युवा साहित्यकार यम रेग्मीको कविता सङ्ग्रह ‘खुला संसार’को समीक्षा गरिएको छ ।
राप्ती साहित्य परिषद्को दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १ सय २३ औं श्रृंखलामा उक्त कृतिको शुक्रबार समीक्षा गरिएको हो ।
परिषद् दाङ शाखा सचिव दीपक शर्मा ‘समीर’को अध्यक्षता तथा प्राज्ञ उत्तमकृष्ण मजगैंयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तिलक अधिकारी र खगराज न्यौपानेले कृतिको समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ उत्तमकृष्ण मजगैंयाले युवा पुस्तामा हराउँदै गएको छन्द कविताको परम्परालाई कवि रेग्मीले जोगाउने काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले खुला संसार कृतिमार्फत् कविले युगचेतनाको सन्देश दिनुका साथै सामाजिक विकृति, विसंगतिको चिरफार गरेको बताउनुभयो ।
सो अवसरमा समीक्षक तिलक अधिकारीले रेग्मीको कृति खुला संसारमा प्रकृति प्रेम, राष्ट्रभक्ति र आशावादी स्वर गुञ्जिएको बताउनुभयो । कवितामा जातीय, वर्गीय विभेदप्रतिको विद्रोह सशक्त रहेको भन्दै समीक्षक अधिकारीले रेग्मीका कविताले राष्ट्रिय एकताको आह्वान गरेको बताउनुभयो ।
अर्का समीक्षक खगराज न्यौपानेले रेग्मीका कवितामा समाजमा रहेका सबैखाले विकृति विसंगतिको चित्रण गरिएको बताउनुभयो । कृतिमा रहेका कविताहरु सरल भाषामा लेखिएका बताउँदै उहाँले कवितामा नारीवादी चेतनासमेत प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पुरस्कार संस्थापक हरिप्रसाद पाण्डेय, साहित्यकार नारायण नेपाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने खुला संसार कृतिका लेखक यम रेग्मीले आभार व्यक्त गर्नुभएको थियो ।
परिषद्का सदस्य नवीन अभिलाषीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शारदा शर्माले गर्नुभएको थियो भने सीतादेवी सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।