‘‘ल मुख्यसा’ब, माथि आएर सुब्बासा’बको फाँट सँभाल्नुस् ।” हाकिमले आदेश दिए । मुखियासाहेब अन्कनाए र डटपेनले कान कोट्याउँदै भने, ‘‘सुब्बासाहेब आइसिन्न र ?”
‘‘मालपोत उठाउन सुब्बा साहेबको टोली भजनी गएको छ, खर्सा‘बको टोली हँसुलियामा छ ।” हाकिमले मुखियाको मुखै नहेरिकन जवाफ दिए ।
संयोग, हाकिम बाहेक त्यस कार्यालयका खरिदारसम्मका सबै कर्मचारीहरुको डोर काजमा गएको थियो । त्यसैदिन ऊनी धनगढी मालपोत कार्यालयमा निमित्त सुब्बा भएका थिए । त्यो पनि लिखित रूपमा होइन सुब्बा नभएको बेलामा सुब्बाले गर्ने कामको कामचलाउ मात्र, हाकिमको मौखिक आदेशमा । त्यसपछि त के चाहियो र ? खरिदारसम्म पनि हुन नपाएका मुखियाले सुब्बा पदको फुर्ति झार्न थाले । अरु कर्मचारी साथीहरुले मजाकमै सुब्बासाहेब भन्न थालेका, त्यसपछि नामै सुब्बा पो रह्यो । पछि साविक सुब्बा आए, उनी उहीँ मुखिया थिए र मुखियामै रहे ।
पद मुखिया भए पनि बोलाउने नाम सुब्बा भयो । सबैले सुब्बासाहेब भन्न थाले । सामान्य जनताले पनि सुब्बै होलान् भन्ने ठान्थे । उनको पदोन्नति खरिदार सम्म पनि कहिल्यै हुन सकेन । मुखिया पदमै अवकाश पाए । मालपोतको जागिर हो, सस्तो जमानाको कुरो, कैलालीकै दरख भन्ने गाउँमा ५–७ बिघा जग्गा जोडेछन् । त्यो गाउँमा वनपाले, मुखिया वा बहिदारहरु पनि सानाखाले जमिनदार बनेका थिए । उनी त झन् नामै सुब्बा, जग्गा नजोड्ने कुरै भएन ।
सुब्बासाहेबले जनताबाट झुक्याएर होइन, हाकाहाकी घुस खान्थे । तिम्रो लाग्ने दस्तुर यति हो, मेरो दस्तुर यति हो भनेर सोझै घुस खान्थे । कसैले हाकिमकहाँ गएर उजुर गरे पनि होइन भन्दैनथे । उनको भाषाले त घुस खाएको होइन दस्तुर खाएको हो भन्थे । उजुर गर्नेले पनि ‘‘दस्तुर भनेर माग्नु भयो, दिएँ” भन्थे । हाकिम मुसुक्क हाँस्दै, ‘‘अब नखानु होला” भने । सुब्बाले हस् भन्दै काममा लागे । त्यस्तो धेरै पटक भयो । फाँटमा पुगेपछि, ‘‘ए राणाका छोरा..यहाँ आ…” भनेर उजुर गर्ने सेवाग्राहीलाई बोलाए । ‘‘हाकिमको छौँडासँग गएर उजुर गरिस् होइन ?” बेस्सरी झपारे पनि । न उनले पैसा फिर्ता गरे, न त फटाफट काम गरिदिए । एकै छिन आफै बर्बराए । उनको चाला त्यस्तै रह्यो । धेरै पैसा खाने भए पो ! एउटा रसिदमा पाँच रुपियाँ मात्र खान्थे । रकमसँग मतलब भएन । रसिदसँग मतलब । उनको भनाइ हुन्थ्यो, ‘‘एक लाख लेख्नुभन्दा तीन सय तिरहत्तर लेख्न दुःख हुन्छ, दस्तुर भनेको त्यही हो ।”
कर्मचारीका श्रीमतीहरु श्रीमानको बढुवा हुँदा स्वतः बढुवामा पर्छन् । तै सुब्बाकी श्रीमतीलाई सुब्बेनी भन्दैनन् । पहिले मुख्खेनी भन्ने बानी परेको, अब त श्रीमान हाकिम भएकै भए पनि उनी मुख्खेनी नै हुन्छिन् । मुख्खेनीसाहेब भन्ने नाम चलेको छ । बैँसमा मुख्खेनी असाध्यै राम्री हुन् रे । राम्री पनि कति भने टपक्क टिपेर खल्तीमा राखाँैजस्ती । पहँेलो वर्णकी, पातली, सर्लक्ककी र हाँसेर बोल्ने । सुब्बाले श्रीमतीको निकै तारिफ गर्थे ।
