इटहरीमा एक वर्षअघि भएको छलफलमा अङ्ग्रेजीमा जस्तो साहित्य नेपालीमा लेखिएन भनेर एउटा कार्यपत्रले गनगन गर्यो । उक्त कार्यपत्रले ‘नेपालीले टि.एस. इलियटबाट सिक्नैपर्छ’ भन्ने भावमा ‘नेपाली साहित्य’ उत्थानका लागि केही टिप्स समेत सुझायो । टिप्समा अङ्ग्रेजी साहित्यको सिको गर्यौँ भने हाम्रो साहित्य पनि ‘अन्तर्राष्ट्रिय’ हुनेछ भनिएको थियो । कार्यपत्र सुनिसकेपछि कार्यपत्रकर्मीलाई मैले सोधेँ, ‘तपाईं अङ्ग्रेजी पढाउनुहुन्छ, हो ?’ उनले सगर्व भने, ‘हो, म अङ्ग्रेजी पढाउँछु । मैले अङ्ग्रेजी साहित्य पढेको छु ।’
केही महिनाअघि पोखरामा अर्को त्यस्तै कार्यक्रममा पुग्दा नेपाली साहित्य–समीक्षा किन कमजोर छ भन्ने चर्चा भयो । कार्यक्रमपछिको अनौपचारिक चियागफमा एकजना साथीले घोषणा गरे, ‘नेपालीमा गतिलो समीक्षा लेखिँदै लेखिन्न ।’ ‘किन ?’ मैले सुस्तरी सोधेँ । उनले भने, ‘नेपालीमा लेख्नेहरू प्राय: नेपाली विषय पढेका हुन्छन् । नेपाली विषय पढ्न कमजोर विद्यार्थीहरू मात्रै जान्छन् । प्रतिभाशाली र राम्रो अंक ल्याएको विद्यार्थी नेपाली पढ्दैन । उसले अङ्ग्रेजी वा विज्ञान पढ्छ । जब कमजोर विद्यार्थीहरूले साहित्य–समीक्षा लेख्छन् भने त्यो कमजोर नभएर के हुन्छ ?’ उनको भनाइको आशय थियो– नेपालीमा लेख्नेहरूले अङ्ग्रेजी जान्दैनन्, नजानेकै कारण उनीहरू नेपाली पढ्छन् । अङ्ग्रेजी साहित्यको ठूलो भण्डारबाट त्यस्ता समीक्षकहरू वञ्चित छन् । अनि कसरी राम्रो साहित्य लेख्छन् त ?
पोखरेली मित्र पनि अङ्ग्रेजी विषय पढेका ‘प्रतिभाशाली’ नै हुन् । ती मित्रको सुत्र लगाएर मैले सोचेँ– नेपाली साहित्य सबैभन्दा धेरै नेपाली मातृभाषीले पढ्छन् । यो स्वाभाविक पनि हो । तर, के मातृभाषाको साहित्य पढ्ने प्रतिभाहीन भएकै कारण हो ? उनको सुत्रानुसार आफ्नो भाषाको साहित्य पढ्नेहरू लठ्ठकहरू हुन् र लठ्ठकहरूले लेख्ने समीक्षा स्तरहीन हुन्छ । अर्थात् अङ्ग्रेजी वा गणित पढ्नेहरू मात्रै प्रतिभाशाली हुन्छन् र उनीहरूको लेखन नै शक्तिशाली हुन्छ । साथीको तर्क सुनेर म एकछिन चकित परेँ । यो कुनै नयाँ तर्क थिएन र यसैले चकित पार्नुपर्ने कारण पनि थिएन । सत्ताको प्रभुत्वलाई मात्रै सत्य देख्नेहरूले यस्तो ‘पाङ्ग्रो’ उहिल्यै पत्ता लगाइसकेका थिए । बरु म चकित त किन परेँ भने यी मित्रलाई बुझ्ने मेरो दृष्टि भिन्न थियो । उनी केही समययता पोखरामा बसेर उल्लेखनीय सक्रियता प्रदर्शन गरिरहेका युवा हुन् । बजारमा आएका नयाँनयाँ पुस्तक पढ्ने, अखबारमा प्रकाशित सामग्रीबारे बहस गर्ने र चर्चित भनिने पुस्तकको विमर्श गर्ने काममा यिनी अघिल्लो लहरमा पर्छन् । पठन क्षेत्रमा बुज्रुक र पढाकु युवाको परिचयमा उनले अघिल्लो वर्ष काठमाडौंको एक बहसमा सहभागिता पनि जनाएका थिए । त्यस्ता पढाकु मान्छेमा यस्तो बिमार बाँकी बसेको थाहा पाएर म जिल् परेको हुँ ।
