वास्तवमा निबन्ध विषयवस्तुलाई निश्चित संरचनामा बाँधेर प्रस्तुत गर्ने कला हो । संश्लेषणात्मक जादूगरी क्षमताद्वारा विभिन्न अनुच्छेदमा व्यवस्थित गरी राख्न सक्ने कला हो । यसमा व्यष्टि र समष्टिको राम्रो संयोजन हुन्छ । भाव र कलाको संयोजन पनि त्यति नै राम्रो हुनु पर्छ । मैले हेरेका आत्मपरक निबन्धहरुमा खोमा तरामु मगरले लेखेको यो निबन्ध संग्रह त्यत्तिकै महत्वपूर्ण छ । खोमा तरामु मगरका निबन्धहरु आत्मपरक शैलीमा प्रस्तुत गरेर विभिन्न बिम्ब र प्रतीकहरुले सजाएका ससाना सुन्दर फूल जस्ता लाग्छन् ।
निश्चय नै प्रबन्ध र निबन्धमा फरक छ । आत्मपरकतालाई बाँध्न गाह्रो छ । वस्तुपरकतालाई बाँध्न सजिलो छ । आत्म परक निबन्ध हो भने वस्तुपरक प्रबन्ध हो । दुबैका अङ्ग अवयवहरु समान हुन्छन् । तर यिनका निबन्धहरु फुकाएर पढेमा गद्य कविता हुन्छन् भने यत्तिकैमा पढेमा निबन्ध । त्यसैले पनि खोमा कवितामा मात्र हैन, निबन्धमा पनि त्यत्तिकै सफल देखिए ।
खोमा तरामु मगर वर्ग संघर्षको उदात्त मोर्चामा जोडिएर श्रमजीवी वर्गको पक्षमा निरन्तर कलम चलाउँदै आएका साहित्यकार हुन् । उनको वर्ग संघर्ष कलमको हुंकारको पृष्ठभूमिमा बन्दूक प्रधान हो भने मेरो वर्ग संघर्ष प्रतिपक्ष बीचको एकता र संघर्षलाई जनवादी संसद नामक पद्धतिमा व्यवस्थित गरिएको हो । मेरो विचारमा ब्यालेट प्रधान हो भने उनको विचार बुलेट प्रधान हो । उनी बन्दूककको नालबाट राज्यसत्ता ल्याउनु पर्छ भन्ने विषयमा स्पष्ट छन् । हामी एउटै लक्षमा पुग्न दुईधारबाट बगेका यात्री हौं । म ब्यालेटबाट सत्तामा पुगेर वर्गीय पक्षधरताको पक्षमा निष्ठा र समर्पणपूर्वक लागेर समाजवादतिर जान सकिन्छ भन्ने पक्षमा छु । तर अहिले मेरो विचार स्वार्थान्धमा बेलगाम दौडिरहेका अपराधीहरुको चङ्गुलमा फसेर मरेतुल्य भएको छ । वर्गीय निष्ठा र समर्पण समाप्त भएको छ । हेर्दाहेर्दै यो सत्ता दलाल र नोकरशाही सत्तामा परिणत भएको छ । म बेचैन छु । मेरो आस्था विकृत भएको छ ।
खोमा तरामु मगर समाजवादी यथार्थवादको वैचारिक धरातलमा टेकेर वर्ग वैरीहरुको विरुद्ध कविता र निबन्धमार्फत सिर्जनात्मक साहित्यिक आन्दोलनमा क्रियाशील व्यक्तित्व हुन् । उनका निबन्धहरु पढ्दा इच्छुकका कविताहरु पढेको याद आउँछ । यिनका विम्बहरू र प्रतीकहरू नुतन खालका छन् ।
‘सपनाको भन्ज्याङ्गतिर’ निबन्धको छोटो टिप्पणीमा दिल साहनी भन्छन्—‘उनका विचारसित असहमत हुनेहरु पनि उनको भाषागत शिल्पकला तथा शैलीबाट अप्रभावित भइरहन सक्दैनन् । उनको निबन्धमा सहिदको रगत, पसिना, बलिदान, उत्सर्ग, आशा, उत्साह साहस, निराशा आक्रोश, सपना आदिको जिवन्त चित्र भेट्नेछौं । यो पुस्तकलाई मुक्ति संघर्षको एउटा कलापक्षीय दस्ताबेजको रुपमा पनि बुझ्न सकिने छ ।
त्यसरी नै सपनाको भन्ज्याङ्गतिर निबन्धको छोटो टिप्पणीमा माइला लामा भन्छन्— ‘खोमा तरामु मगर युवा कवि एवं निबन्धकार हुन् । तरामुको निबन्ध संग्रह ‘सपनाको भन्ज्याङ्तिर’को प्रकाशनले मेरो मन प्रफुल्ल भएको छ । न्यायलाई दबाउन खोज्ने र त्यसलाई ढोप्न खोज्ने जति मूर्ख संसारमा कोही हुँदैनन् । यस्तो कुकर्म गर्ने महामूर्खहरुले आफ्नो चिहान आफै खनिरहेका छन् । उज्यालोको हत्या गर्न खोज्ने राणा, पञ्चायत, राजा महाराजाहरु उहिल्यै पराजित इतिहासको वदनाम चिहानमा पुरिए । यतिबेला शासकहरु वर्ग संघर्ष निस्तेज पार्ने मूर्खता गरिरहेका छन् र आगोलाई जिस्क्याउँदै छन् । सपनाको भन्ज्याङ्गतिर पुस्तकमा वर्ग संघर्षका यही उदात्त सपना उनिएका छन् ।