प्युठानमा छँदाको कुरो हो । हुन पनि सुब्बा आफू ठकुरी, बाहुनकी छोरी राम्री देखेर टप्काए । टप्काउनुभन्दा पहिले, ‘‘मसँग बिहे गछ्र्यौ ?” भनेर जिस्क्याएका मात्र के थिए, युवती त मख्खै । मुसुक्क हाँसिन् । बिहे नभएका बाबुसाहेब, साथीहरुले पनि उल्क्याए । तर, युवतीका बाउले थाहा पाएर बेसरी झपारे । उनी त्यसै रनाहामा सिकिस्त बिरामी भइन् । मुख्यसाहेबका साथीहरुको सहयोगमा गोप्य रूपमै लामा–झाँक्रीको व्यवस्था गरे । नाटकीय लामा–झाँक्री ।
लामा हल्ल्यो, बक्यो । ‘‘हेर, हेर मनुवा….।” तिडिकझाम ग¥यो । लामाले मुख्यसाहेबलाई ती युवती भिराउनु पर्ने परिपञ्च मिलायो । नत्र..? नत्र छोरीको सिलिबिली स्वार हुन्छ रे ! इहलिला खत्तम् । बाउले भुइँ कोर्न थाले । एकोहोरिए । छोरीलाई सञ्चो भयो । छोरीले अरु नाटक साटकको तामझाम मेसो पाइनन् । त्यसै राति मुख्यसाहेबले युवतीलाई टप्काए । टप्काएकै भोलिपल्ट मुख्खेनी भइन् । सामान्य घरकी युवती, मालका मुखिया पाएपछि माइतीबाट खासै गाइँगुइँ भएन । तर, छिमेकी महिलाका पँधेर्नी गफ त भए भए, उपति नभा’का ठेट्नाहरुले पनि फाउ खेले । त्यही पाइलो मुख्यसाहेबको धनगढीमा सरुवा भएको हो ।
धेरै बर्षपछिको कुरो हो, अहिले सुब्बासाहेब छैनन् । रोगले मरे वा मुख्खेनीको टोकसोले मरे, अथवा कालले लग्यो, थाहा भएन । ख्वाङ्–ख्वाङ् गर्थे सधैँ । पछि थलिए । साँच्चै मरे । उनका दुईटा छोरा र एउटी छोरी हुन् । अब भने त्यो घरमा पुरानो रवाफ छैन । गाउँमा पुराना मान्छे कता–कता गए । नयाँ बसाइँ सरेर आएकाहरुले को मुख्खेनी हो को सुब्बेनी हो खासै जान्दैनन् । त्यसैले सामान्य नागरिकको हिसाबले हेर्छन् । मुख्खेनीले भने पुरानै हिङ बाँधेको टालो खोज्छिन् । अहिले त हैकमको हिङ पनि छैन, टालो पनि छैन । त्यसै विषयमा कुरो मिल्दैन समाजमा । छोरा–छोरी सानै त होइनन् तर व्यवहार हात लिने भएका छैनन् । स्कुलमा पढ्दै छन् । त्यस गाउँमा बस्न असहज भएपछि भएको खेत अधियामा दिएर भजनी बजारमा गएर बस्यो त्यो परिवार । भजनीमा सुब्बासाहेबले कुनै बेला एउटा राम्रो घडेरी लिएर त्यसै छोडेका रहेछन् । खोजी भयो, त्यहीँ एउटो ठाँटी घर र कटेरो बनाइन् ।
मुख्खेनीको घरमा तीन जना अरु विद्यार्थी डेरा गरेर बस्न थाले । ठाँटी घरको भुइँतलामा भान्सा सान्सा सबै थियो, अरु कोठा वा बस्न मिल्ने ठाउँ थिएन । माथिल्लो तलो भण्डार तथा सुत्ने ठाउँ पनि हो । सबै लस्करै सुत्थे । कुनै कोठा–सोठा थिएन, सर्लक्कै आँटी । एउटा कुनातिर धानको भकारी, सँगै भुइँमा आलुको पसारो र भित्तातिर कोदालो, बञ्चरो जस्ता पुराना औजार हुन्छन् । बीचको धुरीखाँबो साँध बनाएर एकातिर मुख्खेनीका आमा–छोरी र अर्कातिर उनका छोरा तथा विद्यार्थी सुत्थे ।
