सैयौँ कालजयी गीत–सङ्गीतका सर्जक तथा सङ्गीत यशस्वी स्वर्गीय अम्बर गुरुङलाई विश्वभरिका नेपालीहरूले सम्झिरहने एउटै कारण हो– उनको साङ्गीतिक योगदान र समर्पण ।
अम्बर गुरुङ भनेपछि नेपाली सङ्गीतको सरमाथा हुन् । एक निश्चित भूखण्डमा सङ्गीत साधनामा समर्पित रहेका सङ्गीत महर्षि अब हामी माझ छैनन् तर पनि उनी आफ्ना सृजनाहरूले प्रत्येक नेपालीको मुटु-मुटुमा बसेका छन्। उनी इतिहास बने तर उनका सृजनाहरू हीरा मोतीको रुपमा हामीमाझ टलक्क टल्किएर उज्यालो छर्दै बसेका छन् । उनी सङ्गीतको त्यो वटवृक्ष हुन, जसको छायाको शितलता आज नेपाली सङ्गीत क्षेत्रले अनुभूत गर्न सकेको छ। उनी नदीको त्यो मुहान हुन्, जहाँबाट निस्केका थुप्रै शाखा नदीहरू उनकै परम्परालाई निरन्तरता दिँदै सङ्गीत अनुरागीहरूको प्यास बुझाउन सक्षम र सक्रिय छन् । मलाई लाग्छ अम्बर र उनका सृजनाबारे अब प्रसस्त शोध हुँदै जानु पर्छ। जीवनको उत्तरार्धमा उनी नेपालकै भए तर पनि उनी दार्जीलिङ्गका उपज थिए र यहाँबाट पनि उनीबारे धेरै लेखिनु पर्ने हो, उनको सृजनाबारे मूल्याङ्कन हुनु पर्ने हो, शोध हुनु पर्ने हो।
म जुनचियाकमानमा हुर्ने, बढें त्यही मिलिङ्ग चिया कमान (अर्थात लोअर कलेजभेल्ली) नै अम्बर गुरुङको आमाको माइत रहेछ र ठूलो हुञ्जेलसम्म अम्बर गुरुङ पनि त्यही चियाबारीको कान्ला कान्लामा दगुर्थे रे भनेको त्यहाँका स्थानीय बूढ़ा पाकाहरूबाट सुन्दा मलाई अझ मनमा गर्व लागेर आयो। म हुर्केको मिलिङ्ग चियाकमान कति भाग्यशाली रहेछ, अम्बर गुरुङ पनि यहीँकै धूलो माटोमा हुर्केका रहेछन् भन्ने बिचारले पनि उनीबारे धेरै जान्ने रहरहरू मनमा पलाएर गयो।
आज सुगम सङ्गीत अन्तर्गत पर्ने यति विघ्न नयाँ-नयाँ गीतहरूले नेपाली सङ्गीत जगत डम्म ढाकिसकेको अवस्थामा पनि किन हामीलाई भने अझै पनि थोरै पुराना गीतहरूले मात्र सन्तुष्टि दिन्छन्, किन अम्बर गुरुङकै गीतहरूको बढी चर्चा हुन्छजस्ता प्रश्नहरूको उत्तर खोज्दा हामी एउटै निश्कर्षमा पुग्छौं त्यो हो उनको गीतमा गायन र सङ्गीत पक्षको साथै शब्द रचना पक्ष पनि उतिकै सबल हुनु।
उनकै भनाइको यहाँ कुरा गरौं। एउटा राम्रो गीत समाजलाई दिनु हो भने त्यहाँ एउटा राम्रो गायक वा गायिका चाहियो, एउटा राम्रो सङ्गीतकार चाहियो अनि एक उत्कृष्ट शब्द रचना गर्नसक्ने रचनाकार चाहियो। यी तीनैको सुदक्ष प्रतिभाको मिश्रणले एक असल गीतको जन्म हुन सक्छ। यसो त अम्बर गुरुङ सङ्गीतकार र शब्दकार हुनभन्दा अघि एक गायक मात्र थिए। भोकलबाटै उनी माथी उठेका हुन् भन्ने कुरा उनी स्वयंले स्वीकार गर्दै “हरेक वाद्यवाधक जतिनै ठूला तथा विख्यात भए तापनि सुरुमा उ गायक नै भएको हुन्छ” भन्दै भारतका महान सङ्गीतज्ञ उस्ताद अलाउद्धीन खाँको भनाइलाई उद्घृत गरेका छन्। सुरुमा यसरी केही वर्ष गायनमा बिताएपछि अम्बर सङ्गीत साधना र कम्पोजिङतर्फ ढल्कँदै गएका हुन्। सङ्गीतकारको रुपमा उनको योगदानको प्रसङ्गभन्दा पनि पहिले म यहाँ एक शब्दकारको रुपमा अम्बर गुरुङको सानो चर्चा राख्न चाहान्छु। किन शब्दकारको रुपमा पनि अम्बर गुरुङ्ग उत्कृष्ट छन् भन्ने प्रश्नलाई हेरौं।
