राजधानीमा शुक्रबार पहिलो सर्ट फिल्म प्रतिष्पर्धा सम्पन्न भएको छ । नयाँ चलचित्रकर्मीलाई स्थान दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको थियो । हाइलाइट्स नेपाल र अस्कर इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगितामा ‘बुट्टे जामा’ उत्कृष्ठ घोषित भयो । कला संग्रौलाद्वारा निर्देशन गरिएको ‘बुट्टे जामा’ले प्रतियोगीतामा सम्मानपत्रसँगै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । नवीन सुब्बा, सुवर्ण थापा र मनोजबाबु पन्त सम्मिलित जुरीले यो निर्णय गरेको थियो।
दोस्रो हुने ‘कल्ली’ले ६० हजार नगद प्राप्त गर्यो । नेवारी समुदायको पृष्ठभूमिमा आधारित चलचित्रले बाँझोपनको आरोप खेप्दै आएकी महिलाले त्यसबाट मुक्त हुन लिएको क्रान्तिकारी कदमलाई मुख्य बिषय बनाएको छ । यो छोटो चलचित्रको निर्देशन राकेश महर्जनले गरेका हुन् ।
सुनिल पाण्डे निर्देशित ‘अनन्त यात्रा’ सर्ट लिस्टेड १० चलचित्रमध्येबाट उत्कृष्ट तीन भित्र पर्न सफल रह्यो । फिल्मले ४० हजार नगद प्राप्त गर्ये । नारी मनोविज्ञानलाई सशक्त ढंगमा प्रस्तुत गरेको ‘काफल पाक्यो’ जुरीको नजरमा उत्कृष्ट ठहरियो । फिल्मले ‘स्पेशल मेन्सन अवार्ड’ प्राप्त गर्यो ।विजेताहरुलाई अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेल र हाइलाइट्सकी कार्यकारी अधिकृत सिवानी गुरुङले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हाइलाइट्सकी कार्यकारी अधिकृत सिवानी गुरुङले बताइन् ।