‘हार्लेडेभिडसन्’ रातो मोटरसाईकल घर अगाडि हिउँको आँगनमा छ । हिउँ परेर सेताम्मे भएको सडक चिसोमा लमतन्न सुतेको छ । घरको छानाले हिउँको टोपी लगाएको छ । बाहिर बगैचामा चिसोले कठ्याङग्रीएका फूलका बोटहरु जाडोले काँप्दैछन् । ती बोटहरुमा प्रशस्त हिउँ फुलेका छन् । घरभित्र गमलाका सुन्दर फूलहरु हिटरको न्यानो तापेर टेबुलमा हाँसिरहेका छन् ।
निकै लामो समयसम्म ग्यारेजमा थन्किएको मोटरसाइकल मम्ले किन बाहिर निकाल्नु भयो ? टलक्क टल्काएर राखिएको त्यो मोटरसाइकल हिउँको सडकमा कसले चलाउने भयो ? मोटरसाईकल ग्यारेजमा थन्काएदेखि मम्ले आफूलाई घरमै सिमित राख्नु भएको थियो । घर अगाडि मोटरसाइकल देखेपछि मनमा प्रश्न, प्रतिप्रश्न, शंका र उपशंका आइरह्यो ।
सडक थर्काउदै दौडने दुइसय पचास सिसिको हार्लेडेभिडसन् मोटरसाइकल । तिब्र गतिमा मोटरसाईकल हुँईक्याउने मम् । हामी बसेको क्षेत्रमा त्यो अजंगको मोटरसाइकल हाम्रै मात्र थियो । त्यो मोटरसाइकलले हो वा ममी–ड्याडीको लोकप्रियताले सबैले मलाई चिन्दथे । मलाई राम्ररी सम्झना छ, मोटरसाइकल चढ्न हुरुक्क हुन्थेँ । पछाडि सिटमा बसेपछि मम्लाई बेस्सरी समाउँथेँ । जब मम्ले मोटरसाईकल हुइक्याउनु हुन्थ्यो मलाई मज्जा आउँथ्यो सँगै डर पनि उत्तिकै लाग्दथ्यो । जति जति मोटरसाइकलको स्पिड बढ्दै जान्थ्यो उति उति जोडले आँखा चिम्म गर्दथेँ र बेस्सरी मम्लाई समाउथेँ । अहिले सम्झन्छु त्यो मोटरसाइकलको बेग जस्तो जस्तै हुँइक्किएका छन् मेरा समयहरु ।
………………………………………….
काठमाण्डौंको अनाथ आश्रममा मेरा आठ हिउँद अर्काको दया, माया र आश्रयमा बितेको थियो । मनकारीहरुले दिएको चन्दा र दानबाट चलेको थियो त्यो आश्रम । अरु बालक जस्तै अर्काले दिएको पुराना लुगामा बितेका थिए मेरो हिउँद र वर्षा । अझ भनौं जाडो र गर्मीका लुगा प्रायः उही हुन्थ्यो । धेरै कठिन अवस्थामा चलेको त्यो आश्रममा मैले सबै थोक पाएको थिएँ; गाँस, वास र कपास । बाँकी एउटै कुरा अनिश्चित थियो त्यहाँ ‘सुरक्षित भविष्य ।’
पारिलो घाम लागेको थियो जाडोको एक दिन । सुकिला गोरा अनुहारका एकजोडी हाम्रो आश्रममा आए । आश्रमका बुबाले राम्ररी स्वागत गर्नु भयो । सबै तिर घुमाउनु भयो । र हामी जम्मा भएको ठाउँमा ल्याउनु भयो । लामो समयसम्म आश्रमका हामी सबै बच्चाबच्चीहरुलाई नियालेर हेरे उनीहरुले । कसैलाई खोजे जस्तो गरी नजर लगाए हामी अनाथहरुको भीडमा । एकछिनपछि हामी सबै बच्चाहरुलाई बिस्कुट र चकलेट झोलाबाट निकालेर बाँड्न थाले । मलाई चकलेट दिइसकेपछि उनीहरुका सेता सुकुमार गोरा हातले जाडाले पट्पट् फुटेका मेरो कालो गाला सुम्सुमाए । म्वाइ खाए । कोही नभएको टुहुरोलाई पहिलो पटक हो कसैले प्रेम पूर्वक म्वाई खाएको । सुम्सुमाएको । त्यस्तो स्नेह पाएर मैले त उनीहरुलाई अँगालो पो हालेछु !