विद्यार्थीहरुको परिवार प्युठानको खैरा भन्ने ठाउँबाट बसाइँ सरेर कैलालीको पनि खैरा नामकै गाउँमा बसेका थिए । नाताले मुख्खेनीका माइतीतिरमा आफन्त हुन् । त्यसैले भजनीमा पनि परिवारका सदस्यकै हैसियतले बसेका थिए । खाने खर्च त ल्याउँथे तर एउटै भान्सा थियो । त्यस कुराले मुख्खेनीको आर्थिक समस्यामा थोरै राहत पनि भएको थियो । तरकारी घरकै बारीमा फलेकोले खान पुग्थ्यो । अन्नपातमा धान, दलहन, तेलहन तथा आलु खेतबाटै आउँथ्यो । अधियामा दिएको भए पनि खान पुग्थ्यो । खेत भने अलिकति बेचेकी हुन् । बचेको खेत पनि थोरै भन्न मिल्दैन । एउटा सानोगाँठीको भैँसी पनि पालिन् । एक–एक कान खाएर बचेको दूध बेचेर नुन–तेलको खर्च चल्छ ।
सुब्बासाहेब अलि चाँडै बिते । मुख्खेनीको उमेर खासै धेरै भएको छैन । अहिले पनि राम्री नै देखिन्छिन् । भन्न त सानाथरेले पिठ्युँपछि मुख्खेनी बूढी भन्छन् । काम वासनाको नजरले हेर्नेहरुले मुख्खेनी त हुनसम्मकी छन् पनि भनेको सुनिन्थ्यो अर्थात लाउने खाने र रमाइलो गर्ने उमेर हो अझै पनि मुख्खेनीको । अरु कुरा त कसले के भन्छ वा कुन नजरले हेर्छ बेग्लै कुरो हो । उनको विषयमा समाजले बैँसले इत्तरिएर कुरा काटेको थाहा छैन । गफ भने रमाइला गर्छिन् । रमाइली ।
उनका ठकुरी साइनोका आफन्तहरु अलि ठूलाबडा छन् । अरु केही नगरे पनि उनलाई मेरा फलाना मान्छे भनेर धाक लगाउन भएको छ तर खासै कसैले सहयोग गरेको थाहा छैन । पुरानो चलनले बाहुनले ठकुरीकी छोरी बिहे गरेर जन्मेका सन्तान हमाल र ठकुरीले बाहुनकी छोरी बिहे गरेर जन्मेका सन्तान समाल भन्ने हुन्थ्यो । त्यस अर्थमा सुब्बाका सन्तानको थर समाल हुनुपर्ने हो । अचेल भने ठकुरी बाउ भएमा बाउको थर जे हो सन्तान पनि उही हुने गर्छ । त्यसैले मुख्खेनी र छोरा–छोरीले मल्ल लेख्छन् । सुब्बा मल्ल ठकुरी हुन् ।
यस्तै दिनचर्या चल्दै गर्दा एकदिन एकाबिहानै उठेर मुख्खेनी निकै आत्तिइन् र छिमेकमा हल्ला गरिन्, बिरामी नै भइछन् । उही त हो समाजको चलन, सुरुमा आखत हेराउन गइन् । हेराउनेले नाडी छाम्यो, पानी मन्तरेर खान दियो । लागो लागेको छ भनिदिएछ । अझ वायुले मसान लगाइदिएको कुरा ग¥यो । लागो फुकाइन्, मसान मन्साइन् तरपनि सञ्चो भएन । राती सुतेको बेलामा छानाबाट ढुङ्गा वर्षन थाल्यो भन्छिन् । त्यसैले डराइछन् । अर्को रात अरु छिमेकीले पनि निरीक्षण गरे । मान्छे जाग्दासम्म केही हुन्न, जब बत्ती निभाएर सुत्छन् ससाना ढुङ्गा वर्षन थाल्छन् । फ्याट्ट–फ्याट्ट ढुङ्गा खसेको खस्यै । सबै अचम्म परे । पछि विद्यार्थी केटाहरु पनि डरले एकै ठाउँमा गुडुल्किन थाले । आज त खस्दैन होला भनेर सुत्छन् फेरि उस्तै ।
