बुधबार असोज २१, २०६५ अर्थात् अक्टोवर ८, २००८ को शुभ विहानी । सिक्किम राज्यको राजधानी गान्तोकको महात्मा गान्धी (एम.जी.) मार्ग स्थित ग्रीन होटलको रुम नं. ८ मा सुस्तरी लजाउँदै आइपुग्यो सुन्दर विहानी । मानौँ नवविवाहित दुलहीजस्तै । जति घुम्टो खुल्दै गयो, त्यति नै मुस्कुराउँदै आयो विहानी । सुन्दरताको मूल्य कति हुन्छ र कसरी वर्णन गर्नुपर्छ । त्यसको लागि निकै बेर घोरिएँ म होटलको कोठामा नै । सधैँ उपस्थित हुनेभन्दा आजको विहानी एकदम बेग्लै लागिरहेको छ किनकिन मलाई । वास्तवमा भन्ने नै हो भने एकदमै खुशीको विहानी उपस्थित भएझैं लाग्दैछ मेरै सामुन्ने । खुशीले पुरिएको छु । खुशीभित्र लपेटिएको छु । खुशी नै खुशीले लपेटिएको छु म । किनकि आज गान्तोकबाट छाङ्गु ताल (Tsomo Lake) हुँदै बाबाधामको दर्शन गर्ने मौका मिलेको छ । त्यसपछि सिक्किमकै एउटा संरक्षित क्षेत्र लुङ्थुङ, जलुक र लिङ्ताम भएर पूर्व सिक्किमको रङ्गेली बजार छेउको रीगु वस्तीसम्मको यात्रा गर्ने सौभाग्य मिल्ने भएको छ मलाई । त्यसैले पनि फुरुङ्गिएको छु म आज ।
भदाहरु अविन्द्र राई (जेठान के.बी.राईका कान्छा सुपुत्र) र भानु राई (कान्छा साला जसबहादुरको एक मात्र सुपुत्र) सँग आइपुगेको थिएँ गान्तोकमा हिजो साँझ मात्रै । भदाहरुले पुसै (फूपुको पति अर्थात् मलाई) लाई नयाँ वा नौलो स्थान घुमाउँदै घर अर्थात् रंगेली बजारको नजिक रीगु वस्ती पुर्याउने सल्लाह गर्नुभएछ रातभरमा । स्पेशल पास लिएर मात्र उक्त मार्गको यात्रा गर्न पाउने भएकोले पनि कस्तो स्थानको यात्रा हुने रहेछ भन्ने कुतुहलता छ मनभरि । पुसैलाई पनि मज्जा आओस् र सिक्किम आएको पनि सार्थक होस् भन्ने विचार गरेर गान्तोकबाट छाँगु ताल, बाबा मन्दिर भएर संरक्षित क्षेत्र (Protected Area) हुँदै वत्तीस घुम्ती भएर जाने भनी सल्लाह गर्नु भएछ । तर सिक्किमेहरुलाई नै अनुमति पत्र नभई छाँगु, बाबा मन्दिर जान नपाउने नियम रहेको र त्यहाँबाट सीधै रंगेलीको रीगु जान विशेष अनुमति नै चाहिने भएकोले विचारविमर्श गर्नु भएछ आपसमा ।
भोलिपल्ट विहान हुनासाथ इन्स्पेक्टर जनरल अफ पोलिस, पोलिस चेक पोष्ट ब्रान्चमा जानु भै आवेदन गर्ने काम अविन्द्र भदाले गर्नु भएछ । साथै आपूm रीगु वस्तीको वासिन्दा र आपा (पितालाई राई भाषामा भनिने शव्द) कृष्णबहादुर राई सिक्किम डेमोक्रेटिक फ्रण्टका सल्लाहकार र सिक्किम कोअपरिटभका वर्तमान अध्यक्ष हुनु भएको कुरा समेत जनाउनु भएछ । त्यसपछि थर्ड माइल पोलिस पोष्टले ट्राभल परिमिट नं. २७५६९ भेहिकल नं. एस्.के.०२ ए/६३४० (ड्राइभिङ लाइसेन्स नं. एस्.के. आर २००८—०००७०११) राखी एकदिने अनुमति पत्र हामी तीनै जना (अविन्द्र, भानु र मेरो) को नाममा जारी गर्ने काम भएछ । त्यसपछि यात्राको ढोका खोलिएछ छाँगु ताल हुँदै रीगु जाने ।
