किराहरू किरीरी कराउँदै थिए । घरछेउको खेतका गरामा पानीको समाह चलिरहेको थियो स्वाँवाँवाँ…। त्यससँगै भ्यागुताहरू ठूला साना स्वरमा ट्वार ट्वार कराइ रहेका थिए । पूर्णिमालाई आधारात बितिसक्दा पनि निद्रा लागेको थिएन । धेरै पटक कोल्टे फेरिसकेकी थिइन् । खटपट लाग्थ्यो । घरि सिरोकले मुख छोप्थिन् । फेरि निसास्सिए जस्तो हुन्थ्यो सिरोक फ्याँकेर घोप्टो पर्थिन् । तर त्यही रात पो थाहा पाइन् शरीर घोप्टो परेर सुत्न नहुने भइसकेको रहेछ । दायाँ कोल्टे पर्थिन् । बायाँ कोल्टे पर्थिन् । दुवै हात नमस्ते बनाएर चल्नीनेर सिरानी लगाउँथिन् । आँखाको डिल भत्काएर बगेका आँसु गाला भिजाउँदै हातको बाटो बगेर झर्थे र सिरानी भिजाउँथे । पहाडको छातीमा जताततै बगेको वर्षे भेलजस्तैकुनै लय थिएन त्यसको ।
ननिदाएरै बित्न लाग्यो रात । बत्ती बाल्नलाई सिरानीमा थिचेर राखेको सलाइ समाइन् पूर्णिमाले । तर पल्लो कोठामा सुतेका आमाबाले थाहा पाउलान् भन्ने लागेर सलाइ कोर्न पनि सकिनन् । बा दमको रोगी छन् । रातमा साह्रै धेरै निदाउन सक्दैनन्, खोकिरहन्छन् । पूर्णिमाले यति सोच्दासोच्दै बा त खोक्न थालिहाले – ख्याँक्ख्याँक् ख्याँक्ख्याँक ख्याँक्ख्याँक्…।
घरको आँखीझ्यालबाट जूनको थोरै उज्यालो कोठामा छिरेको थियो । त्यही किरिङमिरिङ उज्यालोमा घडीमा समय हेर्न खोजिन् पूर्णिमालेतर देखिनन् । पोहोर साल सोल्टी पल्टनबाट पहिलो छुट्टीमा घर आउँदा उनलाई उपहार ल्याइदिएका हुन् साइकोफाइभ घडी । सोल्टी उमेशले घडी दिँदै भनेका थिए–“सोल्टीनी ! तपाईँलाई मेरो सानो चिनो है ।” समाउन सकेकी थिइनन् शरमले । मुख बटारेर सोल्टीलाई घुक्र्याउँदै भनेकी थिइन्– “चाहिएको छैन कसैको घडीसडी !”
पूर्णिमाले नलिएपछि सोल्टीले उनको देब्रेहात समाएर आफैँले बाँधिदिएका थिए त्यो घडी । सोल्टीका उबेलाका ती सुकोमल हातको स्पर्श सल्बलाएजस्तो लाग्यो उनलाई ।
घडीले सोल्टीको याद झन् ताजा बनाएर ल्यायो । पूर्णिमाको आँखैअगाडि झलझली नाच्न थाले उनी । सोल्टी साँँच्चिकै मन पथ्र्यो पूर्णिमालाई । लरक्क परेको सुगठित जीउ, हिस्सी परेको अनुहार, ठूलो निधार, सधँै प्रेमले आफैँलाई हेरिरहने उनका जोर नयन ।
सोल्टीसँग पूर्णिमाको पहिलो भेट तीनवर्ष अगाडि भएको थियो । फागुन महिना थियो । दाजुको बिहेमा पूर्णिमा खुब रमाएकी थिइन् । जन्तीजाने अघिल्लो दिन सबै गाउँले भेला भए पूर्णिमाको घरमा र टारबारीको भित्तामा भतेर बार्न लागे । बाँसको चोया बुनेर बनाएको चित्राले कोठा कोठा बनाए । तीन तीन ओटा ढुङ्गा गाढेर चुला बनाए । बिहेमा चाहिने आवश्यक मासु, तरकारी, अचार, जाँड, रक्सी, फलफूल, रोटीलगायतका खानेकुरा तयार गरे । पाहुना आउनेक्रम पनि उस्तै थियो । गाउँघर आफन्त सरय(सघाउनी)मा चामल, जाँड, रक्सी लिएर आउनेको पनि घुइँचो थियो ।