महिना दिन बित्यो त्यो समस्या टरेन । साँच्चै मसान लागेको कुरा लामा–धामी, गुरुवाहरुले ठोकुवा गरे । मुख्खेनी त्यसै त पातली मान्छे, त्रासले सुकेर हुइया भइन् । कामज्वरो आउन थाल्यो । उनको त सातो पुत्लो गयो । हुँदा–हुँदा मानसिक विचलन होला जस्तो भयो । मै हुँ भन्ने आधुनिक सभ्यताका अथवा भुत प्रेत तथा मसान ससान नमान्ने मान्छे आएर जाग्राम बसे । जाग्दासम्म केही हुन्न र सबैले नचाहिँदो हल्ला भनेर उडाउन थाल्छन् । त्यसपछि कोही घरतिर लाग्छन् र कोही त्यहीँ सुत्छन् । जब यसो आँखाका परेला जोडिन थाल्छन् ढुङ्गा वर्षन थाल्छन् । ढुङ्गा पनि गुलेलीमा राख्ने मट्याङ्ग्रा जत्रा । त्यहाँ सुतेका मान्छेमाथि नै वर्षन्छन् । मै हुँ भन्ने मान्छेको पनि सातो जान थाल्यो । सारा चेकजाँच गर्छन्, घरको चारैतिर हेर्छन्, छानामाथि हेर्छन्, हुँदा हुँदा रातभरि पालो पहरा दिएर हेर्न थाले । जहाँसुकै त्यसको हल्ला भयो, चर्चा भयो । प्रहरी आएर घरको फेरो मार्न थाले तर पनि ढुङ्गा वर्षन रोकिएन ।
त्यस्तैमा कुसुमघाटतिर एकजना नाम चलेको लामा छ भन्ने सुनियो । गएर ल्याए । उसले, एउटा कालो भाले, एक बोतल दारु चाहिन्छ भन्यो र, अरु के–के चाहिन्छ भन्यो थाहा भएन । सबै सर्जाम जुटाए । राती नौ बजेतिर लामा हल्लन थाल्यो । कुखुरो काट्यो, रक्सी चढायो र देवी देवता बोलाउन थाल्यो, ‘‘हे… अक्कासैकी अक्कासे देवी, पत्तालैकी पत्ताले देवी, पूर्वकी हे..पुर्बिया देवी, उत्तर दख्खिनकी फलानी देवी …हुटुटुटु….।” उधुम मच्चायो । के–के तिब्बती भाषाजस्तै गरेर बर्बराउँछ, मन्त्र पढ्छ र हल्लन्छ । धूप धुवाँ हाल्छ र ‘‘हेर हेर मनुवा तैँले तेरो श्रीमानको सतगत राम्ररी गरिनस्, दान पुण्य राम्ररी गरिनस् ….।” धेरै कुरा भन्यो । मुख्खेनीका पति मरेर मसान भएको र उनैले त्यो घरमा ढुङ्गा वर्षाएको कुरा ग¥यो ।
उसले त्यस मसानलाई निर्मुलै पारेर छाड्ने कबुल ग¥यो । हेर्ने मान्छेको भीड थियो । मुख्खेनी उनकै पतिले मसान लगाइ दिएको कुराले झन् डराइन् । मध्य रात भयो र त्यो रात सबै सुते । धेरै दिनको अनिद्रा भएकोले त्यो घरका मान्छे पनि आनन्दले सुत्ने कुराले खुसी भए । लामा पनि त्यो रात त्यहीँ सुत्यो । सुत्ने ठाउँ भनेको त्यही ठाँटी घरको आँटी थियो । जब सबै मसक्क निदाए, ढुङ्गा त वर्षन थाले । अझ त्यो रात त लामाकै टाउको ताकेर वर्षन थाले । ‘‘लौ मसानले मानेनछ” भन्दै ऊ जुरुक्क उठ्यो । त्यो रात पनि फेरि जाग्राम मै बित्यो । लामाले हार खायो । भोलिपल्ट बिहानै ऊ त जान्छु पनि नभनेर गएछ । अब के गर्ने ?
