बि.सं. २०३९ सालतिरको एउटा घटना मेरो मनमस्तिष्कमा खुब तरंगित भएर आउँछ । एस.एल.सी. परीक्षा चलिरहेको थियो । म त्यसबेला श्री सत्यनारायण माध्यमिक विद्यालय, बिराटनगरमा कक्षा ६ मा पढ्थें । परीक्षा चलिरहेको भएपनि हामी केही विद्यार्थीहरु विद्यालयको पछाडितिरको चौरमा खेलिरहेका थियौं । अकस्मात् होहल्ला सुन्यौं हामीले अनि दगुर्दै अगाडि आयौं । मैले परबाट देखें– मेरो बुवाले कसैलाई घाँटी पछाडिको कमिजको कलर समातेर घिसार्दै हुनुहुन्थ्यो अनि उसले पनि बुवाको कमिजको अगाडिको भागमा च्याप्प समातेको थियो । म दौडदै नजिक गएँ । बुवाको कमिजको अगाडिका तीनवटा जति टाँक खुलेका थिए । लगभग २०/२१ बर्षको त्यो केटालाई बडो फूर्तिका साथ झल्ट्याङ्गझुल्टुङ्ग पार्दै पिट्दै विद्यालयतिर घिसार्दै हुनुहुन्थ्यो । केटो पनि जब्बर थियो– बुवाको कमिजमा दह्रोसँग पक्डिएको थियो । यो दृष्य त मलाई सिनेमाको द्वन्द दृष्य जस्तै लाग्यो । त्यतिबेलासम्म सिनेमाका कलाकारहरु मैले चिन्न थालेको थिएँ । भारतीय अभिनेता अमिताभ बच्चन खुब मन पथ्र्यो । बुवाको हाउभाउ ठ्याक्क अमिताभ बच्चनले फाइट एक्सन गरे जस्तो लाग्यो । छेउछाउका साथीहरु र मलाई पढाउने शिक्षकहरु समेतले ‘दुर्गाजी त कति बलवान हौ’ भनेर कुरा गरेको सुनेपछि त म झन् गमक्क परेको थिएँ ।
त्यतिबेला त्यो केटाले झ्याल झ्यालमा चढेर चिट चोराउँन खोजेको रहेछ । बुवाले धेरै सम्झउँने, थर्काउने गरे पनि नमानेपछि मौका मिलाएर त्यसलाई पक्डिनुभएको रहेछ । उसलाई बुवाले घिसार्दै एउटा खाली कक्षामा थुनिदिनुभयो र पछि पुलिसको जिम्मा लगाइदिनुभयो ।
एक अध्ययनले भन्छ, हरेक मानिसले बुझेर वा नबुझेर भए पनि एउटा रोल मोडल चुनेको नै हुन्छ । रोल मोडललाई नेपालीकरण गर्दा सम्भवतः चरित्र नमूना भन्न मिल्छ होला । सामान्यतः धेरैको रोल मोडल अर्थात चरित्र नमूना आफ्नै बुवा, आमा वा नजिकका मानिसहरु हुन्छन् । सिनेमाका नायक नायिकाहरु पनि रोल मोडल हुनसक्छन् । रोल मोडल अर्थात चरित्र नमूनाको हाउभाउ, उसको बोल्ने तरिका, हिँड्ने तरिकालाई आफूले पनि अनुकरण गर्न पाए हुन्थ्यो भनेर पनि सोच्ने गरिन्छ । यस्तो चरित्र नमूना एउटा मात्र पनि हुन सक्छ वा एकभन्दा बढी पनि हुनसक्छ । मेरो चरित्र नमूना मेरो बुवा नै हो ।
