भीमप्रसाद र म हित्तचित्त मिलेका साथी, विगत तिन दसकदेखि हामी विभिन्न साहित्यिक–सांस्कृतिक संघसंस्थामा सहकार्यमा छौं । प्रायः म उनलाई ‘भीमसर’ भनी सम्बोधन गर्छु । भीमसर स्याङ्जाबाट पोखरा आई बसोबास गरेका र म पनि बाहिरबाटै पोखरा आएर बसेको मान्छे । बेलाबेलामा विभिन्न ठाउँबाट साहित्यिक कार्यक्रममा सहभागिताका लागि निम्ता आउँछ । हामी दुवैले सहभागिता जनाउँछौं । उनी कविता लेख्छन् र सुनाउँदै हिँड्छन् । मैले पनि लेख्न त लेख्ने गरेको छु तर उनको तुलनामा अलि थोरै लेखेको छु । अलिअलि मात्रै लेखे पनि साहित्यिक संघसंस्थाका साथीहरुले सम्झन्छन्, बोलाउँछन् । खुसी नै लाग्छ ।
आज पनि हामी दुई पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा केही तलबाट‘सूर्यज्योति साहित्य परिवार’को निम्तो मानेर फर्कंदै छौं । रामबजारमा आइपुगेपछि हामी दुई दाजुभाइ चियापिउँदै केही बेर गफ्फिन चाहेका छौं । लोककवि अलिमियाँले गुन्द्री ओच्छ्याएर चुरापोते बेच्ने गरेको चौतारा भन्दा पश्चिमपट्टिको चोक अर्थात् भारतीय पेन्सनक्याम्पको सामुन्ने एउटा होटलमा पसेका छौं । अलिमियाँ जीवितै छँदा पनि म एकदुई पटक त्यस चौतारामा आएर बसेको थिएँ । त्यो बेला चौतारामा बस्ने क्रममा लेग्रो तानेर उनले गाएको गीत पनि सुनेको थिएँ । हाम्रो चाहना त त्यही चौतारामा बस्ने थियो तर त्यहाँ चिया पिउने व्यवस्था नमिल्ने हुनाले हामीयस होटलमा छिरेका हौँ ।
चिया पिउन बसेकै होटलको सामुन्ने पेन्सन क्याम्पको पश्चिमपट्टिबाट दक्षिणतिर पसेको एउटा साँघुरो गल्ली देखियो । त्यसै गल्लीको एउटा छेउमा दुई जना वृद्धवृद्धा प्रयोग भइसकेको फ्ल्याक्स प्रिन्टलाई उल्टो पारेर त्यसैमाथि आठदसवटा सागका मुठा र केही भन्टा राखेर बेच्न बसेका देखिए । दुवैका कपाल फुलेका थिए । तिनीहरुको अनुहार हेरेर उमेरको अनुमान लगाउँदा दुवै असीको हाराहारीका देखिन्थे । चिया पिउँदै गर्दा भीम सरले त्यो जोडीलाई निकै गहिरिएर हेरे । त्यसपछि उनले मतिर फर्केर सोधे, ‘ती बूढाबूढीलाई तिमीले चिनेका छौ ?’
‘मैले कसरी चिन्नु र ! कहिल्यै देख्नु न जान्नु ! आफ्नो गाउँठाउँका भएपो चिन्नु ।’ मेरो यो जबाफ सुनेपछि भीमसर बोले, ‘यी बूढालाई त मैले पनि त्यति राम्रोसँग चिन्दिन तर बूढी चाहिँ मेरै गाउँकी हुन् । आजसम्म यी बूढीले बाँचेको जीवनको कथा पनि अनौठै खालको छ !’