गान्तोकबाट २९ कि.मी. टाढा रहेको छ छाँगु ताल । भारत चीन सीमा नथुला ४६ कि.मी., रम्पूm ४२ कि.मी. र सिलगुडी ११२ कि.मी. रहेको छ गान्तोकबाट । अब हाम्रो यात्राको तयारी छाँगु तालतर्फ प्रस्थान गर्ने रहेको छ ।
विहानको सवा दश वजे प्रस्थान गर्यौँ गान्तोक बजारबाट । दश बजेर पचीस मिनट जाँदा ६५०० फिट उचाइमा रहेको थर्ड माइल पोलिस पिकेट पोष्ट पार गरी जवाहरलाल नेहरु सडक (जे.एन्.रोड) लाई पक्रिएर आन्ध्र व्रिजमा पुग्यौँ । हुस्सुले सडक नै नदेखिने गरी ढाकेको रहेछ यतातिर । एक प्रकार अन्धकारमा गरिएको यात्राजस्तै वा निष्पट्ट अध्यारोले राज गर्ने सुरुङको यात्राजस्तै लागिरहेछ मलाई । जति उकालिँदै गइयो । त्यति नै अध्यारोले छोप्ने । चिसोले हमला गर्ने । विहानीको चिसोसँगै जे.एन्.रोडको यात्रामा संलग्न छौँ हामीहरु ।
यस्तैमा नौ माइलमा अवस्थित शिव गुफा मन्दिरको सामुन्नेमा पुग्यौँ । कहीँ कतै गुफामा विराजमान हुनुहुन्छ होला शिवजी । फुर्सद नभएकोले वाहिरैबाट मनमनै सम्झिएर आदरभाव प्रकट गरेँ मैले । सुरक्षित यात्राका लागि अनुनय गरेँ मोटरभित्रैबाट । नौ माइलमा रहेको भीरलाई सुस्तरी पार गर्दै अगाडि बढिरहेका छौँ निरन्तर ।
नाथुलालाई ताकेर बढिरहेको छ मोटर वतासजस्तै हुइकिएर । काङचोला, क्योङ्सो बस्ती र छोमो वस्तीलाई पछाडि छोड्दै । मङ्गलचौक लाई पार गरेपछि अपरान्ह एक वजे अर्थात् १३०० वजे पुग्यौँ छागु ताल (Tsomo Lake) को किनारमा । पुस र माघ महिनामा तालको पानी जमेर तालको माथिबाट नै मान्छे ओहरदोहर गर्ने खालको हुन्छ भन्दै भदा अविनले सुनाउनु हुन्छ मलाई । अहिले नीलो देखिइरहेको तालको पानी हिउँदमा हिउँ जम्दा सेतो बर्की ओढेर सुतिरहेको अस्पतालको विरामीजस्तै देखिन्छ ताल । यसरी यस तालले पनि समय र परिस्थिति अनुसार रुप फेरिरहन्छ र मज्जा लाग्छ हेर्नलाई । त्यसैले कहिलेकाहीँ मौका पर्न साथ घुम्न आउने गरेको छौँ हामीहरु भन्दै सुनाउनु हुन्छ अविन भदा ।