भोलिपल्ट बेहुला लिएर गाउँका धेरै छोरामान्छे जन्ती गए । रहेका छोरीमान्छे भेला भएर रातभरि पूर्णिमाको घरमा रत्यौली खेले । छोरा मान्छेको वेशमा लाटा बनेर आएकी पुछारघर माइलीले छोरी मान्छेलाई जिस्क्याएर दोहोलो काढिन् । हाँसेर कतिको त मुख आँऽऽ को आँऽऽ भयो भनेर भने कोही कोहीले । पूर्णिमाको बा जन्ती गए । आमालाई पनि गाउँलेले खुबै रत्यौली नचाए । पूर्णिमा पनि नाचिन् बेस्सरी ।
राति ढिलो सुतेको भए पनि बिहान छिटो उठिन् पूर्णिमा । त्यो दिनघरमा नयाँ मान्छे भाउजूको आगमन हुने कुराले फुरुङग थिइन् । आमालाई घर लिपपोत र सरसफाइ गर्न सघाइन् । सबेरै छरछिमेकी भेला भएर अरू काम पनि सघाउन थाले । भतेर पकाउन सुरु भयो । राँगाको, सुँगुरको, खसीको, कुखुराको छुट्टाछुट्टै भान्सा तयार भयो । शाकाहारी भान्सामा भात तरकारीसँगै दही, दूध, घ्यु र फलफूल पनि सबै तयार भयो ।
जन्तीको पर्खाइमा आतुर थिए सबै । अपरान्ह साँढे दुई बजेतिर धनसिङ्गे डाँडामा नरसिङ्गा बजेको सुनियो– धुतुरु धूउउउउउउ …। सबैको कान ठाडा भए । “लु जन्ती आयो है ।” सबै आआफ्ना काममा तयार भए । सनई, दमाह, ट्याम्पुरो, नरसिङ्गा, झ्याम्टालगायतको पञ्चैबाजा घन्काउँदै जन्ती बेहुली लिएर घरनजिक नजिक आइपुग्यो । जति घर नजिक हुँदै गयो, उति जन्ती रमाउँदै नाच्न थाले । बाजा बजाउने दर्जीको समूह झन् कम्मर मर्काइ मर्काइ नाच्दै थिए । अघि अघि बाजागाजा, पछाडि जन्ती, जन्तीको बिचमा जोरघोडामा बेहुला र बेहुली ।
“जन्तीलाई भतेर माथिबाट लेउनु हुँदैन । तलबाट लेऊ ।” कलिया मानबहादुर जन्तीलाई निर्देशन दिँदै थिए ।
जन्ती आँगनमा पुग्यो । बाजागाजार क्यासेटमा बजेको गीतले गुञ्जायमान भयो वातावरण । सबैको ध्यान बेहुलीमानै थियो । बेहुलीको अनुहार हेर्न आतुर थिए घरगाउँले । बेहुला बेहुलीलाई घोडाबाट ओरालियो । आँगनमा ओछ्याएको गुन्द्री र राडीमा राखेर रक्सी, रोटी र अचारको सगुन दिइयो । पूर्णिमाकी काकाकी छोरी मालसरीले माइतीको शिर उभाउनी माइत राखेकी थिइन् । मालसरीले माइतको लागि ल्याएको राँगा देवा (बेहुलाको बाबा)लाई जिम्मा लगाइन् । रोटी, रक्सी र अचार लगायतका सबै परिकार जन्ती र घरगाउँलेलाई बाँडिन् । बेहुलाले केही पैसाको मुठो मालसरीको हातमा लगाएर चेलीको खुट्टामा ढोगेपछि चेलीको पनि शिर उभियो ।
जन्तीसँग बेहुलीकी आफ्नै बहिनी र काकाकी छोरी बहिनी लोकन्ती आएका थिए । बेहुलीका आफ्नै भाइ र फुपूको छोरा भाइ माइती बनेर आएका थिए । बेहुला बेहुलीसँगै राखेर सगुन दिइयो उनीहरूलाई पनि । सगुन बाँड्न छिमेकी भाउजूहरूसँग खटिएकी थिइन् पूर्णिमा । उनले त्यही समय देखेकी हुन् अरूसँगै भाउजूको साक्खै भाइ उमेश सोल्टीलाई । सोल्टीले कतिखेरदेखि हेरिरहेका रहेछन् पूर्णिमालाई । सगुन दिनेक्रममा एकझल्को आँखा जुधेका हुन् पूर्णिमाको पनि सोल्टीसँग ।
