नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ। बेलायतको हाईवेकममा प्रतिष्ठानकी नवनिर्वाचित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’र युवा स्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’प्रदान गर्ने निर्णय गरेको छ। सम्मानमा २० हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ।
१९९८ मंसिर १९ गते भोटेछाप, तेह्रथुममा जन्मिएका सम्मानित प्रतिभा आचार्यले २०१८ बाट कविता लेख्न थालेका हुन्। उनका ‘असमान यी धर्तीका तस्बिरहरू’ र ‘एक चोक्टा इतिहास’ गरी दुई कविता र एक मुक्तकसङ्ग्रह प्रकाशित छन्। उनले ‘छायाँ’, ‘प्रेरणा’, ‘जनजागृति’, ‘कोसीका कोसेली’जस्ता साहित्यिक सङ्कलन एवं पत्रिकाको सम्पादनसमेत गरेका छन्। आचार्यलाई नेपाली कविताका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो।
यसैगरी २०३६ असोज १२ गते काभ्रेको तिमालमा जन्मिएका वलका ‘काजोल खातुन’ कथासङ्ग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासङ्ग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन्। उनले दुई वृत्तचित्रका अतिरिक्त ‘नीरफूल’ नामक चलचित्रको लेखन तथा निर्देशनसमेत गरेका छन्। कविता, कथा, नाटक तथा चलचित्र आदिका माध्यमबाट नेपाली समाजको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएबापत स्रष्टा वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको हो।
सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ सिक्किम र भागीरथी श्रेष्ठ सम्मानित भइसकेका छन्।
‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी र टीका चाम्लिङ पुरस्कृत भइसकेका छन्।
बैठकले संस्था स्थापनाको एक दशक पुगेको विशेष अवसरमा भाषा, साहित्य तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र स्व. पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत) लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताए।
सम्मान तथा पुरस्कार जनवरीको अन्तिम साता राजधानीमा एक समारोहको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए।