउअवस्थामा थिए । आफ्नो कमाइको सानो हिस्सा आमाबाबुको निम्ति छुट्याइदिएको भए बूढाबूढीले त्यति ठूलो दुःख भोग्नु पर्दैनथ्यो ।
उनीहरु बितेर गएको निकै वर्ष भैसकेको छ । तिनका स्मृतिमा अहिले खडँ्कुलाभरि खीर पाक्छ र छिमेकीहरुले टपरी भरीभरी खान पाउँछन् । बाबुले स्वर्गमा न्यानो कपडा लाउन पाउँछन् भन्ने विश्वासमा छोराले पुरेतलाई वस्त्रदान गर्छन् । उनको घरमा बाबुआमाको सराद यति तामझामका साथ गरिन्छ, परिवारको नालीवेली थाहा नपाउनेहरुलाई भ्रम पर्दछ –अहो ! यी जस्ता पितृभक्त मानिस अरु कोही छैनन् । बाँचुन्जेल बाबुआमालाई तातो भात खुवाउन कञ्जुसी गर्नेहरु किन सराद सरादमा खँडकुलामा खीर पकाएर बाँडिरहेछन् । सोह्रअठार ओटा खीरका डल्ला बटारेर खोलामा फ्याँकिरहेछन्, यो कुरा अलिकति पनि बुझ्न सकिराखेको छुइनँ । धर्म कमाउन, लोकमर्यादा बचाउँन या पित्तृभक्तिको उदाहरण दिन के को लागि गरिएको हो ? ठीक उत्तर नभेटेपनि मेरो विचार भन्छ, आडम्बर देखाउन र लोक ढाँट्नलाई यी क्रम उपक्रमहरु चलिरहेका छन् ।
जीवित छउन्जेल आमाबाबुको महत्व नबुझ्ने अनि मरेपछि उनीहरुको नाममा खीरका पीण्ड लडाउने, दानदिने, पुराण लाउने, चौतरो बनाउने लगायतका कर्महरु साँचो अर्थमा पुण्यकर्म हुन् कि आडम्वरी कर्महरु हुन् ?निष्पाप हृदयको आवाज हो कि आफ्नो धुत्र्याइँ र अविवेक छोप्ने पाखण्डी स्वभाव हो ? छुट्याउन मन लागेको छ । खुट्याउने चाह जागेको छ । समाजमा यस्ता कपट पाखण्डीहरुको बढोत्तरी देखिरहेको छु । बाँचुन्जेल बाउलाई केरा खान नदिने मरेपछि खाऊ बाबै केरा भनी लाशलाई केरा कोच्याउनेहरुको दंशले समाजलाई डंकमारिरहेछ ।
कि मान्छेको स्वभावै यस्तो हो जुन सदैव खाली ठाउँतिर हाम्फाल्ने गर्छ । अर्थात् मातापिता रहुन्जेल उनीहरुको अलिकतिपनि याद रहेन । मरेपछि, उनीहरु यसलोकबाट गएपछि एक रिक्तता छायो मनमा । एक खालिपन बन्यो आफूभित्र ।अनि त्यो खालीपन पुर्नलाई टपरीमा खीर बाँडेको हो त ? मेरा मनमा प्रश्नहरु जन्मिरहेका छन् । आमाबाबु रहुन्जेल उनीहरुको एकपित्को महत्व नबुझ्ने जब उनीहरु संसारबाट विदा हुन्छन् त्यसपछि उनीहरुको अपार महत्व बुझ्ने परिपाटि मानवीय छ कि घोर अमानवीय छ ? साँच्चै पर्गेल्नु पर्ने भएको छ ।
हाम्रो समाजमा क्रमशः हुर्कँदै गएको यो प्रवृत्ति आफँैमा घातक छ । यसखालको प्रवृत्तिले सुसंस्कारको विकास गर्दैन । कुसंस्कार फैल्याउने गर्छ । सुसंस्कृतिलाई बढवा दिँदैन । कुसंस्कृतिलाई मलजल प्रदान गर्छ ।