जन्ती र घर गाउँलेलाई भतेर खुवाएपछि बेहुली भित्र्याउने कार्यक्रम भयो । पूर्णिमाले ढोकामा बर्की टाँगेर बाटो छेकिन् दाजु–भाउजूलाई । दाजु–भाउजूले केही पैसा हातमा राखिदिएर खुट्टा ढोगे पूर्णिमाको । अनि पूर्णिमाले पनि ढोका खुल्ला गरिदिइन् । पूर्णिमाकी आमाले बुहारीको हात समातेर तान्दै घरभित्र हुलिन् । बेहुलीको नयाँ घरमा प्रवेश भयो । नाक्छोङले बेहुलीलाई रीत अनुसार चुलामा लगाएर परिवारको नयाँ सदस्य बनाए । बेहुली बाँच्दा–मर्दा सदाको लागि त्यही घरकी भइन् ।
भोलिपल्ट बहुभतेरको दिन खाना दिने क्रममा केही बोलचाल भयो पूर्णिमाको सोल्टी–सोल्टिनीसँग । “थोरै खाना थपौँ सोल्टी ?
“ भयो सोल्टिनी ।”
“थोरै तरकारी राखौँ सोल्टिनी ?”
“भयो सोल्टीनी …” यस्तै ।
यसैगरी खाजा दिँदा, जाँड दिँदा, ओछ्याउने दिँदा, सुत्नेबेलामा अलिअलि कुरा भए । उमेश सोल्टीले जाँड नखाएको पूर्णिमालाई राम्रो लाग्यो । चिया दिँदा असाध्यै नजिक हुनुप¥यो । सोल्टीले सास फेरेको समेत सुनिने गरी छेउमा जान धेरै लाज लागेको थियो उनलाई ।
पूर्णिमा आमाबाकी एक्ली छोरी हुन् । आफू दुःख र परिश्रम गरेर भए पनि छोराछोरीलाई सुखमा राखेका हुन् उनका बाआमाले । किशोरावस्था पार गरेर यौवनावस्थामा प्रवेश गर्दै गरेकी । गहुँगोरो वर्ण, सानासाना रिमिक्क परेका आँखा, ठिक्कको चुच्चो नाक, ठिक्कको केश, सर्लक्क परेकी । त्यही साल एस.एल.सी. परीक्षाको तयारी गरिरहेकी हाँसिरहने, बोलाइली पूर्णिमा घर गाउँकी प्यारी थिइन् । सोल्टी उमेशको नजर पनि पूर्णिमामाथि परेछ । पूर्णिमालाई सोल्टीहरूको छेउमा देख्दा गाउँलेहरूले पनि जिस्क्याउन थालेका थिए– “लौ है ज्वाइँहरू सोल्टिनीमाथि त हक पो लाग्छ । हाम्रो पूर्णिमा बहुत राम्री छ है फकाउनुुस् ।” सोल्टीहरू झन् पूर्णिमालाई गढेर हेर्थे र मुस्कुराउँथे । पूर्णिमा लाजले भुतुक्क हुन्थिन् ।
सोल्टीहरूसँग भन्दा सोल्टिनीहरूसँग निकै नजिक भइसकेकी थिइन् पूर्णिमा । दुरान फर्काउने दिन सोल्टिनीहरूले सँगै जान र दाजु भाउजूसँग फर्किन भनेर खुब ढिपी गरे । तर पूर्णिमालाई भाउजूको माइत जान निकै लाज भयो, मानिनन् । छ ओटा थुन्चेमा रोटी, अचार, रक्सी र भातीजाँड कोसेली तयार भयो । बेहुलाका भाइभतिजाले ती कोसेलीका थुन्चेहरू बोके । पूर्णिमाको दाजु भाउजू दुरानमा माइत ससुराल गए । सोल्टी सोल्टिनी पनि उनीहरूसँगै घर फर्किए ।
दाजु–भाउजू र सोल्टी सोल्टिनी फर्केपछि पूर्णिमालाई घर निकै शून्य लाग्यो । घरका पाहुनाहरू पनि फर्किनेक्रम जारी थियो । पूर्णिमालाई खोई कस्तो कस्तो भयो । त्यस्तो कहिल्यै भएको थिएन ।
