कहिले काहिँ आफैसँग
झगडा गर्नुको मज्जा बेग्लै हुँदोरहेछ
एकदिन झगडा गरे मैले पनि
कमाउन न सकेको धन सम्पत्तिको लोभ गरेर
बनाउन सकेको मित्रहरूको साथ खोजेर
छोरा छोरीको असन्तुष्टि माथि व्यंग्य गरेर
बाझेँ , मज्जाले बाझेँ ।
जवानीलाई ऐना हेरेर गालि गरेँ
भाग्यलाई हस्तरेखा चिरेर गालि गरेँ
गिज्याएँ – बोली, बचन र धैर्यलाई
धिक्कारेँ – कर्म, धर्म र आफू बाचेको समाजलाई ।
म भित्रको ऊ केही बोलेन
हाँसिरह्यो
म हेरिरहे , ऊ झन् हास्यो र भन्यो-
जीवनमा तिमीले शत्रु ठान्यौ मलाई
तर
मृत्युको संसारमा तिमीले नै भन्ने छौ-
तिमीभन्दा असल मित्र कोही भेटिन मैले ।
(बोस्टन , अमेरिका )