मूलतः कविका रूपमा आफूलाई स्थापित गरिसकेका कवि मोदनाथ मरहट्टाका पछिल्लो कृतिका रूपमा ‘लेख्ने विषयको खोजीमा’(२०७७) निबन्ध सङ्ग्रह बजारमा आएको छ ।
यसअघि उनका ‘पाइलाहरू शिखरतिर उकासिँदै गर्दा’ कवितासङ्ग्रह(२०५५) र ‘उज्यालो जन्मनुअघि’ लघुकाव्य(२०६२) प्रकाशित भइसकेका छन् । लामो समय शिक्षण सेवामा रहेर निवृत जीवन बिताइरहेका कवि मोदनाथ मरहट्टा (जन्मः २०१२ साउन २) गोरखा हर्मीको आफ्नो पूख्र्यौली थातथलोलाई छाडेर चितवन बसाइ सरेपछि चितवनलाई नै उनले आफ्नो कर्म क्षेत्र र सिर्जन थलो बनाएका छन् ।
मोदनाथ मरहट्टा प्रगतिशील विचार, राजनीति र कम्युनिष्ट आन्दोलनबाट प्रभावित भई साँस्कृतिक रूपान्तरणको पक्षमा निरन्तर कलम चलाउँदै विभेदका विरुद्ध लडिरहेका पात्र हुन् । उनी शासकहरूको अन्यायपूर्ण शासन पद्धतिका विरुद्ध निरन्तर कलम उठाउँछन् र लेख्छन् । त्यसैले पनि उनका कलमसँग शासकहरू शत्रुता राख्छन् । उनी सत्ताको गुन गाउँदैनन् र सधैं सत्ताको कोपभाजनमा पर्छन् । त्यसैले पनि सत्ताले उनलाई सास्ती दिन छाड्दैनन् र उनी सत्ताको सास्तीसँग डराएर लेख्न छाड्दैनन् । र, सत्ताले दिएको सास्ती उठाइरहन्छन् । यही कवि मोदनाथ मरहट्टाको लेखनको पहिचान हो ।
‘लेख्ने विषयको खोजी’ उनका निबन्धहरूको सङ्ग्रहको रूपमा प्रकाशित तेस्रो कृति हो । यसलाई भिजन पब्लिकेसनले बजारमा ल्याएको छ । यस सङ्ग्रहमा उनका चौबिस ओटा निबन्धहरू सङ्गालिएका छन् । कवितामा अट्न नसकेका विचारका तरङ्गहरुलाई उनले यी निबन्धहरूमार्फत विस्तार गरेका छन् । आकारका हिसाबले तीन पेजका निकै छोटा निबन्धदेखि सात पेजसम्मका मझौला आकारका निबन्धहरूलाई उनले यस सङ्ग्रहमा समेटेका छन् । ‘दृश्य, अदृश्य–दाह्रे नङ्ग्रे’ सङ्ग्रहभित्र रहेको सबैभन्दा छोटो निबन्ध हो भने ‘बाको आँखामा आँसु’ र ‘चित्रेको उकालो’ लामा निबन्ध हुन् । सङ्ग्रहमा अधिकांश चार पेजमा समेटिएका निबन्धहरू छन् ।
सङ्ग्रहमा ‘अक्षरको आस्था’ पहिलो निबन्धको रूपमा रहेको छ । शाही सेनाको बन्दुकले देश बन्धक बनिरहेको निर्मम समयमा आस्थाको बन्दी बनेर गोरखाको जेलमा बन्दी बनाइएका लेखक मोदनाथ मरहट्टा जब रेडियोको कायाकैरन कार्यक्रमबाट कवि एवं पत्रकार कृष्ण सेन इच्छुक मारिएको खबर सुन्छन्, स्तब्ध बन्छन् । उनलाई कृष्ण सेन मारिएको त्यो खबर अप्रत्यासित र अपत्यारिलो बन्छ । उनको आँखामा कृष्ण सेनसँग उठबस गरेका सम्झनाहरू खेल्छन् र ती सम्झनाहरूले उनलाई अझै संवेदित बनाउँछ ।
स्मार्ट आकारको एक सय अठ्ठाइस पेजमा समेटिएका यी निबन्धहरूले मोदनाथ मरहट्टाको निबन्धकारितालाई राम्रैसँग कसी लाएका छन् । खगेश्वर भण्डारीको आवरण कला सुन्दर छ । कवितामा बिम्ब खेलाउन सिपालु मोदनाथ मरहट्टाका निबन्धहरू पनि कविताका बिम्बजस्तै बनेका छन् । छोटा निबन्धहरू एक बसाइमै पढी सिध्याउने खालका छन् । निबन्धहरू लयात्मक छन् । निबन्धमा विषयका विविधता पाइन्छ जसका कारण निबन्धहरू एकरसताबाट मुक्त छन् । ‘माटोको माया,’ ‘नैनीतालमा नेपाली नाम्लो,’ ‘सीमाको घाउ,’ ‘हामीले स्वीकारेको दासता’ निबन्धमा निबन्धकारले राष्ट्रियताको संवेदनशीलतालाई जोडेर उठाइएका विषयहरू छन् ।
