अहिलेको जनकपुर कुनै समय घनाजङ्गलले घेरिएको डरलाग्दो ठाउँ थियो । घना जङ्गल भएपछि जङ्गली जनावरको डर स्वभाविकै हुने भयो । पश्चिमबाट पूर्वतिर उर्वर ठाउँको खोजीमा हिँडेको वैदिक आर्यको एउटा गण त्यही ठाउँमा पुगेर रोकियो । उक्त गणका नायक थिए माधव विदेह ।
विदेहले जङ्गलमा आगो लगाएर हिंस्रक जनावरबाट गणलाई बचाए । विस्तारै जङ्गल फाँडनी गरेर बस्ती बसाए । गण नायक माधव विदेहले बस्ती बसाई आफ्नो छुट्टै राज्यका रूपमा शासन गर्न सुरु गरेकोले उनैको नामबाट उक्त ठाउँलाई विदेह भन्न थालियो ।
विदेह विस्तारै फैलिदै गएर पश्चिमबाट आउने वैदिक आर्यको केन्द्रका रूपमा स्थापित भयो । विस्तारै बाहिरबाट नाम चलेका ऋषिमहर्षीहरू यहाँ आउन थाले । केही समयमै पूर्वतर्फ विश्वामित्र, पश्चिमतर्फ वाल्मिकी, उत्तरतर्फ याज्ञवल्क्य र दक्षिणतर्फ गौतम र विभाण्डक ऋषिले कुटी बनाई साधना गर्न थाले । दरबारमा धार्मिक सभा र शास्त्रार्थ हुन थाल्यो ।
राज्यमा त्यसबखत याज्ञवल्क्य, श्वेतकेतु, उद्वालक आरुणि, सत्यकाम, गाग्री र मैत्रेयीजस्ता विद्वानविदुषी थिए । दैनिकजसो टाढाटाढाबाट अनेकौँ ऋषिमुनि, ज्ञानी, तपश्वी र सन्तहरू भ्रमणमा आइरन्थे । यसरी मिथिला ज्ञान, ध्यान र धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको थियो ।
अहिलेको जनकपुरलाई बृहत् विष्णुपुराणमा उल्लेख गरिएअनुसार बृहदारण्य, विदेहभूमि, मिथिला, नैमिकानन, शाम्भवी, तपोवन, स्वर्णलाङ्गल, ज्ञानक्षेत्र, क्रियापीठ, जनकीभूमि, तीरभुक्ति र विश्वभाविनी गरी बाह्रओटा नामले चिनिन्थ्यो । यो राज्य ज्ञान, ध्यान र सत्सङ्गका लागि प्रख्यात थियो ।
विस्तारै विदेहलाई तिरहुत वा तीरभुक्ति भन्न थालियो । तीरको अर्थ किनार र भुक्तिको अर्थ राज्य वा गणराज्य । यसको अर्थ हो नदीको तिरमा रहेको गणराज्य । मिथिलाको नामाकरण सम्बन्धमा यस्ता धेरै मिथ र किंवदन्ती सुन्न पाइन्छ । विदेहभूमि पूर्वमा कोशी, पश्चिममा सप्तगण्डकी, दक्षिणमा गंगा र उत्तरमा हिमालयसम्म फैलिएको थियो । राजाले आफूलाई जनताका बाबुको रूपमा स्वीकार गरी जनक उपाधि लिएका हुन्थे । त्यसो त जनक कुनै राजाको पद नभएर उपाधी थियो ।
सीताको जन्म जनकपुरमा भएको थियो । पौराणिक ग्रन्थहरूमा राजा जनकले हलो जोत्दा सीतालाई भेट्याएको कुरा उल्लेख भएको पाइन्छ । सीता शील, स्वभाव र रूपमा विलक्षण थिइन् । जनकले आफ्नो दरबारमा शिवको धनुमा ताँदो जढाउन सक्ने वीरसँग मात्र सीताको विवाह गरिदिने घोषणा गरेका थिए । सीतालाई विवाह गर्ने हेतुले अयोध्याका युवराज रामचन्द्र भाइहरूका साथ जनकपुर आएका थिए । उनले शिवको पुरानो धनुमा ताँदो मात्र चढाएनन् ताँदो चढाउँदा धनु भाँचिएर दुई टुक्रा भयो ।