तर यो इटहरीका कार्यपत्रकर्मी वा पोखराका पुस्तकप्रेमी साथीको व्यक्तिगत बिमार होइन । सत्ताको भाषालाई सही र सत्ताहीनहरूको भाषालाई गलत वा निकृष्ट देख्ने दृष्टि कुनै एक व्यक्तिको अन्वेषण होइन, यो सत्ताले बनाइदिएको चेतना हो । सत्तासिनको भाषा वा संस्कृतिमा पोख्त हुनेहरू प्रतिभाशाली लेखक ! मातृभाषामा लेखपढ गर्नेहरू कमजोर लेखक ! अमेरिका यतिखेर सबैभन्दा शक्तिशाली छ, तसर्थ उसैको भाषा र संस्कृति श्रेष्ठतम ! नेपाल कमजोर छ, तसर्थ नेपालीमा लेख्नेहरू तुच्छतम † फलानाजी अङ्ग्रेजीमा उच्चशिक्षा पढेका तसर्थ उनी आदरणीय ! ढिस्कानाजी नेपाली विषयमा पनि पल्ट्याङ खाएका तसर्थ उनी दयनीय ! जो अङ्ग्रेजी जान्दछ, उसले लेखेको उत्कृष्ट † जसको अङ्ग्रेजीसम्म पहुँच छैन, उसको लेखन निकृष्ट ! यो चिन्तनले अन्तत: कस्तो निष्कर्षमा पुर्याउँछ ? त्यस्तो निष्कर्षमा, जसले अङ्ग्रेजीमा लेख्ने सम्राट उपाध्याय शक्तिशाली देख्छ, गैरअङ्ग्रेजी लोककविहरू कोइ न कोइ ? अङ्ग्रेजी लेख्ने चेतन भगत महान्, पञ्जाबीमा लेख्ने पाश कोई न कोई ! अङ्ग्रेजी पढाउने अभिगुरु हाई हाई, नेपाल भाषा पढाउने माणिकगुरु कोई न कोई !
म देख्छु, यस्तै चिन्तनसुत्रमा बाँधिएर एकथरि साथीहरू शक्तिको सांस्कृतिक हतियार बनेका छन् । उनीहरू अङ्ग्रेजी पढेका छन् भने एक नम्बरी अङ्ग्रेजी नै देख्छन्, संसारका बाँकी भाषा दुई नम्बरी । नेपाली मात्रै पढेका छन् भने एक नम्बरमा नेपाली देख्छन्, नेपालकै बाँकी भाषा सबै दुई नम्बरी । उनीहरू आफू पहिलो दर्जाको पाठक वा लेखक भएको देखाउन अङ्ग्रेजी पुस्तकको चर्चा गर्छन्, पढ्छन् । कहिलेकाहीँ मात्रै उनीहरू नेपाली भनिने ‘कमजोर’हरूको साहित्य पढ्छन् । नेपालभित्रैका अन्य भाषाको सिर्जनाको शक्तिसम्म त ती कहिले पुग्नु ? अङ्ग्रेजीमा नलेखिएका पूर्ण वैद्यका कविता यिनले कहिले पो पढ्लान् ? भोजपुरीमा गाइएका गोपाल ठाकुरका गीत यिनले किन पो सुन्लान् ? काठमाडौंले बुझ्नै नखोज्ने देउडाको यिनलाई क्या मतलब ? कक्षाकोठामा पढेको अङ्ग्रेजीलाई नै सर्वेसर्वा ठानेर कुदिरहेका यी साथीहरूका आँखामा गैरअङ्ग्रेजी लु सुन, गोर्की वा टाल्सटाय टल्कन्छन् कि टल्कन्नन् ? मार्खेज, अचेबे वा गुंगीको आख्यान कमजोर कि बलियो ?