ढुङ्गा छानाबाट खस्ने बाहेक अरु केही नोक्सान भएको थाहा छैन । न भैँसीले दूध दिएन भन्नु, न कुखुरा मरे भन्नु, न कसैलाई लतारेर लग्यो भन्नु । साँच्चै भन्ने हो भने चुप लागेर बस्ने र भोलिपल्ट ती ढुङ्गा बटुलेर फाल्ने गरे मात्र पनि हुने थियो । तर कुरो त अचम्मकै हो नि ! अब त अझै जान्ने लामाको खोजी भयो । भजनीबाट भारतको सिमाना नजिकै छ । पारीतिर वनबीरपुर भन्ने गाउँमा नामुद धामी रहेछ, गुरौ, सोखा पनि भन्छन् । त्यसैलाई लिएर आउने कुरा भयो, लिएरै आए । त्यो धामी देख्दै डरलाग्दो; भूत, प्रेत, लागो, मसान आदि त धामीको तामधाम देखेरै भाग्ला जस्तो । साँझको भात–सात खाएपछि धूप धुवाँर गर्न थाल्यो । उसले पनि ‘‘काली कलकत्तीवाली, हाइ…, हट्…,अपना जगहमे बैठ, हिं हिं हिं हिं…, तो मै फेँक दुँगा, मारदुँगा, जला दुँगा” यस्तै फलाक्यो ।
यस पटक भने मसान भाग्ने भयो भन्ने कुरामा सबै ढुक्क भए र सधैँ जस्तै गरेर सुते । मुख्खेनीका आमा–छोरी पनि आँटीको एउटा कुनामा गुडुल्किए । आँटी फराकिलै थियो । सहयोगी आफन्तहरु पनि थिए । विद्यार्थीहरु सधँैको ठाउँमा सुते । एकैछिनमा सबै निदाए । कोही त थोत्रो मोटरसाइकल स्टार्ट गर्दाको जस्तो आवाजले घुर्न थाले । त्यसपछि लगभग सुनसान वातावरण भयो । त्यो रात ढुङ्गाको वर्षा हुन्न भन्ने कुरामा सबै ढुक्कै थिए ।
धामी, नयाँ ठाउँ र नयाँ समस्याले होला मसक्क निदाएको थिएन तर जागै पनि थिएन । ऊ तन्द्रामा थियो र भर्खरै सपना देख्दै थियो । सपनामा भजनीको समस्या समाधान भएको कारणले उसको गाउँमा उसलाई जयजयकार गरेर स्वागत गर्दै थिए । ऊ भने मख्ख परेर घाँटीको माला मुसार्दै थियो । यस्तैमा भ्वाक्क आवाज गरेर एउटा कुनै टुक्रा धामीको छातिमा खस्यो । त्यसको लगत्तै बरर्र ढुङ्गाका छर्रा बर्षे । धामी आत्तियो र ‘‘जय बजरङ्गबली” भन्दै जुरुक्क उठ्यो । त्यो घरमा फेरि खैलाबैला भयो । यसपटक त एउटा हाडको टुक्रा नै बर्षेछ । बत्ती बालेर हेर्दा दुरुस्तै मान्छेको नलीहाड जस्तै । त्यो रात कोही पनि त्यस ठाउँमा सुतेनन् । सबैको हंशले थात छोडेको थियो । विद्यार्थी लगायत सबै तल झरे र अन्यत्र गएर सुते । धामीले, ‘‘यह काली मसान है । बहुत जब्बर है कल इसे ठीक करुँगा” भन्यो ।
