सन् २००८ मा मलायलम भाषामा प्रकाशित बेन्यामिनको किताब ‘आडु जिविदम’को नेपाली अनुवाद हो- ‘खबुज’। यसलाई पेन्गुइन बुक्सले २०१३ मा ‘गोट डेज’ नाममा अंग्रेजी भाषामा प्रकाशित गरेको थियो।
यस किताबले निम्नमध्यम वर्गीय पारिवारिक सामाजिक अर्थ संरचनामा आधारित गरिब देशका आधाभन्दा बढी ‘रेमिट्यान्स’मा आश्रित परिवारको साझा व्यथाको प्रतिनिधित्व गरेको छ।उपन्यासको केन्द्र चरित्र ‘नजिब’ दक्षिण भारतको ‘करुवट्टा’ गाउँमा खोलाबाट बालुवा निकालेर आफ्नो दैनिक जीवनमा सास थपिरहेको बेला गाउँको एकजना साथीले भिसा बिक्रीमा रहेको बताएपछि ‘अरब’ जान तयार हुन्छ।
दुई महिनापछि ऊ गाउँकै साथी ‘हकिम’को साथमा सपनाको ‘पैसा टिप्ने रूख’ खाडी प्रस्थान गर्छ। उपन्यासको ‘न्यारेटर’ पनि ऊ आफैं हो। उपन्यास सुरु हुँदा आफूलाई पुलिसको हातमा सुम्पिने भरमग्दुर प्रयास गरिरहेको भेटिन्छ।
सम्झनुस्; पुलिसको फन्दामा पर्ने प्रयास गर्नु त्यो पनि खाडीको। खाडीको कोठरीमा तीनजना अटाउने ठाउँमा ६ जनासम्म कोचेर राखिन्छ। पाठकको आश्चर्य भावलाई ऊ तत्कालै साम्य पारिदिँदै भन्छ, ‘रेलको डिब्बामा झैं खचाखच खाँदिनुपर्दा त्यस रात हामी सुत्न सकेनौं। अनि ती अरबीले आरामसँग गोडा पसारिदिँदा त अरूलाई झन् बढी सास्ती भयो, तैपनि मैले जे भोगेर आएको थिएँ, त्यसको तुलनामा त्यो साँघुरो कोठरी स्वर्ग थियो।’ -(पृ. ४)
…
अर्थोपार्जनका लागि जन्मभूमि, जन्म दिने आमा र स्वास्नी-छोराछोरीलाई यता गरिबी र अभावको शुष्कभूमिमा छाडेर आफू उता मानवताको शुष्कभूमिमा भासिनुपर्ने निम्न आय क्षमता भएका लाखौं नागरिकको कथाको साक्षी हो ‘नजिब’। गर्भिणी संगिनीको पेटमा भ्रूण छोडेर गएको ऊ मरुभूमिमै बिलाएको छ।
पूर्वतयारबिना र कामको प्रकृतिको सूचना नलिई केवल ‘पैसा कमाउने सपना’ देख्नु उसको पहिलो कमजोरी हो। बिमा र इमिग्रेसनबिना खाडी मुलुक जानु भनेको आफ्नो ‘लास गाड्ने खाल्डो आफैं खन्नु हो’ भन्नेसम्म उसले बुझेको छैन। अर्काको लहैलहैमा अर्काको देशमा जानु हुँदैन भन्ने हेक्का राखेको भए ‘नजिब’ले यसरी दुःख पाउनुपर्ने थिएन।
यो २००८ को मलायली समस्यामात्र होइन। २००८ देखि २०१५ को बीचमा हरेक वर्ष लाखौं नेपाली ‘खाडी’तिर हान्निने भएकाले ‘नजिब’को उदाहरणबाट हामी नेपालीले पाठ सिक्नुपर्ने हुन्छ। सहरमा ‘मानवीय श्रम र मानव तस्कर’को बिगबिगी छ।
नेपाल सरकारले जिम्मा लिएका रोजगारीको अवसर भएका ‘कोरिया र इजरायल’जस्ता गन्तव्यमा पनि हाउस वर्करको अवस्था दयनीय छ। दलालको भरमा टिकेका अरब, कतार र मलेसियाको त झन् के कुरा गर्नु? यसर्थ ‘खबुज’ विदेश जान्छु’ भन्ने युवाले पढ्नैपर्ने किताब हो।
