सबैमा ज्ञाानको ज्योति फैलाउने पवित्र स्थल हो विद्यालय । ज्ञानार्जन गर्ने विद्यालय सबैको साझा सम्पत्ति मात्र हैन संसारको आँखा पनि हो । यही सम्झेर महेश विद्यालय प्रवेश गरेका थिए ।
उनले आफ्नो कर्तव्य वा सेवा सम्झेर होला आफ्ना काम विनाशर्त पूरा गर्ने गर्थे । एक दिनको कुरा हो महेश सदा झैँ विद्यिालय प्रवेश गरेका थिए । विद्यालयको प्रार्थना चलेको थियो । विद्यार्थीको लामबद्ध उभ्याइले विद्यालयको प्राङ्गण सुन्दर बनेको थियो । त्यस विद्यालयमा शिक्षकको जम्मा सङ्ख्या पच्चिस थियो । जसमा प्रार्थनाको समयमा लगभग सात जनाको उपस्थिति थियो । यस कुराले महेशको मन अमिलो भयो । उनले सोचे एकातिर सरकारको कमजोर नीति, अर्कातिर बोर्डिङको हस्तक्षेप, त्यसमा पनि सार्वजनिक विद्यालय, काम गर्ने शिक्षकको अवस्था पनि उस्तै ! यस्तो स्थिति देख्दा उनमा अझ चिन्ता बढ्यो । उनले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा अभिभावकको चासो कम रहेकाले यस्तो हालत पुगेको अनुमान पनि गरे ।
भोलिपल्ट महेश ठिक दस बजे विद्यालय पुगे । त्यस दिन पनि अवस्था उस्तै थियो । कसैलाई केही मतलव थिएन, खालि आफ्नै डम्फू बजाउनमा ठिक्क थियो । कोही आफ्नो घरको काम सकेर विद्यालय आउँथे भने कोही आलोपालो गरेर । महेशलाई हुनसम्म झोँक चल्यो । सरकारको नुन खाएर यसरी ठग्न पाइन्छ ? अब यो खवर वि.व्य.स., अभिभावक, प्र.अ र जि.शि.का मा जानकारी दिनु प¥यो भन्दै प्र.अ कक्षमा प्रवेश गरे । प्र.अ आफू हाला भएर मेहेनत गर्न छाडेकोे गुनासो गरे । महेशले भने, ‘अब म पनि साथ दिन्छु, हामी मिलेर वि.व्य.स मा जाऔँ’ भन्दै आँट र साहस व्यक्त गरे । भोलि पल्ट उनीहरू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कहाँ पुगे । अध्यक्षले भने ‘हामीले नचाहेर होइन राजनीति विकृतिका कारण यस्तो भएको हो । हामीले शिक्षकलाई ठाउँमा ल्याउन सकेनौँ यो कमजोरी हाम्रो हो तर भएर के गर्ने उपाए देखिएन ।’ उनीहरू हतास मन लिएर विद्यालयतर्फ फर्के ।
विद्यालयतर्फ फर्केका महेशले भने ‘त्यसो हो भने हामी अब जि.शि.का मा पुगौँ’ भन्दै प्र.अ.लाई लिएर जिल्ला शिक्षा कार्यालय पुगे । त्यहाँ पुग्दा उल्टै जि.शि.अ ले विभिन्न लाल्छना लगाएर प्र.अ लाई हकार्नसम्म हँकारे । महेशले कडा स्वरमा भने ‘जि.शि.अ सर, तपाईँ जस्तो बुझ्ने जिल्लाको शिक्षाको प्रमुख मान्छेले नबुझी यस्तो कुरा गर्न सुहाउँछ ? एक पटक हाम्रो विद्यालय बिहान दस बजे पुग्नुहोस् त्यहीँबाट यसको प्रमाण भेट्नुहुन्छ । त्यसपछि हामी तपाइँका भनाइ खान तयार छौँ, हैन भने अरुलाई मिथ्यामा वचन नलगाउनुहोस् ।’ रिसको आवेगमा उनी मुठी कँसेर उभिरहे । चर्को आवाजले कार्यालयका अन्य कक्षका कर्मचारीसमेत गिरिम्म भए ।
