२६ सेप्टेम्बर, लन्डन ।
साहित्यकार भारती गौतमले ‘विगत र बाडुली’ संस्मरणसङ्ग्रह बजारमा ल्याएकी छन् ।
अमेरिका निवासी गौतमले आफ्नो जन्मस्थान पहाडी जिल्ला धनकुटादेखि संसारको अत्यन्त विकशित देशसम्मको आफ्ना विगतलाई संस्मरण मार्फत उतारेकी छन् । अमेरिका, स्विडेन, नेपाल र भारतका रोचक तथा मर्मस्पशी विभिन्न शिर्षकका छब्बिस वटा संस्मरण ‘विगत र बाडुली’मा रहेका छन् ।
आफूसँग सम्बन्धित ससाना संस्मरणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाको साक्षी बनेकी गौतमले त्यसलाई इमान्दारितासाथ शब्दमार्फत् उतारेकी छन् । यस कृतिमा उल्लेखित कतिपय घटनाहरू लेख्न छुटाइएका इतिहास जस्ता पनि छन् । लेखिकाको स्मृतिमा रहेका ती घटनाहरु संस्मरण बनेर आएका छन् । प्राञ्जल भाषा शैली र घटनाको रोचक प्रस्तुतीले गर्दा कृति पठनीय बनेको छ ।
तीन दशक भन्दा बढि समयदेखि अमेरिकामा बसोबास गरिरहेकी गौतम डायोस्पोराकी सक्रिय र स्थापित साहित्यकार हुन् । थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गौतमका यसअघि ‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भिमू’ (संस्मरणसङ्ग्रह) र ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) प्रकाशित छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतले ‘विगत र बाडुली’लाई प्रकाशन गरेको हो ।