त्यसरी नै अखिल नेपाल लेखक संघ केन्द्रीय समितिले क्रान्तिको यो ज्वारभाटाले असमानता, शोषण र व्यभिचार र दलालीमा टिकेको यो ऐजरु सत्ता ढल्ने र त्यसको भग्नावशेषमाथि महान सहिद बेपत्ता घाइते, योद्धाहरुले देखेको सपनाको मालेमावादको सुन्दर फुलबारी निर्माण हुनेमा कुनै द्विविधा छैन । यस कृतिले यिनै सपनाहरु सार्थक हुने सम्भावना प्रबल हुँदै गएको देखाएको छ । यसरी यो अब्बल माक्र्सवादी कृति बनेको छ भनेको छ ।
सपनाको भन्ज्याङ्गतिर कृतिको विषयमा आएका यी अभिव्यक्तिहरुले यो कृतिको महत्तालाई बताएको छ । वास्तवमा यो कृति पढेर धेरै मानिसहरु बोधिन लागेको विचारहरु पुनः ताजगीकरण गराउने र क्रान्तिचेतबाट खार्ने कामचाहिं हुन्छ । मलाई पनि समय समयमा यस्ता कृतिहरु पढ्दा छाती अलि बलियो हुन्छ । शोषण र दमनमा बाँचेका फित्तेजुकाहरुतिर घृणा जाग्छ । मानवअधिकारको लडाईप्रति निष्ठा र समर्पण जाग्छ । त्यसैले पनि यो कृतिले मलाई फेरि पनि राम्रो प्रभाव पारेको छ । नेपालीय साहित्यमा देखिने यस्ता उत्कृष्ट रचनाले खुसी तुल्याएको छ ।
प्रगतिवादी लेखक खोमा तरामु मगरका यस कृतिमा २६ वटा निबन्धहरु संग्रहित छन् । सहिदभूमिमा उभिएर,गुन्जीरहनेछन् गाउँमा यी गीतहरु, सपना ओढेको यो रेसुङ्गा, मधेसमा गुन्जिएको अनेकोट, चुत्राबेसी र चुत्राबेसीहरु,झण्डा बोकेर सूर्यास्तमा,उज्यालो पर्खेर साँझमा, शिवगढी अर्थात लालगाउँ, गाउँबस्तीमा क्षितिज परिवार, रोल्पा मरेको छैन, तिनाउ कविता र सपनाहरु, झुल्किन बाँकी रातो घाम, ताराहरु रोएको अँधेरी रात, सुनकोसीको तीरैतिर,दोभानमा कविताको सौन्दर्य, अँध्यारो बलिरहेको बत्ती, हृदयको मझेरीमा सहिद परिवारसँग,बाहुन डाँडामा छापामारसँग, निःशब्द मन खण्डहर गोर्खा, जूनकीरीको बस्तीमा, लुम्बिनीको साँस्कृतिक मोर्चा, चुनुको अजम्बरी गीत, हरियो झण्डामुनि जितगढी, सपना डढेको बस्ती, गाउँको अस्थिपञ्रमा उभिएर, हिंउँको वर्षात् सम्झेर आदि निबन्धहरु रहेका छन् ।
यस निबन्धमा निबन्धकार खोमा तरामु मगर प्रकृति चित्रणमा उत्तिकै खप्पिस छन् । मैले यस कृतिमा प्रकृति चित्रणलाई निकै सुन्दर देखेको छु । परिवेशको सुन्दर चित्रण उतारेर त्यसैको पृष्ठभूमिमा क्रान्तिकारी चेतना दिन यो कृति सफल छ । यो कृति कलात्मक रुपमा अब्बल छ । निबन्धकारले प्रकृतिलाई मानवीकरण गरेका छन्् । सहिदको भूमिमा उभिएर शीर्षकको पहिलो अनुच्छेदमै उनले प्रकृतिको चित्रण यसरी गरेका छन्—‘‘ गाउँदेखि अलिकति माथिल्तिर उभिएपछि धौलागिरी,अन्नपूर्ण, माछापुच्छ्रे हिमालतिर टाँसिन्छ आँखा । आकासको निलो पछौरीको सप्केनिमुन्तिर क्षितिजमा ढाडिएका हिउँका शृङ्खलाहरु साँच्चिकै अनुपम देखिन्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले मन अति आकर्षित गर्छ, महान सहिदको रगतले उदात्त सपना र नयाँ क्रान्तिको यात्रा पूरा गर्ने अभिाभाराले त्यो भन्दा बढ्दा थिचिरहेको छ ।’’यसमा चित्रण मात्र छैन, आकासको निलो पछौरीको सप्केनिमुन्तिर क्षितिजमा ढाडिएका हिउँका शृङ्खलाहरु साँच्चिकै अनुपम देखिन्छन् वाक्यमा मनवीकरण गरिएको छ । उनको मानवीकरण प्रकृतिको यथार्थ चित्रण मात्र हैन, प्राकृतिक सौन्दर्यलाई क्रान्तिकारी चेतनासँग गाँसिएको छ ।