जिल्ला शिक्षाका प्रमुखको यस्तो हालत देखेर महेशलाई अचम्म लाग्यो । यस जिल्लामा त जि.शि.अ. कस्ता आउने ? सायद छोराछोरी विद्यालय राख्ने बेला भएर आएका होलान् । विदेशीले हालीमुहालीमा चलाएका धेरैमध्ये एक उच्च स्कुल यही जिल्लामा छ । यसमा राख्न कोटा छुट्याएर पाते बिलो लगाइन्छ । त्यतिले नपुगेर नेता, मन्त्री, हाकिम पुलिस अफिसर लगायतको ताँती चल्छ । सधैँ गुलामीमा रहने यस्तो स्थितिमा जाबो शिक्षा कार्यालय । यस्तै अनेकौँ तर्कना मनमा खेल्दै थिए । कानै खाने गरी आवाज आयो । अब मैले के गर्ने ? जि.शि.अ. कड्के । जेसुकै गर्नुहोस् हाम्रो कुरा यही हो । भन्दै बाहिर निस्के ।
महेशले गरेका तार्किक प्रश्नले जि.शि.अ अलि झस्केका थिए । अर्को दिन बिहान ठिक दस पन्ध्रमा उनी त्यस विद्यिालयमा पुगे । नभन्दै विद्यालयमा शिक्षकको उपस्थिति मनलागि रहेछ । जि.शि.अ अचम्ममा परे । विना स्वीकृत शिक्षक अनुपस्थित रहेछन् । शिक्षकको हाजिरीमा रातो चिन्ह लाग्यो । यो हल्ला जिल्लाभर फैलियो । केही शिक्षकले राजनीति पहुँच खोज्दै जि.शि.अ को सरुवाका लागि मन्त्रालय धाए । प्र.अ हटाउन भनेर गाउँलाई हारगुहार गरे । वडा अध्यक्षलाई फोन भयो । केही लागेन केही समय । जि.शि.अ अर्को पटक विद्यालय पुगेर यदि विद्यिालय आई धम्की दिने नपढाउने हाजिर गरेर जाने, विना स्वीकृति विदामा बसे म नियमअनुसार दुर्गम सरुवा गर्न वा अन्य कारवाही गर्न तयार भएको कुरा सबै शिक्षक र व्यवस्थापन समितिलाई राखेर कुरा गरे । यो कुरा जिल्लामा मात्र नभएर देशभर फैलियो । शिक्षित वर्ग समाज सेवी अभिभावक तथा मन्त्रीले समेत यस कुराको समर्थन गरे । यस कुराले गर्दा अव शिक्षकले मन नलागि नलागि भए पनि पढाउन थाले । प्र.अ पनि तन मन वचन कर्ममा लागे । अभिभावक तथा वि.व्य.स पनि अगाडि सरे ।
दुई वर्षपछिको कुरा हो । त्यस विद्यालयबाट सय प्रतिशत रिजल्ट आयो रे, अभिभावकले चाहेको अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ रे, त्यहाँ अव भर्ना गर्न प्रतिस्पर्धा गर्नुपर्छ रे । गरे के नहुँदो रहेछ भन्दै आजकल महेशलगायत सम्पूर्ण व्यक्तिहरू एकआपसमा कुरा गर्छन् । अभिभावकहरू खुसीसाथ आफ्ना बालबच्चा विद्यालय पु¥याउँछन् । महेश र प्र.अ अझ बलियो र प्रतिस्पर्धी विद्यालय बनाउन लागिपरेका छन् तर चारैतिरबाट कोब्राको आक्रमण जारी छ । मन्त्री फेरिएका छन्, जि.शि.अ फेरिएका छन् तर पनि यो नमरोस् भन्दै सबै अगाडि बढ्ने प्रयासमा छन् । खै यसमा के हुने हो विचार कसको हुने, महेश अलमलमा परेर सोच्दै ………..योजना निर्माणमा व्यस्त छन् …….।
एक दिन महेशलाई जिल्लाबाट सरुवाको पत्र आयो । अर्का होनहार डोल्ठे शिक्षक त्यस विद्यालयमा आए । एक वर्ष नबित्दै वि.व्य.स. फेरियो । वि.नि. श्रोतव्यक्ति जि.शि.अ. सबैलाई मिलाएर अध्यक्ष चुनियो । अब प्र.अ. को ताबेदार तिनै डोल्ठे शिक्षक हुने रे ? विद्यालय अब तीब्र गतमिा चल्दै छ, तिनै पूर्व प्र.अ.ले जोरजाम गरेको सम्पत्ति र विद्यार्थी सङ्ख्यामा । महेश र ती प्र.अ.लाई कसले जोगाउने ? नत नेता, नत शिक्षकका पेसागत समूह, नत वि.व्य.स. नत स्थानीय समाजसेवी । बलियो जग बसाल्ने ती पुनः त्यसरी कर्ममा जुटेको सुनिन्थ्यो जिल्लामा । ती सफल कर्मयोगीको इतिहास सायद कुनै अभिभावक दिवसमा उल्लेख भएन, कुनै स्वर्ण महोत्सवमा ।