असी किलोको भारी ज्यान लिएर वीस वर्षपछि म त्यही उकालो चढिरहेको थिएँ जहाँ म दशदेखि पन्ध्र वर्षको उमेरमा खरायोझैँ खुर्र दौडेर उकाली ओराली गर्थेँ । मेरो प्रोजेक्टको साथी नयाँ थियो । उसको मोटो शरीरलाई पनि उकालो चढाउनलाई हम्मेहम्मे परिरहेको थियो। हाम्रो श्वाश वढेर निमोनिया भएको वच्चाझैँ स्याँस्याँ भइरहेको थियो।
म विचविचमा श्वाश रोकीरोकी उसलाई पुराना कुराहरूको वयान गरिरहेको थिएँ। ”हामी सानुमा यही खोल्सामाथिको चुत्राको झाडीमा चुत्रा खान आउँथ्यौँ।”
मैले काफल टीपेर खाएको रूख सुकेर ढल्ने तरखरमा थियो। म उसलाई काफलको रूख देखाएर भन्दै थिए- “ऊ हेर्नुस् म त्यही हाँगामा वसेर काफल टिपेर खान्थे अनि झोलाभरि काफल वोकेर घर फर्किन्थेँ।
यही पारिपट्टि हाम्रो कपडा सिलाउने वालीघरे दमाई मामाको घर थियो। एकपटक म मेरो दशैँको कपडा लिन जाँदा दमाई मामा रक्सिले मातेर सुतिरहेका थिए। मैले जति उठाए पनि उठ्दै उठेनन्। पछि दमेनी माइज्यूलाई सोध्दा कपडा सिलाउँदै नसिलाएका रैछन्।
त्यो दशैमा मैले नयाँ कपडा लगाउन पाइनँ। भोलिपल्ट दशैँ थियो। म मन अमिलो वनाएर यही बाटो फर्केको थिए। आँखाका चेप चेपवाट आँसु रसाएर वाटो धमिलो देखेको थिए। बाटाको तल पट्टि आर्ने वाजेको घर थियो। म आरनमा कहीले हँसिया त कहीले कोदाला अरजाप्न आइरहन्थेँ। हलोका फाली र फाली अडकाउने करूवा पनि वनाईमाग्न पनि म आर्ने वाजेकहाँ आउथेँ। मयलले कटकटीएका आर्ने वाजे हातले खलाती घुमाएर गोल वाल्थे। फलामलाई त्यही गोलमा तताएर पाकेको गोलभेडाझैँ रातो वनाउथे अनि एक हातले फलामलाई सनासोले समाएर अर्को हातले फलाम पिटथे। उनि कहीले फलाम पिटेर हँसिया वनाउथे त कहीले फाली र कोदालाहरू। म उनको छेउमा दंग परेर उनको सिप हेरीरहन्थेँ। तातिएको फलाम पिटेर आफूले चाहेको आकारमा ढालि सके पछि उनि त्यसमा पानी खनाएर सेलाउथे। दाल झानेझैँ झ्वाँई आवाज आएर वाफ उडथ्यो अनि सामान तयार हुन्थ्यो। म ती सामान ल्याएर यही ओरालोमा कुददै घरतिर जान्थे।”
हिँड्दा हिँड्दै चौतारी आयो। वरपिपलको शितल हावा खाँदै हामी चौतारीमा वस्यौँ। मेरो शहरीया साथीका लागी वालिघरे प्रथाका यी कथाहरू नयाँ थिए। ऊ अचम्म मानेर वालकलेझै मेरा कुराहरू ध्यानमग्न भएर सुनिरहेको थियो। बूढो भएर हो या पात झर्ने मौसम भएर हो वर पिपलका पातहरू झरेका थिए। वर क्षयरोगको विरामीझै खग्रङग दुव्लाएको थियो। चौतारीदेखि अलि माथि सिमेन्टको धारो थियो। जहाँ वीस वर्ष अघि झर्रझर्र झरनाझैँ पानि झर्थ्यो।
म त्यो धारामा मुख जोडेर पानी पिउथे। धारो पानि विना देवलझै ठडिएको थियो। वरिपरिको माटो खिएर ढल्ला ढल्ला जस्तै देखिन्थ्यो। ऊ मेरै प्रतिक्षामा वसेझै लाग्थ्यो। मैले त्यो पुरानो धारालाई स्पर्श गरेर अगाडी वढे।मलाई धारो छुँदा धेरै पछि भेट भएको पुरानो साथिलाई स्पर्श गरेझैँ अनुभूति भयो। मलाई त्यो धारोलाई अँगालो हाल्न मन लाग्यो।तर साथिले के भन्ला भनेर मैले त्यसो गरिनँ। मनमनै अँगालेको कल्पना गरेर म अगाडि वढेँ।