‘के त्यस्तो अनौठो रहेछ ! सुनाउनुस् न त ।’ मेरो आग्रहपछि भीम सरले कथा यसरी सुरु गरे–
मेरो जन्म बाहुन गाउँमा भयो । त्यस गाउँमा बाहुनहरुका लगभग पचपन्न घर थिए । बाहुन गाउँकै पश्चिमपट्टिको पाखामा ठूलो मगर गाउँ थियो । मगर गाउँमा लगभग सयको हाराहारीमा घर थिए । बढी मात्रामा राना र थापा मगरहरु अनि अलिकम मात्रामा सिँजाली मगरहरु थिए । मगर गाउँको सिरानतिर घर्ती भुजेलका पनि केही घर थिए । दक्षिण पश्चिम पाखामा दमाई जातिको बस्ती थियो । दमाईहरुका दस÷बाह्रवटा घर थिए । दमाई गाउँ र मगर गाउँका बिचतिर एउटा सार्की र एउटा कामीको पनि घर थियो । बाहुन गाउँभन्दा ठिक उत्तर पश्चिम पाखामा थियो खोरिया दाइको एक्लो घर । म सानै थिएँ । त्यस समयमा हाम्रो घरमा खोरिया दाइले जोत्ने गर्थे ।
वास्तविक नाम धनबहादुर भुजेल भए पनि हामी उनलाई ‘खोरिया दाइ’नामले बोलाउँथ्यौँ । मान्छे केही कालो वर्णका र अलि ठुलो जिउडालका थिए । कन्ना पछाडि मान्छेहरु उनलाई ढेडुवा भन्थे । बगालमा बस्न मन नपराउने एक्लै हिँड्ने बाँदरलाई ‘ढेडु बाँदर’अथवा‘एक्ले ढेडुवा’भनिने हुँदाखोरिया दाइलाई यस्तो नामले पुकारेको मलाई चित्त बुझ्दैनथ्यो तर म गाउँका बुज्रुकहरुका अगाडि निरीह थिएँ, कुनै प्रतिवाद गर्न सक्दैनथेँ । जो होचो उसको मुखमा घोचो भनेझैँ खोरिया दाइनिर्धो निमुखो भएकाले नै अरुले यसरी हेपेका हुन् भन्ने मलाई लाग्थ्यो ।
उनी जन्मेको ठाउँ त्यो थिएन । उनी त माथिल्लो गाउँबाट त्यहाँ ल्याइएका थिए । बाबुआमा नभएको टुहुरो केटो जब केही काम गर्न सक्ने भयो त्यसपछि गाउँकै केही टाठाबाठा बाहुनहरुले उनलाई त्यहाँ बसोबासको व्यवस्था मिलाइदिएका थिए । कामको भाँडो ठानेर काममा जोताउने उद्देश्यले नै उनलाई त्यहाँ ल्याइएको थियो । कोदाको बिउ राख्नका लागि कहिलेकाहीँ उपयोग गरिने पाखो अर्थात् खोरिया उनलाई खेती गरेर खान र छाप्रो बनाउनका लागि दिइएको थियो । गराहरु मिलेका थिएनन्, भिराला थिए । माटो पनि त्यति उर्वरा थिएन । छेउकुनामा कताकति चिलाउने र कटुसका रुख थिए । खोरिया भएको दुवै साइडमा उत्तरबाट दक्षिणतिर झरेका खोल्सा थिए । खोरियाभन्दा निकै तल थियो पानीको कुवा ।
खोरियालाई चारैतिरबाट जङ्गलले ढाकेको थियो । त्यस जङ्गलमा साल, चिलाउने र कटुसका रुखहरु नै बढी थिए । खोरिया फाँडेर बसेकाले हुन सक्छ उनलाई अधिकांशले खोरिया दाइ र केही बुढापाकाले खोरिया भाइ भनेको । त्यही खोरियाको सिरानतिर उनको एउटा घर नामको झुप्रो थियो । तिनवटा पाखामा ढुङ्गा र माटाका डल्लाले गाह्रो लगाएको र एउटा पाखामा चाहिँ बाँसका कप्टेरा ठड्याएर दोहोरो गिलो माटो हानिएको थियो अर्थात् झाँज हानिएको थियो । झुप्रामा आँटी थिएन र पाली पनि थिएन । घरको धुरी खरले मारिएको थियो भने अन्यत्र सबैतिर कटुसको स्याउलाले छाइएको थियो । बर्खामा ठुलो पानी पर्दा कतै कतै चुहुन्थ्यो ।