बुवाले गरेको गतिविधिलाई हिन्दी सिनेमाको नायक अमिताभ बच्चनसँग तुलना गर्न खोजेको मेरो मनलाई बुझ्दा घरबाहिरको रोल मोडल (चरित्र नमूना) अमिताभ बच्चन पनि रहेछ । बुवाले प्रायःजसो आमा, म र भाइलाई सिनेमा हेर्न लगिरहनुहुन्थ्यो । त्यसबेला सिनेमा हलहरुमा हिन्दी सिनेमा मात्र चल्थे । नेपाली सिनेमा त बर्षमा एकपटक मात्र चल्थ्यो । बिराटनगरको जलजला सिनेमा हल र हिमालय टाकिज पुगेपछि मन नै भरङ्ग हुन्थ्यो । हामी दाजुभाइ नै अमिताभ बच्चनको सिनेमा छ भने मख्ख पथ्र्यौं अनि अरु नायकहरुको सिनेमा रहेछ भने मन खल्लो बनाउँथ्यौं । बुवाले त्यहि बुझेर होला, बिराटनगरमा अमिताभ बच्चनको सिनेमा लागेपछि हामीलाई नछुटाई देखाउन लैजानुहुन्थ्यो । सामान्यतः राति सुतेको बेला मेरो मनमा भोलिपल्ट उठ्दा आफू अमिताभ बच्चन जस्तै देखिए हुन्थ्यो, उसको जस्तै गरी हाऊभाऊ भैदिए हुन्थ्यो भन्ने सोचाई आउँथ्यो । त्यसको अर्थ अनुसन्धानकर्ताहरुले भने जस्तै रोल मोडल चयन गरेको थियो भन्ने लाग्छ । अहिले त मेरो बुवा नै चरित्र नमूना लाग्छ ।
अर्कोपटक जोगबनीबाट किनमेल गरी बिराटनगर फर्कने बेलामा निक्कै राति भएकोले गाडि, रिक्सा पाइएन । बल्ल बल्ल एउटा गाडि आयो । ठेलाम्ठेल गरी सिट भेटियो । तर एकछिन पछि गाडिको खलासी, ड्राइवर र अरु एक/दुई जना आएर निक्कै च्याँठिंदै “गाडि जाँदैन, सबैजना उत्र ।” भन्न थाले । निकै फकाउँदा पनि उनीहरुले नमानेको र गाडिमा भएका मानिसकहरुलाई समातेर बाहिर निकाल्न थालेपछि बुवाले सबैलाई भेला गरेर “सेवाग्राहीहरुलाई हातपात गर्ने ?” भन्दै गाडिमा ड्याङ्ग ड्याङ्ग डुङ्ग डुङ्ग गर्न थाल्नुभयो । बुवाले त त्यो गाडिको टायरबाट हावा खुस्काउन थाल्नुभयो । बुवासँगै अर्को एकजना खाइलाग्दा यूवा पनि जोसिएका थिए । बहस र झगडा चल्दा चल्दै खलासी केटाले मेरो बुवालाई गाली ग¥यो वा हात नै हाल्यो कुन्नी ! ती यूवाले त्यो खलासीलाई कलरमा समातेर एक मुक्का हाने । ऊ नजिकैको पैनीमा लड्यो । त्यो यूवाले फेरि उसलाई पटक पटक भूईंबाट उठाउँदै हिर्काउदै गर्न थालेपछि बुवाले छुट्याउनु भयो । एकछिनपछि बुवा र त्यो यूवा मिलेर अर्को गाडि व्यवस्था गर्नुभयो । गाडि भिंड थियो । हामी पछाडितिर उभिएका थियौं, त्यो यूवा अगाडितिर थिए । बुवाले “त्यो गाडिलाई अझै तोडफोड गर्नु पर्नेथ्यो !” भन्नुभयो । ती यूवाले हातमा एउटा चावी देखाउँदै भने, “सर, चिन्ता नगर्नु । मैले त्यो गाडिको चावी नै निकालेर ल्याएको छु ।” उनको यो कुरा सुनेर बुवाले उनले सुन्ने गरी “हिरो भनेको हिरो नै हो ।” भन्नुभयो । ती यूवाले मुस्कुराउदै भने, “तपाईँ पनि हिरोको गुरु हो नि !” मलाई जिज्ञासा भयो अनि बुवालाई त्यो यूवा को रहेछ ?भनेर सोधें । त्यो यूवा त नेपाली सिनेमाको लोकप्रिय कलाकार शिव श्रेष्ठ रहेछन् । भर्खर ‘जीवन रेखा’ सिनेमा खेलेका रहेछन् उनले । सिनेमाको हिरोले समेत बुवालाई सर भन्दै सम्मान गरेको देख्दा मेरो बाल मनोविज्ञानले बुवालाई सबैभन्दा उच्च मान्छे ठानेको थियो ।
मेरो बुवा दुर्गाप्रसाद दाहाल अरुहरुभन्दा अलिक फरक खालको लाग्थ्यो मलाई त्योबेलादेखि । चौडा छाती, मध्यम उचाई, ओठ मास्तिर अंग्रेजी यू आकार कालो जुंगा तलतिर घोप्टिएको…. सर्सर्ति हेर्दा बनावट यस्तो हो बुवाको । अहिले त जुंगा पाल्न छोड्नुभयो । मैले बुवालाई सम्झँदा बिराटनगरको श्री सत्यनारायण मा.वि.को विज्ञान बिषयको शिक्षकको रुपमा वहाँसँग बढी प्रभावित हुन्छु ।
मलाई सानो हुँदादेखि नै बुवाले विज्ञानका सामाग्रीहरु ल्याएर देखाउनुहुन्थ्यो । चुम्बकसँग त म तीन÷चार बर्षदेखि नै परिचित थिएँ । चुम्बकलाई डोरी बाँधेर सिधा झुण्ड्यायो भने जहिले पनि उत्तर दक्षिण फर्किन्छ भन्ने त्यतिबेलै थाहा थियो । मलाई बिराटनगर पोखरियाको टाँढे घरको बरण्डामा बसाएर विज्ञानका जादु देखाउनु हुन्थ्यो । कपाल कोर्ने काईँयोलाई मेरो कपालमा बेसमारी रगड्नु हुन्थ्यो अनि भुईँमा साना साना टुक्रा पारेको कागजको छेऊमा लैजानु हुन्थ्यो । ती सबै कागजका टुक्राहरु बुरुक्क उफ्रेर काईँयोमा टाँसिन्थे । त्यतिबेलै बुवाले मलाई हरेक चीजमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ भनेर सिकाइसक्नुभएको थियो । कलम वा काईँयो रगड्दा त्यसमा चार्ज उत्पन्न हुन्छ र त्यसले साना कागजका टुक्राहरुलाई तान्छ भनेर बुझाउनुभएको थियो । बुवासँग यी कुराहरु सिकेपछि म मेरा साथीहरुलाई त्यो जादु देखाउने गर्थें । एकपटक त्यस्तै तीन बर्षको हुँदा मेरो खुट्टा तीघ्रादेखि नै मर्किएर हिँड्न नसक्ने भएको थिएँ । बुवाले ओछ्यानमै एउटा बटुकामा पानी ल्याएर त्यसमाथि हलुकासँग दाह्री काट्ने सेभेन ओ क्लक नामको ब्लेड तै¥याउनुभयो अनि बटुका बाहिर चुम्बक घुमाउनुभयो । चुम्बक जता लग्यो, ब्लेड पनि त्यतै बग्दथ्यो । खुब रमाइलो लागेर मैले मेरा त्यसबेलाका समकालिन साथीहरुलाई ओछ्यानमै बसेर देखाएको सम्झन्छु ।