तालको वायाँ किनारमा याकमा चढेर फोटो खिच्नेहरु लाइनमा उभिएका छन् । दायाँतर्पm नीलो र निर्मल पानीका लहरहरु सलबलाई रहेका छन् तालभरि । करीव १२३१३ फिट उचाइमा अवस्थित सुन्दर र मनमोहक ताललाई नियालेर हेरेँ मज्जाले । अण्डाकारमा रहेको छाँगु तालको लम्वाई २७४३ फिट रहेको छ भने चौडाइ भने १४०१ फिट र गहिराइ भने ४९ फिट रहेको कुरा अविन भदाले वताउनु हुन्छ मलाई । साथै मे अर्थात् बैशाख महिनाको दोश्रो हप्तातिर तालको वरिपरिका डाँडाहरुमा विभिन्न प्रकारका लालिगुराँश, निलो तथा पहेँलो पपी पूmलहरु ढकमक्क फुलेर तालको सुन्दरतालाई झनै बढाइदिने गरेको कुरा पनि सुनाउन भुल्नु हुन्न भदाले । कहिलेकाहीँ त रेड पाण्डा पनि देख्न सकिन्छ यहाँ । त्यसैले धेरै वङ्गालीहरु तथा अन्य राज्यका पर्यटकहरुको ओइरो नै लाग्छ यहाँ हेर्न र घुम्नलाई ।
केही समय छाँगु ताललाई सुम्पेर शेराथाङ मार्ट (Sherathang Mart) लाई ताकेर बढ्ने क्रम जारी राख्यौँ हामीले । थेगु भन्ने सानो वस्तीलाई पार गरेर अगाडि बढ्दा ट्राफिक जाममा पर्यौँ । त्यहाँ वरिपरि टिनले बारेर व्याडमिण्टन कोर्ट वनाएका रहेछन् र केही युवाहरु व्याडमिन्टन खेलिरहेका छन् भने कोही आलु चिप्स, भुजिया र माउण्टेन ड्यू आदि पेय पदार्थहरु पिइरहेका छन् । सानो वस्तीजस्तै बजारमा मोटरहरुको ताँती नै लागेको छ । हाम्रो तर्फको सडक बल्लबल्ल खुल्न गयो र ट्राफिक पर्खाइबाट मुक्ति मिल्नासाथ दौडियौँ मज्जाले । याक्ला भन्ने स्थान पार गरेपछि पुग्यौँ शेराथाङ मार्ट (Sherathang Mart) सवा दुई वजे अर्थात् १४१५ वजे । यहाँबाट नाथुला पास र बाबाधामको दूरी बराबर रहेछ ६ किलोमिटर । नाथुला पास जान केही पर गएपछि वायाँ र बाबाधाम जान दाँया मोडिनु पर्ने सूचना रहेको छ यहाँ ।
पहिले सिक्किम र तीव्वत वीच व्यापार यही नाकाबाट गरिन्थ्यो । कालान्तर सिक्किम भारतसँग विलय भएपछि इण्डो–सिनो युध्द पश्चात् वन्द गरिएको नाका जुलाई ६, २००६ बाट खुला गरिएको छ । यो नाका खुला गरिएपछि चीनको स्वशासित क्षेत्र तीव्वतबाट र भारतीय सामानहरुको निकासी र पैठारी गरी क्रय विक्रय गर्नका लागि शेराथाङ मार्टको स्थापना गरिएको हो । र यो मार्ट प्रत्येक वर्षको जुन १ देखि सेप्टेम्वर ३० सम्मको सोमबार देखि विहिबारसम्म किनवेचका लागि खुला गरिन्छ । भारतीयहरुका लागि शेराथाङमा र तीव्वतीयन व्यापारीका लागि रिन्चानग्याङ्ग मार्ट (Rinchangang Mart) मा पसलहरु खोलिएका छन् ।