त्यहाँ पढ्न बसेका विद्यार्थीहरु, तीनै जना १० कक्षामा पढ्छन् । महुन्याल उच्च मा.वि. नजिकै छ । स्कुलको नजिकै जङ्गल पर्छ । दोप्पहरको छुट्टीमा ती विद्यार्थीहरु जङ्गलतिर डुल्दै गए । त्यहाँ त्यसरी अरु विद्यार्थीहरु पनि डुल्ने गर्छन् । एकान्त जस्तो ठाउँमा पुगेपछि तीनै जना एकै ठाउँमा बसेर गफ गर्न थाले । त्यस्तैमा अलि फुच्चे जस्तो रहेको विद्यार्थी एक्लै खित्का छोडेर हाँस्यो । अरु दुई जनाले ऊ हाँसेको कारण जान्न खोजे । र उसले भन्यो, ‘‘कसम कसैलाई भन्दैनौ ? पक्का ?” कबुल गरायो र भन्यो ‘‘त्यो घरमा मसान बनाएको मैले हो ।” ‘‘कसरी ? भन्न यार सबै कुरा” अरु साथीहरुमा उत्सुकता बढ्यो ।
एक महिना पहिलेको कुरो हो, मुख्खेनीको भैँसीले सधैँ भन्दा त्यो दिन थोरै दूध दियो । सधैँ बेच्ने गरेको ठेक्कामा दूध दिनै प¥यो, त्यसैले घरमा खान थोरै भयो । मुख्खेनीले आफ्ना दुईटा छोरा र छोरीलाई पहिल्यै बोलाएर भात खान दिइन् । छोरा–छोरीलाई एकेक डाडु दूध पनि दिइन् । विद्यार्थीहरु त्यसपछि भात खान बसे । मुख्खेनीले उनीहरुलाई दूध दिइनन् । अरु दुई जना विद्यार्थी उमेरले त के थिए कुन्नि ? देख्दा ठूला, अग्ला थिए, दूध नदिएको कुरामा ख्यालै गरेनन् । फुच्चे विद्यार्थी, घरको पनि कान्छो र त्यस घरमा पनि कान्छै जस्तो थियो । उसले मुख्खेनीले आफ्ना छोरा–छोरीलाई दूध दिएको देखेको थियो । हुन पनि त्यो घरको धेरै काम ती विद्यार्थीहरुले सघाउँथे । घाँस काटिदिन्थे, गोबर फालिदिन्थे, भाँडा पनि माझिदिन्थे । मुख्खेनी मालिक्नी जस्तै गरेर बस्थिन् काम गर्ने विषयमा, अझ फुच्चे विद्यार्थी त यति हलुङ्गो थियो कि मुख्खेनीको छोरै जस्तो । त्यसैले माया पनि गर्थिन् । साँच्चै भन्ने हो भने मुख्खेनीको घरमा त्यो विद्यार्थी पुल्पुलिएको जस्तो थियो खाने विषयमा । त्यो दिन दूध नदिएकोमा चित्त दुखायो । मुख्खेनीका छोरा–छोरीलाई समेत नदिएको भए उसले पनि वास्ता गर्ने थिएन । त्यसैको रिसले अथवा घुक्र्याउने हिसाबले त्यो रातमा डराउन दिने निधो ग¥यो । सुरुमा त अरु सुतेपछि त्यस्तै ४–५ वटा ढुङ्गा फाल्यो र आफू पनि सुत्यो । जब त्यसले ठुलै काण्ड लिन थाल्यो झन् धेरै फाल्न थाल्यो ।
सुरुका दिनमा उसले मुख्खेनीलाई मात्र तर्साउने योजना बनाएको थियो । उसले किताब राख्ने बाकसमा ससाना ढुङ्गा राख्थ्यो । जब अरु सुत्थे, निकालेर फाल्न सुरु गथ्र्यो । त्यसले अलि ठूलो रूप लिएपछि ढुङ्गा सिरानीको मुख च्यातेर त्यसको भित्र राख्न थाल्यो । कथं कदाचित कसैले चेक ग¥यो भनेपनि थाहा हुन नसक्ने गरेर राख्यो । वनबीरपुरको धामी आउँछ भन्ने थाहा पाएपछि उसले जङ्गलतिर गएर मरेका गाई वा भैंसीका हाड समेत बटुलेर ल्यायो । ती सबै नाटक गर्दासम्म ऊ निकै गम्भीर बन्यो । कहिल्यै हाँसेन, धेरै बोलेन, नत्र अरुले भेउ पाउँछन् भन्ने लागेको थियो । हुन त उसले रातभरी त्यसो गर्दैनथ्यो । एक दुई मुठी फाल्थ्यो र आफू पनि सुत्थ्यो । दिनहुँ हुने मसानको अनुसन्धानले त झनै उत्सुकता बढेछ । उसको यो कुरा सुनेपछि अरु साथी पनि गललल हाँसे । हाँस्न त हाँसे तर त्यसको निकास के हो ? अथवा अन्त्य कसरी गर्ने हो ? त्यहीँ गोप्य सल्लाह गरे ।