साथीहरूलाई लाग्छ– सिर्जनशील वा समीक्षाचेती हुन पढालेखा हुनैपर्छ, त्यो पनि सत्ताको भाषामा पढालेखा ! लेखक हुन सरकारी जाँच पास गर्नैपर्छ, त्यसमा पनि ‘डिस्टिङ्सन’ नल्याउने कमजोर हो । यी साथीहरू गरिब, अनपढ, किसान वा आदिवासीहरूको सिर्जनालाई हेय दृष्टिले हेर्छन् । लोकगीत, लोककविता र लोक आख्यान उनीहरूका लागि कुनै साहित्य नै होइन । सत्ताको भाषाभन्दा अर्को भाषामा लेखपढको अभ्यास गर्नेहरू ‘कठै’ र ‘छि:छि:’ भनिनु कुनै अनौठो कुरा भएन । एक समय थियो– मातृभाषामा लेख्दा राजकाजको मुद्दा लाग्थ्यो, जेल जानुपथ्र्यो । अहिले जेलै त जानुपर्दैन तर अपमानित गर्ने शृङ्खला जीवितै छ । संसारमा बोलिने र आफ्नै लिपि तथा साहित्य भण्डार भएका छ हजार भाषाहरू अहिले जीवितै छन् । भनिन्छ– भूमण्डलीकरणका नाममा अङ्ग्रेजी भाषाको प्रभुत्व र अमेरिकीकरण यसरी बढाइँदैछ, जसका कारण यो शताब्दीको अन्तसम्म आधाआधी भाषा मारिनेछन् । कुनै पनि भाषा मर्नु भनेको केवल भाषा मात्रै मर्नु होइन, भाषासँगै एउटा सभ्यता, एउटा जीवनसंस्कृति र एउटा उत्पादनकर्म नष्ट हुनु हो । अहिले जानेर वा नजानेर चलिरहेको अङ्ग्रेजीको महिमागान र मातृभाषाको अपमान त्यही सभ्यता–हत्याको एउटा अंग हो ।
‘उत्तरआधुनिक’ भनाउँदो अहिलेको युगलाई भाषिक र सांस्कृतिक गुलामीको युग पनि भनिन्छ । यतिखेर गैरअङ्ग्रेजी भाषी हुनु नै दीनहीन हुनु ठान्नेहरूको मानसिकता हीनताग्रस्त छ । तसर्थ उनीहरू आफूलाई अङ्ग्रेजी जान्ने देखाउन अङ्ग्रेजी भाषाका पक्षमा लेख्दै–बोल्दै हिंडेका हुन्छन् । सामग्री सम्पन्नताका हिसाबले अङ्ग्रेजी संसारको एउटा समृद्ध भाषा भएको छ । ज्ञानको ठूलो स्रोत यही भाषामा भण्डारित छ । तसर्थ बौद्धिक भनिने पेशामा रहेका व्यक्तिका लागि यो भाषा आधारभूत रूपमा सिक्नु र पढ्नु अनिवार्य जस्तै छ । तर, त्यसको अर्थ के होइन भने अङ्ग्रेजी नजान्ने वा नपढ्नेहरू प्रतिभाहीन हुन्छन् र अङ्ग्रेजी नपढेकै कारण कसैले कमजोर लेख्छ । भाषा सबैभन्दा पहिले मान्छेले आफ्नो भौतिक आवश्यकता पूर्तिका लागि सिक्छ । बौद्धिक कर्म वा ज्ञान आर्जन त्यसपछिको चरण हो । तर रोजीरोटीका लागि अलिअलि सिकेको भाषाकै शक्तिभजन कसैले गर्छ भने त्यो दास मानसिकताको उपज हो ।
भाषिक प्रभुत्वको जुवामुनि स्वत:स्फूर्त नारिएर अमेरिकी मिचाहावादको खेत जोतिरहेका थुप्रै युवाहरू देख्दा मलाई टिठ लाग्छ । साहित्य क्षेत्रकै सचेत युवाहरू पनि देशी मातृभाषाहरूको पैरवी गर्नुलाई जातिवादी र सङ्कीर्ण देख्छन् । अझ त्यसमा पनि अधिकांश युवाहरू कक्षाकोठाभित्र पढेको अङ्ग्रेजीलाई नै सबैथोक ठान्छन् । यी अङ्ग्रेजीभक्तहरूको कक्षाकोठामा गोकुल जोशी वा जीवन शर्माका गीतको समीक्षा हुँदैन । यिनका गुरुको नोटबुकमा कीर्तिपुरका टोलटोलमा गाइने मिथिला भजनको सामाजिक सन्दर्भको व्याख्या कहिल्यै भेटिन्न । अपवादबाहेक शेक्सपियरदेखि शेक्सपियरसम्म र टि.एस. इलियटदेखि टि.एस. इलियटसम्म प्रदक्षिणा गरेर कक्षाकोठाको मूल कर्मकाण्ड पूरा हुन्छ । फेसबुकमा समेत नभेटिने विमल निभा अङ्ग्रेजी कक्षाकोठामा भेटिन्नन् । अङ्ग्रेजी नजान्ने खुशीरामको गैँतीबेल्चा पाठ्यपुस्तकमा पाइन्न । झलकमानको कर्खा अङ्ग्रेजीप्रेमीलाई आफ्नो जस्तो लाग्दैन । मणि थापाको फोकल्याण्डको चिठी अङ्ग्रेजी विद्यार्थीलाई सुनाइन्न । तर, ‘हामी अङ्ग्रेजी पढ्नेहरू हौँ, के ठान्या छौ ?’ भनेर अहम् प्रदर्शन गर्न सायद सिकाइन्छ । अङ्ग्रेजी कोर्सबुकबाट भर्खरै ओर्लेका कतिपय समीक्षकको लेखाइमा त्यही भाव झल्कन्छ ।
