कविताको बारेमा फ्याट्टै भन्न सकिने यौटा कुरा के हो भने अधिकांश कविता राम्रा हुँदैनन्। पत्रपत्रिकामा छापिने स्वदेशी, विदेशी वा ‘अनुवाद कविता’हरू त्यसका प्रमाण हुन् । धेरैजसो कविको आफ्नो भाषा नै छैन।
ती कोही माधव घिमिरेजस्ता, कोही भूपिजस्ता, कोही काइँलाजस्ता लाग्छन्। लामो समयको अभ्यासले मात्र कविले निजी अभिव्यक्ति-कौशलको विकास गर्छ। भाषाबिना पनि कविहरू बोलिरहेछन् । यो यौटा विडम्बना छँदैछ।
…
हाम्रा अधिकांश कवि राजनीतिबाट सीधै प्रेरित छन्। राजनीति कविताजस्तो लेखियो भने त्यो राम्रो होला। जस्तो आहुतिको ‘गहुँगोरो अफ्रिका’ वा श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान’ छ। तर कविता राजनीतिजस्तो बनाउनु ठीक हुँदैन।
मलाई कविता पढ्न थालेपछि कम्तीमा दुई कुराको आश लाग्छ। पहिला, कवि आफ्नो भाषामा बोलोस्। र दोस्रो, कुनै पनि विषय वा वस्तुलाई कविले फरक ढंगले हेरोस्। कविताको भाषा अर्थशास्त्रको, विज्ञान वा गणितको जस्तो हुँदैन।
रिमालले जस्तो ‘त्यो तिमी नै हौला भन्ने मेरो यौवनभरिको सपना थियो’ भनेर कुनै अर्थशास्त्रीले बोल्दैन। वा महाकविको ‘ईश्वरको हाँसो पाएको फूल छोएर नमार’ भन्ने वाक्य कुनै विज्ञानीले बोल्दैन।
विज्ञान, इतिहास वा अर्थशास्त्रमा बोल्ने कुरा ठीक ढंगले बोलेपछि ठीक हुन्छ। कवितामा त्यसो गर्नु एकदम बेठीक हुन्छ। कविले ठीक र सुन्दर एकसाथ बोल्ने हुनाले नै त्यहाँ ‘एस्थेटिक्स’ आउँछ। हृदयमा कविको वाक्य सीधै प्रवेश गर्छ।
…
‘यलम्बर’जस्तो कविता लेख्ने स्वप्नील स्मृति, ‘राजधानी मास्तिरको राजधानी’जस्तो कविता लेख्ने राबतजस्ता कविहरू पनि बेलाबेला कविता यसरी बिगार्छन् कि म शिथिल हुन्छु। मलाई के लाग्छ भने यस्ता कविले एउटा सशक्त कविता रच्नासाथ समाजमा, राजनीतिमा केही घटना घटोस् ताकि उनीहरू अल्मलिऊन् र तुरुन्तै अर्को कविता नलेखून्।
कविहरूले राजेश हमाल बन्न खोज्दा वा अखबारमा आफ्नो फोटो ज्यादा देखियोस् भन्ने चाहना राख्दा ‘फोकस’ गुम्छ र कविता धुलिसात हुन्छ । राम्रो कवि बिग्रिएको अभिभारा सारा कविता विधाले बोक्नुपर्छ।
खराब कविता पनि जायज छ। किनभने कविले कविताको भाषासित खेलिरहनुपर्छ। तर अभ्यास खेललाई नै प्रदर्शन खेल बनाउँदा कविलाई के नाफा छ ? कत्रो दुःखले आर्जेको व्यक्तित्व मैनको मूर्तिझैं पग्लिन थाल्छ। होश गर्ने राम्रा कविहरूले नै हो।
…
अपरिस्कृत अधिकांश कवि भने कठिन भाषा प्रयोग गर्छन्। ‘क्वान्टम थ्योरी’ नबुझी ‘क्वान्टम’ लेखिदिने, ‘ब्ल्याक होल’ नै नबुझी ‘ब्ल्याक होल’ लेखिदिने, चालको नियम नै नबुझी ‘थर्ड ल अफ मोसन’ लेखिदिने गर्छन्। उनीहरू लाटा शब्दहरूको पिरामिड उभ्याउँछन् र एकदमै दिक्क लगाउँछन्।
