नेपालको प्रचीन सभ्यताको विकासमा लिच्छवीहरूको महङ्खवपूर्ण हात रहेको छ । लिच्छवी उत्तर भारतबाट आएको जाति हो । मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.) बाट पराजीत भएपछि वैशाली गणराज्य तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवीहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे ।
अजातशत्रुबाट पराजीत भई नेपाल पस्नेहरूको लर्को नै लागेको थियो त्यतिखेर । लिच्छवीसँगै शरणार्थी भई नेपाल पस्नेमा कोलिय, शाक्य, मल्ल र बृजिक पनि थिए । यसरी आएका लिच्छवीहरू लामो समय नेपालको पहाडी भागमा बसे । विस्तारै उनीहरू काठमाडौं उपत्यकामा आए र यहाँका स्थायी वासिन्दासँग घुलमिल भएर बसे ।
त्यतिखेर नेपालमा किरातहरूको राज्य थियो । सोझा, इमान्दार र लिच्छवीभन्दा कम विकसित किरातहरूले लिच्छवीहरूलाई राज्यका हरेक तहमा जिम्मेबारी दिँदै गए । नेपाल पसेको करिब साडेचारसय वर्षपछि उनै शरणार्थी लिच्छवीहरू नेपालको राज्यका हर्ताकर्ता हुन पुगे ।
पशुपतिको शिलालेख अनुसार प्रथम लिच्छवी राजा जयदेव(प्रथम) हुन् । लिच्छवी राजा जयदेव (द्वतीय)ले वि.सं. ७९० मा पशुपतिमा स्थापना गरेको शिलालेख नै लिच्छवी सभ्यताको स्थापना गर्ने जयदेव (प्रथम) हुन् भन्ने अहिलेसम्मको आधिकारिक प्रमाण हो ।
‘वि.सं. ७९० लेखिएको जयदेव द्वितीयको पशुपतिको शिलालेखमा विच्छविवंशका बाह्रौँ पुस्तामा सुपुष्पको नाम लेखिएको छ । सुुपुष्पपछिका तेइस राजाहरूको नाम खाली राखेर एकै पल्ट चौबिसौँ राजामा जयदेव प्रथमको नाम लेखिएको छ ।’ (उपाध्याय : २०६८ : ६१)
पशुपतिको शिलालेखमा जयदेव (प्रथम) भन्दा पहिले ११ जना राजाको नाम छोडिएको छ । त्यतिमात्र हैन बिचबिचमा अनेकौँ राजाको नाम छोडिएको पनि उल्लेख गरेका छन् । यसबाट यो अनुमान लगाउन सकिन्छ कि जयदेव(प्रथम) भन्दा पहिले नै नेपालको राज्यसत्तामा लिच्छवीहरू हर्ताकर्ता भैसकेका थिए ।
लिच्छवीहरू कहिलेदेखि नेपालका शासक भए भन्ने कुरा प्रमाणित छैन । बाबुराम आचार्यले आफ्नो प्राचीन कालको नेपाल नामक पुस्तकको पेज ८६ मा ‘इ.सं. २५० को आसपासमा जयदेव (प्रथम)ले नेपालमा लिच्छवीहरूको लोकतान्त्रिक शासनव्यवस्थाको आरम्भ गराए’ भनेका छन् ।
अहिलेसम्म प्राप्त प्रमाणका आधारमा यही शिलालेख नै भरपर्दो भएता पनि यसमा लेखिएका सबै कुरा सत्य नहुन सक्छन् । एक त यो शिलालेख जयदेव (प्रथम) सत्तामा आएको झन्डै ५०० वर्षपछि लेखिएको छ र अर्को यो बिचमा सत्तामा आएका प्रभावशाली राजाको नाम छुटाइएको छ । यसमा अंशुवर्माजस्ता सुयोग्य र प्रतापी राजाको नाम भेटिदैन । यिनीमात्र हैन यो अवधिमा १० जना राजाहरूको नाम मात्र दिएर अरुलाई छुटाइएको छ ।
इतिहासशिरोमणि बाबुराम आचार्यले यसरी छुटाइएको कडीको व्याख्या गर्दै लेखेका छन्, ‘नेपालमा उपलब्ध रहेको सबैभन्दा पुरानो वंशावली– ‘गोपाल वंशावली’मा राजा ‘भूमिवर्मा’देखि लिच्छवी राजवंशको उठान गरी यिनका छोरा ‘चन्द्रवर्मा’र यिनका पनि छोरा ‘जयवर्मा’ भएका थिए भनी उल्लेख गरिएको पाइन्छ । ‘गोपाल राजवंशावली’मा नाम उल्लेख भएका यिनै ‘जयवर्मा’ नै राजा जयदेव (द्वितीय)को शिलालेखमा उल्लेख भएका ‘जयदेव (प्रथम)’ देखिन्छन् । ‘गोपाल– राजवंशावली’ मा यद्यपि राजा जयवर्माका उत्तराधिकारीका नामहरू पनि दिइएका छन्, तर त्यहाँ दिइएका ती नामहरू विश्वासयोग्य भने देखिदैनन् । राजा भूमिवर्मा तथा चन्द्रवर्माको अस्तित्वको सम्बन्धमा पनि निर्विवाद रूपमा केही पनि भन्न सकिदैन । जयदेव (द्वितीयी)को शिलालेखमा भने जयदेव(प्रथम)लाई ‘विजयी राजा जयदेव’ भनी उल्लेख गरिएको पाइन्छ । यसैले नेपालमा लिच्छवि राजवंशको स्थापना गर्ने लिच्छवीहरूका अग्रणी नेता जयदेव (प्रथम) नै रहेका थिए भन्नेमा कुनै पनि सन्देह रहेको छैन ।’ (आचार्य : २०६३ : ८४)