भाषा आफैमा खराब हुँदैन । हरेक भाषाले त्यस भाषाका प्रयोक्ताको समाज, संस्कृति, सभ्यता, उत्पादन, आविष्कार, ज्ञानविज्ञान आदिलाई अभिव्यक्ति दिन्छ । तर, विभाजित समाज वा शक्तिशाली भनिनेले कमजोरलाई शासित गर्ने युगमा भाषा पनि शोषण र शासनको अप्रत्यक्ष हतियार हुन्छ । ग्राम्शीले भनेको हेजीमनीको शास्त्र यसमा पनि लागू हुन्छ । अहिले संसारभरि एकछत्र हालीमुहाली गर्दै हिंडिरहेको अमेरिकाको शासनको पहिलो माध्यम हातहतियार हो र दोस्रो हो भाषा–संस्कृति । भूमण्डलीकरणका नाममा ऊ आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो जीवनशैली र आफ्नो मालमत्तालाई सबैभन्दा उत्तम भन्दै संसारभरि जबर्जस्त लादिइरहेको छ । सक्छौ– डिभि चिट्ठा पारेरै भए पनि अमेरिका जाऊ ! सक्दैनौ– संसारको जुन कुनामा बसे पनि अमेरिकीजस्तै बन, अमेरिकाको भक्ति गर ! अमेरिकाले संसारभरि फैलाएको चिन्तन यही हो । कुनै बेला बेलायतले संसारभरि साम्राज्य फैलाउँदा ऊ उहीँ पुगेर आफ्नो भाषा–संस्कृतिलाई श्रेष्ठतम भन्दै स्थापित गथ्र्यो । अहिले अमेरिका प्रविधिको दुरूपयोगबाट त्यही गरिरहेको छ ।
अनि सबैभन्दा ठूलो दुर्भाग्य– अङ्ग्रेजी साहित्य पढ्न भनेर विश्वविद्यालय भर्ना भएका नेपाली युवाहरू पासआउट हुँदा अङ्ग्रेजी भाषाका अन्धभक्तको अवतारमा बजारमा आउँछन्, अनि नेपाली साहित्यका निन्दक भएर निस्कन्छन् । अङ्ग्रेजी भाषाभित्रै रहेको प्रतिरोधी, सामाजिक र गम्भीर अन्तर्वस्तु भएको साहित्यसम्म पुग्ने लेठो यिनीहरू गर्दैनन्, बजारले हावा भरेका बेलुनमार्के उपन्यासका पछिपछि यी दगुर्छन् । यिनीहरू आफ्नो देश, आफ्ना वरिपरिका जनता, आफ्नो छेउछाउका भाषाको मौलिकताबारे कहिल्यै चासो राख्दैनन्, बरु दिल्लीतिर छापिने दोस्रो दर्जाका अङ्ग्रेजी उपन्यास पढेकोमा गर्व गर्दै फेसबुक स्टाटस लेख्छन् । पाँच वर्ष कीर्तिपुर बसेर पाँच अक्षर नेपाल भाषा पनि सिक्दैनन्, बरु मातृभाषीलाई दोस्रो दर्जाका नागरिक देख्छन् । देश कसरी फेरिन्छ, राजनीति किन झुर छ भन्नेबारे यिनीहरू नै ठूल्ठूला गफ दिन्छन् । मानौँ, देशमा समृद्धि वा समाजवाद कुनै हात्ती–घोडामा चढेर बिस्तारै–बिस्तारै आफै आइपुग्छ । गोपालप्रसाद रिमालले भनेजस्तो त्यो हुरी भएर आउला र आफू पात बनेर पछ्याउँला भनेर उनीहरू अङ्ग्रेजी भजन गाउँदै पर्खिबसेका छन् । एउटा भोजपुरी गीतमा गोरख पाण्डेय भन्छन्–
‘समाजवाद बबुआ, धीरे–धीरे आयी…
हाथी से आयी, घोडा से आयी !
अङ्गरेजी बाजा बजायी…!’
अङ्ग्रेजी बाजा बजाउँदै नेपाली साहित्यको उत्थान पर्खेर बस्नेहरू बहुभाषिक देशमा ‘नेपाली’ भनिने साहित्य नै नेपाली हुन नसकेको यथार्थ कसरी बुझुन् ? सरकारी नेपाली भाषालाई समेत दोयम देख्नेहरू विभिन्न मातृभाषाको शक्तिलाई कसरी आत्मसात् गर्लान् ?
०००
(“शुक्रबार” साप्ताहिक, २०७२ साउन २९ गते प्रकाशित)