तीनचारदिनपछि दाजु–भाउजू घर आए । कोसेलीपात टन्न बोकाएर लिएर आएका थिए । यसपटक भने दाजु–भाउजूसँग सोल्टी सोल्टिनी थिएनन् । कोसेली बोक्ने मान्छेहरू मात्रै थिए । पूर्णिमालाई खल्लो लाग्यो ।
गाउँघरका छरछिमेकी सबै जम्मा भए कोसेली खान । कोसेलीमा आएको रक्सीले रमरम मातेका एकजना छिमेकीले भने “अब पूर्णिमाको पनि पालो आयो होइ । उसको लागि म लेउँछु कुटुम्ब । कि कसो होइ कान्छा दाजै?” पूर्णिमाको बाको घुँडा समाउँदै आँखा झिमझिम पारेर उनले भने ।
“विचार गर्नुपर्छ काइँला” पूर्णिमाको बाले जबाफ दिए । पूर्णिमाको मुटु ढुकढुक भयो, मानौँ अहिले नै मगनी भएर बिहे भइहाल्छ ।
बाँसघारी छेउमा टाँकीको रुख थियो । सानोतिनो रुख चढेर पूर्णिमा आफैँ डाले घाँस काट्न सक्थिन् । त्यो दिन उनी घाँस काट्न गएकी हुन् । बाँसघारी मूलबाटो छेउमा थियो । माथ्लाघरे डिल्लीकाका बाँसको फेदमा खुब सायरी लेख्थे । उपद्रेहरूले सायरीको छेउतिर छाडा शब्दहरू लेखिदिन्थे । काका गनगनिँदै खुकुरीले ताछ्थे ती शब्दहरू । बटुवाहरू उभिएरै पढिरहेका हुन्थे कहिलेकाहीँ काकाको सायरी । भ्याएकाबेलाउनी पनिपढ्थिन् । गज्जब लाग्थ्यो । त्यो दिन उनी तिनै बाँसका फेदमा लेखिएका सायरी पढ्दै थिइन् । यसपालि हुर्किएको मोटो सलक्क परेको कलकलाउँदो छिप्पिँदै गरेको तामा बाँसको फेदमा उनले पढेको अक्षर र शब्द काकाको जस्तो लागेन पूर्णिमालाई । त्यसमा राम्रो अक्षरमा लेखिएको थियो– “सोल्टिनी, फेरि भेटौँला है ।”
अनेक कुरा खेले पूर्णिमाको मनमा–“कसले लेखेको होला ? उमेश सोल्टीले ? होइन, मसँग राम्ररी नबोली गएका उमेश सोल्टीले किन लेख्छन् र यसरी । अर्का सोल्टीले ? होइन, सोल्टिनीहरूसँग खुब जिस्केका तल्लाघर चक्रे दाइले हुनुपर्छ । होइन, ए… ए… अर्का सोल्टी र प्रतिमा खुब जिस्केका हुन्, तिनै सोल्टीले प्रतिमालाई लेखेको हुनुपर्छ …।”
चैत महिना विहानै देखि हुरी चलिरहन्छ । हुरीसँगै बाँसका पातहरू बरबरी झर्छन् । बाँसका रुखहरूउसरीनै बेस्सरी नाच्न थाल्छन् । हुरी धेरै बढ्न थालेपछि हतार हतारटाँकीको रुखमा चढिन् पूर्णिमा र घाँस झारिन् । घाँस त धेरै पो झरेछ । सकिनसकी घाँसको भारी उठाइन् । घर पुग्दा आमाले भनिन्– “आज किन ढिलो गरिस् ? लडिस् कि भनेर खोज्नु आउनु लागेको थेँ ।”
भात खाएर फेरि त्यही बाँसको फेदमा गइन् । सायरी पढिनन् । पढिन्–“सोल्टिनी फेरि भेटौँला है ।” हेरिरहिन् अक्षरहरूलाई ।
एकदिन पूर्णिमा र भाउजू नुहाउन सँगै पँधेरा गए । सबै लुगा भाउजूले नै धोइन् । नन्दको सुकोमल यौवना ढाडको मयल माड्दै भाउजूले भनिन्–“मेरो भाइलाई तपाईँ खुब मन प¥यो रे मैयाँ, मेरो भाइ तपाईँलाई कस्तो लाग्यो नि ?”