गीत र कविता रचनामा धेरै भिन्नताहरू छन् नै, गीत गाउनलाई रचिएको हुन्छ, कविता मात्र वाचन वा प्रकाशनको लागि लेखिएको हुन्छ। यो हुँदा हुँदै पनि यी दुवै विधामा साहित्यिक शिल्प भने हुनै पर्छ। एक गीतकार भनेपछि गीत र कविता बीचको पार्थक्यबारे सचेत हुनैपर्छ, साथै एक कविमा हुनपर्ने गुण र अध्ययन पनि गीतकारमा हुनपर्छ। अम्बर गुरुङलाई हामी त्यस्तो गायक र सङ्गीतकारको रुपमा देख्छौं, जसले सुरुदेखि नै उसैबेला चर्चित बनिसकेका धुरन्धर साहित्यकार, चिन्तक, कवि र समालोचकहरूका सङ्गतमा रहेर सङ्गीत साधनालाई अघि बढ़ाउने अवसर पाए।
पहिले त अगमसिंह गिरीकै सङ्गतको फलस्वरुप उनले गिरीकै गीत“नौलाखे तारा” गाए। त्यो गीतले उनलाई यति चर्चित् बनायो कि त्यसपछि देखि अझ उनी झ्वाम्मै साहित्यकारहरूकै सङ्गी बन्न पुगे। हुन त उनले एक ठाउँ लेखेका छन् “गायन र वादनको यही रहर र लहरले मलाई सङ्गीतकार बनायो र अझ भन्नु हो भने त्यसको धेरै पछाड़ि मात्र मेरो गीत लेखन आरम्भ भयो। हुन त त्यसबेला पनि म गीत लेख्दो रहेछु अथवा खाली ठाउँ भर्दो रहेछु अथवा सङ्गीतको धुनलाई अक्षरको आवरण पहिराउँदो रहेछु”।
यसमा उनले गीत लेखनको रहरमा कतै अनुप्रास मिलाउँदै कतै भरिएको धुनमा शब्दहरू राख्दै आफूले गीत कथेको प्रसङ्ग निकाल्दै आखिरमा गीत रचना गर्नु भनेको अनुप्रास मिलाउनु र तयार पारिएको धुनलाई बोल्ने शब्द दिनु मात्र होइन रहेछ भन्ने कुरा प्रष्ट पारेका छन्। यही शिक्षा लिएर अघि बढ़ेका अम्बर गुरुङ असल साहित्यकार, कवि र चिन्तकहरूका सानिध्यमा अघि बढ़दै गएपछि आफू पनि साहित्यको अध्ययनमा लागे। आफूलाई समय निकालेर अध्ययन गरिरहने बानी परेको कुरा उनी स्वयंले धेरै अन्तर्वाताहरूमा बताएका छन्।
उनी स्वयंले लेखेका छन्— “मेरो फर्मेन्टेसनको त्यो कालमा एक्कासि म साहित्यकारहरूको हूलमा मिसिन पुगेँ। हुन पनि मेरा घनिष्ठ मित्रहरू सङ्गीतकारभन्दा साहित्यकारहरू नै बढी थिए। उनीहरूसँगको सङ्गति र उठबसले गर्दा साहित्यप्रति मेरो ठूलो अनुराग र गहिरो अभिरुचि बढ़ेर गयो। त्यहींबाट मेरो पठनपाठनको क्रम बढ़ेर गयो र आजभोलीको ढाक्रे जीवनमा म खूब पढ़छु”।
अम्बरको यसै कथनबाट हामी प्रष्ट बुझ्न सक्छौं कि साहित्यकारहरुसँगको सङ्गत र साहित्यको अध्ययन र मननले गर्दा नै अम्बर खारिएका हुन् साथै उनका गीतहरू यति उत्कृष्ट बन्न सकेका हुन्। यति मात्र नभएर नेपाली साहित्यका सर्वमान्य लेखक, कथाकार, समालोचक तथा चिन्तक इन्द्र बहादुर राईले आफूलाई सस्तो गीतको पछि नलाग्ने परामर्श दिएको पनि उनी स्वयंले अन्तरवार्ताहरूमा बताएका छन्। यसैबाट बुझिन्छ, ‘इबरा’ सित पनिउनको निकट सम्बन्ध थियो साथै उसै बेला साहित्यमा ‘तेस्रो आयाम’ को उद्धोषणाले अति चर्चित बनिसकेका श्री राईले उनको गीतहरू खुबै चाख दिएर सुन्थे। जे जति साहित्यकार, कवि, बिचारक र चिन्तकहरूसित उनको उठबस थियो, सबैको प्रभावले र साहित्यको स्वअध्ययनले अम्बरलाई एक उत्कृष्ट गीतकार बनायो भन्नमा कुनै भूल नहोला।