शेराथाङ मार्टबाट भारतीय व्लाङ्केट, तामाका सामानहरु, लत्ताकपडा, साइकल, कफी, चिया, गहूँ, चामल, पीठो, ड्राइफुट्स, तरकारी, तम्वाकू, वनस्पति तेल, मर मसला, जुत्ता, मट्टितेल, स्टेशनरी, क्यानका खाद्य पदार्थहरु, जडिबूटी तथा दूधबाट वनेका परिकारहरु चीनतर्पm निर्यात गरिन्छ्न् भने चीनतर्पmको रिन्चानग्याङ्ग मार्टबाट बाख्रा तथा भेडाका छाला, ऊल, कच्चा सिल्क, चौरीको पुच्छर, चीनीया माटोको सामान, बटर (नौनी घीउ), नुन, घोडा, भेडा, चीनीया थर्मस्, ज्याकेट तथा अन्य घरायसी प्रयोगमा आउने सामानहरु आयात हुन्छन् । तर सेराथाङ मार्टमा बस्ने व्यापारीहरु जो भारतसँग सिक्किम विलय हुँदाको समयमा सिक्किमे नागरिक भएकाहरु (सन् १९७५ अगाडिका) लाई मात्र अनुमति लिएर व्यापार व्यवसाय गर्न पाउने नियम रहेकोछ । केही बेर शेराथाङ मार्टका अवलोकन गर्यौँ र भदाहरुले केटाकेटीका लागि भन्दै केही चीनीया खेलौनाहरु खरीद गर्नुभयो । मैले खासै किन्नु पर्ने चीज नदेखेले किन्ने काम गरिनँ मैले ।
समयले पनि छोड्दै गएकोले बाबाधामतर्पm प्रस्थान गर्ने तयारीमा लाग्यौँ । यसैबेला भदा अविन्द्रले वताउनु भयो नाथुला (Nathula) को बारेमा ः ‘नाथुला पासको नामकरण तीव्वतीयन भाषाबाट गरिएको हो । ‘नाथु’ (Nathu) भनेको ‘सुनिरहने कानहरु’ र ‘ला’ (La) भनेको ‘पास’ अर्थात् भञ्ज्याङ भन्ने बुझिने रहेछ । त्यसैले नाथुला भनिएको रहेछ । यो समुद्रको सतहदेखि १४१४० फिट उचाइमा रहेकोले लेक लाग्ने हुन्छ । त्यसैले यताको यात्रा गर्दा पर्यटकहरुले प्रायः गरेर अल्टिच्युडसिक्नेसबाट बच्नका लागि आफ्नो साथमा एसटाजोलामाइड ट्याव्लेट (Acetazolamide Tablets) आदि आफ्नो साथमा लिएर आउने गरेका पाइन्छन् । आपत पर्दा उक्त ट्याव्लेटको प्रयोग गरेर सुरक्षित हुन सकिन्छ ।
हुन त चीन र भारतका वीच तीनवटा खुला सीमा क्षेत्रहरु रहेका छन् । एउटा सीमा नाथुला होभने अर्को शिपकिला (Shipkila) हिमाञ्चल प्रदेशसँग जोडिएको छ र तेस्रो चाहीँ लिपुलेक (Lipulek)हो जुन सीमाचाहीँ भारतको उत्तराखण्ड र नेपाली भूभागसँग पनि जोडिएको छ ।’ अब हामी नाथुला जाने बाटो भएर नै एउटा सानो तर महत्वपूर्णको रमाइलो स्थान थेगु (Thegu) मा पुग्नेछौँ । त्यहीबाट वायाँ लागे नाथुला सीमा र दाँया लागेमा बाबाधाम पुग्नेछौँ । थेगु भन्ने स्थानमा संसारकै सबैभन्दा उचाइ अर्थात् १३२०० फिटमा युनिट ट्रस्ट आफ इण्डिया वैँक (UTI Bank) ले जडान गरेको एटोमेटिक टेलर मेसीन (ATM) रहेको छ । उक्त मेसीन जेनेरेटर र जत्ति नै चिसोको समयमा नजम्ने इन्धन प्रयोग गरी सञ्चालनमा ल्याइएको छ रे । त्यसैले एटिएम भएमा नगद निकाले पनि नत्र आप्mनो खातामा बाँकी रहेको रकम चेक मात्र गरी सौभेनीयरको रुपमा एटिएम स्लिप लैजान सकिन्छ ।