पाखण्ड प्रवृत्ति कदापि मानवीय प्रवृत्ति हुन सक्दैन । यस खालको प्रवृत्तिबाट समाजलाई मुक्त गर्नुछ । बाबुआमा उपर गरिने जुन सेवा उपकार, श्रद्धा, भक्ति र रेखदेखको कुरा छ त्यो उनीहरुको जीवनकालमै गरिनु पर्छ । उनीहरु जीवित छँदै त्यो चिज उपलब्ध गराउनुपर्छ । जीवित छँदै केही नगर्ने मरेपछि गरेको ढोँग गर्नु भनेको मुखमा दाँत छउन्जेल जिव्रोलाई दाँतको याद नहुनु तर दाँत झरेपनि दाँतको मायाले थोते गिजा सुम्सुुम्याए जस्तै हो ।
जुनदिनसम्म मुखभरि टम्म दाँत थिए । दाँत छउन्जेल जिव्रोलाई यस कुराको याद कहिल्यै भएन । दाँत छउन्जेल जिव्रोले दाँत छाम्नुपर्छ । दाँतलाई माया गर्नुपर्छ भन्ने कुरा कहिल्यै महसुस गरेन । दाँत छाम्न ऊ कहिल्यै उत्सुक बनेन । जुनदिन एउटा दाँत फुक्लिन्छ त्यो खाली ठाउँमा जिब्रो पटक पटक दगुरेर पुग्ने गर्छ । पटक पटक त्यो रिक्तस्थान छाम्ने गर्छ । रिक्तस्थान छामेर केहीपनि हाता लाग्दैन । जसरी प्रत्यक्षरुपमा पाउने बाबुआमा छँदै उनीहरुप्रति सेवा, उपकार र भरणपोषण दिइयो भने उनीहरु लाभग्राही हुन्छन् । तर उनीहरुको देहान्तपछि त हामीसित एक रिक्तता रहने हो, त्यो रिक्ततालाई खीरले पुर्न खोजेर त्यो कदापि पुरिँदैन ।
फेरि मान्छेका आँखा यस्ता छन् । जसले भाव खोज्दैनन्, अभावमात्र खोज्छन् । जो पूर्णतातिर उठ्तैनन्, अपूर्णतातिर सोझिन्छन् ।
जीवन सरिता निर्झर बर्सिरहेछ । त्यो आमाबाउकै अवदान स्वरुप बर्सिरहेछ । बाउआमा थिए र म छु । उनीहरु थिएनन् भने मेरो अस्तित्व कहाँ उभिन्थ्यो भन्ने कुरा उपर हाम्रो ध्यान छैन । यस धरामा उनीहरुको उपस्थिति रहुन्जेल दुई कौडीको महत्वपनि दिन्नौँ । जव खरानी हुन्छन् अनि याद आउन थाल्छ । जब अभाव हुन्छ, अनि महत्वको बोध गर्न थाल्छौँ । उपस्थिति रहुन्जेल आदरको भाव उठ्तैन । अनुपस्थितिमा आलापविलाप अलाप्न थाल्छौँ । बाचुञ्जेलको घडीमा वास्ता गर्दैनौँ मरेपछि खुब वास्ता गर्छाैँ ।
गहन तलमा सोचीसम्झी ल्याउँदा बाआमाको सत्ता र महत्ता साँच्चै विराट छ । तर त्यो विराटसत्ता उपर हाम्रो नजर जान्न । जीवनका क्षुद्र चिजहरुमा हामी यसरी अड्किन्छौ । जहाँबाट उन्नत चेतनाको यात्रा एक पाइलो अगाडि बढ्दैन । क्षुद्र चिजमै भेडीधसान धसिएर सिद्धिन्छ ऊर्वर आयु । जीवनमा सबै टाढाटाढाका चिज नजिक बन्छन् तर बाउआमा टाढा बन्छन् । जुन स्रोतबाट जीवन भुल्भुलायो, त्यही स्रोतलाई बिर्सिदिन्छौँ । जुन लतिकामा जीवन लहरायो, त्यही लतिकालाई सुख्खा राख्छौँ । जुन हाँगामा यो जीवन पुष्पित भो, पल्लवित भो त्यसको जरो काटिदिन्छौँ । उनीहरुलाई परित्यक्त र टाढा बनाउछौँ ।