अम्बर गुरुङका बहूआयामिक प्रतिभाले गर्दा नै उनका गीतहरू सबैलाई कर्णप्रिय लाग्ने बनेका हुन्। उनको प्रतिभा सम्बन्धमा उनकै समकालीन तथा नेपाली साहित्यमा आयामेली साहित्यका एक प्रणेता वैरागी काइँला भन्छन्- “’अम्बर, एकै व्यक्तिमा संगीत क्षेत्रका धेरै पक्षको ज्ञान रहेको विरल उदाहरण हुन्”।
अर्कोतिर उनलाई यति महान सङ्गीतकारको टाकुरामा पुऱ्यायो उनकै लगनशीलता र एकाग्रताले। दार्जीलिङ्गमा छँदा नै आफ्नो सृजनाको सुरुआती कालमा मानिसहरू सिनेमा हेरेर घर फर्किरहेका हुन्थे, कोही मेलापातबाट ग्वारग्वार फर्किरहेका हुन्थे तर अम्बर गुरुङ बजाइरहेका हुन्थे, सङ्गीतमा लीन भएर । सङ्गीत प्रतिको उनको यस्तो तपस्या र समर्पण अनि एकार्गता देखेर आयामेली साहित्यका अर्का प्रणेता इन्द्रबहादुर राई भन्थे रे, “अम्बरको जस्तो एकाग्रता हुनुपर्छ ।”
जीवनमा कैयौं विघ्न वादा परे, कैयौं छाल उछाल आए, कैयौं पटक नकारात्मक परिस्थिति आयो, कैयौं पटक निरासाले व्यग्र पनि तुल्यायो होला तर पनि अम्बर हिमाल जस्तै डटिरहे। सङ्गीतको मार्गबाट कुनै पनि परिस्थितिले उनलाई अलग गर्न सकेन। बरू परिस्थितिको प्रत्येक घात प्रतिघातलाई उनले सङ्गीतमा समाहित गरि नयाँ नयाँ प्रयोग र सृजनाले नेपाली गीत सङ्गीतलाई स्तरीय पार्नमा आफ्नो दृढ़ मनोयोग लगाइरहे।
उनको सङ्गीत र गीत रचनालाई अधोपान्त हेर्नु हो भने हामी भर्खर गाउन लागेको, भर्खर सङ्गीत भर्न लागेको र भर्खर गीत लेख्न लागेको अम्बरदेखि लिएर परिपक्वतासम्मको अम्बरलाई विभिन्न कालखण्डमा राखेर मन्थन गर्न पर्छ। यो एक शोधकै विषय हो र यसबारे शोध हुन अझ बाँकी छ।
गीत लेखनकै प्रसङ्ग निकालौं। प्रारम्भिक कालको गीत रचना “हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो”(स्वर रुद्रमणि गुरुङ्ग र अरुणा लामा)लाई हेरौं। यो गीत एक सामान्य ग्रामीण भेकका एक युवक र एक युवतीको पारस्परिक आशक्ति र प्रणय आग्रहको अभिव्यक्ति हो। पुरुष र स्त्रीबीचको रुप, बैंश, आशक्ति, माया पिरथी जस्ता विषयहरू कुनै पनि गीतकार, कवि, शायर र गजलकारलाई नछोई नसक्ने विषयहरू हुन्। यस्तै भावनालाई खुबै उत्कृष्ट ढंगले अम्बर गुरुङले अभिव्यक्त गरेका छन् गीतमा। गीतमा शब्द चयन, अनुप्रास र प्रयोग गरिएका बिम्ब आदिलाई हेर्दा त्यस बेलासम्म अम्बर एक असल गीतकार बनिसकेका थिए। ‘म अम्बर हूं तिमी धरती’(स्वर अम्बर स्वयं) र ‘सम्हालेर राख सँगालेर राख फेरि फुल्ने हो कि होइन जीवनको फुल’ (स्वर शान्ती ठटाल)बोल भएको गीतको रचनालाई हेर्दा उनी गीतकारको रुपमा अझ निखारिँदै गएका थिए भन्ने कुरा छर्लक्क हुन्छ।