“भाउजू पनि …।” पूर्णिमाले लजाएर जबाफ दिएकी थिइन् । तर भित्रभित्र खुब खुसी लागेको थियो । “त्यो बाँसमा पक्कै उमेश सोल्टीले लेखेको हुनुपर्छ ।” मनमनै भनिन् ।
दिदीभेना भेट्न भनेर सोल्टी कहिले काहीँ आइ रहे । सोल्टीसँग बोलचाल राम्ररी नै हुन थाल्यो । ख्यालठट्टा पनि गर्न थालेका थिए । दाजु,भाउजू र सोल्टीसँग हाटबजार घुमफिर पनि भयो ।एकपटक हाटबाट फर्कँदा बाटोमा अघि हिँडेका बेला पछाडि हिँडेका सोल्टीले अँगेरीको फूल चुँडेर पूर्णिमाको टाउकोमा अल्झाइ दिएछन् । घर पुग्ने बेलामा दाजुले “अँगेरी फूलको शिरफूल लाइछस् त पुनि” भन्दा पो पूर्णिमाले थाहा पाइन् । टाउकोमा केले खस्रक्क अल्झाको जस्तो त लागेको थियो । वनमाराले अल्झायो होला भनेर सरासर हिँडेकी थिइन् उनी ।
त्यही सालको उधौली साकेला नाच्न उमेश सोल्टी साथीहरूसँग पूर्णिमाको गाउँ आए । साकेला थानमा मान्छेहरू भरिभराउ थिए । टोलटोलबाट आएका ढोले–झ्याम्टेहरू जोडजोडमा ढोल–झ्याम्टा बजाइ रहेका थिए । नाच्नेहरूको सेल रोटीजस्तो ठूलो घेरा बनिसकेको थियो ।
उमेश सोल्टीसँग आएका कतिपय सोल्टीहरू सोल्टिनी त मेरै हो नि भनेर जिस्किने पनि थिए । पूर्णिमाका साथीहरू पनि सोल्टीहरूसँग साकेला नाच्न थाले । बद्री सोल्टीले त हातैमा समाएर साकेला नाच्न लगे पूर्णिमालाई । “ए उमेशे, सोल्टिनीमाथि पहिलो हक त तेरै हो तर नरिसा है म सोल्टिनीसँग नाच्छु ।” पूर्णिमाको हातमा हात समाएर सिली टिप्दै बद्री सोल्टीले भनेका थिए । उमेश सोल्टी पनि ढोल–झ्याम्टाको तालमा सिली टिपीटिपी हारमा नाच्दै थिए । पूर्णिमाको भने जीउनै खुलेन लाज शरमले । सबैभन्दा बढी शरम उमेश सोल्टीकै लागिरहेको थियो ।
सबैले एक स्वरमा गीत पनि गाइरहेका थिए-
टेम्केको लेकमा घाम लाग्छ, होइ लाइराखे माया काम लाग्छ सोइ सोइला लै लै सोइ सोइला
…
सिन्कौली सेउली सेलेले होइ नाचिमा दिम् कि पेलेले सोइ सोइला लै लै सोइ सोइला सोइ सोइला हुर्र हाहा
…
पूर्णिमालाई बहुत नयाँ लागिरहेको थियो । केटाहरूसँग त्यसरी नजिक भएर कहिल्यै साकेला नाचेकी थिइनन् । साथी र दाजुभाइसँग साकेला नाच्दा त्यस्तो अनुभूति कहिले भएको थिएन ।