वनको बिचतिरको उनको झुप्रो, मेरो घरबाट त्यहाँ पुग्न लगभग पन्ध्र मिनेटको बाटो थियो । कटुसका स्याउलाले नै छाएको एउटा सानो गोठ । त्यस गोठमा उनले कुनै बाहुनको एउटा बकेर्नु पाडी ल्याएर ब्याएपछि आधाआधा हुने गरी अधियाँमा बाँधेका थिए । दुईचारवटा लोकल कुखुरा थिए । कुखुराको खोर पिँडीको पश्चिमपट्टिको भागमा थियो । एक समयमा एउटा च्वाँचे र त्यसका केही पाठापाठी पनि थिए तर पछि भने उनकामा मैले च्वाँचे देख्न पाइन । च्वाँचेको खोर चाहिँ आँगनको डिलसँग जोडिएको भैँसीको गोठभित्रै थियो । उनीहरु खोरको त्यही टाँडमै दिसा गर्थे । उनीहरुको दिसा च्वाँचेका लागि आहार बन्थ्यो ।
खोरियामा मकै छर्थे । कोदो रोप्ने सिजनमा कोदो रोप्थे । कुनै कुनै गरामा घैया पनि छर्थे । बाँदर लाग्थ्यो । मकै जोगाउनै मुस्किल । त्यहाँ उत्पादन भएको कोदो मकैले तिनको परिवारलाई तिन महिनाभन्दा बढी खान पुग्दैनथ्यो । हलो जोत्नुबाहेक कहिलेकाहीँ अरुको मेलापातमा गई खेतालो काम गरेर केही अन्नपात वा पैसो जोड्ने काम गर्थे । कहिलेकाहीँ बाहुनहरुको नुनतेल बोक्न बजार पनि जान्थे । त्यो जमानामा नुनतेलका लागि पूरा एक दिनको समय लगाएर राजमार्गको बजार पुग्नु पथ्र्यो ।
त्यस समयमा मेरो गाउँकाबा हुनहरु हलो जोत्दैनथे । हलो जोतेमा जात जान्छ भन्ने मेरो गाउँका त्यस समयका बाहुनहरु बढी नै मात्रामा रुढिले ग्रस्त र अन्धविश्वासी पनि थिए । बाहुनका अधिकांश हलीहरु मगर, घर्ती र केही घरका लागि दमै, सार्की जातिका पनि थिए । एउटै हलीले चार÷पाँच घरसम्म बाली लगाउँथे । खोरिया दाइले पनि तिनवटा बाहुनको घरमा जोत्ने गर्थे । हाम्रो घरमा जोत्न सुरु गर्दा दसौँदी ब्याजमा उनले तिन सय रुपियाँ लिएका थिए । वार्षिक एक मुरी कोदो उनले मजुरीका रुपमा लान्थे । जोत्दाका दिनमा बिहानको खाना र दिउँसोको खाजा पाउँथे । खाजामा प्रायः कोदाको रोटी कहिलेकाहीँ मकैको पिठाको रोटी पनि हुन्थ्यो । गहुँ त्यति उत्पादन नहुने हुँदा गहुँको रोटी कमै मात्रामा मिल्थ्यो । खेत धेरै थिएन । टारी खेत, धान रोपाइँको क्रममा भने उनलाई दिउँसोको खाजाका रुपमा घिउ हालेको भात वा पुरी रोटी मिल्थ्यो ।
बाह्र/तेह्र वर्ष कति जोते कुन्नि ! जे होस् उनले मेरो घरमा धेरै नै वर्ष जोते । कन्ना पछाडि उनलाई ढेडुवा भन्नेहरुले उनकी श्रीमतीलाई ढेडुनी भन्थे । मेरा बा लगायत अरु केहीले पनि खोरिया भाउजू भनेको सुनेर मैले पनि सुरुसुरुमा उनलाई खोरिया भाउजू भनी बोलाउने गरेको थिएँ तर एकपटक रिसाउँदै उनले मलाई गाली गरेकी थिइन्, ‘बाउले नि भाउजू, छोराले नि भाउजू ! आमा भने हुन्न? तिमी मेरै छोराको उमेरका त छौ नि ।’ यसपछि नै हो मैले उनलाई खोरियाकै आमै भन्न थालेको ।