गीतकारको रुपमा अम्बर गुरुङले सबै प्रकारका भावनालाई छोएका छन्। माया पिरथी, जीवनको घाम छाँया, जातित्व र जातिय अस्मितालाई, जातिय निर्धोपना, बेमेल आर्थिक परिस्थिति र वर्गीय भिन्नता र आशा-निराशा सबै सबैलाई छोएका छन्। कतै सामाजिक रुढीवादलाई छोएका छन् भने कतै जीवनको मूल्यलाई छोएका छन् भने कतै विषम परिस्थितिमा मनभरि पलाएका निराशालाई पोखेका छन्। यसरी विषयान्तरमा उभ्याएर हेर्न सकिने उनका गीतहरू हुन्- ‘सम्हालेर राख संगालेर राख’, ‘आँधी बतासैमा तिम्रो शुभकामना काम लागेन मलाई काम लागेन’, ‘म अम्बर हूँ तिमी धरती’,‘म दूर भएर के भो’, ‘रातभरि दियो जलाइरहें’, ‘कमलो मुटुभन्दा ढुङ्गाको मुटु जाती’, ‘म फुल्न जानिनँ झुल्न जानिन’, ‘सबैले भन्थे लयालु फूल भइ आँखामा फुल्छु’, ‘बैशाख लाग्यो पहाड़मा कुक्कुले भन्छ सुनन’,‘उपनि त कोही पराय त होईन’,‘मेरो आँखालाई राख्ने फूलबारी छैन’ इत्यादि।
साठीको दशकमा ‘नौलाखे तारा उदायो’ गीत कलकत्ताको ग्रामाफोन कम्पनीबाट रेकर्ड भएर निस्किएको थियो र यो गीतले भारत र नेपाल दुवैतिर हलचल मच्यायो। यो एउटै गीतले अम्बर र गिरी दुवै प्रख्यात भए, तर यही गीत भारतमा पछिबाटविवादित ठानियो र यसलाई बजाउनमाथि प्रतिबन्ध लगाइयो। पहाड़मा पश्चिम बङ्गाल सरकारको संस्कृति विभाग ‘सङ्ग एण्ड ड्रामा युनिट’-को जागिरे जीवनले जकडेको बन्धन एक कलाकारको स्वाभिमानले पटक्कै स्वीकार्न सकेनँ। त्यसपछि नेपाल प्रवेश नहुञ्जेलसम्म परिवार साथमा लिएर भौंतारिएको जिन्दगीमा बटुलिएका तिता मीठा, घात प्रतिघात, खोक्रो शुभकामना सबै सबै मुटुमा ठोक्किएपछिती सबै एक असल गीतकारको भावोद्गार भएर गीतहरुमा पोखिए। एक कलाकारको जिन्दगीलाई घात प्रतिघात र अनेकौं थपेडाहरूले नै वाणी दिएको हुन्छ। भौंतारिएको र अव्यवस्थित बनेको जिन्दगीलाई आँधी- तुफानसित तुलना गर्दै आफ्नो यतिञ्जेलको सङ्गीत तपस्यामा परिस्थितिले विघ्नवाधा सृजना गरेको तर पनि आफ्नो यो तपस्यालाई निरन्तर राख्नुपर्ने भावोद्गार गीतहरुमा यसरी पोखिए। ‘रातभरि दियो जलाइरहें. निराशाको हुरी चली नै रह्यो, तर मेरो दियो जली नै हऱ्यो’।
विषम परिस्थितिमा अम्बरलाई कतिपय साथीभाइबाट सहयोग प्राप्त भए तापनि कतिबाट काम नलाग्ने शुभकामना मात्र पनि प्राप्त भयो होला। यसैले पनि हुनपर्छ, गीतमा उनी यसरी पोखिए-‘आँधी बतासैमा तिम्रो शुभकामना , काम लागेन मलाई काम लागेन’। सङ्गीत कर्ममा लाग्दा लाग्दै दार्जीलिङ्गदेखि उठेर नेपाल प्रवेसिएपछि, यहाँदेखि दूर हुन परेपछि एक गीतकारको हृदय उद्वेलित नहोला भन्ने त कुरै आउँदैन। उनले दार्जीलिङ्ग त छोड़े तर पक्कै सजिलै त छोड़ेनन्। उनी कतिसम्म विचलित थिए, त्यस विचलनलाई अनुभूत गर्न हामी उनलाई गीतहरूमा छाम्न सक्छौँ ।
म दूर भएर के भो,
अभिशाप छाएर के भो,
यति रोएँ जिन्दगीमा,
फेरि रोएर के भो।
दार्जीलिङ्गमा नै छँदा नेपाली गीत सङ्गीतको क्षेत्रमा धेरैधेरै काम गर्ने उत्कण्ठा हुँदाहुँदै पनि त्यहाँ त्यसबेलाको अनुर्बरक परिस्थितिले उनलाई कता कता च्वास्स घोंचेको भावना उसैबेला एउटा गीतमा पोखेर उनले त्यो गीत अगमसिहँ गिरीलाई देखाएका थिए। गीत थियो