सोल्टीहरू चण्डीथानबाटै घर फर्किने कुराले भने पूर्णिमाको मन अमिलो भयो । सानो सेउले होटेलमा पसेर सबैले खाजा खाए । दिदीभेना र सोल्टी सोल्टिनीसँग बिदा भएर सोल्टीहरू गए ।जानेबेलामा सबै आआफ्ना धुनमा थिए । एक्लै उभिरहेकी पूर्णिमाको छेउमा आएर उमेश सोल्टीले बिदा माग्दै भनेका थिए– “सोल्टीनी गयौँ होइ । यो तपाईँलाई बाटोखर्च ।” उनले हाँस्दै पट्याएर भोगटेका दुई ओटा पात पनि दिएका थिए ।
नफाल्नू है सोल्टिनी भन्दै उनी गए । पूर्णिमाले पात फुकाएर हेरिन् । त्यहाँ सिन्काले कोरेर अक्षर लेखिएको थियो । एउटा पातमा बाँसको फेदमा लेखिएको जस्तै थियो– “सोल्टिनी, फेरि भेटौँला है ।” अक्षरका बनावट पनि उस्तै थिए ।
अर्को पातमा “मेरो मन सोल्टिनीलाई ” लेखेर मुटुको चित्र बनाइएको थियो ।
पूर्णिमा रनभुल्ल परिन् । त्यो पातलाई राख्ने कि फाल्ने भयो । अरूले देख्लान् भनेर मुठीमा पोको पारिन् । जीउ सिरिङग भएजस्तो भयो । मुटुको धड्कन पनि बढेजस्तो लाग्यो । त्यतिकै एकोहोरिछन् ।
पर पुगेर बद्री सोल्टीले कराई कराई हात हल्लाउँदै भन्दै थिए–“पूर्णिमा सोल्टिनी बाई बाई होइ बाई बाई ।” बिस्तारै हात हल्लाइन् उनले पनि ।
पूर्णिमा पनि दाजु–भाउजू र साथीसँग घर झरिन् । बाटो काटेको पत्तो भएन । साकेलाथानका यादहरू ताजा बनेर नाचिरहे आँखामा, मनमुटुमा ।
उनीहरू साँझमा घर पुगे । घर पुग्नेबित्तिकै आफ्नो कोठामा पसिन् । सलाइ कोरेर कुपीको सलेदो सल्काइन् । त्यत्तिकै डङरङ्ग ओछ्यानमा पल्टिइन् । हातखुट्टा धुनेसमेत जाँगर भएन पूर्णिमालाई ।
भाउजूले उपहार दिएको हातेब्याग बोकेकी थिइन् । सोल्टीले लेखेर दिएको भोगटेको पात खुसुक्क त्यही ब्यागमा लगाएर ल्याएकी थिइन् । कुपीको उज्यालोमा फेरि ओल्टाइपल्टाइ हेरिन् पूर्णिमाले । दोहो¥याइ तेहे¥याइ पढिन् । मन भरिलो भएर आयो । हृदयमा सोल्टीको माया कलकली पलायो ।
साकेलाथानको होटेलबाट आमालाई सेलरोटी ल्याइदिएकी थिइन् । दिनुनै भुलेर केके सोच्दासोच्दै भुसुक्क निदाइछन् पूर्णिमा । कुपी मट्टितेल सकिएर आफैँ मरेछ ।
०००
केही हप्तापछि हाट गइन् पूर्णिमा भाउजूसँग । सोल्टी पनि हाट भर्न आएका रहेछन् । हाटमा सामान किन्ने र बेच्नेको भीडभाड थियो । त्यही भीडमा मिसिए उनीहरू पनि । भाउजूको आँखा छलेर सोल्टीले सानो स्वरमा पूर्णिमाको कानैमा भने– “सोल्टिनी मैले लेखेको चिठी पढ्नु भो ? के छ प्रतिक्रिया ?”