दिनको साढे दुई वजे प्रस्थान गर्यौँ सेराथाङ मार्टबाट । केही क्षणको ड्राइभ पछि नै आइपुग्यौँ थेगुमा । मोटर पार्क गरी एटिएम मेसीन जडान गरिएको भवनतिर लाग्यौँ । यसैको साथमा रहेको छ सानो रेष्टुराँ र वाटरशेड मेम्वायर शप । पैसा ननिकाले पनि सौभेनियर हुन्छ भनी युनाइटेड वैँक अफ इण्डियाको एटिएम कार्डबाट मौज्दात रकमको स्लिप निकालेँ । त्यसपछि सौभेनियर शपबाट नाथुलाको सम्झनास्वरुप एउटा हाफ कभर भएको रातो टोप किनेँ भा.रुं चालीसमा । चिसो पनि बढेकोले तीनै जनाले एकएक बाउल थुक्पा र टोमाटो सुप पियौँ आरामले ।
केही क्षणको आराम र अवलोकन पश्चात् प्रस्थान गर्यौँ सानो तर महत्वपूर्णको स्थान थेगुबाट । सुरासोइ (Surasoi)भन्ने स्थानलाई छोड्दै अलिक ओरालिने क्रममा सडकदेखि परपर भ्याङ्लुङ (भेडाजस्तै जनावर) चरिरहेका देखेँ । लेकाली भेडा देख्दा रमाइलो लाग्यो । खाली साना पोथ्रा र जमीनसँग टाँसिएका हरिया घाँसहरु सिला खोजिरहेका छन् । जाडो बाहेक के नै प्रशस्त खाना पाउँछन् भ्याङ्लुङहरुले । मैले टिठ्याएर पनि के नै गर्न सक्छु र ! केवल आँखाले रमिता हेर्न र मन दुखाउन बाहेक ! चरिरहेका भ्याङ्लुङलाई हेर्दै बढिरहेका छौँ गन्तव्यतर्फ एकनासले ।
यस्तैमा रमाइलो टारी भएको स्थान ठोक्कियो आँखासँग । कुपुक (Kupuk) रहेछ यस स्थानको नाम । मोटरको स्टेरिङ बटार्दै भदा अविन्द्र भन्नुहुन्छ–‘यस स्थानमा बाह्रै मासजस्तै वादल वा हुस्सुले छोपिरहन्छ । हुस्सु नभएको स्थान कुपुक नै होइनजस्तो । हुस्सुको प्रिय स्थान हो कि कुपुकको प्रिय लाग्ने चीज हुस्सु । जहिले पनि यहाँ आइपुग्दा हुस्सुले नै छोपिरहेको पाइन्छ । आज पनि अलिअलि हुस्सु त लागेकै रहेछ । त्यसैले नै होला यहाँ गोल्फ कोर्स गराइन्छ र यो संसारभरिकै दोश्रो उचाइमा रहेको गोल्फ कोर्स (Golf Course) भनेर चिनिन्छ । उ पर देखिने नाथाङ मोनास्ट्री (Gnathang Monastery) हो र त्यही युध्द स्मृति पार्क पनि रहेको छ । भारत तीव्वतवीच सन् १८०० मा युध्द भएको थियो । उक्त युध्दमा शहादात प्राप्त व्रिटिश सैनिकहरुको स्मृतिमा निर्माण गरिएको हो युध्द स्मृति पार्क ।’ भदाको जानकारीमूलक कुराहरु चुपचाप सुनिरहे मोटरमा नै बसेर ।
