मेरी आमाको जीर्ण झुपडीमा
गिध्दहरूको महोत्सव चलिरहेछ
विचारशून्य जाँतो घुमाइरहेका भोका स्याल र व्वाँसाहरू
मैले सपनामा देखेको सुन्दर गुराँसका फूलहरू च्यातिरहेछन्
जुध्दै गतिछाडा साँडेहरू आशाका व्याड ध्वस्त बनाइरहेछन्
गिध्दहरूको महोत्सव मनाइरहेछन् ।
ऋणको गरुङ्गो भारी बिसाउने शीतल चौतारी नभेटी
धर्मराइरहेका भरियाहरू
क्रन्तिकारी गिध्दहरूले सल्काइदिएको डँडेलोमा छन्
भोका स्याल र व्वाँसाहरूको ताण्डवनृत्यले
भत्किएका छन् धर्तीवीरका आस्थाको कुलो
वर्षौँ भो,
चिराचिरा भएको छ आमाको उर्वर छाती
मेरी आमाको छाती पहाडहरू भोकमरीमा छन्
मेरी आमाको काख तराईहरू विभेदको डुबानमा छन्
मेरी आमाको मुहार हिमालमा चमक हराई
काला धर्सा र धब्बाहरू देखिएका छन्
आमाको छातीका सहस्र अमृतधारा खोला र नदीहरू,
नरसंहार गर्ने बाढी बनिरहेछन् ।
सन्तानको पिरले आमा दुब्लाएर मर्न लागेको बेला,
आमाको सपनाको अवसान सम्झी गिध्दहरूको महोत्सवमा
स्वाधीनता लिलाम गर्दै बेहोसीमै भोका स्याल र व्वाँसाहरू
भन्ज्याङपारिको घामको झुल्को देख्न नपाउँदै
मेरी आमाको शिरमा फक्रिरहेको गुराँस च्यातचुत पारिरहेछन्
जीवनको अस्मितालाई दोबाटोमा छर्दै
मेरी आमालाई पाइतालामुनि राखिरहेछन् ।
संविधानका पानाहरू च्यात्दै
कागजको घोडा बनाइरहेछन्
सङ्गीतको जीर्ण तारहरूमा सास्ती थप्दै
आ’नै मृत्यु डाकिरहेछन् ।
त्यसैले,
गिध्दहरूको महोत्सव सकिने बेला,
धर्तीपुत्रले पुनःआशाका व्याडहरूमा कलिला बिउ उखेल्दै रोप्ने बेला भो
जीवनको शीतल चौतारीमा भरियाहरूले गरुङ्गो भारी बिसाउने बेला भो
मसिना नानीहरूले पनि शान्ति र समृध्दिका गीत गाउने बेला भो ।
(चितवन)