काठमाडौं, २६ मङ्सिर ।
वरिष्ट प्रगतिवादी साहित्यकार तथा पत्रकार शक्ति लम्सालको सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । प्रगतिशील लेखक सङ्घ, केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रम संवाद डवलीमा सम्पन्न भएको थियो । उनको व्यक्तत्व र कृतित्वमाथि वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाई र प्राडा जगदीशचन्द्र भण्डारीले प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्दै निनु चापागाईले लम्साल लेखनमा विविधता भएका व्यक्ति हुन् तर उनी तुलनात्मक रूपमा पत्रकार हुन् भन्ने धारण राखे । उनले अधिकांश समय लम्सालले गरेका सकारात्म कामको चर्चा गर्नुभन्दा पनि उनले अफूमाथि लगाएका आरोपको खण्डन गर्नमै व्यतित गरे । अर्का वक्ता जगदीशचन्द्र भण्डारीले शक्ति लम्सालले जीवनभर आस्था र निष्ठापूर्वक आफ्नो मिसनमा पत्रकारिता गरेकोले उनीबाट धेरै कुरा सिक्न सकिने बताए । वक्ताको रूपमा बोलाइएकी लम्सालकी जीवनसंगिनी कृष्णा लम्सालले दुई वाक्य मात्र बालेकी थिइन् ।
जीवनभरि निरङ्कुश शासनको विरुद्धमा कलमको माध्यमबाट सङ्घर्ष गर्दै आएका शक्ति लम्सालको गत कात्तिक २४ गते निधन भएको थियो । उनले प्रलेसको केन्द्रीय उपाध्यक्ष र सल्लाकारको भूमिकामा रहेर काम गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रलेसका केन्द्रीय अध्यक्ष अमर गिरीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मातृका पोखरेलले राखेका थिए ।