म फूल्न जानिनँ म झुल्न जानिनँ,
हाँसो आयो कता कता हाँस्न पाइनँ।
अम्बर गुरुङ भनेपछि नेपाली सङ्गीत जगतको घना वटवृक्ष हुन्। दार्जीलिङ्गमा नेपाली सङ्गीतको स्थिति शैशव कालमा छँदै नै उनले आफ्नो पौरखले नेपाली जनमानसलाई नेपाली गीत सङ्गीतको आस्वादन मात्र गराएनन् तर आर्ट एकाडेमी जस्तो संस्था स्थापना गरि कैयौँ नवोदित कलाकालहरूलाई समेत संङ्गीत सम्बन्धी ज्ञान दिएर स्वयंले पनि एक संस्थाकै रुपमा कार्य गरे उनले। उनैले सिकाएका ती नवोदीत कलाकारहरू आज अब्बल दर्जाका गायक गायिका, सङ्गीतकार र कलाकारहरू बनेका छन् अनि उनीहरूले पनि नपाली गीत क्षेत्रलाई समृद्ध पार्नमा यथोचित योगदान पुऱ्याइरहेका छन्। आज नेपाली सङ्गीतको राजमार्गलाई अझ फराकिलो बनाउनमा लागिपरेका गायक गायिका र सङ्गीतकारहरू, जस्तै शान्ति ठटाल, कर्म योञ्जन, कुमार सुब्बा, दुर्गा बदरी खरेल, दिलमाया खाती, बसन्त क्षेत्री, मणिकमल क्षेत्री, दावा गाल्मो, शंकर गुरुङ्ग, पेमा लामा आदि स्रष्टाहरू उनैका चेला र पथ अनुशरणकर्ताहरू हुन्। शरण प्रधान, र गोपाल योञ्जन, अरुणा लामा र जितेन्द्र बरदेवा जस्ता सङ्गीत नक्षत्रहरू उनकै शिष्यहरू थिए। नेपाल प्रवेशपछि पनि उनलाई धेरैलाई सङ्गीत सिकाए। उनका धेरै चेलाहरु आज नेपाली सङ्गीतको क्षेत्रलाई शुशोभित पार्नमा लागि परेका छन्। यस दृष्टिकोणले हेर्दा हामी के कुरा ठोकेर भन्न सक्छौँ भने अम्बर गुरुङ्ग स्वयं सङ्गीतको एक विश्वविद्यालय थिए।
सन् १९५७ मा दार्जीलिङ्गमा हाल गो.दु.नि.स. भवनकै छेवैमा पर्ने भानुभक्त बुनियादी पाठशालामा कार्यरत शिक्षक अनि त्यसबेला एक सशक्त कविको रुपमा स्थापित बनिसकेका अगमसिंह गिरीले एक भेटमा आफ्नो खल्तीबाट एउटा कागजको टुक्रा निकालेर त्यसमा लेखिएको एक गीत अम्बर गुरुङ्गलाई लय भर्न दिएछन्। त्यही गीत थियो ‘नौलाख तारा उदाए धरती आकाश हाँसेछ’। कुरा फेरि यसै गीतको आयो।यो गीत १९६१ मा पुगेर ग्रामोफोन रेकर्डमा निस्कियो। प्रत्येक दृष्टिकोणले हेर्दा एक माइलखुट्टी नै रहेको यो गीत कसरी रेकर्ड भयो, यसको पनि एक छुट्टै सत्यता लुकेर बसेको छ। दार्जिलिङ्गबाट रेकर्ड भएको यो पहिलो मौलीक नेपाली गीत थियो।
जुन बेला ‘नौलाख तारा’ गीतले जन्म लियो, त्यसबेला गीत सङ्गीतको लागि आजको जस्तो सुविधा पटक्कै थिएन। गीत रेकर्ड एउटा माइकको भरमा गर्नु पर्थ्यो भनि अम्बर स्वयंले भनेका छन्। गीतमा सम्बद्ध कलाकारहरूका संख्या जति नै भए पनि एउटै माइक पाइने र एउटा माइकको भरमा सङ्गीत संयोजनामा झेल्नपर्ने अप्ठारोले गर्दा मेन्डोलिन बजाउने कलाकार कुनै मेचमा चढ़ेर बजाउनु पर्ने कठिनाइसम्म रहेको उनले बताएका छन्। नेपाली मौलिक समाल तालमा लय भरिएको यो नौलाख तारा गीत मूलमा चार पद रहेको तर तीन मिनटमा गाइसक्नु पर्ने हुनाले दुई पद मात्र रेकर्ड गर्न पाइएको पनि उनी बताउँछन्। ‘नौ लाखे तारा’ जस्तो चौतर्फी हलचल मच्याउने गीतको श्रेय अम्बर गुरुङ्ग र अगमसिहँ गिरीलाई मात्र जाँदैन। उनीहरु त रचनाधर्मी र सृजनाकर्मीहरु मात्र हुन्। यस गीतको पछि सच्चिन्द्रमणि गुरुङको ठूलो हात छ।