जनकको राज्यकालमा विदेहको कीर्ति सबैतिर फैलिएको थियो । राजा स्वयम् धार्मिक, तङ्खवज्ञानी, दार्शनिक र चिन्तक थिए । जनता सुखी, खुसी र सम्पन्न थिए । राजदरबार धर्म, दर्शन र ज्ञानविज्ञानको केन्द्र थियो । विदेहलाई ऋषिमुनि र ज्ञानी सन्तहरूको तीर्थस्थलको रूपमा लिइन्थ्यो ।
मिथिलाका अन्चालिसौँ जनकवंशी राजा क्षेमनिधिले महाभारत (इसापूर्व ९५०) को युद्धमा भाग लिएका थिए । उनी कौरबको पक्षबाट महाभारत युद्ध लडेका थिए र त्यहीँ नै वीरगति प्राप्त गरेका थिए । त्यसपछिको मिथिलाको क्रमवद्ध इतिहास भेटिदैन । यस हिसावले हेर्दा मिथिलाको सभ्यता इसापूर्व १००० वर्षतिरै सुरु भैसकेको पाइन्छ ।
मिथिलाका अन्तिम राजा महावशी (इसापूर्व ६००) थिए । महावशी अत्याचारी र अदूरदर्शी थिए । उनको व्यवहारले जनतामा आक्रोश र असन्तुष्टी बढेको थियो । यिनले ब्राह्मणकन्यासँग व्यभिचार गरेकोले जनताले उनीसहित उनका भाइबन्धुको हत्या गरे । यसरी सयौँ वर्ष पुरानो जनकवंश नासियो र मिथिलामा गणतन्त्रात्मक शासनपद्धति सुरु भयो ।
बुद्धको समयमा पनि जनकपुर गणतान्त्रिक नै थियो । तर जनकका पालामाजस्तो शक्तिशाली थिएन । पछि यो बज्जिसंघमा सामेल भयो । जनकवंशको पतनपछि अस्थिर रहँदै आएको मिथिला एकैचोटी इसापूर्व ४७० तिर अजातशत्रुले आक्रमण गरी विशाल अवध साम्राज्यमा मिलाए ।
मगध सम्राट अजातशत्रु (इ.पू. ४९३–४६२) बाट पराजीत भएपछि बज्जि गणराज्य छिन्नभिन्न भयो । बज्जिसंघभित्रका विदेह सहित अन्य राज्यहरूको अस्तित्व पनि सकियो । विशाल वैशाली गणराज्य पनि तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवी र मिथिलामा शासन गरिरहेका ब्राह्मणहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे ।
मिथिलाको आयको मुख्य स्रोत कृषि थियो । कृषिसँगै पशुपालन त्यसमा पनि गाई पालन त्यहाँको सहायक पेशा थियो । कृषि र पशुपालनसँगै वन्दव्यापारमा पनि विदेह प्रख्यात थियो ।
मिथिलाको अस्तित्व अजातशत्रुको राज्यविस्तारको क्रममा मगधको अंग बन्यो । त्यसपछि यो राज्यको छुट्टै अस्तित्व रहेन । अजातशत्रुको अधिनमा पर्न गएको मिथिलामा त्यसपछि हर्षवर्धन र पछि हर्षवर्धनका मन्त्री अरुणाश्वनले शासन गरे । अरुणाश्वले चिनिया राजदूत वाङ हुयेन्चेको अपमान गरेकोले चिनिया, नेपाली र असमी सेनाद्वारा ध्वस्त भयो ।
(गुल्मी)