उनीहरुले छेउमै रहनु भएका आश्रमका बुबालाई बोलाए । मेरो नाम सोधेको कुरा बुबाले भन्नु भयो । ‘काले’ हो भनेर जवाफ दिएँ । थर पनि सोधे । बाबु आमाको नभएको मानिसको के थर हुन्थ्यो र ? थर थाहा छैन भन्ने जवाफ दिएँ ।
‘हामीसँग जाने हो ? तिमीलाई सँधैको लागि हाम्रो देश लैजान्छौं ।’ उनीहरुले भने ।
‘आश्रममा खान बस्न दिएकै छन् । कहाँ कहाँको नचिनेको मानिसँग कसरी जानू ? किन जानू ?’ मनमा कुरा खेल्दै थियो जवाफ दिन सकिन ।
‘जान्छु भन् ! छिटो भन् ! तेरो भाग्य खुल्दै छ ।’ आश्रमको बुबाले भन्नु भयो ।
म अबोध बालक । न मसँग सोच्ने क्षमता थियो । न त निर्णय गर्ने समय । मैले केही जवाफ दिन सकिन । मेरो मौनतलाई सहमति ठानेछन् उनीहरुले ।
साथमा बोकिरहेको हाते झोला भूईंमा बिसाए उनीहरुले । एक जनाले झोलाबाट फोटा अल्बम निकाले । चर्को घाममा कोही आइसक्रिम खाईरहेका, कोही समुद्रमा पौडी खेलिरहेका अर्धनग्न मानिसका फोटाहरु देखाए । अल्बमका पानाहरु पल्टाउँदै गए । सेताम्मे हिउँमा बाक्ला लुगा लगाएर खेलिरहेका बच्चाहरुको फोटा देखाए । ठूल्ठूला घर, चौंडा सडक मात्र देखाएनन उनीहरु बस्ने घर र म गएपछि बस्ने कोठाको फोटो पनि देखाए । सफा कोठा, भरिभराउ खेलौना, छेउमा पढ्ने सानो टेबलकुर्सी र टेबलमाथि एउटा कम्प्युटर थियो फोटोमा ।
‘यो सबै तिम्रै हो ।’ उनीहरुले सुनाउँदा म रोमाञ्चित भएँ र हुन्छ जान्छु भन्दिएँ ।
केही समयको आवश्यक कागजी प्रक्रिया मिलाएपछि उनीहरुले मलाई बेलायत पुर्याए ।
नेपालमा हुँदा काठमाण्डौंको चिसो ठिहीँ मेरो दुस्मन थियो । यताका माइनस पन्ध्र डिग्री सेल्सियस चिसो जाडोमा कहिल्यै काम्नु परेन । मज्जाले हिउँमा खेलेको छु । उता हुँदा गर्मी पनि मेरो शत्रु नै थियो । घमौराले खुब सताउदथ्यो मलाई । यता चालिस पैंतालिस डिग्री सेल्सियस भन्दा माथिको तातो अफ्रिका र एशियामा ममी–ड्याडीसँग मनग्गै घुमेको छु । मेरो घर परिवार, सर्वश्व अर्थात मेरा धर्ममातापितासँग खुशीसाथ बिताएको छु । मेरो जीवनको गोरेटो कोर्ने महत्वपूर्ण दश वर्ष उहाँहरुसँग बिताएको छु । र म अहिले यो देशको कानून अनुसार स्वतन्त्ररुपमा अलग्गै बस्न सक्ने, राज्यबाट सुविधा प्राप्त गर्न सक्ने अधिकार प्राप्त नागरिक भएको छु । बाँकी जीवन एक्लै बाँच्न सक्ने शिप र शिक्षा प्राप्त गरेको छु । धन्य छ मेरा धर्म मातापिता जसले मलाई एउटा अनाथ आश्रमबाट उठाएर ल्याएर बेलायतमा मेरो शिक्षादिक्षा मात्र दिएनन् त्यहाँको नागरिक पनि बनाइदिए ।