विदेश जानेबित्तिकै समृद्धि ‘दीपावली भित्रिएजसरी’ भित्रिइहाल्छ भन्ने सोच्नेहरूका लागि नजिब यसरी टिप्स दिन्छ-‘के-के सपना देखेको थिएँ मैले। एसीवाला गाडी, एसी कोठा, मुलायम डसना र त्यसको अघिल्तिर टीभी। हाँसेँ, अरू के नै पो गर्न सक्थेँ र त्यस अवस्थामा ! मेरो सपना र यथार्थबीच कत्रो दूरी थियो । खाडीमा मेरो पहिलो रात पूरै फ्लप भएको थियो।’ -(पृ. ३८)
…
किताबको खोलमा आधा बाख्रा र आधा मान्छेको जुन ‘शिखण्डी’ रूप छ, खाडी बसुन्जेल नजिब पनि त्यही ‘शिखण्डी’ जीवन भोग्छ। अर्थात् खान्छ मान्छेले खाने खबुज र सुत्छ बालुवामाथि वा तिनै बाख्राहरूसँग।
यतिखेर लाग्छ, नेपालको हिमाली भेगमा भेडाच्यांग्रा पाल्ने कृषकले लगाउने ‘बख्खु’ र नजिबलाई उसको अर्बब (रक्षक-जो रक्षक नभएर भक्षक देखिएको छ)ले दिएको लामो लुगा ‘थोबे’ साम्य छ। लाग्छ, त्यो निरीह, गरिब र गोठालाको अन्तर्राष्ट्रिय पोसाक हो। त्यही ‘गन्धे’ अन्तर्राष्ट्रिय पोसाक पहिरिएरै नजिब ऊँटकै जीवन जिइरहन्छ।
बाख्रा र ऊँट बधशालामा एकैपल्ट बध गरिन्छन्। तर ती बाख्राका सम्हारकर्ता गोठालाहरू चरणचरणमा र किस्ताकिस्तामा मारिन्छन्। त्यसमाथि पासपोर्ट पनि कब्जा गरेर तलब, बिरामी बिदा र अन्य सुविधा काटेर कठोर परि श्रममा दलिइरहने ‘अर्बब’ लाई उसकै बन्दुकले सिध्याइदिऊँ कि भन्ने पनि सोचेको छ नजिबले।
सोह्रौं शताब्दीअघिको विश्वले भोगेको ‘दासयुग’ आज पनि अरबको मरुभूमिमा मानवअधिकारलाई गिज्याउँदै मानवताको खिल्ली उडाइरहेको छ। ‘नजिब’को कथा पढ्दा लाग्छ; अरब पनि ‘आईएलओ’ मान्ने सवालमा आफूलाई महासामन्त सम्झिन्छ। युरोप-अमेरिकाजस्ता शक्तिराष्ट्रलाई यसको जानकारीसम्म छैन।
किनकि अरबको खाडीमा जाकिनेहरू त अफ्रिका र दक्षिण एसियाका भुइँमान्छे-अमान्छेहरू हुन् जसले पूर्ण मानव बनिसक्न अझ सयौं शताब्दी धनी राष्ट्र र ती राष्ट्र नागरिकको न्यून शुल्कमा ‘गुलामी’ गरिरहनुपर्छ।
…
अर्बबको बुझाइमा संसारमा गरिब र दास हुन लालायितहरूको अभाव नै छैन। एकपछि अर्को दासताको सिकार आइहाल्छ। तर, उसले गोठाला वा एक्काइसौं शताब्दीका उन्नत दासहरू समय आउनासाथ मुक्तिका लागि जुर्मुराउँछन् भन्ने बुझ्दैनन्।
तर ‘नजिब’ भने यो उन्मुक्तिचेतसँगै जीवन्त हुन थालेको छ। कुनै दिन आफू पनि भाग्न पाउँछु र मातृभूमि फर्किनेछु भन्ने आशमा बाँचेको छ र त्यही स्वर्णिम दिनको पर्खाइमा छ।
किताबको खोलमा आधा बाख्रा र आधा मान्छेको जुन ‘शिखण्डी‘ रूप छ, खाडी बसुन्जेल नजिब पनि त्यही ‘शिखण्डी‘ जीवन भोग्छ। अर्थात् खान्छ मान्छेले खाने खबुज र सुत्छ बालुवामाथि वा तिनै बाख्राहरूसँग।
यो नेपालको सामाजिक-आर्थिक परिदेश सेटिङमा लेखिएको उपन्यास होइन। तर, यसले आधुनिक युगका ‘तोरीलाहुरे’हरूको कथाव्यथा बोलेको छ। ‘नजिब पात्रको ठाउँमा हाम्रै नेपाली जाति कुनै दिलबहादुर वा हर्कबहादुरलाई प्रत्यारोपमात्रै गरिदिने हो भने हाम्रै असंख्य दाजुभाइको व्यथा किताबले बोल्छ।