बाआमालाई परित्यक्त गर्ने अनेकन अनुहारहरु आँखामा तैरिएको घडी एक अनुहार गोचर भैरहेछ । तिनले आमालाई गोठमा राखेर सासुलाई पिठ्युँमा चढाएको अनौठो दृश्य देखेको छु मैले । श्रीमतीको ऊलामालामा लागेर उनले आफूसित बसेकी आमालाई एकदिन छुट्याएर गाईको गोठमा पु¥याए । आफ्नो जवानी, श्रम, पसिना खर्चेर बनाएको घरमा छोराबुहारीको हुकुम चल्यो । आमालाई गाईको गोठ बारेर बस्ने व्यवस्था मिलाइदिए । त्यसदिन ती आमाको मन कति रोयो, रोयो । तर उनी शक्तिहीन भैसकेकी थिइन् । कतिचोटि त बुहारीले पिटीपिटी त्यसको कुनै लेखो रहेन । कहिलेकाहीँ आफ्नो स्वास्नीको पोल सुनेर आमालाई हातपात पनि गर्छ । गालीका बौछार त कति खन्याउँछ, खन्याउँछ ।
एकदिन ससुराली गएको बखत सासुलाई पिठ्यूँमा बोकेर हतार हतार हास्पिटल कुदेको दृश्य देखेँ । आफ्नी आमालाई चाहिँ पिटेर गन्धे गोठको बास गराउने व्यक्ति, स्वास्नीकी आमालाई चाहिँ पिठ्यूँमा बोकेर कुदिरहेको छ । उसको विरोधाभाषी व्यक्तित्वले विस्मित बनायो । श्रीमतीको निर्देशनमा उसले सासु बोकिराखेको थियो । आफ्नी सासु आमालाई सिकिस्त भएको बखत बोकेर स्वास्थ्यचौकी सामु पु¥याउनु नराम्रो काम हुँदै होइन । एक असल ज्वाईको रुपमा उसको व्यक्तित्वले ससुराली गाउँमा स्थान जमायो । तर त्यही मान्छे श्रीमतीको लैलैमा लागेर आमालाई पिट्ने र गोठसम्म गलहत्याउने काम गर्छ । सासुप्रति गर्ने प्रेम र खातिरदारी आफ्नी आमालाई पनि गरेको भए, यो मानिस साँच्चै महान् हुने थियो ।
आफूलाई जन्मदिने आमा टाढा कहाँ कहाँ कि ? पछि नाता गाँसेर सासु बनेकी मान्छे चाहिँ अति नजिककी बनेको दृश्यमा विपर्यासी गन्ध पाउँछु ।
अलिक दिन अघिको कुरा हो, एकजना साथीले चतरा बाराहाक्षेत्रतिर घुम्न जाने मेसो मिलाएका थिए । त्यसयात्रामा घुम्दै जाँदा चतराको बृद्धाश्रम हेर्ने हुटहुटी जाग्यो । बृद्धबृद्धा बसेका कोठाहरु हेर्दै जाँदा एउटा कोठामा असीपचासी वर्षकी बृद्ध महिला गुहुमुतमा डुबेको दृश्य देखेँ । शारीरिक रुपमा हिँड्न नसक्ने अपाहिज भएकी उनलाई केही कुरा सोधपुछ गरेँ । उनको होश र चेतना केही भएको थिएन । सोधेका कुरा फटाफट बताउँदै थिइन् ।
