काठमाडौँ, ‘साताको साहित्य डटकम’ ले प्रदान गर्ने ‘साताको साहित्य पुरस्कार’ यसवर्ष नवराज पराजुलीलाई प्रदान गरिने भएको छ। उनलाई ‘सगरमाथाको गहिराई’शिर्षकको कविताका लागि यो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
सन् २०१४ अगष्टदेखि ०१५ जुलाईसम्म सोही पोर्टलमा प्रकाशित भएका रचनामध्येबाट पराजुलीको कविता उत्कृष्ट भएको हो। महेन्द्र पौडेल, ऋषि आचार्य,सुजित सिग्देल र साताको साहित्य डटकमका सम्पादक निष्प्रभ सजीको चार सदस्यिय निर्णायक टोलीले छानेको उत्कृष्ट रचनामा छवि अनित्यको ‘बिक्रिमा देश’ र रेशम बोहराको ‘आमा र देश’ पराजुलीको ‘सगरमाथाको गहिराई’ सँग प्रतिष्पर्धामा थिए।
हालसम्म कुनै कृति प्रकाशित नगरेका पराजुलीको कविताले नेपालमा पर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि सपना पुरा गर्न अरब जानु परेको र अन्त्यमा सपना पुरा नहुँदै काठको बाकसमा फर्कनुपरेको पीडालाई बिम्बित गरेको छ।
पुरस्कार पाएको खबर सुनेपछि पराजुलीले ‘अहिले कोही पुरुषलाई तँ छोराको बाबु भइस् भन्दा मनमा आउने गर्वको भावजस्तै’ महसुस भइरहेको बताए।
‘हुन त म बाबु भएको छैन। तर, म त्यो भाव महसुस गर्न सक्छु,’ उनले सेतोपाटीसँग भने,’पुरस्कृत कवितामा गौतम बुद्ध, सगरमाथाजस्ता गर्वका स्रोत हुँदाहुँदै पनि अरब जानुको बाध्यताजस्ता दुई कुरालाई बिम्बित गरेकाले पुरस्कृत गरिएजस्तो लाग्छ।’
पराजुलीलाई यसै महिना काठमाडौंमा नगद बीस हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने जनाइएको छ।
(साभार- सेतोपाटी)