बाटो छेउछाउका रूखहरू पनि धेरै अग्ला अग्ला भएछन्। कुनै कुनै रूखहरू काटिएछन्। तिनका ठुटाहरूले हामीलाई तिमीले चिन्यौ भनेर प्रश्न सोधेझैँ लाग्यो। स्कूल थियो। स्कूल नजिक दुई घर थिए। अहीले पन्ध्र विस वटा जति घरहरू थपिएर सानुसानु वजार जस्तै वनेछ। हरेक घर भित्र साना साना पसलहरू रहेछन।ति सवै पसलहरूमा वियरदेखि विस्कुट सम्म सामानहरू थिए। म पहिले आउदा भर्खरका तन्नेरी देखिने साहूजी बूढो भएछन्। उनि पसलको वाहीर वेन्चमा वसेर घाम तापिरहेका रहेछन्। मैले उनलाई नमस्कार काका भनेँ। उनी मलाई देखेर अचम्मित भए।
“ओहो तिमी त धेरै मोटाएछौ वावु “भनेर आश्चार्य व्यक्त गरे। हजुर अलि अलि” भनेर मैले समर्थन जनाए। “हजूर पनि त बूढो भईसक्नु भएछ त काका!” मैले भनेँ। उनले आफ्नो अनुहारको चाउरीलाई हातले मुसारे र विस्तारै वोले- “धेरै पछि हाम्रो गाँउमा आयौ त वावु ! अरू हालखवर के छ वाआमा सञ्चै हुनु हुन्छ? अनि कति कामले हिँडेको हो?” भनेर उनले धेरै प्रश्न एकैपटक सोधे। मैले वाआमाको हालखवर वताएँ, आफूहरू संस्थाको कामले आएको कुरा भनेँ।
उनले चिया नखाई हामीलाई अगाडी जानै दिएनन्।
छेउमै पन्ध्र वर्ष जतिको एउटा केटो गुटखा चपाएर उभिरहेको थियो। उसले नजिकै चरिरहेको कुखुरा नजिक गुटखाको रस पिच्च थुक्यो। पहिले पहिले शुल्पा र हुक्कामा तमाखु खाने चलन थियो। घरको आँगन र पेटीमा वसेर शुल्पा र हुक्का तान्ने मान्छेहरू कतै देखिएनन। वरू पचास साठी वर्ष जतिका मान्छेहरू हातमा चुरोट सल्काएर पसलवाहिर वसेर धुँवा उडाइरहेका थिए।
पसले काकासंग वस्दावस्दै मलाई आर्ने वाजे र दमाई मामाको सम्झना आयो। साठी वर्षीय आर्ने वाजे वाँचेको भए अहीले असी वर्षका भए होलान। तर त्यतिखेरै दमले आरनको खलातीझै फ्याफ्याय गर्ने आर्ने वाजे के वाँचेका होलान् र ! तैपनि पसले अंकलसंग दमाई मामा र आर्ने वाजेको हालखवर सोधेँ दुवै जना वितेको नै धेरै वर्ष भइसकेछ। मलाई नरमाइलो लागेर आयो।
आर्ने वाजेले स्वर्गमा के काम पाएका होलान? त्यहाँ पनि फलामै पिटछन् होला कि अरू केही गर्छन् होला ? तिनले लाउने गरेको मयल कटकटीएको कालो कोट त्यस्तै होलाकि धोएर सफा वनाई लगाएका होलान्। अनि दमाई मामा पनि कपडा सिलाउदै होलान् कि ! त्यहाँ पनि सिलाउन दिएका कपडा अलपत्र छाडेर रक्सी खाएर सुतेका होलान्। यस्तै यस्तै कल्पना गरेर म काठको वेञ्चमा टोलाएर वसिरहेको थिएँ।
पारीतिर विचमा पातलो वस्ति थियो। त्यँहा केही खेत वारीका गह्राहरू पानी प्यासले व्याकुल विरामीझै लमतन्न सुतेका देखिन्थे । हामी त्यही गाँउमा सिचाई योजनाको सर्भे गर्न जाँदै थियौँ । हामी पसले काकासंग विदा मागेर अगाडी वढयौँ। बाटोमा भैरमान वाजे भेटिए । मैले दुवै हात जोडेर नमस्कार गरेँ । उनले नमस्कार पनि फर्काएनन् । छेउमा वसेको ठिटोले उहाँले कान सुन्न र आँखा देख्न छाडेको धेरै वर्ष भएको कुरा वतायो। म अवाक भएँ । दुवै आँखामा जलविन्दु भएछ। कान पनि वन्द भएछन । नरमाइलो मान्दै अगाडी वढेँ।
मानिसलाई प्रकृतिले दुई कान र दुई आँखा दिएको छ तर जव प्राय मान्छेको जीवन उतर्राधतिर पुग्छ अनि उसले मान्छेवाट विस्तारै सवै कुरा खोस्दै लग्दो रहेछ। जीवनको यो तितो यथार्त वुझ्दा साँच्चै जिन्दगी कति निस्सार र अर्थहीन छ। त्यो भोग्नेलाई मात्र थाह होला । उमेर आयु र उमंगहरू खोसिएर अल्जाईमर्सले ग्रस्त भैरमान वाजे हुन वास्तवमै कति गाह्रो छ । जिन्दगी पनि भैरमान वाजे जस्तै त हो नि !
(दैलेख)