‘किन मलाई नै छाने उनीहरुले ? सायद भगवानले म प्रति दया गरेको हुनुपर्दछ ।’ आफैले उत्तर दिएको छु कैयौं पटक । तर म जस्ता दुःखी थुप्रै थिए नि आश्रममा ? यसको उत्तर मैले कहिल्यै दिन सकिन र मम्लाई एक दिन सोधेँ ।
‘आश्रमका बच्चाहरु मध्ये तिम्रो अनुहारमा दुःख, पीडा र पीर देखिदैन थियो । भय, त्राश तिमीमा कहीँ कतै थिएन । मातृवात्सल्य र पिताको छत्रछहारीबाट बञ्चित तिम्रो मुहारमा जताततै खुशीका रेखाहरु दौडिरहेको देख्यौं । त्यो खुशीले हाम्रो पारिवारिक जीवनमा अझ धेरै खुशी ल्याउन सक्छ भन्ने ठानेर हामीले तिमीलाई नै छान्यौं ।’ मम्को जवाफ सुनेर दंग परे अनि मुसुक्क हाँसे ।
म अबोध बालक । थाहा पाएदेखि त्यही अनाथ आश्रममा हुर्केको । अनाथ आश्रमका बुबा आमाले हामी सबैलाई समान माया दिनु भएको थियो । ‘हामी सबैलाई किन यति धेरै माया गर्नु भएको हो ? त्यत्रा बच्चाहरुलाई कहाँबाट ल्याएर खुवाउनु हुन्थ्यो ? हामीलाई अनाथ आश्रममा राखेर हुर्काउँदा उहाँहरुलाई के फाईदा ?’ अनाथ आश्रममा बसुन्जेल मेरो सानो दिमागमा यस्ता कुरा बारम्बार आईरहन्थ्यो ।
‘तिम्रो अनुहारको बनौट यस्तो थियो कि तिमीलाई छोरीको रुपमा हेर्न चाहे छोरी जस्तै देखिने र छोराको रुपमा चाहे छोरा जस्तै देखिने । हामीले एउटै धर्म सन्तानबाट छोरा र छोरीको खुशी र उपस्थिति प्राप्त गर्न चाह्यौं । सोही अनुसारको रेडिमेड बच्चा तिमी थियौ । र अनाथ आश्रमबाट तिमीलाई ल्यायौं । सुरुसुरुमा हामीले कहिले छोरा र कहिले छोरीको साजसज्जामा तिमीलाई तयार पार्दथ्यौं । तिम्रो रुप, खुशी अनुहार हेरेर हामी झन् खुशी हुन्थ्यौं ।’ मम्ले बेलिविस्तार लगाउनु भयो ।
‘थाहा छ ? तिम्रो नेपाली नाम ‘मिलनबिन्दू’ यो हामी दुइको सल्लाहले राखेका हौं ।’ मेरो नयाँ नामको ब्याख्या गर्नु भयो मम्ले ।
‘मिलनबिन्दू नेपाली नाम नै किन राख्नु भएको हो ?’ मैले मम्लाई सोधेँ ।
‘हामी दुइबीचको मिलन गराउने बिन्दू हुनेछौ भनेर ।’ मम्को जवाफले आफ्नो नाम प्रति गर्वानुभूति भयो ।
‘के म तपाईंहरुबीचको मिलनबिन्दू हुन सकेँ त ?’ मेरो प्रतिप्रश्नले मम् एकाएक गम्भीर हुनु भयो ।
‘हो तिमीलाई ल्याएको करिव तीन वर्षसम्म हामी खुब मिलेरै बस्यौं । त्यसपछिका बाँकी वर्ष तिम्रै लागि भनेर मिल्न बाध्य भयौं । सम्झौतामै यत्रो वर्ष बितायौं । सम्झौता भनेको अस्थाई युद्धविराम रहेछ ।’ मम्ले पहिलो पटक भित्री पीडा ब्यक्त गर्नु भयो ।
‘हामी एक आपसमा खुब् माया गर्दथ्यौं । थुप्रै चुनौति र झण्झट बेहोरेर हामीले विबाह गरेका थियौं । समाजलाई चुनौति दिएका थियौं । तर विबाह गरेर सँगै बसेको एक वर्ष पश्चात नै हामीबीचको सम्बन्धमा खट्पट् सुरु भयो।’ मम् विगतको अध्यारो पाटो कोट्याउन थाल्नु भयो ।