अखबारमा कुनै कुनै कविता त यस्ता लाग्छन् कि बरु त्यसको ठाउँमा विज्ञापन नै छापिएको भए हुन्थ्यो भन्ने भावना आउँछ । कवि आफैं भ्रमित भएपछि रचनामा त्यही भ्रम आउँछ।
धेरै कविहरू चाहेको भन्न नजानेर गोलमटोल भाषामा लेख्छन्। राम्रो कविले कठिन भाषा प्रयोग गर्ला। तर, त्यसमा ‘भिजिबिलिटी’ आउँछ । चित्र आउँछ। नबुझिए पनि देख्न सकिन्छ। अनुभूति विस्तार हुन थालिहाल्छ।
प्रयोगशील कविहरूप्रति मेरो ठूलो चासो छ। प्रयोग नृत्यकलामा नयाँ हाउभाउको अभ्यास गरेजस्तै हो। सधैं एकोहोरो नाचिरहने ‘बोक्सी नाच’को अब काम छैन।
बैरागी काइँला वा मोहन कोइरालाले जस्तो लेखन ‘टेक्निक’ नै अर्को अभ्यास गर्ने हैसियतको कवि, साहसको कवि अहिले हामीसित छैन, अनि त नयाँ कविताको ज्यानमा पनि उही बूढो जामा छँदैछ।
एकाध प्रयोग बीचमा आए। तर तिनलाई ‘पुरानै कमिजको नक्कल’ भन्न मिल्छ। ‘कवितामा अभिव्यक्ति बदलिन्छ, रूप उही रहन्छ’ भनेको जस्तै भइसक्यो।
उपन्यासको रूपमा कति फरक आएको छ ! नारायण वाग्लेको प्रस्तुतिमा, नयनराज पाण्डेको दृष्टिकोणमा, कुमार नगरकोटीको भाषामा, कथाको डिजाइनमा, अमर न्यौपानेको उपन्यासको भाषामा, बुद्धिसागरको औपन्यासिक कलामा कत्रो परिवर्तन छ।
कविताको रूपमा, कौशलमा भने प्रयोग देवकोटाको ‘आइसल्यान्डको सर्प’ साबित भएको छ।
…
हाम्रा केही कविचाहिँ बिनसित्तिमा रिसाइरहेजस्तो लाग्छ। जन्मजात विद्रोही। कविताभरि रिसाएपछि लेख्नुको आनन्दचाहिँ कहाँ गयो होला भन्ने लाग्छ । रिस मात्रैले कविता हुँदैन तर हाम्रामा धेरै कविको ‘क्वालिफिकेसन’ नै रिस हो।
शत्रुलाई मुखमा हेरेर कोही रिसाइरहेको छ भने झगडा पनि आकर्षक हुन्छ। तर शत्रु छैन र एक्लै कोही रिसाइरहेको छ भने ? त्यसरी बोल्ने कविहरूलाई के भन्ने ?
कविताको बहसमा ‘ट्राई नट टु से’ अथवा ‘वी नियर द गोल’जस्ता वाक्यांश आउँछन्। सधैं खेलाडीले गोलमात्रै हानिरह्यो भने खेल कसले हेर्छ ? त्यसैले हरेक वाक्यमा कविले ‘यथार्थ लेखन’ भन्दै भटाभट केही भन्न थालेको राम्रो हुन्न कि ! कवि यथार्थको नजिक-नजिकबाट दौडेको भने मलाई सुन्दर लाग्छ।
बल गोलपोस्टनजिक गएपछि खेलको तीव्रता कसरी बढ्छ, दर्शकमाझ उत्तेजना कसरी फैलन्छ, मलाई लाग्छ, काव्यको खेलमा पनि यो अवस्थामा पाठकले धेरै कल्पना गर्छ र उत्तेजित रहन्छ। ज्यादा बोल्ने कवि वा लेखक धेरै बाठो बन्छ र पाठक वा श्रोताको बुझ्ने, कल्पना गर्ने, पर्खने क्षमतामा विश्वास गर्दैन।
‘यलम्बर‘जस्तो कविता लेख्ने स्वप्नील स्मृति, ‘राजधानी मास्तिरको राजधानी‘जस्तो कविता लेख्ने राबतजस्ता कविहरू पनि बेलाबेला कविता यसरी बिगार्छन् कि म शिथिल हुन्छु।