यी खोरियाकी आमै पहिले अर्कैकी श्रीमती थिइन् । खोरिया दाइले ल्याउँदा यी आमैका साथमा दुई छोराछोरी पनि थिए । त्यति बेला एउटी छोरी र एउटा छोरोसहित ल्याएका हुन् खोरिया दाइले । यी आमैलाई ल्याएपछि खोरिया दाइको आफ्नै नाममा एउटा मात्र छोरो जन्मेको हो । उनले छोरीको बिहे आफ्नै जात मिलाएर तल्लो गाउँमा गरिदिएका थिए । ठुलो छोरो छ कक्षासम्म मसँग सँगै पढेको थियो । त्यसपछि पढाइ छोडेर मेलामा हिँड्न थाल्यो । सकिनसकी हलो जोत्न पनि थालेको थियो । चौध÷पन्ध्र वर्षको उमेरमा इन्डिया पसेको, त्यतै हरायो । त्यसपछि उसको कुनै पत्तो भएन ।
हाम्रो गाउँबेसीको पाइ । एकपटक दाइँको दिनमा पराल बोकेर उकालो चढ्दै थियौँ, वनको बाटो । म खोरियाको दाइभन्दा अघिअघि थिएँ । बेसीमा खानपान गरेका भाँडाकुँडालाई बाले पानी डोकामा हालिदिनुभएको थियो । मैले त्यही सानो डोको बोकेको थिएँ । उकालाको बिचतिर आइपुग्दा माथिबाट बाख्राले खसालेको माटाको एउटा डल्लो खोरिया दाइको छातीमै आएर बज्रियो । उनी परालको भारीसहित बाटैमा उत्तानो परे । त्यति बेला उनको मुखबाट निस्केको चित्कार थियो, ‘धिक्कार होस् यो हलीको जूनी !’ थाप्लाबाट नाम्लो छोडेर एकछिन भारीमाथि नै बसे । छाती माडमुड पारेर पुनःभारी बोकी उकालो चढेका थिए । मेरो मानसपटमा त्यो घटना र उनको चित्कार अहिलेसम्म जस्ताको तस्तै रहेको छ ।
अर्को एउटा बिम्ब पनि मैले कहिल्यै नबिर्सने खालको छ । मेरै पल्ला घरका दाइको नुनतेल र घरका लागि चाहिने अरु मालसामान बोक्न भनी एकपटक खोरिया दाइका लोग्नेस्वास्नी दुवै बजार गएका थिए । एक दिन बजार पुग्न र अर्को दिन फर्केर आउन गरी उनीहरुलाई दुई दिन लागेको थियो । लोग्नेस्वास्नी दुवै अम्मली, भुसाहा तान्थे । चुरोटको तुलनामा भुसाहा सस्तो पर्ने हुँदा भुसाहाको अम्मल बसेको थियो । कहिलेकाहीँ आक्कलझुक्कल त्यतिबेला सर्वसाधरणले तान्ने गरेको देउराली चुरोटको धुवाँ पनि उडाएको देखेको थिएँ मैले । भारी बोक्न जाने र फर्कने क्रममा उनीहरुले बाटामा यात्रुहरुले खाएर फालेका चुरोटका ठुटा बट्याएका रहेछन् । उनीहरुका अनुसार बाटाबाटाका चौतारामा त्यस्ता ठुटा बढी पाइएका रहेछन् । खोरिया दाइले आसकोटको खल्तीमा र आमैले पटुकीमा घुसारेका ठुटाहरु साँझपख पिँडीमा खन्याउँदा सानो सानो थुप्रो बन्यो । त्यसमा पनि उनीहरुले काँजो भएका ठुटाहरु एकातिर र काँजो नभएकाहरु अर्कोतिर बनाए । त्यति बेला खोरिया दाइले खुसी हुँदै भनेका थिए, ‘यी ठुटाहरुले एक महिनालाई पु¥याउनु पर्छ है जेठी !’ उनी स्वास्नीलाई जेठी भन्थे ।
बेलाबेलामा यिनीहरु दुईका बिच ठाकठुक पनि हुन्थ्यो । एकपटक दाइले मजैले कुटेछन् । खोरियाकी आमै रुँदैरुँदै खुट्टो घिसार्दै हाम्रो घरमा आइपुगिन् । खुट्टामा लट्ठीले हानेका राता सुम्लाहरु थिए । हेर्दाहेर्दै दाहिने खुट्टो सुनिएर ठुलो भयो । हल न चल भइन् । उनी हाम्रो मकै दल्ने जाँतो भएको पिँडीमा रुँदै बसेकी थिइन् । एकै छिनमा वरिपरिका बुढापाकाहरु जम्मा भए । एकपटक पुलिसलाई बुझाएपछि स्वास्नी कुट्ने बानीमा सुधार आउँछ कि भन्ने उद्देश्यले प्रहरी लिन पठाउने निर्णय भयो । साँझपख प्रहरी आएर रातिराति खोरिया दाइलाई लगेका थिए । तिन दिनपछि गाउँकै केही बुज्रुकहरु गएर उनलाई छुटाएर ल्याएका थिए । यसपछिका दिनहरुमा भने कुटपिटको घटनाका बारेमा त्यति मेसो पाइएन ।
