काठमाडौं २० कार्तिक ।
बिहीबारदेखि पाटनको यलामाया केन्द्रमा सुरु भएको फिल्म साउथ एसियाको एघारौं संस्करण आइतबार सकिएको छ । चार दिनसम्म चलेको फिल्म साउथ एसियाको उक्त संस्करणमा तीन सयबाट छानिएर आएका ६३ डकुमेन्ट्री प्रदर्शन गरिएका थीए ।
महोत्सवमा प्रदर्शन गरिएका ६३ वृत्तचित्रमध्ये उत्कृष्टलाई प्रदान गरिने रामबहादुर ट्रफी अवार्ड यसपल्ट युद्धमा आधारित दुई वृत्तचित्रलाई संयुक्त रुपमा प्रदान गरिएको छ । श्रीलंकाली निर्देशक जुडे रत्नम ‘डेमोन्स इन प्याराडाइज’ र भारतीय निर्देशक तुषार माधव र सर्वनिक कौरको ‘सोज– अ बालाड म्यालाडिज’ ले फिल्म साउथ एसिया २०१७ को उत्कृष्ट वृत्तचित्रको बाजी मारेका छन् ।
‘डेमोन्स इन प्याराडाइज’ लामो समयसम्म गृहयुद्धले श्रीलंकामा पारेको असर शान्तिप्रक्रियाको कथालाई प्रस्तुत गरेको छ । ‘सोज– अ बालाड म्यालाडिज’ले भने भारत प्रशासित कश्मीरका जारी हिंसालाई कथावस्तु बनाएको छ । कलालाई प्रतिरोधको माध्यम बनाएका कलाकार र संगीतकारको विषय वृत्तचित्रका समेटिएको छ ।
फेस्टिबलका मुख्य अतिथि चर्चित भारतीय पत्रकार शशी कुमारले दुवै वृत्तचित्रलाई दुई हजार डलर राशीको नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै महोत्सवमा रनर अपको उपाधि भने वभारतको ‘सेफर्डेस अफ ग्लेसियर्स’ ले हात पार्यो । स्टान्जिन दोर्जाई ग्या र क्रिस्टिन मोर्डलेटले निर्देशन गरेको यस वृत्तचित्रले एक हजार अमेरिकी डलर नगद प्राप्त गर्यो ।
त्यस्तै चन्द्रशेखर रेड्डीको निर्देशनमा बनेको ‘फायर फ्लाइज इन द एबिस’ ले बालबालिकाको विषयमा केन्द्रीत वृत्तचित्रमध्ये उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गर्यो । एक हजार अमेरिकी डलरको युनिसेफ नेपाल पुरस्कार प्राप्त गरेको यो वृत्तचित्रमा उत्तर पूर्वी भारतीय राज्य मेघालयमा रहेको कोइलाखानीमा काम गर्ने नेपाली मजदुरहरुको दर्दनाक कथा समेटिएको छ । मेघालयमा रहेको कोइलाखानीमा कोइला काट्दै वर्षौँ बिताएका नेपालीको पीडालाई वृत्तचित्रमा रेड्डीले सुन्दर ढंगबाट प्रस्तुत गरेका छन् । त्यस्तै, फेस्टिबलमा अफगानिस्तान, पाकिस्तान र भारतका कथा तथा कामको सिलसिलामा कतार पुगेर श्रम गरिरहेका मानिसको मर्मस्पर्शी कथा पनि देखाइएको थियो ।
‘डकुमेन्ट्री बियर्स विटनेस’ भन्ने मुख्य उद्देश्यका साथ सुरु भएको फेस्टिबलले दक्षिण एशियाका विविधता झल्काउने बृत्तचित्र प्रदर्शनी गर्नेगर्छ । आइतबार सम्पन्न फेस्टिबलको जुरीमा फरजाद नाबी, राज श्री दासगुप्ता र कुन्द दीक्षित रहेका थिए ।