तीन/चार बर्षको हुँदा भ्यागुता, फट्याङ्ग्रा मात्र हैन एकपटक त आँगनमा आएको हरहरा सर्पको पुच्छर समेत समातेको थिएँ रे । फुपूका छोरा दाजुहरु, किसन दाजु र कुमार दाजुलाई दिनभर फट्याङ्ग्रा खोजेर ल्याउन सकस पथ्र्यो रे । फट्याङ्ग्रा खोजेर ल्यायो, बुरुक्क उफ्रेर हराइहाल्ने । फेरि खोजेर ल्याउन भन्दै रुन्थें रे । मेरो यो स्वभाव देखेर बुवाको चाहना मलाई जीव बिज्ञान पढाउने थियो रे ।
मेरो चार/पाँच बर्षको बाल मस्तिष्कमा नै “भगवान भनेको मान्छेले थुकेको, हगेको माटो ल्याएर मान्छेले नै बनाएको त हो” भनेर बुवाले पारिदिनुभएको थियो । दशैं, सरस्वती पूजा र विश्वकर्मा पूजाका बेला बिराटनगरको गुद्री बजारतिर पराल मुठ्याएर मानव आकृति बनाउदै त्यसमा माटो पोतेको दृष्य बुवाले देखाउनु भएको थियो अनि “ देखिस् ! भगवानलाई यसरी मानिसले बनाएको त हो नि !” भन्नुभएको थियो । त्यो बाल मस्तिष्कमा पसेको बैज्ञानिक तर्कले मलाई गहिरो प्रभाव पारेको थियो । घरमा पाहुनाहरु आएको बेला बुवाले “भगवान छ कि छैन ?” भनेर सोध्नु हुन्थ्यो । मभन्दा पनि भाइ आश्विन फुर्तिफार्तिका साथ भगवान छैन भनेर तर्क दिन तम्सन्थ्यो । आएका पाहुनाहरु वाल्ल पर्थे ।
बि.सं. २०३६ सालतिर पन्चायत सरकारले निर्दलीय पंचायती प्रजातान्त्रिक व्यवस्था कि बहुदलीय प्रजातान्त्रिक व्यवस्था ? भन्ने बारेमा जनमत संग्रह गराएको थियो । बुवाको सक्रियताले गर्दा मलाई त्यो पनि थाहा छ । एकदिन बिराटनगरको पुरानो राष्ट्र बैंक भएको छेउको डेराबाट हामी दाजुभाइ बाहिर निस्किएर खेल्दै थियौं । हातमा दुबैजनाले लठ्ठी उठाएर “निर्दले गुण्डा, रुखमा झुण्डा” भनेर चिच्याउँदै थियौं, बुवाले हत्त न पत्त हामीलाई तानेर कोठाभित्र लानुभयो अनि “यसरी बाहिर करायौ भने बुवालाई पुलिसले पक्डेर लान्छ नि !” भन्नुभयो । त्यसपछि हामीले कहिल्यै त्यसो गरेनौं ।
पछि बि.सं. २०३७ सालतिर हामी बिराटनगर, मुनालपथमा डेरा स¥यौं । डेरा पूर्व अर्थमन्त्री र नेपाली काँग्रेसका नेता महेश आचार्यको दिदी धर्मकुमारीको घर रहेछ । बुवा शिक्षक हुनुहुन्थ्यो अनि नेपाल राष्ट्रिय शिक्षक संगठनको मोरङ्ग जिल्लाको सचिव हुनुहुन्थ्यो । शिक्षकहरु पंचायती सरकारविरुद्ध शिक्षकको पेशागत माग लिएर आन्दोलनमा थिए । हामीलाई बुवाले “नचिनेको मान्छेले सोधिखोजी ग¥यो भने, बुवा घरमा हुनुहुन्न भन्नु है ।” भनेर सिकाउनु भएको थियो । एकदिन बिहानै पुलिसहरु सिभिल ड्रेसमा आएछन् । पहिले एकजना मात्र गेटमा आएर भाइ आश्विनलाई बुवा घरमा भए नभएको सोधेछ । भाइले पनि बुवाको साथी होला भनेर “घरमै हुनुहुन्छ” भनिहालेछ । त्यसपछि त सबैजना आएर बुवालाई पक्डिएर लगिहाले । ठूलो गल्ति गरियो जस्तो लाग्यो मलाई र भाइलाई । पछि विभिन्न पत्रिकाहरु जस्तै ः मातृभूमी , नयाँ संदेश लगायतका पत्रिकामा बुवाको गिरफ्तारीको खबर र त्यसको चौतर्फी विरोधको समाचार देखेपछि मलाई मेरो बुवा साँच्चैको नायक हो भन्ने लागेर गमक्क परेको थिएँ ।