त्यसबेलासम्म अम्बर गरुङ्ग र उनका चेलाहरू दार्जीलिङ्गमा मञ्चमा गरिने कार्यक्रम आदिमा मात्र गाउँथे। सङ्गीतलाई सिस्टमले सिक्नु र बजाउनु पर्छ भन्ने पनि कसैलाई चेत थिएन। बस् त्यसबेला आयोजित हुने विभिन्न कार्यक्रम आदिमा गायो, केही तालीको गड़गड़ाहट पायो भैहाल्यो। यतिमा नै कलाकारहरू सिमित थिए। गीत रेकर्ड नै गर्ने ध्याउन्न, अनुभव र आँट भने कसैमा थिएन।एक अन्तरवार्तामा अम्बर स्वंयले भनेका छन्- “दार्जीलिङ, कालेबुङ, खरसाङतिर हुने सङ्गीत प्रतियोगीतामा मैले तीनचोटिसम्म प्रथम पुरस्कार जितेको थिएँ। त्यसपछि मलाई प्रतियोगीतामा गाउन दिएनन्, म अतिथि कलाकारका रूपमा मात्रै सहभागी हुन्थेँ। सङ्गीतप्रतिको मेरो रुचि अत्यन्तै व्यक्तिगत थियो। मन परे गायो, नपरे गाएन। एकपटक मैले कालेबुङमा ‘नौ लाख तारा’गाएँ। गाइसकेपछि स्टेजपछाड़ि एकजना दाइ आएर सोध्नुभयो- ‘यो गीत कसले रचेको ?’ उत्तर थियो – ‘मैले।’फेरि प्रश्न आयो ‘शब्द कसले रचेको ?’ मैले उत्तर दिएँ -‘अगमसिंह गिरी दाजुले।’तिनले भने, ‘यो गीत एकदम राम्रो रहेछ, भाइ। यो दार्जीलिङ रकालेबुङवासीले मात्रै सुनेर हुँदैन, सारा नेपालीभाषीलाई सुनाउनुपर्छ। म यो गीत रेकर्ड गरिदिन्छु, हुन्छ?” स्टेजमा गाउँदै गरेको गीत सुन्नसाथ यो गीत म रेकर्ड गराइदिन्छु भन्ने महान व्यक्ति उनै सच्चिन्द्रमणि गुरुङ्ग थिए, जसले अनेकौं प्रयत्न लगाएर नौलाख तारा रेकर्ड गराइदिए। तर नेपाली गीत रेकर्ड गराउन पनि त्यस बेला सहज थिएन। रेकर्डिङ कम्पनीले नेपाली गीत रेकर्ड गर्न टेरपुच्छर नलाएको रहेछ, नेपाली गीतको बजार हुँदैन भन्दै अनेकौं बहाना बनाएको रहेछ। उनै परोपकारी सच्चिन्द्रमणि गुरुङ्गको निरन्तरको प्रयत्नपछि बल्ल रेकर्डिङ्ग कम्पनीले सो गीत रेकर्ड गर्न सहमति जनाएछ तर केही शर्तको आधारमा। ती शर्तहरू थिएछन्, पाँच सयवटा रेकर्ड आफैले बिक्री गर्ने जिम्मा लिनुपर्ने, पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने र वाद्यवादकको खर्च आफैँले ब्योहर्नुपर्ने। यति गरेमा हिन्दूस्तान कम्पनीले ‘नौ लाख तारा उदाए’ -लाई स्टुडियो उपलब्ध गराउने भएछ।यही शर्तमा गीत रेकर्ड भएछ।
गीत रेकर्ड भएर निस्केपछि विश्वासनै नगरेको पाँचसय रिकर्ड रु. 4.50 गरेर एक हप्तामै बिक्री भएको देख्दा कम्पनी स्वयं तीन छक्क परेको र अरू रिकर्ड निकाल्नमा चासो देखाएको कुरा अम्बर स्वयंले अन्तरवार्तामा बताएका छन्। यो घटनालाई हेर्दा नौलाख तारा उदाए भन्ने गीत रेकर्ड हुनु, चर्चित हुनु, अम्बर र गिरीको नाम शिखरमा पुग्नु र अरु नेपाली गीतहरूका रेकर्डकोलागि मार्ग प्रसस्त हुनु र नेपाली कलाकारहरूका लागि एउटा निर्दिष्ट बाटो निर्माण हुनुमा सच्चिन्द्रमणि