कविता कुनै मञ्जु श्री थापाको उपन्यास होइन कि कुनै ‘सेक्स-मानिएक’ पात्र समात्यो र पहिलो वाक्यदेखि नै भटाभट सेक्स वा डिप्रेसनको कुरा गर्न थालिहाल्यो। त्यो त कलालाई भकाभक कुट्न थालेजस्तै हो ।
…
केही नभएको, मेरुदण्ड नभएको कवितालाई अक्सफोर्डका एक प्राध्यापक ‘थिन स्टफ’ भन्छन्। हाम्रा प्रोफेसर अभि सुवेदी त्यसैलाई ‘लुरे कविता’ भन्छन्।
एउटा सिन्काको आक्रमणले पनि त्यस्तो कविको कम्मर भाँचिन्छ। सघन र ‘ग्रान्ड स्टफ’ दिने कविहरू हजार आक्रमण हाँसेर सुन्छन् किनभने तिनका कविताले तिनलाई बचाउँछन्।
‘ग्रान्ड स्टफ’ भनेको देवकोटाको ‘पागल’जस्तै, रिमालको ‘आमाको सपना’ जस्तै, भूपिको ‘हामी’ जस्तै, काइँलाको ‘मातेको मान्छेको भाषण’ जस्तै, मीन ब. विष्टको ‘साला पहाडमे क्या है? ‘
जस्तै वा कृष्णभूषण बलको ‘चैतको हावा’ जस्तै केही चिज हो जसभित्र ठूलो ताकत लुकेर बसेको हुन्छ। कहिलेकाहीँ विप्लव ढकाल, चन्द्रवीर तुम्बापोहरूमा ‘ग्रान्ड स्टफ’को झझल्को आउँछ। तर, हाम्रा राम्रा कविहरूका कविता बेलाबेला विषय उठाएर त्यत्तिकै छाडिएकाजस्ता लाग्छन्।
यदाकदा विनोदविक्रम केसी, देवान किराती, सरस्वती प्रतीक्षा, नवराज पराजुली, सुदीप पाख्रिनजस्ता कविहरू पनि सामथ्र्यका साथ आउँछन्। तर बेला-बेलामा, कता-कता ‘अपुग व्यवहार’ गरेजस्तो, कमी बाँकी रहेजस्ता हुन्छ। गोराहरू त्यसलाई ‘छुने गरी असफल’ अर्थात् ‘टचिङ्ली इन्कम्पिटेन्ट’ भन्छन्। सही हो।
…
यथार्थको लेखन राम्रो हो तर यथार्थ हो भनेर घरको पर्दा, झ्याल, किचेनको धारो वा लोग्नेको दिक्कलाग्दो अनुहार वा रोटीको कुरा मात्रैले, ‘ग्रान्ड स्टफ’ तयार हुँदैन पृष्ठभूमिमा कथा हुँदो हो, इतिहास हुँदो हो, युद्ध वा गहिरो अव्यक्त केही हुँदो हो त्यसको पछिल्तिर।
हेपिएका मानिससित निःसन्देह ‘ग्रान्ड स्टफ’ छ किनभने तिनका कथा, मिथक, योगदान, सहादत, भाषा, पुर्खाहरूका पीडा अझै अव्यक्त छन्। एलिस वाकरले उनको उपन्यास ‘पर्पल कलर’मा, चिनुवा अचेवेले ‘थिङ्स फल अपार्ट’मा माया एन्जेलोले वा सिम्बोर्स्कले कवितामा त्यसको खोजी गरे।
संसारलाई पढ्नलायक नयाँ कुराहरू दिए। आयामेलीहरूले भन्न खोजेको पनि त्यही हो-च्याप्टो लेखनमात्र नगर भनेर। तर हामीमा ‘मिडियोक्रटी’ एकदमै हावी छ। त्यो समूह अल्छीहरूको समूह हो जो ‘ग्रान्ड स्टफ’मा रमाइलो मान्दैन। यस्तो वातावरणमा साधारण लेखकले प्रतिभाशाली लेखकलाई निराश वा ओझेल पार्ने क्षमता राख्छ।
जहाँसुकै अध्ययनको कुरा आउँछ। अध्ययन नगर्ने कवि वा लेखकले एकदुई पृष्ठ राम्रो लेख्ला तर धेरैवटा राम्रो पृष्ठ दिन सक्तैन। साधारण कवितामात्र धेरै लेख्न सकिन्छ र धेरैले लेख्न र बुझ्न सक्छन्, जुन कविता नै होइन। हाम्रोमा यसमा समस्या छ।
श्रोत – अन्नपुर्ण पोस्ट, २०७२ भाद्र ७ सोमबार_