यात्रा बढिरहेकै छ निरन्तर । अलिक ओह्राली छ धरातल र झरिरहेका छौँ तलतल । दिनको साढे तीन अर्थात् पन्द्र वजेर तीस मिनेट भएको समय देखाइरहेको छ नाडीमा वाँधेको घडीले । बाबा मन्दिर वा बाबाधाममा आइपुगेछौँ हामीहरु ।
बाबा मन्दिर आएपछि मोटर रोक्नु भयो भदा अविन्द्रले र हामी सबै उत्रियौँ मोटरबाट । सडकसँगै जोडिएको सानो तर भव्य मन्दिरको अवलोकनमा व्यस्त भयौँ । मन्दिर सानो पहाडको फेदमा रहेको छ भने मन्दिरको अगाडि भागमा हल्का रातो रङ्गले रङ्गाइएको पर्खालले घेरिएको छ । मन्दिर एकतले भए पनि रातो रङ्गको च्यादरले ओताइएको छ । छानाको ठीक मुन्तिरको भित्तामा सुनौला र ठूला अंग्रेजी अक्षरमा BABA HARBHAJAN SINGH उल्लेख गरिएको छ । प्रवेशद्वारको वायाँतर्प राखिएको कैचीमार टेवलमा अटोमेटिक कफी मेकर र केही कपहरु राखिएका छन् । यहाँ भक्तजनहरुले सित्तैमा तातो कफी पिउन सक्नेछन् । भारतीय सेनाको हरियो रङ्गको पोशाकमा पञ्जावी (सिख) फेटामा सजिनु भएका बाबाको फोटोलाई फ्रेममा राखिएको छ । तीर्थालुहरु र भारतीय सैनिकहरुको आस्थाको केन्द्रविन्दुको रुपमा रहेको छ बाबा मन्दिर । आखिर को हुन् र किन आस्थाका केन्द्र विन्दु हुन पुग्नुभयो सिपाही हरभजन सिंह । यस सम्वन्धमा जानकारहरु वताउँछन् —
बाबा हरभजन सिंहको जन्म अगष्ट ३०, १९४६ मा पञ्जावको गुजरावालामा भएको थियो । आप्mनो हाइस्कूलको पढाई पश्चात् फेव्रुअरी ९, १९६६ मा पंजाव रेजिमेण्टमा सिपाहीमा नियुक्त हुनु भै सैनिक सेवा शुरु गर्नुभयो । सैनिक सेवाकै क्रममा सीमा रक्षककारुपमा खटिएर सन् १९६८ मा नाथुला सीमामा काम गर्न थाल्नुभयो । यसै समयमा अक्टोवर ४, १९६८ का दिन सामानहरु खच्चरलाई बोकाएर डोँगचुईतिर लगेर जाने क्रममा एउटा खोलामा चिप्लिएर लड्नु भयो र उक्त खोलाको तेज धारले करीव दुई किलोमिटर तलसम्म वगाएर लगेकोले वेपत्ता हुनुभयो । उनको पार्थिव शरीरको तीन दिनसम्म खोजी कार्य गर्दा पनि फेला नपरेको र खोजी कार्यमा कठिनाइ भएको ठानेर आफ्नै साथीलाई सपनामा यसरी खोज्नु भनी भनेपछि पार्थिव शरीर भेटिन गएको भन्ने आम विश्वास छ । उक्त पार्थिव शरीरलाई सम्मानका साथ सदगत् गरे पश्चात् फेरि आफ्नै एक साथीलाई मेरो समाधि वनाई दिन अनुरोध गरेपछि घट्नास्थलदेखि ९ कि.मी. तलतिर नभेम्वर ११, १९८२ मा बाबाको मन्दिर निर्माण गरियो । र श्रध्दालु तथा भक्तजनहरुमा यो मान्यता वा विश्वास पनि छ कि कुनै विरामीको नाममा मन्दिर परिसरमा बोतलमा पानी भरेर २१ दिनसम्म राखी पछाडि घर लगेर पिउन दिएमा विरामी निको हुन्छ भन्ने विश्वास छ । तर पानी सेवनको समयमा शाकाहारी भोजन र मदिराको सेवन गर्न हुँदैन भन्ने छ ।