‘हामीबीचको शुन्यता भर्ने तेस्रो जीव नभएकोले यस्तो भएको होला भन्ने हामीले ठान्यौं । त्यसपछि हामीले घरमा कुकुर पाल्यौं । बिराला पाल्यौं । अफिसको काम सकेर फर्केपछिको बाँकी समय कुकुर बिरालाको चाकर र स्याहार सुसारमा मै बिताउँथ्यौं । हामीबीचको बाँकी समय ती जनावारलाई ठिक्क भयो । अहँ हाम्रोबीचको सम्बन्धमा कुनै सुधार आएन । त्यसपछि जनावर हटाएर चराचुरुङी पाल्यौं । तिनका चिरबीर हाम्रो लागि चिड्चिडाहाट बढाउने काम गर्यो । जनावर र चराचुरुगीले मानिसले दिने शान्ति र खुशी दिन नसक्ने रहेछ भन्ने सोच्यौं । सन्तान नभएको कारणले यो तनाव भएको हो भन्ने ठान्यौं । हामीबीचको शुन्यता भर्ने काम बच्चाले गर्न सक्छ । हाम्रो सम्बन्धको पुलको काम त्यही बच्चाले गर्नेछ भन्ने लाग्यो । हामीबाट बच्चा हुने सम्भव थिएन । हामीले उपाय निकाल्यौ धर्मसन्तान पाल्ने । निक्कै लामो र झण्झटिलो प्रक्रिया पार गरेर तिमीलाई ल्याएका थियौं ।’ कहिल्यै थाहा नपाएको कुरा मम्बाट सुन्दै जाँदा एउटा मध्यस्तकर्ताको रुपमा पो मेरो आवश्यकता परेको रहेछ भन्ने लाग्यो ।
‘धर्मपुत्र ल्याउन नेपाल नै किन छान्नु भएको हो ?’ पहिलो पटक हो यसरी मम्सँग आफ्नै बारेमा यति धेरै जिज्ञासा राखेँको ।
‘नेपालसँग मेरो ड्याडीको पुरानो र आत्मिय सम्बन्ध छ । मेरो ड्याडीले बारम्बार भन्ने गर्नु हुन्थ्यो– नेपालीहरु अत्यन्त सहयोगी, आत्मिय र इमान्दार हुन्छन् । सन् असीको दशक तिरको कुरा हो । बेलायत सरकारको सहयोगमा बनेको धरान धनकुटा राजमार्गमा इन्जिनियर हुनुहुन्थ्यो मेरो ड्याडी । करिब पाँच वर्ष जति काम गर्नु भयो होला त्यहाँ । म करिव पन्ध्र वर्षको हुँदा एकपटक छुट्टीमा ड्याडीलाई भेट्न, ममी र म नेपाल गएका थियौं । मेरो जीवनको सबै भन्दा रमाईलो र अविश्मरणीय छुट्टी नेपालमा बिताएको छु । करिव दुइ महिना धरान, भेँडेटार, धनकुटा, हिले, पाख्रीवास लगायतका पहाडी क्षेत्रमा उकाली ओराली गरेको छु । तमोर नदीको चिसो पानीमा मज्जाले पौडी खेलेको छु । त्यहाँको सुन्दर प्रकृतिको छाप मेरो मानसपटलमा अझै छ ।’ मम्ले एकैछिन भए पनि नेपाल पुर्याउनु भयो मलाई ।
‘अनि तिम्रो धर्मपिता अर्थात ड्याड बेलायती सेनाको रिटायर्ड शिपाही हुन् । उनले बेलायती सेना अन्र्तगत रहेको गोर्खाली सेनासँग निक्कै लामो समयसम्म काम गरेका हुन् । उनी नेपालीहरुको बहादुरी, मिलनसारिता र इमान्दारिताको प्रशंसा गरेर थाक्दैनन् । त्यही भएर हामीले नेपाल र नेपाली मन पराएका हौं ।’ मम्बाट नेपाली प्रतिको यत्रो विश्वास र सम्मानका शब्द सुन्दा गर्वले छाति ढक्क फुल्यो ।