गुरूङको अति नै ठूलो योगदान छ। भनिन्छ त्यसबेला समस्त नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने भावपक्ष बोकेको यो गीत रेकर्ड भएर निस्कँदा अम्बर र गिरीभन्दा धेरै सच्चिन्द्रमणि गुरूङ खुशी भएका थिए। यो कुरा अहिलेसम्म लगभग अँध्यारोमा छ। यति ठूलो गुणलाई नेपाली जगतले भुल्यो भने एउटा ठूलो बैगुनीपनको धब्बा हाम्रो छात्तिमा पर्नेछ। हामीले सच्चिन्द्रमणि गुरूङको व्यक्तित्व र योगदानबारे पनि मूल्याङ्कन गर्नु पर्ने हो।
‘नौ लाख तारा’ गीत नेपाली समाजमाझ प्रसार भएपछि यो गीत अति लोकप्रिय हुँदा अम्बर गुरुङ स्वयं कहिलेकाहीं आश्चर्य प्रकट गर्थे भनि उनकै शिष्य पिटर कार्थकले एक ठाउँ लेखेका छन्। त्यसपछि जहाँ गए पनि अम्बर गुरुङ्गको सामु मानिसहरूबाट यही गीतको फर्माइस हुन्थ्यो। नेपाली गीत सङ्गीतको इतिहासमा नै अहिलेसम्म अम्बरको ‘नौ लाख तारा’ र उनकै रचना र सङ्गीतमा शान्ति ठटालको स्वर रहेको ‘सम्हालेर राख संगीलेर राख’ गीत त्यस्ता गीतहरू हुन्, जसको मिठास आजसम्मै पिढीले स्वाद मानेर अनुभूत गर्छन्। शान्ति ठटालले पनि जहाँ गए पनि अहिलेसम्म ‘सम्हालेर राख’ गाउनै पर्छ, मानिसहरूका फर्माइसमा। ‘नौ लाखे तारा’ गीतनिस्केपछि अम्बर गुरुङलाई हेर्नमात्र पनि कार्यक्रमतिर गाउँ गाउँबाट बूढ़ा पाकाहरूसम्म आउँथे भनिन्छ। नेपाली मौलिक ‘समाल’ तालमा आधारित ‘ए माइनर’ बाट थालिएको त्यस गीतले जनमानसमा पारेको प्रभाव, यसको माधूर्यता र लोकप्रियताबारे लेख्नै परे यही नै एक छुट्टै अध्याय हो।
अम्बर गुरुङ उत्कृष्ट गायकको साथसाथै प्रयोगधर्मी गीतकार र सङ्गीतकार थिए। उनको एउटा गीत-
जहिले तिमा आउ बिरानी सोध्छ
बिरानीमा फुल्ने फूल तिमीलाई खोज्न।
यो गीत पाश्चात्य शैलीमा कम्पोज गरिएको र यसमा भिन्न भिन्न कर्डको प्रयोग गरिएको अझ भनौँ कर्ड-प्रोगेसनको सुन्दर नमुना रहेको बताइएको छ। साठीको मध्यभागमा नै आयोजित सङ्गीत प्रतियोगीतामा यो गीत प्रस्तुत गर्दा रञ्जित गजमेरले गीतमा तबला बजाएको अनि गीत समाप्त हुनेबित्तिकै प्रतियोगीताका लागि संलग्न निर्णायकगण, अतिथि र कवि अगमसिहँ गिरी स्वयं पनि जुरुक्क उठेर यो गीत फेरि गाउने अनुरोध गरेको संस्मरण शान्ति ठटालले एक ठाउँ व्यक्त गरेकी छीन्। अम्बर गुरुङ्गका सबै गीतहरूउनी स्वयंले गाएको तर एउटा गीतमा आफुले धून भर्न पाएको प्रसङ्ग निकाल्दै उनको सो गीतको उल्लेख गर्दै सन् १९६५ मा सो गीत प्रस्तुत गर्ने अवसर आफूले पाएको शान्ति ठटाल बताउँछन्। गीत थियो—
म अचानक नै अढ़ेँ
फूल पनि तर्सिदियो
पछि हेरें भूल थियो
भूल पनि झर्किदियो
(स्वर शान्ति ठटाल)
अम्बर गुरुङकै समकालीन साथै नेपाली चलचित्रमा सङ्गीत दिने पहिलो महिला सङ्गीतकार शान्ति ठटाललाई अम्बर गुरुङकै रचना र सङ्गीतले चुलीमा पुऱ्याएको हो।‘सम्हालेर राख सँगालेर राख’बोलको गीत अम्बर गुरुङले टिङलिङ कमानमा पुग्दा रचेका रहेछन्। अम्बर गुरुङको शब्द र सङ्गीत र शान्ति ठटालको स्वर माधूर्यले गर्दा यो गीत आज पर्यन्त उतिकै मिठो लाग्छ। यति मात्र होईन, यति सुन्दर गीतसित तुलना हुनसक्ने गीत आजसम्म जन्मेको पनि छैन।