घरबेटी धर्मकुमारी साह्रै छुच्ची थिइन् । सबैलाई हकार्ने, कराउने । घरभाडा समयमा दिएनन् भनेर कराइ रहन्थिन् । एकदिन त आमासँग घरभाडा समयमा नतिरेको झोंकमा उनले च्याँठिदै भनिछिन् “मास्टर भएर मास्टरको हैसियतमा पो बस्नुपर्छ, मास्टर भएर राजनीति गर्दा यस्तै हुन्छ । ठीक भएछ ।” त्यतिबेला मलाई पनि चित्त दुखेको थियो । धेरै पछि मात्र पो मैले थाहा भएको हुँ, धर्मकुमारी त काँग्रेस नेता तथा पूर्व मन्त्री महेश आचार्यको दिदी रहिछिन भन्ने कुरा । सानो उमेरमा बुवाले गरेको राजनैतिक संघर्ष, अनसन, गिरफ्तारीले मलाई अलि फरक ढंगले शिक्षा दिएको थियो ।
हाम्रो घरमा २०३६ सालदेखि नै खेमनाथ खतिवडा दाजु बस्नुहुन्थ्यो, हामीलाई खुब माया गर्ने । आसामबाट नेपाल छिरेर एक्लो हुनभएका खेमनाथ दाजुलाई बुवाले हामी सबैको जेठो दाजु बनाउनु भएको थियो । खेमनाथ दाजु धार्मिक संस्कार मान्ने स्वभावको हुनुहुन्थ्यो । बुवाले सँधै वहाँलाई विभिन्न घट्नाहरु सुनाउँदै “त्यो बेलामा तिम्रा भगवानले के गरे ?” भन्दै उल्लिविल्लि पार्नुहुन्थ्यो । दाजु मभन्दा दशबर्ष जेठो हुनुहुन्थ्यो । एकदिन धर्मकुमारीकै घरमा भएको बेला खेमनाथ दाजु नुहाउँदै हुनुहुन्थ्यो । अकस्मात हामीलाई हातको ईसाराले बोलाउनुभयो । हामी छेउमा गयौं । वहाँले हातको ईसाराले आझ्नो जीउतिर देखाउँदै के के बताउनुभयो । हामीले बुझेनौं । निकैबेर भएपछि छेउका अर्का च्याक्से अनुहारका भाडावाला जसलाई खेमनाथ दाजुले कार्टुन भनेर हामीबीच सम्बोधन गर्नुहुन्थ्यो, उनले देखेछन् अनि हत्तपत्त एउटा जनै ल्याएर दिए । दाजुले जनै लगाएपछि बल्ल बोल्नुभयो । नुहाउँदा जनै चुँडिएकोले नबोल्नुभएको रहेछ दाजु । त्योबेला बुवा घरमा हुनुहुन्नथ्यो । जब बुवाले त्यो घटना सुन्नुभयो, तब खेमनाथ दाजुलाई अनेक तर्क दिँदै उल्याउनुभयो । सँधैभरी त्यही कुरा गर्दै सम्झाएर होला, दाजुले अलिपछिदेखि जनै नलगाइकन पनि बोल्ने र खाना खाने गर्न थाल्नुभयो । पहिले पहिले बाहुनको छोराले बासीभात खानु हुँदैन भनेर नखाने खेमनाथ दाजु त पछि बासीभात गमागम खान थाल्नुभयो । दाजुमा आएको यो परिवर्तनले बुवाको तर्कप्रति मेरो झन श्रद्धा बढेर आयो ।