‘तपाईंहरुबीचको झगडाको उग्ररुप कहिल्यै देखिएन । ठूलो स्वरले कराएर बाझेको वा हातपात गरेको कहिल्यै देखिनँ । कसरी तपाईहरुले झगडा गर्नु भयो ?’ मम्को कुरामा विश्वास नलागेरै मैले सोधेँ ।
‘बाबु आमाको झगडाले बच्चालाई नकारात्मक असर पर्दछ । यो कुरा प्रति हामी सचेत थियौं । बारम्बार सम्झिरहन्थ्यौं । तिम्रै कारणले पनि हामी धेरै संयमित हुन्थ्यौं । तर भित्रभित्रै भूसको आगो जस्तै बलिरहेका थियौं । भित्र हामी झगडा गरिरहन्थ्यौं । बाहिर हाँसेरै हिँड्दथ्यौं । हाम्रो मुहारमा देखिने कृत्रिम मुस्कान थियो त्यो । हामीलाई खुशी देखेर तिमी सधैं खुशी हुन्थ्यौ । हरेक विहान तिम्रो मुहारमा देखिने खुशीले हामीलाई दिनभर सकारात्मक हुने उर्जा दिन्थ्यो । तिमीले पत्तै पाउँदैनथ्यौ हामी भित्रभित्रै कत्रो युद्ध लडिरहेका थियौं । कहिल्यै कसैले थाहा नपाउने मौन युद्ध ।’ कहिल्यै अन्दाज गर्न नसकेको घरभित्रको सत्य कुरा मम्बाट सुन्दा विश्वाश गर्न सकिन ।
‘त्यत्रो झगडाका बाबजुद पनि तपाईहरु लामो समयसम्म सँगै बस्नु भएको रहेछ । तर अचानक अहिले नै किन ड्याडले छाडेर जानु भएको हो ?’ मलाई सबै कुरा थाहा पाउन हतार भएर मम्लाई सोधेँ ।
‘हामी यतिका समयसम्म धेरै त तिम्रै मायाले र बाँकी कर्तब्यबोध र जिम्मेवारीका कारण मिलेर बस्न बाध्य भयौं । जब तिमी अठार वर्षका भयौ, यहाँको कानून अनुसार तिमीले धेरै अधिकार र स्वतन्त्रता पाउने भयौ । हामी जिम्मेवारीबाट पन्छिन कानूनको डर नमाने हुने भयो । तिमीलाई शिक्षा दिक्षा राम्रो दियौं । केही चलअचल सम्पत्ति तिम्रो नाममा राखिदियौं । यो सबै भएपछि सहमतिमै तिम्रो ड्याड र म छुट्टिन चाहेका थियौं । तर अचानक……।’ बाँकी कुरा मम्ले बोल्न सक्नु भएन । उहाँका आँखाबाट आँशु झरे ।
‘हार्लेडेभिडसन’को दुइसय पचास सिसीको मोटरसाईकल तिब्र गतिमा चलाउने मम् । पुरुष जस्तै साहशी कार्य गर्न मन पराउने उहाँलाई केही समयदेखि निकै गल्दै आएको देखेको थिएँ । उहाँको शारिरिक बनौटमा आएको अस्वभाविक परिवर्तन विगत केही समयदेखि अध्ययन गरिरहेको थिएँ । मम् विस्तारै पुरुष बढी र महिला कम देखिन थाल्नु भएको थियो । परिवर्तन हुँदै गएको धोद्रे स्वर, सुकेर हराईसकेका स्तनले मम्लाई कुनै अदृष्य विमारीले च्यापे जस्तो लागेको थियो । चाहुरी परेको गालामा मरुभूमिमा पलाएका बोटविरुवा जस्तै फाट्फुट् दाह्री जुँगा पलाउँदै थिए । मम्को निधारमा खिपिएका चिन्ताका रेखाले उहाँ कुन तहको पीडा भोगिरहनु भएको छ भन्ने कुरा स्पष्ट पढ्न सकिन्थ्यो । उसो त त्यत्रो माया गर्ने ड्याडले छाडेर जानु भएपछि मम् भन्दा पनि म चाहीँ बढी दुःखी भएँ जस्तो लागेको थियो । तर मम्को कुरा सुनेपछि उहाँको दुःखको अगाडि मेरो दुःख केही पनि होइन रहेछ ।