पूर्णिमा रातोपिरो भइन् । कुन चिठी ? अलमलिइन् । सोल्टीले त्यसरी कानमा साउती गरेको कसैले देख्यो कि भनेर दायाँबायाँ हेरिन् ।
“भोगटेको पातमा के त …” फेरि सोल्टी फुस्फुसाए ।
सोल्टीसँग पहिलेजस्तो गरी पूर्णिमा बोल्नै सकिनन् । बोली घाँटीमै अड्कियो ।
सोल्टीले तान्दै होटेलको पछाडि एकान्त लगे पूर्णिमालाई । अनि पूर्णिमाको दाहिने हात दह्रो गरी समाएर बिस्तारी भनेका थिए– “म लाहुर लागेँ । अर्को हप्ता पल्टन जाँदैछु । दायाँबायाँ गर्ने होइन नि फेरि ।”
“तपाईँ पल्टन जाने कुरा था’ थिएन मलाई”– छक्क परेर बिस्तारै भनिन् पूर्णिमाले ।
“भिडिरहेको थिएँ । फाइनल नभई नभन्ने भनेर कसैलाई भनेको थिएन । मैले अगाडि सुनाउन सकिनँ । मलाई माफ गर्नु । मैले तपाईंलाई भन्नुपथ्र्यो ।” सोल्टीले पूर्णिमाको हात मुसार्र्दै पूर्णिमालाई हेरेर भनेका थिए । पूर्णिमा भूईँ हेरेर टोलाएकी थिइन् ।
पूर्णिमा केही बोलिनन् ।
“मलाई तपाईं मनपर्छ । तपाईंलाई म कस्तो लाग्छु ?” सोल्टीले फेरि पूर्णिमाको प्रतिक्रिया मागेका थिए ।
पूर्णिमालाई भन्न मन थियो– “तपाईं पनि मलाई असाध्यै मन पर्नुहुन्छ सोल्टी !” तर उनी बोल्नै सकिनन् । बोल्दै बोलिनन् ।
“भन्नु न सोल्टिनी, के छ विचार ।” निकैपल्ट सोधे सोल्टीले । तर पूर्णिमा बोल्दै बोलिनन् ।
पूर्णिमा बोल्दै नबोलेपछि दुवै पाखुरामा समाएर झकझकाए जसरी भनेका थिए सोल्टीले–“म अरू कुरा जान्दिनँ । त्यहाँ दायाँबायाँ गर्ने होइन नि । …सुन्नु भो ??”
निकैबेरपछि पूर्णिमाले सुस्तरी भनेकी थिइन्–“हुन्छ ।”
उमेश सोल्टी पल्टन गए । पोहोर पहिलो छुट्टीमा आउँदा उनैले ल्याइदिएको हो पूर्णिमालाई त्यो घडी । पोहोर उमेश सोल्टीकोमा जुठो परेकाले उनीहरूको मगनी भने हुन पाएन । घडीलाई सुम्सुम्याइन् । किराहरूको किरीरी केही कम भएको थियो । आँखीझ्यालबाट जूनको उज्यालो हराइसकेको थियो । तर भ्यागुताहरू उसरीनै कराइरहेका थिए ट्वार् ट्वार …। खेतका आलीका समाह पनिउसरीनै बजिरहेका थिए , स्वाँस्वाँस्वाँ…।
सम्झनामा पूर्णिमाको मन बयली खेलिरहेका बेला मूलबाटोमा कुकुर भुक्यो । पूर्णिमा अचानक झस्किन् ।हठात्उठिन् । अँध्यारोमा छामछाम छुमछुम गरेर बेलुका ठिक पारेका लुगाको पोका समाइन् । आँखाबाट बगेका आँसुले सिरानी पनि भिजाइ सकेको रहेछ ।काखमा लुगाको पोका च्यापेर कुर्ताको फेरले आँसु पुछिन् । पुछेर पुछिएन आँसु । झन्झन् बगिरह्यो, पुछिरहिन् ।