बुवाले जनै लगाउनु हुन्नथ्यो । “मैले ब्रतबन्ध नै गरेको छैन ।” खेमनाथ दाजुलाई बुवाले भनेको मैले सुनेको हुँ । कहिलेकाहीं जनै पूर्णिमाको दिन पण्डित बाजे घरमा आएको बेला यसो लगाए जस्तो गर्नु हुन्थ्यो अनि एकछिनमा भित्तामा ठोकेको काँटीमा त्यो जनै झुण्ड्याएको हुन्थ्यो । बुवाको यो चेतनाले मलाई गहिरो प्रभाव पार्यो । म पनि जनै लगाउदिन । जनै भनेको उच्च जातिकाले अरुभन्दा आफूलाई अब्बल देखाउन प्रयोग गरेको एकप्रकारको दम्भ हो अनि अरु जातिलाई त्यो दम्भको दबावभित्र पारेर शोषण गर्ने माध्यम हो भन्ने मेरो ठहर बनेको छ ।
मुनालपथ, बिराटनगरमा २०३८ सालतिर बुवाले दुईकोठे पक्का घर बनाउनुभयो ट्युसनको पैसाले । घरमा बिहान छ बजेदेखि स्कूल जाने बेलासम्म र बेलुका पनि पाँच/छ बजेदेखि अबेर रातिसम्म ट्युसन पढ्नेको ताँती हुन्थ्यो । बुवाले डेरामा बस्दादेखि आफ्नो घर बन्दासम्म एउटा फ्रेममा राखेको ठूलो फोटोलाई खाटमुनी कपडाले छोपेर राख्नुभएको थियो । हामी दाजुभाइ पनि त्यो फोटोलाई खाटमुनी छिरेर हेथ्यौं । बुवाले एकदिन थाहा पाउनुभएछ अनि हामीलाई बोलाएर “त्यो फोटो बाहिर ननिकाल्नु है ! पुलिसले पक्डिन्छ ।” भन्नुभयो ।
सेतो झपक्क दाह्री पालेको बुढो बुढो मानिसको आधा कदको फोटो, किन यति डरलाग्दो होला ? भनेर म छक्क पर्थें । धेरैपछि थाहा पाएँ, त्यो त बुवाले अति श्रद्धा गरेर राख्नुभएको कार्ल माक्र्सको फोटो रहेछ । बि.सं. २०४० सालमा बुवा जागिरको सिलसिलामा उत्तरपानी, धनकुटा जानुभएको बेला पनि हामीले लुकाएर त्यो फ्रेम फोटो उतै लग्यौं । उत्तरपानीमा साथीहरुसँग लुकाछिपी खेल्ने क्रममा उत्तरपानी प्राविधिक शिक्षालयका एकजना प्रशिक्षक हरिहर थपलियाकी जेठी छोरी शोभा थपलियाले खाटमुनी त्यो फोटो देखिछिन् । त्यसपछि हामीलाई त्यो कसको फोटो हो भनेर कर गरी गरी सोध्न थालिन् । हामी दाजुभाइलाई बताउन डर लाग्यो । मैले “आमालाई सोधेर भन्छु” भनें । आमाले सिकाउनुभयो अनि आएर मैले “त्यो फोटो हाम्रो हजुरबुवाको बुवाको हो ।” भनें । उनले “आफ्नो जीबाको फोटो पनि यसरी खाटमुनी राख्ने हो ?” भनेर हप्काइन् । पछि उनले आफ्नो बुवाआमालाई “रोहितहरुले आफ्नो जीबाको फोटोलाई खाटमुनी पो राख्दा रहेछन् ।” भनेर हामीलाई दया माया नभएका पात्र जस्तो बनाइछन् । जे होस् सर्वाहारा बर्गका महान नेतालाई हामीले नजानेरै भएपनि आफ्नो जीबा बनाएका रहेछौं । बुवाले श्रद्धापूर्वक लुकाएर राखेको फोटोको कारणले कार्ल माक्र्ससँगको मेरो नाता नजानिँदो गरी गाँसिएको मैलै पाएँ । यस अर्थमा मेरो बुवालाई मैले चरित्र नमूना मान्दछु ।