बाबाको चमत्कारिक कुराको बारेमा भन्ने गरिन्छ कि भारत र चीनको सीमामा कुनै अनिष्ट हुन लागेको छ भने तीन दिन अगावै संकेत गर्नुहुन्छ । त्यसो भएपछि युध्द नगरी आपसी समझदारीमा कुराहरु मिल्दै आएको छ भन्ने भनाइ छ । त्यसैले पनि नाथुला बोर्डरमा संयुक्त बोर्डर वैठक भएको समयमा चीनीया पक्षले बाबाको लागि भनी एउटा कुर्सी अद्यावधिसम्म छुट्याएर राख्ने प्रचलन रहेको छ । त्यसरी नै आर्मीले लगाउने लुगा सफा, सुग्घर र तोकिएजस्तो हुनुपर्ने र त्यस्तो ड्रेस नलगाई ड्युटीमा खटिने सैनिकहरुलाई झापड लगाउने गरेको र बङ्करमा राखिएको बाबाको पोशाकभने स्वचालितरुपमा सदैव सफा, सुग्घर रहने गरेको बारे पनि त्यहाँ तैनाथ सैनिकहरुले वताउने गरेका छन् । भारतीय सिपाही हुँदाको अवस्थामा देहान्त भएका बाबाको बढुवा मेजरसम्म भइसकेको छभने प्रत्येक वर्ष सेप्टेम्वर ११ का दिन विदाका लागि आप्mना परिवारहरु रहनु भएको पञ्जावका लागि जीपबाट प्रस्थान गर्न बाबाका सामान सहित न्यु जल्पाइगुडी रेल्वे स्टेशनसम्म पुर्याउने र त्यहाँबाट रिजर्भ गरिएको डिव्वामा सबै सामानहरु राखी उहाँका तीनजना सुरक्षा गार्ड सहित प्रत्येक वर्षको सेप्टम्वर १४ तारिखदेखि दुई महिनाका लागि छुट्टीमा पञ्जावको कपुरथला गाउँमा पठाउने र उहाँले नियमानुसार पाउने वेतनका साथ नाथुलामा कार्यरत सैनिकहरुले प्रदान गरेका रकम समेत घरमा पुर्याइदिने गर्ने गरिएको छ । र छुट्टी समाप्त भएपछि नियम पूर्वक फेरि सिक्किमको नाथुला पोष्टमा फिर्ता ल्याइने गरिन्छ । सिपाही भएकै समयमा शहादात प्राप्त गरेका बाबा हरभजनलाई अनररी क्याप्टेनसम्म बढुवा गरी केही वर्ष अगाडि मात्र अवकाश दिइएको छ ।
चार वजे छ अहिले दिउँसोको । हामीले पनि सित्तैमा वितरण गरिने तातो पानी र फिक्का चिया पियौँ । त्यसपछि बाबा मन्दिरलाई नमन गर्यौँ मनमनै । आशिर्वाद माग्यौँ र ओरालिन लाग्यौँ रङ्गेली बजारको दूरी छोट्याउन । लक्ष्मण चौक, लुङथुङ चौक (Lungthung Chowk) को पारि दाहिने पाखामा चौरी गाईहरु चरिरहेका देख्यौँ । कुनै कुनै चौरीहरु पुुच्छर ठडाएर दौडदै गरेको रमाइलो दृश्य पनि समेट्ने मौका पायौँ हामीले ।