त्यसै दिनको राति अघिल्लो दिनको धामीले अरु बढी तामझाम ग¥यो । उसले त्यहाँ उपस्थित कसैलाई मसान बकाउन चाहन्थ्यो । त्यस्तैमा फुच्चे विद्यार्थीको साथी थररर काँपेको अभिनय गरेर मसान बक्न थाल्यो । एक जना दर्शक मध्येका पाका मान्छेले, ‘‘हेर परमेश्वर हामीलाई धेरै दुःख नदेउ, के चाहन्छौ हामीले दिन्छौँ तिमी आफ्नो ठेगानमा गएर बस” भने । विद्यार्थीले पनि मौका पायो र बक्दै भन्यो, ‘‘हेर् बूढी म तेरो लोग्ने हुँ, तेरो घरमा तेरै रक्षाको लागि तीन जना देउता पठाएको छु । उनीहरु विद्यार्थी भएर आएका छन् । तर तैँले उनीहरुलाई पक्षपात गरिस् । तैँले उनलाई नचढाइकन दूध गोरस पनि खान पाउन्नेस् । उनको मुख मारेर केही पनि खान पाउन्नेस् । तैँले उनीहरुको आँखा छलेर कुनै मीठो चोखो आफ्ना छोरा–छोरीलाई दिन पाउन्नेस् । त्यसो गरिस् भने मैले तँलाई पनि बाँकी राख्ने छैन, बुझिस् ?” विद्यार्थीको अभिनय यति सफल भयो कि कसैले पनि शङ्का गर्ने ठाउँ रहेन । हल्लन छोडे पछि विद्यार्थी थाकेर लखतरान भयो । उसलाई धेरै कुरा सोधे तर उसले ‘‘मलाई केही थाहा भएन, एकाएक ज्यान काँप्यो त्यसपछि त के भयो, के भनेँ थाहै पाइन” भन्यो ।
त्यो रात ढुङ्गा वर्षेन । धामीले त यति धेरै मान्छेबाट धन्यवाद पायो, स्याबासी पायो कि उसको नामै चल्यो । मुख्खेनीले कहाँनेर मैले कुरो बिराएँ भन्ने मेसो पाइनन् । विद्यार्थीको आँखा छलेर उनका छोराछोरीलाई लुकाएर एक डाडु दूध दिएकै कारणले यस्तो भएको होला भन्ने पनि लागेन । हो न हो रजस्वला छुवाछुत भयो वा मीठो चोखो पाक्दा देवता चढाइएन भन्ने लाग्यो । त्यसदिनदेखि हरेक मीठो कुरा पाक्दा ती विद्यार्थीले पहिल्यै चाख्न पाउने भए । यहाँसम्म त ठिकै थियो । गाउँलेले समेत ती विद्यार्थीहरुको नाममा चाडपर्वमा खीर, मीठाखाले रोटी आदि पाक्दा अलग्गै राखेर दिन थाले । साँच्चै नै उनीहरु भजनी गाउँका भुरे देउता मानिए । खेलखेलैमा घटनाले त्यत्रो रूप लिँदा बिचरा विद्यार्थी केटाहरु आफै अलमल्लमा परे । न हाँस्न भएको छ, घटना साम्य भएर गयो । मुख्खेनीले भने उनको बिहेको घटनादेखि आजको घटना सबै मेसैसित सम्झेर केलाइन् । उनको जिउ जिरिङ्ग भयो । मनमनै सोचिन्, ‘‘प्युठानी मसान यहाँ पनि आएछ क्यार ?”
(रुपन्देही)