पूर्वी पहाडको कुनै गाउँको हुनेखाने परिवारकै महिला रहिछन् उनी । सुखवैभवकै जिन्दगी बिताएर उनी असी पुगिछन् । तर पछि छोराबुहारीले घरमा बोझ ठानेर ललाइफकाई गरी बृद्धाश्रममा ल्याएर थन्क्याइदिएछन् । विगत चारवर्षदेखि कष्टका आँसु पिएर दिन काटिरहेको गुनासो गरिन् । उनका आँखा कल्कलाउँदा नातीनातिनाको मायाले टिलपिल बनिरहेका थिए । हामीले छोराबुहारी राक्षस हृदयका रहेछन् भन्दा उनी घुमाउरो गरी उनीहरुको बचाउ गरिरहेकी थिइन् । आफूलाई त्यो अवस्थामा पु¥याउँदापनि छोराबुहारीप्रति काफी सहानुभूतिको भाव उनको मनमा जीवित थियो ।
उनी अझै आशावादी थिइन् । बाह्रवर्षमा खोलो त फर्कन्छ भन्छन्, मेराछोराबुहारीको मन फर्किएर मलाई पुनः घरमा फिर्ता लग्लान् कि भन्ने आशामा कष्टकर दिनहरु गुजारिरहेकी थिइन् । उनको हालत देखेर यस्तो लाग्यो, यो बृद्धाश्रम भन्ने ठाउँपनि पुगिसरी आएका छोराबुहारीका आमाबाबु थन्काउने ठाउँ बनेछ । त्यस्ता आश्रमहरु त आश्रयविहीन मानिसहरुलाई संरक्षण गर्ने थलो हुनुपर्ने हो । अर्थात् जसका छोराछोरी कोही छैनन् । जसलाई हेरविचार, सेवाचाकर गर्ने आफन्तजन कोही छैन । तिनीहरुको लागि सादर मिल्ने थलो हुनुपर्ने हो । तर त्यस्ता निराश्रित र निरुपायजनले त्यहाँ बस्न पाएका छैनन् । उल्टो घरभरि छोराबुहारी नाती नातिना हुनेले आफ्ना बृद्धबाजेबजै र आमाबाबुलाई थन्क्याएका छन् ।
उनी त पचासी वर्षमा पनि छोराबुहारीको मन फर्केला कि भनेर बाटो हेरेर बसेकी छन् । तर छोरोचाहिँ बूढी छिट्टै मरोस्को कामना गरी विहान बेलुका अगुल्टोमा घिउ पोल्दो हो । यसरी आमाको मुखमा चुहाउने घिउ अगुल्टोमा धुवाँ बनाइ उडाइरहेका छोराहरुबाट सन्तप्त छ बृद्धाश्रम ।
साँच्चै त्यसले आमा छिट्टै मरोस् भनेर धुप हाल्दो हो । उसलाई आमा बाँच्नु एक अवगालतुल्य भएको हुँदो हो । भन्नेले त भनिहाल्छन् – यसले के ठूलो कुरा गर्नु, यसले समाजमा के मुख देखाएर हिडँनु । आफ्नी आमालाई हवाल दुःख कटाएर पाटीको बास गराएको छ । आमासित जोड्ने अनेकन घोचपेच, दिलग्गी र खिसीट्यूरी खाइआएको होला । बरु यो बूढी चाँडै मरे, मेरो बेइज्जती र अवगालको अध्याय सकिने थियो भनी ऊ सोचिरहेको होला । मरेपछि बरु पुराणवाचन र खीर बाँड्ने सरादको परिकल्पना गर्दाे हो । मरेपछिको खीर भन्दा जिउँदैको दूधभात मातापिताको लागि सुस्वादु हुन्छ, गुणकारी हुन्छ ।
समस्त सन्तानहरुले मातापिता मरेपछि खोलापँधेरामा लडाउने खीरका डल्ला उनीहरु जीवित हुँदै खुवाउन सके, उनीहरुले जिउँदै स्वर्गीय सुखको जीवन अनुभूत गर्न पाउँथे कि ?
(उदयपुर)