निबन्धकार मोदनाथ मरहट्टा समाजको अग्रगामी चेतनाको संवाहक बनेर हिँडिरहेका कलमजीवी हुन् । समाजमा सिर्जना भएका व्यथितिहरुले बिग्रदैं गइरहेको समाज, समाजमा श्रमचोरहरुको बिगबिगी, साइबर संस्कृतिले युवाहरूमा पारेको प्रभाव, विघटित बन्दै गएको राजनीति, वैदेशिक रोजगारको नाममा विदेशमा पलायन हुँदै गइरहेको श्रम, यी यावत दृश्यहरुले लेखकको सम्वेदनालाई नराम्ररी चिमोट्छ । जनजीवन र जनजीविकासँग जोडिएका यी विषयहरूलाई उनले ‘हात्ती चढ्ने धोको’ ‘बेनाम बस्तीमा धुलो बुङबुङ’ ‘शहर र फोहोर’ ‘भुङ्लीचोकको नियति’ ‘जोगी काठमाडौ र म’ ‘रैथाने र पाहुना’ ‘भोक र भुइँमान्छे’ र छिम्काको रङ’ निबन्धमा राम्ररी प्रस्तुत गरेका छन् ।
आफ्ना नीजि र वैयक्तिक जीवन भोगाइ र अनुभूतिलाई उनले निबन्धमार्फत व्यक्त गरेर समाजमा अन्य मान्छेहरूले समेत भोगेका उस्तै समस्या र विसङ्गतिहरूलाई प्रस्तुत गरिदिएका छन् । ‘मुसाहरूको उपद्रो’ ‘बाको आँखामा आँसु’ ‘साँचिएको चित्र, भाँचिएको बिम्ब’ ‘नाम’ ‘मास्टरी जीवनको सम्झना’ ‘लेख्ने विषयको खोजी’ ‘जेठो हुनुको मर्यादा’ ‘चित्रेको उकालो र बुढ्यौलीको मर्म’ ‘छोरीलाई अन्माउँदा’ र ‘आमाहरूको जीवन खोतल्दा’ निबन्धहरूमा निबन्धकारले समाजमा बोध गरेका विसङ्गति र त्यसले उब्जाएका समस्याहरूको उजागर पाइन्छ । सामाजिक रूपमा देखा परेका यी समस्याहरूले स्वाभाविक रूपमा लेखकको मन छटपटिएको छ । तर शासकहरूको निर्लज्ज चरित्रले उदाङ्गो पारेको राजनीतिले कतै पनि जनताका जनजीविकालाई सम्बोधन नगरेपछि देशको एउटा नागरिक हुनुको आत्म स्वाभिमानको चोट खपेरै उनी लेख्न पुग्छन्, ‘म उनका मतदाताले उनीसित एक फाँक सातु मागेको देख्छु । एकधरो लाज छोप्न खोजेको देख्छु’ (साँचिएको चित्र, भाँचिएको बिम्ब, पृष्ठ ४८)
सङ्ग्रहभित्र रहेका सबै निबन्धहरू सामान्य पाठकहरुका लागि पनि उत्तिकै रुचिकर लाग्न सक्छ । निबन्ध पढ्दै जाँदा पाठकको मनमा उत्सुकता पैदा गर्न लेखक सफल छन् । त्यही उत्सुकताले पाठकले एक बसाइमा निबन्धहरू पढी सक्छन् । यसलाई लेखकको सवलता मान्न सकिन्छ । तर कुनै कुनै निबन्धमा लेखकले हतारिएर वा बहकिएरै निबन्धको सत्वलाई बिर्सिदिएका छन् । त्यसैले निबन्ध निबन्धजस्तो बन्न सकेको देखिँदैन ।केही निबन्धहरू केबल लेखकका सर्सर्ती टिपिएका फुट्स नोटजस्ता लाग्छन् । यसले निबन्धको निबन्धकारितालाई मारिदिन्छ । यसमा लेखक सचेत हुनु जरुरी छ ।
समग्रमा भन्नुपर्दा यस निबन्धसङ्ग्रहले कवितामा मात्र नभई निबन्धमा पनि मोदनाथ मरहट्टालाई सफल निबन्धकारको रूपमा पाठकमाझ चिनारी थपिदिएको छ । निबन्धसङ्ग्रह पठनीय र सङ्ग्रहणीय बनेको छ । यस सुन्दर कृतिका लागि कवि एवं निबन्धकार मोदनाथ मरहट्टालाई हार्दिक बधाई दिन चाहन्छु ।
(आँबुखैरेनी, तनहुँ)