खोरियाकी आमैले खोरिया दाइलाई बेला बेलामा छोडेर हिँड्ने घुर्की पनि दिन्थिन् । उनले दुई पटकसम्म घर छोडेकी थिइन् । एकपटक लगभग डेढ वर्षजति काठमाडौँ बसिन् । त्यहाँ गाउँकै एउटा बाहुनको छोरीज्वाइँको घरमा बसेकी थिइन् । ती छोरी र ज्वाइँ दुवै जागिरे थिए । उनीहरुबाट एउटा बच्चा जन्मेपछि घरको काम र बच्चाको हेरविचार गर्न भनी खोरिया दाइलाई थाहै नदिई उनलाई त्यहाँ लगिएको थियो । अर्को एकपटक भने उनी तलको मगर गाउँकै एउटा लाहुरेको घरमा काम गर्न भनेर पोखरा पुगेकी थिइन् । यसपटक पनि उनले खोरिया दाइलाई पत्तो दिएकी थिइनन् । पोखरा आएर उनी वर्ष दिनजति बसिन् । अनि छोरीको बिहे भइसकेपछि भने उनले घर छोडिनन् ।
त्यस्तै साठी वर्षको आसपासमा थिए खोरिया दाइ । चैत–बैसाखको समय, लामो खडेरी परेको थियो । खोरिया दाइ बिरामी भए । एउटा बुढा बाहुन जो नारी छामेर ओखती बताइदिन्थे । उनको ओखतीमूलो तिनै बुढाबाट भएको थियो । ओखतीको नाममा खोरिया दाइले रोहिनीका बोक्रा, बयँरका जरा, घोलटाप्रे आदि थिचेर त्यसैको झोल पिएको देखेको थिएँ । उनलाई तारन्तार पखला चलिरहेकाले बेलाबेलामा जीवनजल पनि पिएका थिए । त्यसबाहेक अन्य औषधी उपचार उनले पाएनन् । रोगबिसको उन्नाइस भएन । हेर्दार्दै हाड र छालामा परिणत भए । एक महिनासम्म थला परेर डाक्टरको मुखै नदेखी सिद्धिए उनी ।
बाबुको काजकिरिया सकेको केही समयपछि जेठो छोरो इन्डियातिर भासियो र उतै हरायो । छोरीको बिहे भइसकेको थियो । कान्छो सानै थियो । वनको बिचमा रहेको झुप्रो । अब भने खोरियाकी आमैलाई त्यहाँ बस्न निकै गाह्रो प¥यो । फेरि मेरो गाउँका कतिपय बाहुनहरु यतिसम्म खराब नियतका थिए कि कुनै महिलालाई एक्लै भेट्यो कि समाइ हाल्थे । खोरिया दाइ मरेपछि कुनै कुनै बाहुनहरु त उनकै घरमा गएर रात बिताउँथे भन्ने पनि गाइँगुइँ हल्ला चलेको सुनिन्थ्यो । सानो छोरालाई लिएर वनको झुप्रामा बस्न गाह्रो परेपछि खोरियाकी आमै फेरि पोइल गइन् ।
यसपटक भने उनी पल्लो गाउँको थैले घर्तीसित गएकी थिइन् । घरमा थैलेकी श्रीमती नभएकी पनि होइनन्, ती अलि रोगी र गोज्याङ्ग्री थिइन् । थैलेका छोराछोरी पनि तिनवटा थिए । उमेरमा थैले खोरियाकी आमैभन्दा केही कान्छो थियो । अरुसँग कुरा गर्दा उसले भन्थ्यो, ‘मैले खोरियाकी जेठीको उद्धार गरेको हुँ ।’ तर खोरियाकी आमैलाई मेलापातमा जोताएर राखे पनि फाइदै हुन्छ भन्ने आशयले नै उसले लगेको थियो ।