सम्भवतः दुई तिहाइ नेपाली परिवारको आर्थिक उपार्जन ‘रेमिट्यान्स’मा आश्रित छ।घर बनाएको ऋण तिर्न र छोराछोरीलाई ‘अंग्रेजी’ स्कुलमा पढाउन अरब पसेका लाहुरेले ‘पैसा’सँग प्रतिष्ठा र पसिना कसरी दाउमा राख्नुपर्छ भन्ने तथ्य राम्रैसँग उद्घाटन भएको छ किताबमा।
सामाजिक समृद्धिका लागि र देशको आर्थिक अवस्था सुधार गर्न अरबको मरुभूमिमा ‘बाख्रा पाल्न’ जानु, इजरायलमा ‘तरकारी फलाउन’ जानु, अमेरिका, क्यानडा, अस्ट्रेलिया र जापानका होटलमा ‘कान्छा’ बन्न जानुभन्दा स्वदेशकै माटोमा व्यावसायिक कृषि फर्म खोल्न सकिन्छ भन्ने निष्कर्षमा पुग्छ पाठक।
जीवनाधार द्रव्य कमाउन ‘जीवनधारा’ परिवार छोडेर जहाज चढ्नुपर्ने तेस्रो मुलुकका युवा पुस्ताले ऊर्जामय उमेर पराईभूमिमा टक्र्याउनुपर्ने अर्थ-राजनीतिक उत्तरआधुनिक दासत्ववादका विरुद्धमा यस उपन्यासले युवा पुस्तामा ‘आत्मनिर्भर’ स्वरोजगारमूलक चेतना खोजेको छ। आफ्नै खुट्टामा उभिनसक्ने राष्ट्रिय शक्ति युवाहरू अरबलगायत युरोप-अमेरिकी भूमिमा पलायन भएको भरमा कहिल्यै देशको उन्नति हुन सक्दैन।
बेन्यामिनको ‘खबुज’ खाडीको रुन्चे कथामात्रै होइन, यो ‘झिनामसिना ठक्कर खाँदा पनि हरेस खानेहरूका लागि प्रेरणाको स्रोत पनि हो। किनभने गरिबीको रेखामुनि रहेका तेस्रो विश्वको आधा जनशक्ति काम र मामको खोजीमा आफ्नो ‘थातथलो’ छोडेर अर्काको भूमिमा ‘मोर्डन कमारो’ बन्नु परिरहेको छ।
हरेश नखाई आफ्नै माटोमा सुन फलाउँछु भनेर लागिपर्ने हो भने आफ्नै जीवनकालमा उन्नति गर्न सकिन्छ। रेमिट्यान्सले नागरिकको व्यावहारिक हैसियतमा केही परिवर्तन आउला तर समग्र देशको आर्थिक नेप्सेमा दीर्घकालीन सुधार खोज्ने हो भने लाखौं ‘नजिब’लाई देशभित्रै काम गर्ने अवसर दिनुपर्छ भन्ने व्यंग्य चेतना पनि किताबमा छ।
…
किताब सानातिना कमजोरीबाट भने मुक्त छैन। कथावस्तुको विन्यास र समय सन्तुलनबीच तालमेल मिलेको छैन। नजिब अरबको भेडागोठमा पुग्दाको पुरानो कामदारसँग उसको संगत जम्मा दुई दिनमात्र भएको छ तर उपन्यासको सबैभन्दा कारुणिक भाग बनाउने बहानामा अनावश्यक तन्काइएको छ।
पटकपटक बाख्रालाई कान्छेका गुण र आकृतिसँग तुलना गर्दा संवेदना भित्र्याउने खेलमा लेखक बढी नै मोहित भएजस्तो देखिन्छ। पीडा त नेपालीजनको पनि हो तर धार्मिक निष्ठाको प्रादेशिक व्याख्यानजस्तो धर्मसम्बन्धी प्रसंग आइरहँदा नेपाली पाठकले किताब र किताबले उठान गरेका विषयसँग अपनत्व महसुस गर्न गाह्रो परिदिन्छ।
यसले गर्दा विदेशीपनको गन्ध आइरहन्छ। किताब फ्लासब्याक शैलीमा लेखिएको हुँदा पाठकले उपन्यासको मुख्य विषय र संवेदना पहिल्यै अनुमान गरिसक्छ जसले गर्दा अरस्तुको क्लासिकल थ्यौरीको ‘पोयटिक जस्टिस’को सिद्धान्तमा कथन शैली पूर्णतः बाँधिएको भान हुन्छ।
श्रोत – अन्नपुर्ण पोस्ट २०७२ मङ्शिर ५ शनिबार