नेपाल प्रवेश गरेपछि अम्बरले ‘क्वायर’ गर्ने सपना जपना राखेका थिए अनि पछि त्यो पूरा पनि गरे।यस बाहेक मिनी सिम्फोनी, क्यान्टटा पनि गरे।यी सबैमा उनको खुबी एक सङ्गीतकारको रूपमा भन्दा बढ़िएक सङ्गीत परिकल्पनाकारका रूपमा धेरै मुखरित रहेको देखिन्छ ।
चलचित्रका निम्ति अम्बरले थोरै गीतमा सङ्गीत दिए, ‘मेरो देश’, ‘सपना कतिपय’, ‘जीवन रेखा’ र‘मनको बाँध’ । यी सबै फिल्म फरक–फरक विधा र फरक धारका थिए। तर, ‘जीवन रेखा’-को पार्श्व संगीत र‘मनको बाँध’-को पृष्ठ संगीतलाईउनको महत्वपूर्ण सृजना मान्नुपर्छ, जो निकै चर्चित रह्यो।
अर्को कुरा, व्यक्तिपरक अर्थात आत्मकथात्मक निबन्ध र कविता जस्तै गीत पनि आत्मकथात्मक हुन सक्छ भन्ने नयाँ प्रयोग अम्बरले नै ती सुरुआती कालमा नै गरेर देखाएका हुन्। आफैलाई केन्द्रीय भावबिन्दु बनाएर गीतमा आफ्नो भावनालाई अभिव्यक्त गर्न सकिन्छ भन्ने एक सफल प्रयोग अम्बरबाटै धेरै पहिले नै भइसकेको हो। ‘म अम्बर हूँ तिमी धरती’बोलको गीतबाट। अम्बर, धरती र क्षितिजलाई बिम्बको रुपमा प्रयोग गरिएको यो एक उत्कृष्ट आत्मकथात्मक गीत हो। यस्तो प्रयोग आजसम्म अरु कसैले गर्न सकेका छैनन्। यो गीतमा शरण प्रधानले मेन्डोलिनमा जुन प्रकारले साथ दिएका छन्, त्यो अंशलाई मात्र सुन्दा पनि शरण प्रधान तीस वर्षभन्दा बढि बाँच्न पाएका भए, नेपाली गीत सङ्गीत क्षेत्रले कस्ता राम्रा राम्रा सृजनाहरू पाईसकेको हुनेथियो होला जस्तो लाग्छ, जो अम्बरकै शिष्य थिए।
“सङ्गीतमा सर्ट्कट बाटो छैन”। यो अम्बर गुरुङ्गकै भनाई हो। हो, गाउनु र बजाउनु नै सङ्गीत होइन । सङ्गीत त महासागर हो, जहाँ गोताखोर नै भएर गहिराइसम्म पुग्नेले मात्र केही हात पार्न सक्छ। नेपाली गीत-सङ्गीतको यात्रामा आजसम्मको मोडमा हामी यो क्षेत्रमा थुप्रै थुप्रै गायक-गायिकाहरू जन्मिसकेको देख्छौँ । विविध प्रकारका गीतहरू लिएर नयाँ-नयाँ गायक गायिकाहरू आ-आफ्नो प्रतिभालाई निखार्नतिर लागिपरेको देख्छौँ। फलानो गीतको श्रोताहरू यू-ट्यूबमा यति संख्या नाघ्यो र उति संख्या नाघ्यो भनेको पनि सुन्छौँ। तर पनि किन हो कता कता हामीलाई अपूर्णता नै अनुभूत भइरन्छ। यति थुप्रै कलाकारहरू पाइसकेको अवस्थामा पनि किन हामीलाई अम्बर गुरुङकै अनुपस्थिति भइरहन्छ।
विक्रम संवत १९९४ को फाल्गुन १४ गते दार्जीलिङ्गको लालढिकीमा जन्म ग्रहण गरेका अम्बरको ७८ वर्षको उमेरमा विक्रम संवत २०७३ को ज्येष्ठ २५ तारिख काठमाडौंमा निधन भयो। भूगोलको एक खण्डमा गीत र सङ्गीतले नै एक समय प्रतिबन्धितसम्म बन्नुपरेको उही कलाकार अर्को खण्डमा राष्ट्रिय गीतकै सर्जक बन्ने गौरव प्राप्त हुनु भनेको मामुली कुरो होइन । विश्वस्तरमा नै हेऱ्यौँ भने यस्तो अहोभाग्य विरलै सङ्गीतकारलाई प्राप्त हुन्छ।
(दिल्ली, भारत)