किरातलाई पराजित गर्ने लिच्छवी नभई सोमवंशी थिए भन्छन् श्रीरामप्रसाद उपाध्याय । उनको भनाइबाट लिच्छविहरूले किरातलाई पराजित गरेको नभै सोमवंशी राजा निमिषले किराती राज गस्तीलाई युद्धमा पराजित गरेर सोमवंशी राज्यको स्थापना गरेका थिए । उनी लेख्छन्, ‘किरात राजा पटुकको शासनकालमा सोमवंशीहरूको आक्रमणबाट राजधानी गोकर्णबाट शङ्खमूलमा सार्न बाध्य भएका किरातहरू राजा गस्तीको शासनकालमा अन्तिम रूपमा पराजित भए । त्यस पराजयपछि नेपालमा किरातहरूको शासन फेरि स्थापना हुन सकेन । नेपालमा जम्मा ५ जना सोमवंशी राजाहरूले जम्मा तिनसय अन्ठाउन्न वर्ष राज्य गरेका थिए ।’ (उपाध्याय : २०६८ : ५८)
प्राप्त तथ्य र प्रमाणका आधारमा नेपालमा किरातपछि केही सय वर्ष सोमवंशी राजाहरूले राज्य गरेको देखिन्छ । त्यसपछि मात्र लिच्छविहरूले सत्ता प्राप्त गरेका थिए । सत्ता कहिले र कसले ग¥यो भन्ने प्रमाण प्राप्त नभएपनि इसाको पहिलो शताब्दीतिर लिच्छविहरू नेपालको राज्यसत्तामा आएको देखिन्छ ।
नेपालको प्रमाणिक इतिहास लिच्छवि राजा मानदेवको पालादेखि मात्र प्राप्त हुन्छ । मानदेवले वि.सं. ५२१ देखि ५६२ सम्म जम्मा ४२ वर्ष शासन गरेका थिए । यिनीभन्दा पहिलेका प्रभावशाली राजाहरूमा सुपुष्पदेव, जयदेव (प्रथम), हरिदत्त वर्मा, वृषदेव, शङ्करदेव र धर्मदेव थिए ।
मानदेवपछिका प्रभावशाली लिच्छवि राजाहरूमा राजा वसन्तदेव, शिवदेव प्रथम, अंशुवर्मा, नरेन्द्रदेव, शिवदेव द्वितीय, जयदेव द्वितीय थिए । लिच्छविहरूले नेपालमा झन्डै नौ सय वर्ष शासन गरे । यो अवधिमा नेपालमा उल्लेख्य विकास र समृद्धि भयो । लिच्छविहरूको राज्यकालमा नेपाल हरेक क्षेत्रमा अगाडि थियो । कला, साहित्य र विकास निर्माण र राज्यविस्तारसँगै समाजिक क्षेत्रमा यो समयमा उल्लेख्य काम भएको देखिन्छ ।
नेपालको स्वर्णकाका रूपमा लिइनै लिच्छवि सभ्यताको पतन वि.सं. ९३६ मा भयो । जतिखेर नेपलमा लिच्छवी वंशका अन्तिम राजा मानदेव तृतीयले शासन गरिरहेका थिए । उनको राज्यकालमा लिच्छवी साम्राज्यको पतन कसरी भयो भन्ने प्रमाण भेटिदैन । तर पनि लिच्छिवि सभ्यताका अन्तिम राजा मानदेव तृतीय हुन् भन्नेमा कुनै शङ्का छैन भन्छन् इतिहास शिरोमणि बाबुराम आचार्य । उनी लेख्छन्, ‘इ.सं. ८७९ को कार्तिक शुक्ल प्रतिपदादेखि यहाँ अर्कै नयाँ राजवंशका ‘राघवदेव’ नामक राजाले ‘पशुपति भट्टारक संवत्’ को नामले नयाँ संवत्को प्रचलन आरम्भ गराएको देखिन आएकोले यिनै मानदेव (तृतीय) नै लिच्छवि कालका अन्तिम राजा भएको झलक प्राप्त हुन आएको छ ।’(आचार्य : २०६३ : १४९)
सन्दर्भ सामग्री
उपाध्याय, श्रीरामप्रसाद । नेपालको प्रचीन र मध्यकालीन इतिहास, रत्नपुस्तक भण्डार, काठमाडौं, २०६८
आचार्य, बाबुराम । प्राचीनकालको नेपाल, प्रकाशक श्रीकृष्ण आचार्य, काठमाडौं, २०६३
उपाध्याय, श्रीरामप्रसाद । नेपालको प्रचीन र मध्यकालीन इतिहास, रत्नपुस्तक भण्डार, काठमाडौं, २०६८
आचार्य, बाबुराम । प्राचीनकालको नेपाल, प्रकाशक श्रीकृष्ण आचार्य, काठमाडौं, २०६३
(गुल्मी)