म अझै सानो भएको बेला चीनका महान नेता माओत्सेतुङ्गको निधन भएको रहेछ । माओको निधन भएको दिन घरमा पाहुनाहरु आएका थिए रे । आमाले भन्नुभएको । बुवा साह्रै दुःखित भएर भात समेत खानुभएन रे । आँखाभरि आँशु पारेर रुनुभएको थियो रे । घरमा आएका पाहुनाहरुले अर्को देशको कुन चैं भोटे मर्दा के चिन्ता गरेको ? समेत भने रे । दुई÷तीन दिनसम्म बुवा रोइरहनुभयो रे ।
हामीसँग छालाको ठूला ठूला दुईवटा बाकस थिए । एउटा बाकसमा कपडाहरुको मुन्तिर पारेर केही फोटोहरु बुवाले राख्नुभएको थियो । एकदिन हामी दाजुभाइले ती फोटाहरु देख्यौं । च्युडोमा चुस्स दाह्री राखेको कालो कोट, सेतो सर्ट र कालो पाइन्ट लगाएको मानिसको कुनै बगैंचामा बसेको फोटो थियो त्यो । अरु दुईवटा उसैका फोटा थिए । त्यो लेनिनको फोटोहरु रहेछ । अर्को च्युडोमा कोठी भएको भोटे अनुहारको मानिसको फोटो पनि थियो । आमाले त्यो कोठी भएको मानिसको फोटोको ब्याख्या गर्दै माओ निधन भएको बेला बुवा शोकमा रुँदै बसेको घट्नाको बृतान्त बताउनुभएको थियो । त्यो सुनेर मलाई अचम्म लागेको थियो । अहिले बल्ल पो बुवाको आस्था देखेर नतमस्तक हुन्छु ।
मेरो बुवा अहिले बहत्तर बर्षको हुनुभयो । अहिले पनि बुवाले बैज्ञानिक चेतना नै सत्य हो भन्नुहुन्छ तथापी कताकता अन्तर्विरोधी क्रियाकलापमा बहकिनु पनि हुन्छ । कमजोरी त सबैको हुन्छ नै । यथास्थितिलाई आफूले पूरै तोड्न नसके पनि यथास्थिति गलत हो भन्न सकियो भने पनि त्यसले अर्को पुस्तालाई रुपान्तरण सहित अगाडि बढ्न मद्दत गर्छ ।
केही बर्ष अगाडि मेरो काइँला काका घरमा आएको बेला केही बिषयमा तर्क वितर्क चल्दा बुवाले “मेरा छोरा बुहारीले मेरो किरिया गर्नु पर्दैन ।” भन्नुभयो । काकाले पनि हाँसी हाँसी, “के उसोभए भुत भएर हिंड्ने त ?” भन्नुभयो । त्यतिबेला बुवाले काका समक्ष राख्नुभएको तर्कले मेरो शीर ठाडो भयो । बुवाले नै यो जगतलाई फरक ढंगले हेर्न मेरो बाल मस्तिष्कलाई बदल्नुभएको हो । त्यही जगमा उभिएर आफूलाई पूर्णरुपमा बदल्दै दुई÷चारवटा पुस्तक निकालेर भएपनि समाजलाई फेर्न होस्टेमा हैंसे गर्न सक्छु भन्ने मलाई आँट आएको छ । बुवा, साँच्चै नै मेरो चरित्र नमूना अर्थात रोल मोडल हो ।
(मोरङ)