विनोदेले पौने चार बजे मूलबाटोको अम्बकको फेदमा कुकुर भुक्छु अनि घरबाट निस्कनु, उज्यालो नभई घाट तर्नुपर्छ भनेको छ । पूर्णिमालाई जान मन छैन । तर जानै पर्नेछ ।
सदरमुकामबाट घर आउँदा एक्लै परेकी पूर्णिमालाई सहारा दिने निहुँ गरेर जबर्जस्ती गरेको छ बिनोदेले । त्यतिखेरनै आमालाई भन्न खोजेकी हुन् पूर्णिमाले । तर पार्वतीले धनसेरेको पेटबोकेको भनेर कचहरी राखेका बेला सबैभन्दा बढी पूर्णिमाको आमाले नै हो पार्वतीलाई थुकेको । “मेरो छोरीबुहारी यस्ता कुलङ्घार भयो भने म जिन्दगीभर तेसको मुख हेर्दिनँ । थुक्क ! पार्वती !” आमाले भनेकी थिइन् । “तँ तेसरी पार्वती जस्तो भइस् भने डाँडा काटेर जानू मलाई मुख नदेखाउनू !” बारम्बार आमाले पूर्णिमालाई थर्काएकी थिइन् । नबिग्रनू भनेर सम्झाउने आमाको तरिका होला भन्ने पनि लाग्छ पूर्णिमालाई । “कुहेको आलुले राम्रो आलु बिगार्छ आमा !” भनेर भन्न मन थियो, सकिनन् ।
“हल्ला गरेउ भने म पनि तिमीलाई लान्नँ, तिम्रो उमेश सोल्टीले पनि तिमीलाई लाँदैन” बिनोदेले डर देखाएको छ । पार्वतीलाई धनसेरेले अझै स्विकारेको छैन । पार्वती मुद्दा लडिरहेको कुरा झल्याँस्स सम्झना हुन्छ पूर्णिमालाई ।
माया गरेर पाल्छु , दुःख दिन्न भनेको छ बिनोदेले । तर चित्त बुझ्दैन पूर्णिमाको । “म त्यस्तो साधन हुँ जसले लाने र नलाने कुराले फरक पार्छ ? जून एक्लै छ, घाम एक्लै छ । फूल एक्लै भए नि फुल्छ । चरा मुसाले पनि आफ्नो जीवन पालेको छ । नकच्चरो मुर्दार ! के ठान्छस् बिनोदे मलाई ??” आवाज ननिकालेर हिक्हिकाइन् पूर्णिमा ।
दुईतीन पटक नै मूलबाटो अम्बकको फेदमा कुकुर भुकिसकेको छ । तर उठेर हिँड्न सकेकी छैनन् पूर्णिमा ।
त्यति नै खेर भाले बास्छ । खोरमा एउटा जखमले भाले छ । त्यो बाको शिर भाले हो । आउने उभौलीमा बाको शिरपूजा गर्नु छ । बिहान चारै बजे बास्छ त्यो भाले । भाले बास्नुबित्तिकै पूर्णिमाकी आमा उठ्छिन् ।
झ्यार्र सलाइ कोरेको आवाज आउँछ पल्लो कोठामा । आमाले कुपीको सलेदो सल्काएको थाहा पाउँछिन् पूर्णिमाले । बाआमा गानाङ्गुनुङ बोेलेको सुनिन्छ ।
त्यतिनै खेर फेरि बा खोक्छन्– ख्याँक् ख्याँक् ख्याँक् …
उनी सोल्टीको चिनो घडी बिस्तारै खोल्छिन् देब्रे हातबाट, दुवैहात छातिनेर ल्याएर मुठ्ठी कस्छिन् घडीलाई र सिरानीमुनि राख्छिन् । झोला चेप्नेहुँदा अचानक पेटमा पर्छ उनको हात । ढुङ्गा जस्तो सारो बन्दै गरेको पेटभित्र बढ्दै हुन्छ बिनोदेको चिनो ।
बा खोकेको मौका पारेर बिस्तारै ढोका खोल्छिन् र बिरालोको चालमा हतार हतार भ¥याङ् ओर्लन्छिन् पूर्णिमा ।
(भोजपुर)