खोरियाकी आमै चार–पाँचवर्ष जति त्यै थैलेकहाँ बसिन् । थैलेकी पहिलेकी स्वास्नी अर्थात् खोरिया आमैकी सौतेनी दिदी र खोरियाकी आमै सँगै बस्दा आमाछोरी जस्ता देखिन्थे । थैलेकी जेठी स्वास्नी कामधन्दा राम्रोसँग गर्न नसक्ने रोगी र केही लाटीसोझी पनि भएको हुँदा सौतासौताका बिच बेमेल थिएन । खोरियाकी आमै दिनभरि मेला जान्थिन् । थैलेकहाँ बसुन्जेल काममा पनि निकै जाँगर पनि देखाएकी थिइन् । आफूसँग भएको सानो छोरो त्यही गाउँकै दाइहरुसँग इन्डिया पसेपछि भने उनलाई थैलेकै घरमा बसिरहन मन लागेन ।
थैलेका छोराछोरी उमेरदार हुँदै थिए । खोरियाकी आमैको उमेर ढल्किसकेको थियो । अब जाने पो कहाँ ? एक मनले सोच्थिन्, ‘अब त कसले लैजाला र मलाई !’ फेरि अर्को मनले सोच्थिन्, ‘त्यस्तै खालको स्वास्नी नभएको बुढो पाए त जान्थेँ । अझै कति बाँच्ने हो ठेगान छैन । मर्ने बेलामा उमेर सुहाम्दो दुःखसुखको साथी त हुन्छ ।’ यस्तै यस्तै के के सोचेर उनी थैलेको घर छोडेर हिँडिछन् । यो कुरा मैले उनले थैलेलाई छोडेको आठ÷दस वर्षपछि मात्रै थाहा पाएको थिएँ ।
म पोखरा आएर बस्न थालेपछि मेरो मानसपटबाट खोरियाकी आमै बिस्तारै हराउँदै गइन् । म पोखरा बस्न थालेकै लगभग तिन दसक भइसकेको थियो । पोहोर कोरोना सङ्क्रमणका कारण देशव्यापी लकडाउन थियो । लकडाउनकै समयमा मलाई एकपटक रामबजार आउनै पर्ने काम प¥यो । म भित्री बाटो हुँदै यहाँ आएँ । त्यही गल्लीबाट भित्र छिर्ने क्रममा मैले यिनै खोरियाकी आमैलाई त्यही ठाउँमा मकै पोल्दै गरेको देखेँ । उनले मकै पोलेर बेच्ने गरेकी रहिछन् ।
सुरुमा देख्दा त ठम्याउनै सकिन, कताकता देखेजस्तो मात्रै लाग्यो । सोधपुछ गरेपछि मात्रै उनलाई चिनेको थिएँ । यिनै बुढा रहेछन् खोरियाकी आमैले अन्तिम पटक घरजम बसालेको श्रीमान् । आफ्नी बूढी मरेपछि छोराबुहारीको रातदिनको टोकसो सहन नसकेर यिनै खोरियाकी आमैलाई लिई यता आएका रहेछन् । दुवैले राज्यले दिने गरेको वृद्धभत्ता र यही कुटीखेलोको माध्यमबाट जीवन गुजारा गरेका रहेछन् ।
यी बूढाबूढीले कहिले मकै पोलेर बेच्ने, कहिले तरकारी बेच्ने जस्ता सिजन अनुसारका काम गर्दा रहेछन् । आमैले कहिलेकाहीँ चर्खामा उनीको धागो पनि कात्छिन् रे । त्यही गल्लीबाट अलि भित्रपट्टि यिनीहरुको डेरा रहेछ । पोहोर भेट्दा यी आमैले मलाई मकै किनदिन अनुरोध गरेकी थिइन् । मैले कोरोनाको डरका कारण बाहिरफेरका खानेकुराहरु खाने गरेको थिइन । तर पनि उनको अनुरोधलाई स्वीकार गर्दै पोलेका दुइटा घोँगा मकैका लागि साठी रुपियाँ दिई मकै चाहिँ अलि समयपछि आएर लैजाउँला है खोरिया आमै भनेर हिँडेको थिएँ । त्यसपछि भने एक वर्ष जति हुन लाग्यो, अहिलेसम्म भेटेको छैन ।
‘त्यसो भए त यी आमैसित पोहोरको मकैको हिसाब मिलाउन पनि बाँकी नै रहेछ हगि भीम सर !’ मेरो यो कुरा सुनेर भीम सर खित्कै छोडेर हाँसे र भने, ‘के गर्नु त बूढाबूढी देखेपछि माया लागेर आउँछ ।’
(ज्याग्दीखोला, स्याङ्जा हाल ः पोखरा)