एकाउन्न बर्षीय इश्वरी रसिक र खुला स्वभावको ख्याउटे जिउडालको व्यक्ति थियो।उसको घरको रुग्ण आर्थिक अवश्था जग्गादलाली लगाएतको कामबाट पैसा आर्जन गरेर केही मजबुत बनेको थियो।ऊ ! चुतुर मानिस थियो।परिवारमा प्रमोद र प्रतिमा दुई सन्तान थिए।
पच्चीस बर्षिय छोरो प्रमोद पनि बाबुभन्दा कम रसिक र चंचले थिएन।पढाइमा तेज थियो।घरबाट उसलाई खासै बन्धन थिएन।प्रथम श्रेणीमा डिग्री उतिर्ण गर्यो।
घरमा बुहारी भित्र्याउने चर्चा सुरु भयो।प्रमोदले आफूले केटी खोजिसकेको उद्घोष गर्यो।विवाहमा देखावटी ढोंगढर्रा नगर्ने र भोलि नै बुहारी लिएर आउँने कुरा सुनायो।
छोराले मन पराएको केटी कसैले कडा प्रतिवाद गरेनन् । तत्काल बुहारी भित्र्याउने र पछि सीमित आफन्त छरछिमेकलाई बोलाएर सामाजिक औपचारिकता निर्वाह गर्ने सल्लाह भयो ।
भोलिपल्ट एकाबिहानै प्रमोदले प्रेमिकालाई घरमा लिएर आयो। दुबै जना घरको मूलढोकामा पुगेर रोकिए।
पानी भरिएका र फूलले सजाइएका तामाका घैला घरको मूलद्धारमा राखिएका थिए।प्रमोदकी आमा र बहिनी फूल र दुबोको माला अनि टीकाको थाली लिएर ढोकामा उभिएका थिए।पछिपछि बाबु ईश्वरी पनि आउँदै थियो।
सरुले अनुहार छोपिएको रातोसलको घुम्टो हटाइन्।
जब सरुसँग इश्वरीका आँखा जुधे दुबै आश्चर्यचकित भए। ईश्वरी झण्डैझण्डै मूर्छा खाएर ढल्यो।
उनको नजर सरुको छातीमा टल्किएको सुनको सिक्रीमा पुगेर अडीयो ।जुन सिक्री सरुको जन्मदिनमा इश्वरीले आफ्नै हातले उनको गलामा लगाइदिएको थियो।
यता परिवारका सामुन्ने इश्वरी कहिले साथीकहाँ र कहिले आफन्तकहाँ जाने बहानामा सुटुक्क हराउँनुको रहस्य खुलिसकेको थियो।
पेचिलो परिस्थितिले इश्वरीको गालामा नराम्रो झापड हान्यो।समयको घडी स्थिर भएर टक्क रोकियो।
सरु इश्वरीको घरबाट सत्तरी किलोमिटर टाढा रहेको शहरकी सुन्दर नगरबधू थिइन्।
साथीहरूको उक्साहटमा प्रमोद पनि केही समयदेखि उनै सरुको अन्तरङ्ग सामिप्यमा लहसिन पुगेको थियो।
जुन युवतीसँग इश्वरीले होटलमा कैयौं अन्तरङ्ग रातहरु गुजारेको थियो।
अब उनै सरु घरको मूलढोकामा आफ्ना सासू ससुराको आशीर्वाद लिनका लागि खडा थिइन्।
(दमक, झापा)