निबन्धमा मानवीय संवेदनासँग गास्नका लागि उत्तिकै सिपालु छन् । निबन्धका बीच बीचमा पाठकको मनलाई पकड्न र उचाल्न सरल सरस भाषामा यसरी गीत गाएका छन्—
उठ बेली उठ हे चमेली दलाल सत्ता फाल्नु छ उखेली सहिदको रगत र माटोमा जुटौं अब क्रान्तिको बाटोमा ।
निबन्धमा गीतको प्रयोग गरेर प्रयोगवादको छनक दिएका छन् ।
यस निबन्धमा निबन्धकार तरामुले सपना देख्नु जिन्दगीको ठूलो जोखिम मोल्नु रहेछ भनेका छन् । वास्तवमा क्रान्तिकारीहरुको छालमय जीन्दगी हो । परिवर्तनको रथचक्रलाई धकेल्दै र छाल हान्दै अगाडि बढ्नु कष्टसाध्य काम हो । उनी त्यही काममा निष्ठापूर्वक लागेका साहित्यिक व्यक्तित्व हुन् ।
प्रगतिशील निबन्धकार खोमा तरामु मगरले भौतिक जीवन र यात्राको द्वन्द्वात्मक सम्बन्धलाई यसरी नै बुझेका छन् —‘‘जीवन भौतिक परिस्थितिको प्रतिच्छाया हो । विचार संवेदना र यथार्थको सन्तुलित लय हो । क्रान्ति आदर्श र उद्दाम सपनाहरुले डोरिएको महाकाव्य हो जीवन । आफैभित्र कार्बन उमारेर नुतन सृष्टि र सौन्दर्यको स्वप्निल संसार निर्माण गर्ने अठोट, संघर्ष र प्रतिबद्धताको समीकरण हो जीवन ।’’
कम्युनिष्ट घोषणा पत्र पढाएर युद्धमा जान प्रेरित गर्ने र बलिदान दिन तयार बनाउने कमरेडहरुको जीवनशैली र उनीहरुको खस्किदो वर्गीय भावनाबाट आज नेपालीहरु आजित भएका छन् । उनीहरुले अतीत पूरै भुलेका छन् । जनताका अगाडि खाएका कसम र केही समय देखाएको निष्ठा सत्ता प्राप्त गरी स्वर्गीय जीवन जिउन गरिएको स्वाङ्गजस्तो लाग्छ । उनीहरु धोकेबाज हुन् । विगत ७२ वर्षदेखि आजसम्मको अतीत हेर्दा नयाँ आउने कमरेडहरुलाई कसरी विश्वास गर्न सकिन्छ ? भन्ने प्रश्न जबर्जसत आएको छ । यो प्रश्न चुनौतीमय छ ।
लेखकले आफ्ना निबन्धहरुमा हिमाल, पहाड र तराईलाई समष्टिमा पक्रेका छन् । एकीकृत क्रान्तिको अवधारणा अनुसार उनको लेखनी कलात्मक रुपमा गतिशील बनेर दौडेको छ । दलित, जनजाति, महिला, मधेस, थारु, सर्वहारा सबका भावनाहरु एकीकृत बनेर आएका छन् । तर विगत जनयुद्धकालीन समयमा गरिएका वाचाहरु र त्यसको कार्यान्वयनमा देखिएको फरकपनले जुन वेचैनी, दिक्दारी र पलायनशीलता पैदा भएको छ, फेरि पनि त्यस्तो नहोला भन्न सकिदैन ।
अन्त्यमा कृतिको शिल्पकलाले यो कृतिलाई ओजस्वी बनाएको छ । कविका सपनाहरु विपनामा आउलान् नआउलान् त्यो फरक विषय हो । तर यसको शिल्पगत पक्षले वास्तविक साहित्य यो हो भनेर पाठकलाई विश्वास जगाएको छ ।
पाठकहरु यो कृति पढेर क्रन्तिकारी चेतनामा थप ऊर्जा भर्छन् । नेपाली निबन्ध साहित्यमा यो अजर अमर कृति हो । यसले खोमा तरामु मगरलाई इच्छुक समकक्षमा पुग्न सक्ने सम्भावना दिएको छ । लुसुन नयाँ संस्करणमा नेपालीय साहित्यमा अवतरण भएका हुन् कि भन्न सकिन्छ । नेपाल आमाले अर्को क्रान्तिकारी पुत्र जन्माइन् । यो नै गौरवको विषय हो । जनताको प्यारो छोरा खुमालाई दिलैदेखि साधुवाद । बधाई तथा शुभकामना ।
(रुपन्देही)