लङ्थुङ्बाट १८ कि.मी. तलतिर पर्ने रहेछ जलुक (Zuluk)सडक छेउमा उभिएको साइनबोर्डले बताइरहेको छ हामीलाई । अहिले हामीले हिड्दै गरेको सडक सैनिकहरुका लागि निर्माण गरिएको हो । यसमा साधारण पव्लिकहरुले विरलै प्रयोग गर्न पाउँछन् । स्पेशल पास लिएर मात्र यहीका वासिन्दाहरु प्नि ओहरदोहर गर्छन् । सिक्किमे वासिन्दाहरुले पनि स्पेशल पास लिएर मात्र यात्रा गर्न पाउने प्रावधान रहेको छ । त्यसैले पनि सवारीका साधानहरु त्यति चलेका छैनन् यहाँ ।
लुङ्थुङ्बाट शुरु भयो एकदमै घुम्तीवाला सडक । मानौँ जलुक क्षेत्र यामानको सालको रुख हो र रुखमा विशाल लहरेदार विरुवा वेह्रिएको छ । अझ भन्ने हो भने सर्पले आहारा जालमा पारेर खुट्टादेखि टाउकोसम्म वेह्रेजस्तै । घुम्तीलाई गणना गर्दै जान्छु म । मनमा मात्र गणना गर्न नसकेर नोटकपीमा घुम्ती पिच्छे ठाडो धर्सा तान्दै जान्छु ।
थम्बी भ्यू पाइण्ट (Thambi View Point) मा आइपुग्दा पाँच घुम्ती पार गरिसकेका छौँ । कुहिरो मज्जाले आराम गरेर बसेको छ थम्वीमा । मानौ कुहिरोको नै राज्य हो भनेजस्तै गरी ।
मालिङ्गोको घारीले पनि स्वागत गरिरहेको छ सडकको तल र माथि उभिएर । वस्ती एकदमै कम छ यस क्षेत्रमा । वत्तीस घुम्ती पार गरेर ओर्लिएपछि सत्र वजेर दश मिनेट अर्थात् बेलुकीको पाँच वजेर दश मिनेट पुग्यौँ फेदीमा रहेको जलुक बजार ।
सानो तर चिटिक्कको छ जलुक बजार । ठूला ड्रमका पाताहरुले वेरिएजस्तै छ जलुक बजार । अन्धकारको विरुध्दमा शंखघोष गर्दै विजुलीका चीमहरु तम्तयारीमा जुटेका छन् । सानातिना किरानाका पसलहरु र चिया दोकानहरुले हामीलाई नै ट्वाल्ल परेर हेरिरहेका छन् ।
केही क्षण चिया पसलमा बसेर चिया पिएँ मैले । समयले निकै नेटो काट्न लागेकोले जलुक बजारबाट विदा भएर फदमचीन, क्यू खोला हुँदै अठारा वजेर बीस मिनेट जाँदा आइपुग्यौँ लिङ्ताम बजार । फेदी क्षेत्र भएकोले समतलमा रहेको छ सडक । अलिक भीडभाड छ लिङ्ताम बजार (Lingtam Bazar)। लिङ्ताम बजारमा अलमल गरेनौँ हामीले । पन्द्र मिनेटको मोटर यात्रापछि सिस्ने भएर बुङ्लिन आइपुग्यौँ र मोटर पार्क गर्नुभयो अविन्द्र भदाले । त्यसपछि रीगु खोलामा रहेको झोलुङ्गेपुल तरी उकालिन लाग्यौँ रीगु वस्तीतिर ।
रीगु खोला अध्यारोमा सुसाइरहेको छ । हामी तीन जना भने उकाली रहेका छौँ जङ्गलको बाटो । र, मनमनै सोचिरहेको छु सुरक्षाकर्मीहरुको कुन विश्वासले होला । प्रतिवन्धित क्षेत्रको यात्रा गर्न सफल भएँ । नत्र सपनामा पनि नदेखेको स्थानको यात्रा गर्न यति सहज थिएन । धन्यवाद दिए मनमनै भदाहरु अविन्द्र र भानुलाई । भविष्यमा पनि यस्तै अपूर्वको यात्रा गर्न पाइयोस् भन्दै कामना गरिरहेँ उकाली चढाइको क्रममा ।