‘मम् किन ड्याडले हामीलाई छाडेर जानु भएको हो ?’ मम्लाई सोध्न शाहास निकाले ।
‘एउटा केटाले फकाएर लग्यो !’ मम्को जवाफले म छाँगाबाट खसे जस्तो भएँ ।
‘केटा कि केटीले ?’ विश्वास लागेन र दोह्रयाएर सोधेँ ।
‘केटाले !’ मम्को जवाफले अवाक भएँ ।
‘केटासँगै विवाह गरेर गएको हो तिम्रो ड्याड ।’ मम्ले यति भन्दा भन्दै उहाँका आँखा फेरी रसाए ।
‘आज एउटा रहस्य भन्छु सुन । हामी दुबै ‘गे’ हौं । म पुरुष भए पनि सानै देखि स्त्री स्वाभावको थिएँ । जवान हुँदै गएपछि पुरुषहरुसँगै आकर्षित हुन थालेँ । उनीहरुसँगै उठबस् हुन थाल्यो । तिम्रो ड्याडसँगको लामो सम्बन्धपछि मात्र विवाह गरेको हुँ । उहाँकै खुशीका खातिर पूरुष भए पनि नारीको रुपमा सजिएर हिडेँ । तिमीलाई थाहै छैन हामीबीचमा कत्रो प्रेम, समर्पण र विश्वास थियो ? अहिले ती सबै ध्वस्त भए ।’ मम्को यस्ता कुरा सुनेपछि उहाँमा पागलपनको लक्षण सुरु भए जस्तो लाग्यो ।
‘यो हुनै सक्दैन ।’ मैलै चिच्याएर भने ।
‘एक दिन तिमीलाई थाहा हुने कुरा हामीले यतिका वर्ष लुकाएर राख्यौं । तिमीलाई अनाथ आश्रमबाट उठाएर यहाँ ल्यायौं । ती सबै हाम्रो स्वार्थ अर्थात खुशीका लागी थिए । सत्यलाई अव अस्विकार गर्न सकिदैन ।’ मम्ले यति भने पछि म अलिक शान्त भए पनि रिशको पारो बढ्दै गयो ।
‘डाक्टरसँगको सल्लाहले नै केही अपरेशन र केही स्त्री हार्मोन बढाउने औषधी खाएर नारीरुपमा आफूलाई परिवर्तन गरेको थिएँ । तर विस्तारै औषधीले काम गर्न छाडेपछि म फेरि पुरुष जस्तै देखिन थाले । मेरो नारी स्वरुप हराउँदै गयो र पुरुष प्रकृति देखा पर्न थाल्यो । पुरुष भित्र नारी स्वभाव र प्रकृति मन पराउने तिम्रो ड्याडले मलाई छाडेर गएका हुन् ।’ मम्को बज्र जस्तै कठोर र सत्य कुरालाई सहजरुपमा लिन सकिन ।
मनमा आशंकाको आँधीबेहोरी चल्न थाल्यो । किन उनीहरुले पूरुष र महिलाको नाम मिलाएर मेरो नयाँ नाम ‘मिलनबन्दिू’ राखे ? सम्झौता मै यत्रो जीवन बाँचेका उनीहरुबीचको कस्तो सम्झौता थियो यो ? के बनाउन चाहान्थे उनीहरु मलाई ? ‘गे’ !? मलाई नकारात्क विचारले थिच्दै ल्यायो । मलाई गरेको लगानी, गुन सबै सबै बिर्सेँ । उनीहरु प्रतिको प्रेम तथा सम्मान एकाएक घृणामा परिवर्तन भयो ।
लन्डन, बेलायत
साभार- समकालीन साहित्य