चराहरू
कथा बन्छन् किताबहरूमा,
नानीहरू पढ्छन् र रमाउँछन्
अनि रहरहरूका चरा बनाउँछन्
र उडाउँछन् ।
लट्टाईबाट धागो बोकेर फुत्किएको
चंगा बन्छन्
नानीहरूका एकहुल रहरहरू एकाएक ।
साङ्ली इनारको मेलामा
सँगै बेचिन्छन्
खेलौना बन्दुक अनि चराहरू,
बन्दुक र चरा दुवै रोज्छन् नानीहरू
अनि अलमलमा पर्छन्,
पहिले कुन खेलाउने भनेर ।
नानीहरू
चरालेझैँ
होचो देख्छन् रुखहरूलाई,
पहाडहरूलाई,
चराको आँखाले हेर्छन्
नदीहरूलाई,
अनि आँखाका छालहरूलाई ।
विद्यालयको पाठ्यपुस्तकमा
पुतली र इन्द्रेणीका रंगहरू
अनि विश्वयुद्धका फोटाहरू
सँगै नियाल्छन्
अनि बीभत्स देख्छन्
मन्दिरमा चढाएको फूललाई ।
हटियामा बेच्न राखेको
गुलेली हेर्छन् र कोर्छन्
सिसाकलमले
फूलको चित्र र राजनीतिको चित्र,
परेवाको चित्र र बन्दुकको चित्र,
बुद्धका आँखा र युद्धको नग्नता,
आफ्नो हृदयमा ।
(मोरङ)